१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

बुद्धस्थलको विजोग 

बुद्ध जयन्ती एक दिनका लागि लाखौं खर्च गरेर लुम्बिनी सजाइन्छ । बुद्धसँग सम्बिन्धत अन्य क्षेत्रको संरक्षण, संवद्र्धनमा भने ध्यान गएको छैन । 

काठमाडौँ — रूपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीमा बुद्धस्थल छन् । सबै पुरातात्त्विक र ऐतिहासिक स्थलको विकास समान छैन । अधिकांश स्थल हेलामा छन् । बुद्ध र सम्बन्धित स्थलको संरक्षण, रेखदेख र प्रबर्द्धनका लागि लुम्बिनी विकास कोष छ । कोषको आंँखा सबैतिर पुग्नसकेको छैन । 

बुद्धस्थलको विजोग 

लुम्बिनी विकास कोषको तथ्यांक अनुसार सन् २०१८ मा लुम्बिनीमा १ सय ८ मुलुकका पर्यटक भ्रमणमा आएका छन् । बुद्धस्थल घुम्न आउने पर्यटकको संख्या प्रत्येक वर्ष उकालो लागिरहेको छ । बुद्ध सर्किट अन्तर्गतका अन्य स्थलको प्रचार–प्रसार गर्न नसक्दा पर्यटकको बसाइँ लम्ब्याउन सकिएको छैन ।


कपिलवस्तुको तिलौराकोट गौतम बुद्धले बाल्य र युवाकाल बिताएको दरबार हो । दरबारमा सिद्धार्थ गौतमले २९ वर्ष बिताएका थिए । तिलौराकोटमा नियमित सरसफाइसमेत गरिएको छैन । त्यहाँका पुरातात्त्विक वस्तुहरू झाडीले ढाकेका छन् । बेला–बेला लुम्बिनी विकास कोषको नेतृत्वमा अन्तर्राष्ट्रिय संघ–संस्थाको सहयोग र सहभागितामा उत्खनन गरिन्छ । त्यस्ता उत्खननले तिलौराकोट महत्त्व पुष्टि गर्छन् ।


कपिलवस्तुको गोटिहवा र निग्लिहवामा अशोक स्तम्भ छन् । ती अलपत्र छन् । चिनियाँ पैदलयात्री फायहानले पत्ता लगाएका ती स्तुप क्रकुच्छन्द बुद्ध र कनकमुनि बुद्धले ज्ञान प्राप्त गरेपछि पितापुत्र भेट गरेको स्थलका रूपमा परिचित छन् । अर्को महत्त्वपूर्ण क्षेत्र सग्रहवा हो । त्यहाँ विरुधकले ७ हजार ७ सय शाक्यको वध गरेको ग्रन्थमा उल्लेख पाइन्छ ।


कपिलवस्तु नगरपालिका २ कुदानमा रहेको निग्रोधाराम बुद्धले ज्ञान प्राप्त गरेर फर्किने क्रमा पहिलोपटक बुबाआमासँग भेट गरेको स्थलका रूपमा चिनिन्छ । त्यहाँ बुद्धले छोरा राहुल र श्रीमती यशोधरालाई भिक्षु–भिक्षुणी बनाएको बुद्ध ग्रन्थमा उल्लेख छ । कपिलवस्तुको अरोराकोट, धम्नीहावा र सिसहनिया बुद्धसँग सम्बन्धित स्थल मध्येका हुन् ।


रूपन्देहीको देवदह सिद्धार्थ गौतमकी माता मायादेवीको माइती मुलुकका रूपमा परिचित छ । अर्थात गौतम बुद्धको मावल । त्यहाँ एक दर्जन हाराहारी पुरातात्त्विक स्थल छन् । कहिलेकाहीं हुने अध्ययन तथा उत्खननबाट बुद्धकालीन वस्तु फेलापर्ने गरेका छन् । ती असरल्ल छन् । देवदहमा बुद्धस्थल संरक्षण र प्रबद्र्धनका कार्य नियमित भइरहेका छैनन् ।


नवलपरासीको रामग्राम नगरपालिका ७, उज्जैनीमा बुद्धको मूल अष्टधातु रहेको रामग्राम स्तुपलाई बेवास्ता गरिएको छ । शाक्यमुनि बुद्धको महापरिनिर्माण पश्चात् बुद्धका अष्टधातु विभिन्न गणराज्यले आफ्नो राज्यमा पुर्‍याएर त्यहाँ स्तुप निर्माण गरेका थिए । ईसापूर्व २४९ मा सम्राट अशोक लुम्बिनी भ्रमण आउँदा बुद्ध जन्मस्थलमा अशोकस्तम्भ राखेका थिए । त्यही क्रममा आठ (अष्ट) धातुलाई निकालेर चौरासी हजार बुद्धका स—साना स्तुप निर्माण गर्ने निधो गरे । सातौँ स्थानमा रहेको अष्टधातु निकाल्न सफल भए । आठौँ स्थान रामग्राममा रहेको स्तुपको अष्टधातु निकाल्न लाग्दा नागराजाले अवरोध गरेको किंवदन्ती छ ।


