१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

वन्यजन्तुलाई हिउँद मुस्किल

हिउँदे समय धेरै लम्बिँदा वा अति चिसो हुँदा बसाइँ–सराइ गर्न नसक्ने जीवहरू शरीरको तापक्रम स्थिर गर्न नसकेर मर्छन् । 
पुष्पराज आचार्य

काठमाडौँ — पर्वतीय भूगोल भएकाले नेपालमा स्पष्ट ग्रिष्म र हिउँदकालीन मौसम हुन्छ । गर्मी समय प्राणीहरूका लागि अनुकूल समय हो भने हिउँद प्रतिकूल । हिउँदमा वातावरणको तापक्रममा अत्यधिक कमी आउँछ । यो मौसममा बाँच्न जीवहरूले उपयुक्त रणनीति अपनाउन सक्नुपर्छ । कतिपय जीवहरू चिसो सामना गर्न नसकेर मर्छन् । कतिपय बसाइँ सर्छन् । कुनै शीत निद्रामा बस्छन् । 

वन्यजन्तुलाई हिउँद मुस्किल

प्राणीशास्त्रमा जीवहरूलाई चिसो र तातो रगत भएका गरी दुई वर्गमा विभाजन गरिन्छ । तातो रगत भएका प्राणीहरूले आफ्नो शरीरको आन्तरिक तापमान वर्षैभर स्थिर कायम राख्न सक्छन् । चिसो रगत भएका प्राणीका शरीरको आन्तरिक तापक्रम वातावरणमा हुने तापक्रमको उतार–चढाव अनुसार बदलिने गर्छ । तातो रगत भएका जीवहरू स्तनधारी र पन्क्षी वर्गका हुन् । सर्प (सरिसृप), उभयचर (भ्यागुता वर्ग), मत्स्य (माछा वर्ग) र अन्य ढाड भएका प्राणी, किराहरू, चिप्लेकिरा, जंगलका जुका आदि चिसो रगत भएका जीव हुन् ।


चिसो रगत भएका प्राणी हिउँदभर सुरक्षित स्थान सुषुप्त अवस्थामा बस्ने गर्छन् । यी जीव हिउँद अवधिभर लामो शीत निद्रामा लुक्ने गर्छन् । तातो रगत भएका स्तनधारी या पन्क्षीहरू कतिपयले हिउँद लागेपछि उष्णीय क्षेत्रमा बसाइँ–सराइ गर्छन् । बसाइँ–सराइ गर्नेमा पन्क्षी विशेष मानिन्छन् । हिउँदको महिनामा चिसो छल्न साइबेरियादेखि चराहरू नेपालका विभिन्न सिमसार क्षेत्रमा आउने गरेको पन्क्षीविदहरूले बताउँदै आएका छन् । स्तनधारी जनावरहरूमा कतिपय ठूला हुन्छन् भने कतिपय साना । शरीरको तापक्रम स्थिर पार्नका लागि साना स्तनधारी जीवहरूलाई मुस्किल हुने गर्छ । बसाइँ–सराइ गर्न सक्ने जीवहरू उष्ण वातावरणतिर लाग्छन् ।


काठमाडाैंको लैनचौरस्थित प्टेरोपस जातिका फलहारी चमेराहरू अंग्रेजी नयाँ वर्षको आसपासमा काठमाडौं छाडेका छन् । यिनीहरूले काठमाडाैंको ठन्डी वातावरणको जैविक सूचकको काम गरेका छन् । कतिपय साना प्रजातिका चमेराहरू चरा या ठूला प्रजातिका चमेराजस्तो बसाइँ–सराइ गर्न सक्दैनन् । तिनीहरू साविकको ठन्डी वातावरणमा हिउँद बिताउन बाध्य हुन्छन् ।


यस्ता जीवहरूको वजन हिउँद अगाडि सर्वाधिक हुने गर्छ । हिउँद पश्चातको वजन सबैभन्दा न्युन हुने गर्छ । कारण के हो भने हिउँदको ठन्डी मौसमभर यिनीहरू आफ्नो शरीरको बोसोमा स्टोर भएको ऊर्जा खपत गर्छन् र शरीरको तापमान स्थिर राख्ने गर्छन् । हिउँदे समय धेरै लम्बिने हो भने अथवा वातावरणको तापक्रमम अति न्युन हुने हो भने यी जीवहरू ठन्डीका कारण मर्ने गर्छन् । जीवविज्ञानमा यो समस्यालाई हाइपोथर्मिया भनिन्छ । यतिबेला काठमाडौंका मन्दिर या बाटाघाटामा परेवा मरेको भेटिन्छ । त्यो हाइपोथर्मियाका कारण हुनसक्छ ।


