कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

म जन्मेको छाउगोठ

अर्जुन थापा

काठमाडौँ — आमाका अनुसार अढाई दशक पहिले मैले धरतीको महसुस गोठमा गरेको थिएँ, जुन बाजुरा सदरमुकाम मार्तडीको थियो । त्यहीँ मेरो छैटी मनाइयो र मैले नाम पाएँ । गोठमा बीस दिन मेरी आमासँंगै मलाई सजाय भोग्न लगाइयो, प्रत्यक्ष रूपमा घरका सदस्यद्वारा र अप्रत्यक्ष रूपमा समाजद्वारा । 

म जन्मेको छाउगोठ

मैले समाजका चालचलनबारे के गलत हो के सही भन्ने सिक्दै गर्दा छाउपडीबारे पनि जान्न जरुरी भयो । महिनावारी भएको व्यक्तिले भन्दा अर्को व्यक्ति विशेषगरी बालबालिकाले पालना गर्नुपर्ने नियम सुझाइन्थ्यो । मैले थाहा पाउँदा आमा महिनावारी हुँदा मैले बीस दिन बसेको गोठमा बस्नुपरेको थिएन । उहाँ त्यही गोठको माथिल्लो तलामा हुनुहुन्थ्यो ।

त्यो म स्कुल जान थालेपछि मेरो कोठा भएको थियो । त्यो गोठ हाम्रो मुख्य (चुलो र देउताको ध्वजा भएको) घर थिएन । अलि पर थियो । तर मैले त्यहाँ धेरै नियम पालना गर्नुपथ्र्यो । आमाले दिएका खानेकुरा त्यहीं खाइसक्नु पथ्र्यो । बाँकी अंश मुख्य घरभित्र पुर्‍याउन अनुमति थिएन । भिजेको लुगा वा भाँडासहित मुख्य घरमा जान पाइन्थेन । मैले आमासँगै बसेर खाना खाने निर्णय गरेँ भने मलाई दही, दूध खान वर्जित हुन्थ्यो । घ्यु भने खान पाइन्थ्यो । त्यो नियम मेरालागि पाँच दिनसम्म लागु हुन्थ्यो । मेलै छाउपडी प्रचलन गलत हो भनेर जान्न पाइन ।

मैले जब छाउपडी कुप्रथा हो भन्ने बुझेँ, त्यसपछि सम्बन्धित नियमहरूलाई प्रतिवाद त गरिन, तर अक्षरश: पालना पनि गरिन । मैले नियम पालना नगर्दा पनि देउता (भगवान) मदेखि रिसाएनन्, नदेख्दा घरका सदस्य पनि रिसाएनन् । हाम्रो नयाँ घर बनेपछि नियम अझ खुकुलो भयो । मलाई र बहिनीलाई छुट्टै कोठा उपलब्ध भए । आमाले भने पाँच दिन मेरो पहिलेको कोठामा एक्लै बिताउनुपर्ने भयो । मुख्य घरभन्दा पर पाँच दिन बिताउनुपर्ने नियम बहिनीको हकमा भने लागु हुन सकेन ।

ऊ पहिलो महिनावारीमै चुपचाप ढोका थुनेर आफ्नै कोठामा बसिदिएकी थिई । सायद त्यो उसको असहजता बढी र कम ज्ञानको कारण थियो । त्यसपछि पनि उसलाई मुख्य घरकै पहिलो तलामा बस्न मिल्ने भयो । आमा भने पहिलेकै ठाउँमा बस्न छाड्नु भएन । किनकि आमालाई समाज र त्योभन्दा धेरै हजुरआमाको डर थियो । उहाँ आफै पनि त्यसका लागि तयार हुनुहुन्थेन सायद ।

म एसएलसीपछि काठमाडौं आएँ । काठमाडौंमा छाउपडी मान्ने चलन भिन्न थियो । म बसेको घरबेटीकामा भान्छा र पानी छुन दिइन्थेन, अरु कुराको ख्याल हुन्थेन । त्यो देख्दा मैले बाल्यकालमा झेल्नुपरेका नियम अनि आमाले भोग्नुपरेका कष्टहरूले खुबै पिरोलेको थियो । आखिर सहरका मानिस पनि हाम्रोभन्दा धेरै भगवानको पूजा गर्ने रहेछन् । तर हाम्रोमा मात्र भगवान र समाजको डर किन भन्ने लाग्थ्यो ।

