२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

ग्यास सिलिन्डरको सुरक्षा

काठमाडौंकै एलपी ग्यास व्यापारीसमेत सिलिन्डरमा अंकित म्यादबारे अनभिज्ञ छन् । 

काठमाडौँ — एक साँझ काठमाडौंको एउटा किराना स्टोरमा एलपीजी सिलिन्डरका सम्बन्धमा खरिदकर्ता र व्यापारीबीच भनाभन चल्दै थियो । कुरा के रहेछ भने घरायसी प्रयोजनका लागि उपभोक्ताको घरमा पुगेको उक्त सिलिन्डरमा ‘बी–१८’ लेखिएको थियो ।

ग्यास सिलिन्डरको सुरक्षा

उपभोक्ताले इन्टरनेटमार्फत जानकारी पाए अनुसार उक्त सिलिन्डर प्रयोगको म्याद समाप्त भएको भन्दै फिर्ताका लागि ल्याएका रहेछन् । व्यापारीले भने ‘१८’ लेखिएकाले ‘२०१८’ सालभरि प्रयोग गर्न सकिने बताउँदै थिए । उपभोक्ता मान्न तयार भएनन् । यसबाट काठमाडाैंकै ग्यास व्यापारीसमेत सिलिन्डरमा अंकित मितिबारे अनभिज्ञ रहेको देखियो ।


‘बी–१८’ ले भने २०१८ को जून महिनापछि त्यस सिलिन्डरलाई त्यही अवस्थामा प्रयोग गर्न नमिल्ने, चुहावट र तागत परीक्षण (हाइड्रोस्टाटिक टेस्ट) मा लैजानुपर्ने जनाउँछ । प्रत्येक सिलिन्डरमा अंग्रेजी वर्ष संँगसंँगै चारवटा अंग्रेजी अक्षर ए, बी, सी र डी प्रयोग गरिएको हुन्छ । ए ले पहिलो ३ महिना अर्थात् मार्च जनाउँछ । अरू तीन अक्षरले पनि ३–३ महिना गरी जुन, सेप्टेम्बर र डिसेम्बर जनाउँछन् ।


प्रत्येक नयाँ सिलिन्डरको सुरुको १० वर्षपछि परीक्षण गरिनुपर्छ । परीक्षण गर्दा प्रयोगका लागि ठिक देखिए मात्र पुन: प्रयोग गर्न मिल्छ । त्यसपछि ५–५ वर्षमा परीक्षण गराइनुपर्छ । २० वर्षपछि भने ३–३ वर्षमा तर त्यसबखत नेपाल गुणस्तर तथा नापतौल विभाग वा अन्य अख्तियार प्राप्त तेस्रो पक्षको रोहवरमा परीक्षण गर्नुपर्ने हुन्छ ।


हामीले घरायसी इन्धनका रूपमा प्रयोग गर्ने ग्यास सिलिन्डरभित्र अति प्रज्वलनशील ग्यास (बुटेन–प्रोपेन) को मिश्रण हुन्छ, जसलाई चापको प्रयोगद्वारा तरलीकृत पारिएको हुन्छ । सिलिन्डर, भल्भ, रेगुलेटर, पाइप र तिनको प्रयोगमा सावधानी पुर्‍याइएन भने कुनै पनि बखत दुर्घटना हुनसक्छ ।


विश्वव्यापी र तत्काल उपलब्धता, वातावरणीय लाभ, ओसार–पसारमा सहजता तथा विविध प्रयोगका कारण एलपी ग्यासको लोकप्रियता बढ्दो छ । एलपी ग्यास आफैंमा हानिकारक होइन । आपूर्तिकर्ता र प्रयोगकर्ताको होशियारी नपुग्दा यो आगलागी, विस्फोटन र दुर्घटनाको कारण बन्न पुग्छ ।


यसमा दुइटा कारण प्रधान देखिन्छन्– खराब सिलिन्डर प्रयोगस्थलसम्म पुग्नु र सही सिलिन्डर भए पनि प्रयोगकर्ताले सही तरिकाले प्रयोगमा नल्याउनु । यसमा ग्यास आयात गर्नेदेखि ग्यास भर्ने उद्योगी, बिक्री गर्ने डिलर तथा उपभोक्ता सबैले सावधानी पुर्‍याउनुपर्छ ।


उपभोक्ताले सिलिन्डरमा उल्लेखित मिति र सुरक्षा बिर्को सम्बन्धमा विशेष ध्यान दिनुपर्छ । सिलिन्डरभन्दा माथि ग्यास चुल्हो राखेर खाना पकाउनुपर्छ । सिलिन्डर सकेसम्म कोठा बाहिर खुला र प्रशस्त हावा खेल्ने ठाउँमा राख्नुपर्छ । आगो, हिटर, घामजस्ता तापक्रम बढ्ने स्रोतको नजिक सिलिन्डर राख्नु हुँदैन ।