हाइपोथर्मियाबाट बाँच्न जीवहरू काँप्ने गर्छन् । छोटो–छोटो अवधिका लागि शीत निद्रामा जाने गर्छन् । मौरी, पुतली, गाइनेकिराहरू थरथर काँप्नुको कारण पनि शरीरको तापक्रम बढाउनलाई हो । यतिबेला पहाडी भेगका गुफा, पहरा, घरका भित्ता, चेप, रुखका प्वाल, होर्डिङ बोर्डका चेपमा लुकेर थुर्पै जीवले तातो वातावरणको खोजी गरिरहेका हुन्छन् । कतिपय जंगली जनावर किफायती तवरले सिकार गर्नका लागि गाउँ, गोठ छेउछाउ बस्ने गर्छन् । हिउँदको समयमा पहाडी क्षेत्रमा गाई, बाख्रा, भैंसी आदि घरपालुवा जीव बढी आक्रमणमा पर्ने कारण पनि यही हो ।


नेपालमा हिउँद महिनामा वन्यजन्तुको सिकार बढ्ने गर्छ । ठन्डी मौसमका कारण एक त जीवहरूमा निस्क्रियता बढ्छ । मांसाहारी जीवहरू जस्तो– स्याल, चितुवा, ब्वाँसो, भालु, हिउ चितुवा आदि कुनै खास आहारका लागि निश्चित ठाउँमा ढुकेर बस्ने गर्छन् । यी जीवहरू सीमित क्षेत्रमा चिसो मौसम सामना गरेर बस्ने हँुदा चोरी सिकारीको जोखिममा हुन्छन् । उच्च हिमाली भूभागमा हिमपात भएपछि मृग, घोरल, नाउर, कालिज, डाँफेजस्ता जीव ओरालो लाग्छन् । यही मौकामा सिकारको जोखिममा पर्ने गर्छन् ।


मंसिर र पुस महिनाभर अखबारमा देशका विभिन्न भूभागमा कालिजको अवैध सिकार भएका समाचार आएका छन् । हिउँदको समयमा जंगल झाडीमुक्त हुने गर्छन् । पहाडका जंगलदेखि तराईका घाँसे मैदानहरू हिउँदमा सफा र सुक्खा हुन्छन् । सिकारीलाई जंगलमा ओहोर–दोहोर गर्न सजिलो हुन्छ । मकवानपुर, चितवन, धादिङ क्षेत्रमा चिउरीको फूलमा रस चुस्न आउने चमेराहरू महिनाभर स्थानीय सिकारीको फन्दामा पर्ने गरेका छन् ।


वन्यजन्तु सिकारको राजकीय र राणाकालीन अभ्यासहरू पनि हिउँदमै हुने गरेको पढ्न पाइन्छ । ढोरपाटन सिकार आरक्षणमा हिउँदे महिनामै सिकार गर्न पर्यटक आउने गर्छन् । यसर्थ वन्यजन्तु चोरी सिकारी रोक्ने हो भने हिउँदमा सम्बन्धित सबै निकाय अत्यन्त चनाखो हुनुपर्छ । सामुदायिक वन व्यवस्थापक, स्थानीय मानिस, प्रहरी प्रशासन, विद्यार्थी, अनुसन्धानकर्ता सबैको ध्यान यसमा जान जरुरी छ ।


वन्यजन्तुका लागि हिउँदको समयमा वातावरणीय प्रतिकूलता छ । त्यस प्रतिकूलताबाट बच्न मानव सिर्जित वातावरणको नजिक आउँदा तिनीहरू उल्टो आक्रमणमा पर्ने जोखिम छ । यो उनीहरूका लागि मुस्किलको समय हो । हामीले आफ्नो वातावरणमा वन्यजन्तुलाई सक्दो सहयोग गर्न सक्नुपर्छ । घर, मठमन्दिर आसपासमा चराका लागि कृत्रिम घर बनाइदिन सकिन्छ । जस्तो कि गाैंथलीको गुँड प्राय: घरहरूमा हुने गर्छ ।


गुफा, पहरा, रुखका टोड्का, जमिनभित्रका प्वाल आदिमा वन्यजीव भए तिनलाई संरक्षण गर्न आवश्यक छ । नेपालमा अत्यधिक चोरी सिकारीमा परेको जीव सालक हिउँद मौसममा खेतबारीको जमिनमा प्वाल बनाएर गुटुमुटु परी बस्न सक्छ । कृषकहरू समेत चनाखो हुनुपर्छ ।


लेखक नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानमा कार्यरत छन् ।

प्रकाशित : पुस ३०, २०७५ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?