कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पुर्खाको जुक्ति बिर्सियो नयाँ सुद्धी आएन

सम्पादकीय

काठमाडौँ — नेपाल भूखण्ड बनेकै भूकम्पको कारणले हो । भूकम्पको भय सधैँ छ । यसले हामीलाई सिकाइरहन्छ । हामीले केही सिकेका छौं । कति सिक्नै बाँकी छ । सिकाइ आजको भने होइन ।

पुर्खाको जुक्ति बिर्सियो नयाँ सुद्धी आएन

पुर्खाले रैथाने प्रविधि अपनाएका थिए । घरको झ्याल–ढोकामाथि नस कस्थे । भवनलाई भूकम्प थेग्ने बनाउँथे । घुमाउने घर निर्माण गर्थे । शताब्दीअघि सिमेन्टलगायतको नयाँ प्रविधि भित्र्याएसँगै समस्या जन्मियो । पुरानो प्रविधि पुस्तान्तरण भएन । नयाँ प्रविधिअनुसारका घर भुइँचालो थेग्ने गरी बनाएनौं । पुर्खाको जुक्ति बिर्सियौं । नयाँ सुद्धी झिकेनौं ।


२०३७ सालमा बझाङ केन्द्रबिन्दु बनाएर गएको ६.५ रेक्टरको भूकम्पपछि भने देशले केही सिक्न खोज्यो । राजा वीरेन्द्र भुइँचालो जाँदा सुर्खेतमै थिए । २ हजार ५ सय घर भत्किएका थिए । सय जनाभन्दा बढीको ज्यान गयो । राजाले उद्धार र राहतमा चासो दिए । त्यतिबेला उनले थाहा पाए, नेपालमा यससम्बन्धी नीति रहेनछ । त्यही भएर दैवीप्रकोप उद्धार ऐन २०३९ आयो ।


उद्धार ऐन भए पनि बलियो भवन निर्माणका लागि कुनै मापदण्ड थिएन । ४५ सालमा उदयपुर केन्द्रबिन्दु बनाएर भुइँचालो गयो । ७ सयभन्दा धेरैको ज्यान गयो । ५ हजारभन्दा बढी घर भत्किए । यसले पनि भवन निर्माणमा व्यवस्थित मापदण्डको खाँचो औंल्यायो । र, निकै गृहकार्यपछि राष्ट्रिय भवन संहिता २०५१ लागू भयो । २०५५ मा भवन ऐन आयो । यतिन्जेलसम्म आवासीय घरहरू भूकम्प प्रतिरोधी बन्थेनन् । २०६० सालमा सबै नगरपालिकाले अनिवार्य भवन संहिता लागू गर्नुपर्ने व्यवस्था गरियो ।


सहरीकरण बढ्दै गयो । बजार–मुकाममा घर बाक्लिँदै गए । जोखिम थेग्न सक्ने गरी संरचनाहरू बनेनन् । ६० को दशकपछि गैरसरकारी क्षेत्रले चासो देखाए । २०६८ मा ताप्लेजुङ केन्द्र गरी भूकम्प गयो । मानवीय क्षति कम भए पनि भौतिक पूर्वाधार धेरै भत्किए । यसपछि भवन संहिता कार्यान्वयनमा थप जोड दिइयो ।


७२ सालको भुइँचालो ऐना बनेर उभियो । नपरी नेचेत्ने हामीलाई एउटा ठूलो पाठ दियो । संहिता बमोजिम बनेका घरहरू खासै भत्किएनन् । प्रबलीकरण गरिएका काठमाडौंका तीन सय विद्यालय चोखै रहे । चेतना सम्पूर्ण क्षेत्रमा फैलिएको रहेनछ । सबै भवन संहिताअनुसार बनाइँदो रहेनछ । अबको प्रश्न यही हो– कसरी पूरै नेपाललाई सुरक्षित बसोबास क्षेत्र बनाउने ?


१९९० को सम्झनामा ०५५ सालमा ऐन आएसँगै माघ २ लाई भूकम्प दिवस मनाउन थालिएको हो । त्यस्तो महाविपत्ति फेरि नबेहोर्न आवश्यक कदम चाल्ने प्रतिबद्धता जनाउन र वर्षभरि गरिएका कामको सम्झना गर्न ।


हाम्रो विकासको मोडल बदल्नुपर्छ । जनताले जहाँ जे–जे भने त्यही त्यही पूर्वाधार बनाइदिने चलन रोकिनुपर्छ । भौगोलिक अध्ययन नगरी, वस्तुस्थिति नबुझी संरचना बनाइनुहुन्न । सार्नुपर्ने बस्तीका बासिन्दालाई कुरा बुझाउनुपर्छ । पहिले योजना बनाएर मात्रै बस्ती बसाल्नुपर्छ ।


व्यवस्थित सहरीकरणमा हामी चुकिरहेका थियौं । भूकम्पले एउटा अवसर दिएको थियो– भौगोलिक रूपले असुरक्षित टोल सारेर एकीकृत बस्ती निर्माण गर्ने । यसमा देश फेरि चुक्यो । त्यस्तै ०७० पछि भवन संहिता समयानुकूल बनाइएकै छैन ।


काठमाडौंको माटोले भूकम्पको बेला कस्तो व्यवहार गर्छ, जानिएको छैन । बहुतले घर बनाउन कहाँ–कहाँ सकिन्छ, खासै अध्ययन भएको छैन । कहाँ कस्तो घर बनाउने, जमिन वर्गीकरण गरिएको छैन । ०७२ पछि यसमा एक पाइला पनि अघि बढिएको छैन । पुराना घरहरूलाई प्रबलीकरण गर्ने मापदण्ड अझै ल्याइएको छैन । निर्देशिकाले काम चलाइएको छ ।


भूकम्प एक्लै आउँदैन, यसले अरू विपत पनि ल्याउन सक्छ । हिमताल फुट्न सक्छ । बाढी आउन सक्छ । विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण बनाउन ढिलो भइसक्यो । सायद सरकार ब्युँझेको छैन । उसलाई उठाउन अर्को भुइँचालो नकुरौं ।


प्रकाशित : माघ २, २०७५ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?