सिलिन्डरमा वेल्डिङ वा दरार भएको ठाउँमा अथवा भल्भ जोडिएको ठाउँमा ग्यास चुहिएको शंका लागे साबुन वा डिटर्जेन्टको घोललाई राख्न सकिन्छ । साबुनको फोका निस्केमा चुहिएको थाहा हुन्छ, तर त्यसको नजिक ज्वलनशील चिज भने लैजानु हुँदैन । हरेक पटक ग्यास प्रयोग सकिएपछि रेगुलेटर बन्द गर्न जरुरी छ ।


तौल सिलिन्डरमा लेखिएको हुन्छ । खाली सिलिन्डरको तौल सिलिन्डरमा उल्लेख भएभन्दा बढी भए भित्र फोहोर जम्मा भएको हुनसक्छ । हरेकपल्ट ग्यास भर्नु अगाडि सिलिन्डरको तौल जाँच गरिनुपर्छ । तौलमा उपभोक्ता ठगिन सक्ने हुँदा नियामक निकायले ध्यान दिनुपर्छ । चुहावटको परीक्षण पनि ग्यास भर्ने बेला हरेकपटक गरिनु जरुरी छ ।


सिलिन्डरमा अंकित मितिलाई ख्याल गरिकन ग्यास भर्नुपर्छ । मिति नाघ्न लागे हाइड्रोस्टाटिक टेस्टका लागि लगिनुपर्छ । सुरक्षा बिर्कोका सम्बन्धमा उद्योगी सचेत हुनुपर्छ । ग्यास बिक्रेताले सुरक्षित स्थानमा भण्डारण गरी सुरक्षित ढंगबाट बिक्री–वितरण गराउनुपर्छ । एलपीजी सिलिन्डरलाई सधैं सिधा र ठाडो राख्नुपर्छ । प्रयोग स्थलसम्म पुर्‍याउँदा तेर्सो पार्ने वा गुडाउने गर्नु हुँदैन ।


सिलिन्डरको खराबीले मात्र नभई एलपीजी भल्भ, रेगुलेटर र पाइपको खराबीले पनि दुर्घटना निम्तिन सक्छ । नेपाल गुणस्तर तथा नापतौल विभागले एलपी ग्यास उद्योग, सिलिन्डिर, रेगुलेटर, फिटिङका लागि मापदन्ड जारी गरेको छ ।


यी सबै समानमा नेपाल गुणस्तर प्रमाण चिन्ह नभए बजारमा बिक्री–वितरण गर्न पाइँदैन । विभागले एलपीजी पाइपको पनि गुणस्तर निर्धारण गरिसकेको छ । उपभोक्ताले गुणस्तर चिन्ह भए–नभएको ख्याल गर्नु जरुरी छ ।


नेपाल आयल निगम लिमिटेडले एलपी ग्यास विनियमावली २०६५ (संशोधनसहित) अनुरूप एलपी ग्यास बोटलिङ प्लान्ट सञ्चालनका लागि सैद्धान्तिक सहमति तथा प्लान्ट सञ्चालनका लागि स्वीकृति दिने गर्छ । अधिकतम सेवा, सुविधा र सुरक्षाको प्रत्याभूति दिने तथा गाउँ–बस्ती भन्दा ५ किमि दूरीमा स्थापना गर्न चाहने उद्योगलाई प्राथमिकता दिने प्रावधान छ ।


नेपालमा २०२६ सालदेखि एलपी ग्यास प्रयोग हुनथालेको हो । हाल ५० भन्दा बढी बोटलिङ प्लान्ट सञ्चालनमा छन् । ती मध्ये २८ वटा जतिले मात्र बोटलिङ प्रक्रियामा नेपाल गुणस्तर मापदण्ड पूरा गरेका छन् र केही प्रक्रियामा छन् । सुरुमा १२.८ केजी, २०३८ सालमा १५ केजी हुँदै २०४५/४६ पछि भने १४.२ केजी तौलका सिलिन्डरहरू घरायसी इन्धनका रूपमा प्रयोगमा छन् ।


आयल निगमले नयाँ प्रविधिको प्लास्टिक र फाइबरबाट बनेको कम्पोजिट सिलिन्डरलाई बजारमा ल्याउन अख्तियारी दिइसकेको छ, तर यसको प्रयोग भने स्वेच्छिक छ । परम्परागत फलामे सिलिन्डरको तुलनामा यो सिलिन्डर ३ गुणासम्म महँगो पर्ने भए पनि हलुका (ग्याससहित लगभग २२ केजी), खिया नलाग्ने, पारदर्शी र आगो लाग्दा नपड्किने हुन्छ । नेपालमा एलपी ग्यास उत्खनन गर्न सकिएको छैन ।


अर्काको देशबाट पैठारी गरी वितरण गर्नुपर्छ । एलपी ग्यासबाट विद्युत प्रयोगतर्फ मोड्न सकियो भने घरायसी ऊर्जाका लागि परनिर्भरता घट्छ र यसले राष्ट्रिय अर्थतन्त्रमा टेवा दिन्छ । यसका लागि सरकारले अल्पकालीन र दीर्घकालीन योजना बनाउनुपर्छ ।


लेखकहरू नेपाल गुणस्तर तथा नापतौल विभागमा कार्यरत छन् ।

प्रकाशित : पुस १७, २०७५ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?