क्यामेरा ट्रयापको हाउगुजी

जनावरको तस्बिर खिच्न क्यामेरा प्रयोग गर्न पाइने, तर ‘क्यामेरा ट्रयाप’ प्रयोग गर्न नमिल्ने वन मन्त्रालयको नीति बुझिनसक्नु छ ।
कमल मादेन

काठमाडौँ — संखुवासभास्थित मकालु र भोट खोला गाउँपालिकाको सिमाना तिब्बतसँग जोडिन्छ । तिहार अघि मकालु गाउँपालिका पुग्ने अवसर जुर्‍यो । जन्तुविज्ञ सागर दाहाल लगायतका साथी थिए । यात्राक्रममा वन्यजन्तु अनुसन्धानका विभिन्न आयामबारे चर्चा, परिचर्चा भए ।

क्यामेरा ट्रयापको हाउगुजी

वन्यजन्तु अनुसन्धानमा स्थानीय व्यक्तिहरूलाई तस्बिर देखाएर उल्लिखित जनावर सम्बन्धित ठाउँमा छ–छैन भनेर जानकारी लिने विधि पनि अपनाइन्छ । हामीले स्थानीय बासिन्दासँग स–साना स्तनधारीबारे सोधपुछ गर्‍यौं ।


माथिल्लो वालुङमा बिरालोजस्तो एक जनावरको आधा तस्बिर लिन सफल भयौं । पूरा तस्बिर खिच्दा क्यामेरा हल्लिएर तस्बिर स्पष्ट आएन । बास बसेको घरमा हाम्रो क्यामेराबाट खिचिएको तस्बिर ‘लियोपर्ड क्याट’कै हो भन्ने थाहा पाएर खुसी लाग्यो । वन्यजन्तुको एउटा राम्रो तस्बिर लिन महिनौंपछि लाग्नुपर्छ ।


लियोपर्ड क्याट बिरालो परिवारको जनावर हो । नेपालमा सानो बिरालो परिवारको लियोपर्ड क्याट, मार्बल क्याट, फिसिङ क्याट, गोल्डेन क्याट, जंगल क्याट, पल्लास क्याट, क्लाउडेड लियोपर्ड, युरासियन लिक्स र रष्टी स्पटेड क्याट पाइन्छन् । हामीकहाँ ठूलो बिरालो अन्तर्गत स्नो लियोपर्ड, रोयल बेन्गाल टाइगर र कमन लियोपर्ड छन् । यस लेखमा सानो बिरालो परिवारका जनावरहरूमा विशेषत: लियोपर्ड क्याटबारे चर्चा गरिंँदैछ ।


चरी बाघको विचरण

लियोपर्ड क्याटलाई चरीबाघ भन्ने गरिन्छ । यो रातमा चर्न निस्कने निशाचर अर्थात नक्चरल जनावर हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनअनुसार चरीबाघ नेपालको संरक्षित वन्यजन्तु हो । ऐनले २६ प्रजातिका वन्यजन्तुलाई संरक्षित वन्यजन्तु मानेको छ । ऐन अनुसार संरक्षित वन्यजन्तुहरू सिकार गर्न निषेध छ ।


चरीबाघ नेपालमा पाइने जङ्गली बिरालो प्रजातिमध्ये निकै सानो जनावर हो । यो ‘रष्टी स्पटेड क्याट’भन्दा थोरै ठूलो र झन्डै चितुवाजस्तो देखिन्छ । कहिलेकाहीं यसलाई सानो चितुवा भन्ठानिन्छ । यसका खुट्टाहरू भने लामा हुन्छन् ।


यसको रंग खैरो पृष्ठभूमिमा कालो धब्बाहरू लस्करैजस्तो हुन्छन् । यो जन्तु दिउँसो रुखका टोड्कामा बस्छ । यो मानिस बसोबास भएको नजिकका जंगलमा मात्रै भेटिएका छन् ।


