हावा महलजस्ता हवाई अड्डा- विचार - कान्तिपुर समाचार

हावा महलजस्ता हवाई अड्डा

सम्पादकीय

काठमाडौँ — हिमाली र पहाडी भेगका बासिन्दालाई आपतकालीन उद्धार गर्नुपर्‍यो भने हेलिकप्टर चार्टर गर्नुपर्छ । यस्तो महँगो उद्धार विमानस्थल आसपास बस्ने गरिब सर्वसाधारणका लागि पनि बाध्यता हुने गरेको छ ।

दार्चुलाको शैल्यशिखर नगरपालिका ९ को गोकुलेश्वर विमानस्थल । तस्बिर : मनोज बडू/कान्तिपुर

घरको छतबाट लडेका एक बालकलाई उपचारका लागि गत असोजमा रुकुमपश्चिमको सल्ले विमानस्थलबाट नेपालगन्ज लैजान अभिभावकले २ लाख २५ हजार रुपैयाँमा विमान चार्टर गर्नुपर्‍यो । जबकि रुकुमपश्चिमको अर्को विमानस्थल चौरजहारीमा पनि सल्लेमा झैं नेपाल एयरलाइन्सको जहाज सातामा दुई पटकमात्र आउँछ ।


देशका ४४ आन्तरिक विमानस्थलमध्ये १७ मात्र नियमित सञ्चालनमा छन् । सातवटामा आंशिक उडान हुने गरेको छ, बाँकी २० बन्द छन् । कतिपयमा परीक्षण उडानपछि फेरि जहाज पुगेका छैनन् । कालिकोटको कोटबाडास्थित सुनथराली विमानस्थलमा टर्मिनल टावर, खानेपानी, बिजुली, सुरक्षा र धावनमार्ग सुधार नहुँदा उडान छैन । मुगुको रारा विमानस्थलस्थित टर्मिनल भवन ठूलो बतास चल्दा हल्लिन्छ । वरिपरि सल्लाको काठले बारिएको टहरोमा टर्मिनल राखिएको छ ।


डडेलधुराबाहेक सुदूरपश्चिमका सबै पहाडी जिल्लामा विमानस्थल भए पनि कोल्टी र साँफेबगर मात्रै सञ्चालनमा छन् । बझाङ सदरमुकामस्थित देवल विमानस्थल ११ वर्षदेखि बन्द छ । अलपत्र विमानस्थल स्थानीयको खेल मैदान बनेको छ भने टर्मिनल र टावर शौचस्थल । सोलुखुम्बुको स्याङबोचे विमानस्थल जंगल बन्दैछ ।


विमानस्थलहरू आवश्यकताका आधारमा मात्र बनाइएका छैनन् । केही नेताको स्वार्थका आधारमा खुलेका छन्, केही स्थानीयवासीको दबाबमा । चुनावी प्रतिबद्धता पत्रमा जिल्ला/क्षेत्रमा विमानस्थल खोल्ने वचन फेसन जस्तै छ । उसै बनाइएका विमानस्थल नचल्नु अन्यथा होइन । आवश्यकता भएका पनि नचल्नु चाहिँ गम्भीर छ ।


स्थानीय र प्रदेश सरकारले यसबारे गृहकार्य गर्न‘पर्छ । आफ्नो गाउँठाउँ कहाँ, कतिवटा विमान नियमित चलाउन सकिन्छ भनेर अध्ययन गर्नुपर्छ । उनीहरूले विमानस्थल सुधार र सञ्चालनका लागि बजेट छुट्टयाउने र नपुगेको केन्द्रसँग माग्नुपर्छ । प्रावधिक सहयोगका लागि संघीय सरकार र हवाई उड्डयन प्राधिकरणलाई भन्नुपर्दछ ।


बनेका विमानस्थल सञ्चालनमा आउन यात्रु र जहाज चाहिन्छ । नचलेका अधिकांश विमानस्थल हिमाली तथा उच्च पहाडी भेगका छन् । त्यहाँ विमान सञ्चालनका लागि पर्याप्त यात्रु छैनन् । नाफा नहुने भएकाले निजी क्षेत्र जाँदैनन् । सरकारी वायुसेवा निगमले नै पुग्दो सेवा सञ्चालन गर्न सकेको छैन । कतिपय स्थानमा मौसमी यात्रु भेटिन्छन्, त्यो पनि एकतर्फी । चाडबाड लागेपछि गाउँ जाने, सकिएपछि झर्ने । जाडो लागेपछि ओर्लने, गर्मी सुरु भएसँगै चढ्ने । यात्रु पर्याप्त नहुन सक्छन् ।


सरकारी स्वामित्वको वायुसेवा निगमले दुर्गममा फाट्टफुट्ट उडान गर्दै आएको छ । दुर्गम स्थानहरूमा विमान सञ्चालन व्यावहारिक नहुनुको कारण चर्को भाडा शुल्क हो । सानो ठाउँमा ठूलो जहाज जान सक्दैनन् । साना जहाजमा उसै त यात्रु क्षमता कम हुन्छ । त्यसमाथि केही सिट क्षमताबराबर इन्धन पनि बोकेर जानुपर्छ । यसले सञ्चालन खर्च स्वत: बढ्छ । त्यो सबै जोडिने भाडा दरमा हो ।