लुम्बिनी विकास कोषका सूचना तथा जनसम्पर्क कार्यालयका प्रमुख हरिध्वज राईले रामग्राम बुद्धको अष्टधातु यथावस्थामा राखिएको स्थल भएको र धमावलम्बीले बुद्ध त्यहाँ जीवित रहेको मान्यता राख्ने गरेको बताए । यसलाई बुद्धको महत्त्वपूर्ण धामका रूपमा लिइन्छ । बौद्ध भिक्षु–भिक्षुणी तथा बौद्ध धर्मावलम्बी त्यहाँ प्रार्थना गर्दा शान्ति मिल्छ भन्ने विश्वासले आउँछन् । कोलिया गणराज्यले स्थापित गरेको उक्त स्तुप पटक–पटक उत्खनन गरियो । सफलता मिल्न सकेन ।


अहिले पनि त्यहाँ नागले संरक्षण गरेको छ भन्ने विश्वास गरिन्छ । इतिहासविद् डब्बु होईले सन् १८९९ मा रामग्राम स्तुप पत्ता लगाएपछि लुम्बिनी विकास कोषले आफ्नो संरक्षणमा लिएको थियो । कोषले स्थानीयको जग्गा अधिग्रहण गर्दै आफनो क्षेत्रफल बढाइरहेको छ । हरेक वर्ष बुद्ध जयन्तीमा एक दिनका लागिमात्र लाखौँ रुपैयाँ खर्च गरेर लुम्बिनी सजाइन्छ । बुद्धसँग सम्बिन्धत अन्य क्षेत्रलाई विकास गर्न भने ध्यान गएको छैन । कतिपय स्थलमा पुग्न बाटो देखिँदैन ।


बुद्धस्थल संरक्षण हुन नसक्दा पुरातात्त्विक वस्तुहरू नष्ट हुँदै गइरहेका छन् । अधिकांश पर्यटक मायादेवी मन्दिर दर्शन गरी उसै दिन फर्कने गर्छन् । पर्यटकलाई बुद्धका अन्य क्षेत्रका महत्त्वबारे जानकारी हँुदैन । ती स्थानमा पर्यटकका लागि बाटोघाटो, यातायात, शौचालय, खानेपानी, होटल, आश्रय स्थलको सुविधा छैन । बुद्ध जन्मस्थलमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भइरहेको छ । पर्यटन प्रबद्र्धन व्यापक हुनसके धेरै पर्यटक नेपाल भित्रिन सक्छन् ।


सरकारले लुम्बिनी पर्यटन प्रबर्द्धन योजना बनाएको छ । सम्बन्धित क्षेत्रलाई भ्रमण, अवलोकनयोग्य गराए मात्र पर्यटक आगमनमा वृद्धि हुन्छ । लुम्बिनीका प्रचारक अभियन्ता चेतन पन्तले पुरातात्त्विक सम्पदा भए पनि पूर्वाधार र प्रचार अभावले पर्यटन बजारले फड्को मार्न नसकेको बताउँछन् । लुम्बिनी तथा बुद्धसँंग सम्बन्धित क्षेत्र र नेपालका अन्य पर्यटकीय तथा धार्मिक गन्तव्य स्थलको अन्तर्राष्ट्रिय स्तरमा प्रचार गर्न र लुम्बिनी तथा आसपास स्थानमा पर्यटकको बसाइ लम्ब्याउन भनेर ‘बुद्धिष्ट इन्टरनेसनल ट्राभल मार्ट, २०१९’ आयोजना गरिएको छ ।


पर्यटकीय पूर्वधार तयार पार्दै यस स्थललाई भ्रमणयोग्य बनाउन अति आवश्यक छ । लुम्बिनी विकास कोषले नेपाल सरकारसँंग समन्वय गरी सम्बन्धित नगरपालिकासँंग मिलेर संरक्षण, सम्बर्द्धन तथा पूर्वाधार निर्माणका कार्य जतिसक्दो छिटो गर्नुपर्छ । बुद्धसंँग सम्बिन्धत क्षेत्रमा तप गर्ने स्थान, आश्रयस्थल, बगैंचा, विश्रामस्थल, होटल, शौचालय, बाटोघाटो र यातायातको सुविधा चाहिएको छ । प्राकृतिक दृश्य अवलोकन तथा आसपास नदीमा बोटिङको व्यवस्था मिलाउनसके पर्यटकको बसाइ लम्बिन सक्छ । दक्ष पथप्रदर्शक व्यवस्था गरेर पर्यटकलाई सहज र सुलभ ढंगबाट भ्रमण गर्ने वातावरण सिर्जना गर्नसके पर्यटन व्यवसायमा समेत वृद्धि हुन्छ ।


[email protected]

प्रकाशित : माघ ८, २०७५ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?