एक वर्षपछि म घर गएँ । मेरो पुरानो कोठा भाडामा दिइएको रहेछ । आमाले पनि आफ्नो पाँच दिन बहिनीको कोठामा बिताउन थाल्नुभएको रहेछ । तर त्यहाँ पहिलेको मलाईजस्तै नियम भुलचुक बहिनीले पालना गर्नुपर्ने भएछ । मलाई खुसी लाग्यो, मानिसको ज्ञानको गहिराइ, घरको उचाइ र चौडाइ अनि स्वास्थ्यसेवाको विस्तारसँगै छाउपडी परिमार्जन हुँदै गइरहेको थियो ।

मेरो घरमा महिनावारीका बेला दही, दूध खान, भान्छा प्रवेश र त्यहाँ प्रयोग हुने पानी छुन अहिले पनि निषेधित छ । त्यस्तै काठमाडौं उपत्यकाका घरहरूमा जहाँ मेरो चिनजान र आवत–जावत छ, त्यहाँ पनि भान्छा प्रवेश र देउतालाई चढाउने जल छुन वर्जित छ । यसरी तुलना गरेर हेर्दा मेरो घरमा आएको परिवर्तन ठूलैजस्तो लाग्छ ।


अपर्याप्त प्रयास

जसरी छापा, रेडियो, टेलिभिजनमा छाउपडीबारे सुनिन्छ त्यसरी नै विभिन्न महिला हिंसा तथा छाउपडी विरुद्ध काम गरिरहेका संस्थाहरूको प्रतिवेदनमा पनि पढ्न पाइन्छ । सबै प्रतिवेदनले छाउपडीलाई कुप्रथा र महिला विरुद्ध रहेको जनाउँछन् । तर त्यसलाई निरुत्साहित गर्न न सरकारी कानुन नत गैरसकारी पहल सफल छन् ।

कैयौं पटक छाउपडी अन्तर्राष्ट्रिय मिडियाको समाचार बन्यो, सहर केन्द्रित होटलका हलहरूमा बहसको विषय बन्यो, केही लेख अनि थोरै सोधको विषय पनि बन्यो । राष्ट्रिय दैनिकमा कहिले मुख्य त कहिले गौण समाचार बन्यो, महिला अधिकारको मुद्दा बन्यो, सुदूर र कर्णाली प्रदेशको कमजोरी वा त्यहाँको गलत परम्परागत प्रयोग बन्यो र बन्यो धेरै छोरीचेली र आमाहरूको काल ।

समाचारमा आइरहेका छन्, छाउपडीमुक्त गाउँ, टोल, स्थानीय तह घोषणा, छाउगोठ भत्काएको, भत्काएको गोठ बनाएको वा छाउपडी मान्न महिलाले ओडारमा बस्नुपरेको कुरा । त्यससँगै बलात्कार, मृत्यु र गम्भीर महिला स्वास्थ्य समस्याका कुरा पनि आएका छन् ।

हरेक घटनापश्चात सचेतना फैलाउने प्रयास नभएका होइनन् । त्यस्ता अभियान विस्तारै सेलाउँदै जान्छन् । अहिले सचेतनाका नाममा जे भइरहेको छ, त्यो अपर्याप्त छ । सचेतनाको कार्यक्रम पुरुष लक्षित हुन जरुरी देखिन्छ । जिम्मेवार, सभ्य र सुसंस्कृत नागरिक निर्माण गर्न विद्यालय तहबाटै प्रयास गरिनुपर्छ । छाउपडी विरुद्ध गरिने बहस, सचेतना कार्यक्रम छाउपडीबाट प्रभावित वर्ग, समुदाय र स्थानमा लक्षित हुनुपर्छ, नकि कुनै सहर केन्द्रित होटलका हलहरूमा । काठमाडौंबाट गएर एकदिन सचेतना जगाउने टोलीले गाउँका सबै जनताको मनस्थितिमा परिवर्तन ल्याउन सक्दैन ।