एसआर ज्ञवाली, एचएस बराल, एसली, केपी आचार्य, जीपी उपाध्याय, एम पाण्डे, आर श्रेष्ठ, डी जोशी, बीआर लामिछाने, जे ग्रिफिथ, एपी खतिवडा, एन सुवेदी र आर अमिन लिखित ‘द स्टेटस अफ नेपाल्स म्यामल्स : द नेसनल रेड लिष्ट सेरिज’ (सन् २०११) अनुसार नेपालमा चरीबाघ झन्डै २५ सयजति संख्यामा पाइन्छ ।


यो जनावर बर्दिया, चितवन, ढोरपाटन, कञ्चनजंगा, लाङटाङ, खप्तड, मनास्लु, पर्सा, शुक्लाफाँटा लगायत बझाङ, डोटी, इलाम, कञ्चनपुर, रामेछाप लगायत मध्यपहाडी सबैजसो जिल्लामा पाइएको छ ।


यो तराईका जंगलदेखि करिब ३२ सय मिटर भू–सतह उचाइसम्म पाइन्छ । यसले मूलत: घरपालुवा तथा जंगली कुखुरा (लुइँचे), अन्य पन्क्षी तथा मुसालाई आहारा बनाउँछ । थाइल्यान्डमा गरिएको एक अनुसन्धान अनुसार भाले चरीबाघको विचरण क्षेत्र करिब ४ वर्ग किलोमिटरसम्म हुन्छ । भाले चरीबाघ एक दिनमा ३.६ किलोमिटर दूरीसम्म हिँड्छ । एक पोथी चरीबाघको विचरण क्षेत्र २.५ वर्ग किलोमिटर हुन्छ र एक दिनमा मात्र ६ सय मिटर दूरी हिँडेको पाइएको थियो ।


चरी बाघको विचरण भू–भाग बाघ, सिंंहको जस्तै निश्चित हुन्छ । एउटा भाले चरीबाघ अर्को चरीबाघको विचरण भू–भागमा अत्यन्त कम मात्रामा पुग्छ । अध्ययनमा नजिकको २ भिन्नाभिन्नै भाले चरीबाघको विचरण भू–भागमा मात्र २.४ प्रतिशत ओभरल्याप भएको देखिन्छ । टेलिमेट्री उपकरण प्रयोग गरी गरिएको अनुसन्धानमा नजिकै विचरण गर्ने एक भाले र पोथीको विचरण क्षेत्र ४६.२ प्रतिशत ओभरल्याप भएको थियो । पोथी चरीबाघ भने भाले चरीबाघको विचरण भू–भागमा बढी हिँडडुल गर्छ ।


संरक्षित सूची

नेपालमा पाइने सानो बिराला समूहमा जम्मा ९ प्रजाति जनावरमध्ये रष्टी स्पटेड क्याट हालसालै पश्चिम तराईमा फेला परेको हो । यसको तस्बिर टुरिष्ट गाइड रामजनम चौधरीले बर्दियामा खिचेका थिए ।


नेपालमा रष्टी स्पटेड क्याट, एसियन गोल्डेन क्याट, मार्बल्ड क्याट र पल्लास क्याट के कति संख्यामा पाइन्छ भन्ने अनुमानित संख्या कतै उल्लेख गरिएको पाइन्न । अहिलेसम्म युरासियन लिक्सको दुईवटा तस्बिरमात्र सार्वजनिक भएको छ । एक तस्बिर हालसालै बासस्थानमै र अर्को केही दशकअघि घरमा पालिएको अवस्थामा खिचिएको हो ।


‘द स्टाटस अफ नेपाल्स म्यामल्स : द नेसनल रेड लिष्ट सेरिज’ शीर्षक पुस्तक अनुसार फिसिङ क्याट २ सय, क्लाउडेड लियोपर्ड १ सय, युरासियन लिक्स १ सयजति संख्यामा पाइने अनुमान छ । तीमध्ये क्लाउडेड लियोपर्ड र युरासिन लिंक्स नेपालको संरक्षित वन्यजन्तुको सूचीमा समावेश छन् ।