दुर्गममा निजी वायुसेवालाई पनि आकर्षित गर्नुपर्छ । सञ्चालन कर, अवतरण शुल्क र इन्धनको मूल्य सुगम र दुर्गम जहाँ चलाउँदा पनि एउटै हुनुहुँदैन । दुर्गममा हवाई सेवा विस्तारका लागि प्रोत्साहन आवश्यक छ । निश्चित क्षेत्र तथा स्थानमा उडान गर्ने निजी विमानहरूको कर, शुल्क र इन्धन मूल्य घटाउन सकिन्छ । सरकारले न्यूनतम लागतको ग्यारेन्टी गरिदिन सक्छ । न्यूनतम सिट यात्रु नपाए पनि सरकारले व्यहोरिदिन सक्छ ।


दुर्गमका जनतालाई सहुलियतको प्रबन्ध गर्नु सरकारको दायित्व हो । हरेकपल्ट हरेक व्यक्तिले आफूलाई आपत् पर्दा चार्टर गरिरहन सक्दैन । सामान्य अवस्थामा पनि यातायात नागरिकको अधिकार हो ।

प्रकाशित : माघ ७, २०७५ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्

प्रदेश ५ मा गाडी खरिद प्रकरण – नियम ठीक, नियत गलत : उपसमिति

अमृता अनमोल

बुटवल — प्रदेशसभा र सरकारले किनेका गाडीको खरिद प्रक्रिया अनुसन्धान गर्न सार्वजनिक लेखा समितिले गठन गरेको छानबिन उपसमितिले आइतबार प्रारम्भिक प्रतिवेदन बुझाएको छ ।

सार्वजनिक लेखा समितिका सभापति डिल्लीबहादुर चौधरीलाई प्रतिवेदन बुझाउँदै छानबिन उपसमिति संयोजक कुलप्रसाद पोखरेल । तस्बिर : अमृता/कान्तिपुर

प्रतिवेदनमा खरिद नियम ठीक भए पनि नियत बेठीक भएको उल्लेख छ । उपसमिति संयोजक कुलप्रसाद पोखरेलले लेखा समिति सभापति डिल्लीबहादुर चौधरीलाई बुझाएको प्रतिवेदनमा प्रक्रियामा प्रतिस्पर्धा नहुँदा पनि पुन: सूचना जारी नगरिएको उल्लेख गरिएको छ ।

नियम मिलाए पनि खरिद गर्दा नियतमा शंका देखिएको प्रतिवेदनमा उल्लेख छ । उपसमितिले ८ पृष्ठको प्रतिवेदनमा खरिदकर्तासामु १३ प्रश्न तेर्साएको छ । एकै समय खरिद गरिएका एउटै ब्रान्डका गाडीको फरक मूल्य चुक्ता गरिनुले नियतमा समस्या देखिएको संयोजक पोखरेलको भनाइ छ । गाडी छनोटको लागत तयार गर्ने इन्जिनियर, कर्मचारी र खरिदकर्तासँग थप शोधपुछ गर्नुुपर्ने उनले बताए । ‘अझै समय र जनशक्ति जुटाएर अध्ययन गरेपछि थप तथ्य बाहिर आउनेछ,’ उनले भने ।

अध्ययनका लागि माग गरिएका कागजात प्रदेशसभा तथा मन्त्रालयले उपलब्ध नगराएको छानबिन उपसमितिले जनाएको छ । ‘खरिद फाइलमा सवारी दर्ता किताब, मूल्य भुक्तानीको रसिद, स्टोर दाखिलाको निस्सा आदिको प्रतिलिपि संलग्न गरिएको देखिएन,’ प्रतिवेदनको बुँदा ९ मा भनिएको छ, ‘यसको यथार्थ खुल्न जरुरी छ ।’ गाडी खरिद प्रक्रिया थाल्दा सरकारलाई भन्दा बिक्री गर्ने पक्षलाई फाइदा पुर्‍याउन मोलतोलमा सौदाबाजी भएको आशंका उपसमितिले गरेको छ ।

गाडी किन्दा खरिदकर्ताले बिमा, मर्मत, सर्भिसिङलगायत सेवा पाउँछन् । अहिले खरिद गरिएका गाडीका हकमा ती सुविधा उल्लेख गरिएको छैन । बरु थप रकम खर्च गरिएको पाइएको छ । ‘बिमा, मर्मतसम्भार, सर्भिसिङ, सौन्दर्य प्रशाधन आदि एजेन्सीबाट प्राप्त हुने सेवासुविधाको अवस्था के रह्यो ?’ प्रतिवेदनमा भनिएको छ, ‘त्यो पनि स्पष्ट हुन जरुरी देखियो ।’

प्रदेशसभा र सरकारका विभिन्न मन्त्रालयले बजार मूल्यभन्दा झन्डै ३ लाख ५० हजार रुपैयाँ बढीमा गाडी किनेको सार्वजनिकपछि लेखा समितिले अध्ययन थालेको हो । समितिले थप छानबिनका लागि उपसमितिलाई १५ दिन म्याद र ३ सदस्य थप गरेको छ । समितिमा रेवतीरमण शर्मा, बसिउद्दिन खान र गीता थापा थपिएका छन् ।

यसअघि संयोजक पोखरेलसहित कल्पना पाण्डे र बैजनाथ कलवार सदस्य थिए । विषय जटिल भएकाले थप अनुसन्धान आवश्यक रहेकाले उपसमिति विस्तार र समय थप गरिएको चौधरीले बताए ।

प्रकाशित : माघ ७, २०७५ ०८:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×