परिवर्तन सम्भव छ

छाउघर वा छाउगोठ भत्काएर यो प्रथा सजिलै हट्ला ? त्यो एक विद्यार्थीले फेल हुने निश्चित भएपछि आफ्नो उत्तर पुस्तिका च्यात्नु जस्तै हो, नतिजा आखिर फेल नै आउने हो । कुनै पनि परियोजनालाई सफलतापूर्वक सम्पन्न गर्नका लागि समाज बुझ्न अत्यावश्यक छ । जस्तै– छाउपडी न्युनीकरणका लागि सचेतनाको कार्यक्रम सञ्चालन गर्नुपूर्व छाउपडी किन छ ? त्यसका सामाजिक, धार्मिक, सांस्कृतिक आयामहरू खोजिन जरुरी छ । जनतालाई सम्झाइ–बुझाइ गर्न सक्नुपर्छ । यो एउटा धार्मिक आस्था र संस्कृतिसँंग जोडिएर आएको प्रथा हो । यसलाई नमान्दा देउता रिसाउने अन्धविश्वास चिर्न सक्नुपर्छ । यसका लागि निरन्तर जनचेतना चाहिन्छ ।

कुनै कट्टर समाजमा अहिलेलाई चाहेको स्तरको सुधार असम्भव नदेखिए सामुदायिक छाउघर बनाउन सकिने विकल्पतिर पनि जान सक्नुपर्छ, जुन सुरक्षा, स्वास्थ्यका दृष्किोणले सम्पन्न हुनपर्छ । महिनावारीका बेला आवश्यक पर्ने सामग्री किन्न नसक्नेलाई उपलब्ध गराएर स्वस्थ जीवनशैली अपनाउने बानी बसाल्न लगाउनुपर्छ । सचेतनाको नाममा समाजमा समन्वय नगरी, समाजका पीडक र पीडितको सहभागिता बिना कुनै बैठक कोठा वा होटलका हलबाट भएका निर्णय गाउँका कार्यान्वयन गर्ने नाममा छाउघर भत्काउँदा महिलाले पारिवारिक कलह, यातना खेप्नुपर्ने, ओडारमा बस्नुपर्ने स्थिति सिर्जना हुनुहुँदैन ।

कानुन बनाएर मात्र परिवर्तन हुने भए तेह्र वर्ष पहिले सर्वोच्च अदालतले गैरकानुनी मानेको र एक वर्ष पहिले मुलुकी संहिता ऐनले कसुर भनी प्रस्ट्याएको कुप्रथा किन घटेन ? कानुनको पालना गर्ने शिक्षित, सभ्य र सुसंस्कृत नागरिक निर्माण गर्न पहिलो प्राथमिता हुनुपर्छ । मानिसका सोचाइ खुकुला र खुला हुँदै गए, बस्ने घर र कोठाहरू पनि खुकुला र ठूला भए भने कर्णाली र सुदूर पश्चिमका गाउँमा छाउपडी प्रथाका प्रयोगहरू लुला हुनेछन् ।

जनताको आर्थिक स्तर र स्वास्थ्यको पहुँच बढाउनुपर्छ । जनता आर्थिक रूपमा सम्पन्न हुन्थे भने छाउघर बनाउनैपरे पनि सुविधा सम्पन्न बनाउँथे होला । महिलाहरूले काठमाडौंमा जस्तै गाउँमा पनि आफ्नै कोठामा छाउ बार्न सक्थे । त्यसो गर्दा कम्तीमा महिलाले अकालमा ज्यान गुमाउनु पर्थेन, बलात्कार सहनु पर्थेन ।

वर्षौं पहिलेदेखि पस्थितिसँग जोडिएर संस्कृति, धर्म हुँदै पुस्तान्तरण भएको छाउपडी प्रथा मान्छेको आस्थासँग नराम्ररी जेलिएको छ, त्यसलाई परिमार्जन गर्दै परिवर्तनको बाटो रोज्नुपर्छ । मानिसको विश्वास प्रणालीमा क्रमिक सुधार ल्याई छाउपडी कुप्रथा हो भनेर बुझाउन सक्नुपर्छ ।

प्रकाशित : माघ २, २०७५ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?