फिसिङ क्याट संरक्षित सूचीमा समावेश छैन । चरी बाघको संख्या फिसिङ क्याटको भन्दा कैयौं गुणा बढी छ । बासस्थान क्षेत्र पनि अत्यधिक क्षेत्रमा फैलिएको छ । चरीबाघ संरक्षित जन्तुको सूचीमा पर्नुले पर्याप्त अध्ययन भएको थिएन कि भन्ने आशंका गर्न सकिन्छ । रष्टी स्पटेड क्याट, एसियन गोल्डेन क्याट, मार्बल्ड क्याट, पल्लास क्याट के कति संख्यामा छन् भन्ने बृहत अध्ययन–अनुसन्धान आवश्यक छ ।

क्यामेरा ट्रयापबेगर पढाइ

वन्यजन्तु विशेषगरी रातमा हिँड्डुल गर्नेका निम्ति ‘क्यामेरा ट्रयाप’बाट मात्र अध्ययन सम्भव हुन्छ । बासस्थान विकट र खतरनाक जनावरका निम्ति पनि ‘क्यामेरा ट्रयाप’ प्रयोग गर्ने चलन छ । यसले जन्तुको हिँडडुल गरेको तस्बिर तथा भिडियो कैद गर्छ ।


दुर्गम स्थानहरूमा कुनै जन्तु छ, छैन वा कुनै जन्तु के कति संख्यामा छ भनेर थाहा पाउन निकै संख्यामा ‘क्यामेरा ट्रयाप’ महिनौंसम्म राखिन्छ । तिनले कैद गरेका तस्बिर विश्लेषण गरेर सम्बन्धित जनावरबारे जानकारी प्राप्त हुन्छ ।


नेपालमा ‘क्यामेरा ट्रयाप’बाट वन्यजन्तु अध्ययन–अनुसन्धान भएको दशकौं भइसक्यो । त्रिभुवन विश्वविद्यालयको जन्तु शाखाको स्नातकोत्तर तहमा ‘क्यामेरा ट्रयाप’बाट वन्यजन्तुबारे अध्ययन–अनुसन्धान गराउनुपर्ने लेखिएको छ । तर जन्तु विज्ञानमा स्नातकोत्तर तह सञ्चालन भएको कीर्तिपुर (केन्द्रीय जन्तु विभाग) र स्नातकोत्तर क्याम्पस विराटनगरमा ‘क्यामेरा ट्रयाप’ उपलब्ध छैन ।


क्याम्पस प्रशासनले डेढ, दुई सय डलर मूल्यमा किन्न पाइने ‘क्यामेरा ट्रयाप’ ठूलै उपकरण भन्ठानेको हुनुपर्छ । वन मन्त्रालयले पनि यसलाई ठूलै हाउगुजी मानेको छ । अर्कोतिर अध्ययन–अनुसन्धानका निम्ति संरक्षित क्षेत्रमा अनुमति पाउन गाह्रो छ ।


त्यसमाथि ‘क्यामेरा ट्रयाप’ प्रयोग गर्ने अनुमति नेसनल पार्क तथा वन्यजन्तु संरक्षण विभागबाट पाउन ज्यादै कठिन छ । जनावरको तस्बिर खिच्न क्यामेरा प्रयोग गर्न पाइने, तर ‘क्यामेरा ट्रयाप’ प्रयोग गर्न नमिल्ने वन मन्त्रालयको नीति बुझिनसक्नु छ ।


सरकारी कर्मचारी मनोवृत्ति भरसक ‘क्यामेरा ट्रयाप’ प्रयोग नहोस् भन्ने छ । यस्तो अवस्थामा रष्टी स्पटेड क्याट, एसियन गोल्डेन क्याट, मार्बल्ड क्याट, पल्लास क्याटजस्ता जनावरबारे अध्ययन–अनुसन्धान अपुरो हुन्छ । अनुसन्धानकर्तालाई ‘क्यामेरा ट्रयाप’ प्रयोग गर्न बाधा–अवरोध नगरी बरु त्यस्ता अनुसन्धान आयोजनालाई सम्बन्धित निकायहरूले सक्दो सहयोग गर्ने प्रबन्ध मिलाउन सक्नुपर्छ ।

प्रकाशित : पुस २०, २०७५ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?