सहरिया बाँदर 

बाँदर निकै बाठा देखिन्छन् । तर यिनको दिमागी क्षमता तथा चतुर्‍याइँको गहन अनुसन्धान भएको छैन । 
रामचन्द्र अधिकारी

काठमाडौँ — बाँदर बसोबास गर्ने सहर प्रशस्तै छन् । काठमाडौं, पोखरा, धरान लगायतका अधिकांश सहरमा बाँदरको प्रकोप हुनथालेको छ । बाँदर जंगली जनावर हो । तर आजकाल यो सहरिया भएको आभाष भइरहेको छ । विराटनगर जंगलविहीन पक्की सहर हो ।

नजिकको जंगल चारकोशे झाडी ३५ किलोमिटर टाढा छ । बीचमा ठूला मानव बसोबास क्षेत्र छन् । तर विराटनगरमा बाँदरको बसोबास गतिलै छ । रघुपति जुटमिलको गोदाममा केही वर्षअघि एउटा बाँदर देखिएको थियो । यिनको संख्या बढेर ४० हाराहारी पुगेको छ । सीमावर्ती भारतीय जोगवनी बजारमा डुलिखाने गरेका छन् । क्रमश: विराटनगर बजारतिर उन्मुख भइरहेका छन् । यहाँका बाँदरले दस जनाभन्दा बढी मजदुर र कर्मचारीलाई टोकेर घाइते बनाइसकेका छन् ।

जंगल बिना पनि यिनीहरूको जीवन चल्नु जीव विज्ञानमा आश्चर्य मानिएको छ । मानव निर्मित संरचनामै लुकिछिपी बस्ने, मानिसबाट मागेर नभए चोरेर खाने, बजारमा पाइने चाउचाउजन्य र पेयपदार्थ पनि प्याक खोलेर खाने, बच्चालाई प्रयोग गरेर मानिसका घर भित्रका खाद्यवस्तु चोर्ने जस्ता गतिविधिले जीव वैज्ञानिकको ध्यान तानिएको छ । यिनीहरूको सहअस्तित्व तथा आपसी क्रमविकास मानव र यसको सभ्यताको विकासक्रमसँगै अघि बढिरहेको अनुमान लगाउन सकिन्छ ।

नेपालमा बाँदरको गहिरो र बृहत अध्ययन मुकेश चालिसेले गर्नुभएको छ । बाँदर खाना र बासस्थानका लागि मानिसमा आश्रित भएर धेरै अल्छी र रोगी पनि भएको उहाँको तर्क छ । सहरिया खान्कीमा रमाएपछि यिनीहरूको आयु १५ बाट १० वर्षमा झरेको छ, पाँच वर्षमा मात्र यौन परिपक्वता हुनुपर्नेमा अढाई वर्षमै भएको पाइएको छ ।

प्रकृतिमा पाइनेको सट्टा मानव निर्मित खानेकुरा खाँदा जीउमा फस्के मासुमात्र जमेको छ । उमेर नपुगी गर्भिनी हुने गरेका छन् । बच्चा पनि कुपोषित छन् भनेर उनै बाँदरविज्ञ चालिसेले आफ्ना अनुसन्धानमूलक लेखहरूमा उल्लेख गर्नुभएको छ । सुरु–सुरुमा मान्छेले यिनलाई पल्काएका हुन् । पछि हातमा खानेकुरा बोकेर हिँड्दा आफूलाई नदिएकामा खोसी खान र आक्रमण गर्न साहसिक भएका हुन् ।

ग्रामीण क्षेत्रमा पनि जंगलमा आहार–विहार गर्नुको साटो गाउँ पसेर खानेकुरा चोरिखाने र अरु उपद्रो गरेका घटना समाचारमा आइरहेका छन् । गाउँघरमा प्रशस्त खान पाइने बुझेर अल्छी भएको बाँदर जंगल पसेर खोजी नखाने मनस्थितिमा पुग्ने गरेको अनुसन्धाताले उल्लेख गरेका छन् ।

कुनै कालखण्डमा शाकाहारी भएको यो जनावर अहिले सर्वाहारी बन्न पुगेको छ । धनकुटा नगरपालिका लगायत विभिन्न स्थानीय तहले बाँदर व्यवस्थापनमा बजेटैछुट्याएका छन् । नेपालका पूर्वदेखि पश्चिमसम्मै र मधेसदेखि तीन हजार मिटरको उचाइसम्म बाँदर पाइने गरेको छ ।

अमेरिकातिर पाइने नयाँ संसारिक र एसिया तथा अफ्रिकातिर पाइने पुराना संसारिक गरी दुई खालका बाँदर छन् । पुरानाचाहिँ मानिससँग नजिक मानिन्छन् । पृथ्वीमा अढाई सयभन्दा बढी प्रजाति पाइने भए पनि नेपालमा बाँदरका तीनवटा प्रजाति छन् । ती हुन्– मकाका मुलाटा (रातो बाँदर), मकाका आसामेन्सिस (पहरे बाँदर) र ढेँडु (सिम्नोपिथेकस इन्टेलस) । अध्ययनहरूबाट थाहा लागेको छ कि मुलाटा गाउँ–सहरतिर बढीजसो छिरेको छ । चालिसेका अनुसार आसामेन्सिसका पूर्वीया र पश्चिमा
दुई प्रजाति छन् ।

मानिसका खेतबारी हुँदै घर–भान्सामा आइपुगेका बाँदर र मानिसका पुर्खा एकै हुन् । क्रमविकासमा चार करोड वर्षअघि देखिएको मानिस हो कि बाँदर भन्नुजस्तो जनावर एन्थ्रोपोइड्सबाट बाँदरका पुर्खासँग मानिसको पुख्र्यौली हाँगो फाटेको हो ।

मानिससँग बनावट मिल्ने अति नजिकको जनावर हो– बाँदर । नेपालको सन्दर्भमा पहरे बाँदर संरक्षित २७ वटा स्तनधारीको सूचीमा कानुनद्वारा संरक्षणमा परेको छ । नेपालका बाँदरको अवस्था मजबुत भए पनि संसारमा कुनै बाँदर यति कम संख्यामा छन् कि कुनै पनि बेला ती अलप हुनेछन् । जस्तै– कालटाउके गिब्बन २० वटामात्र छन् भने टोनकिन घुमनाके बाँदर १५० वटा छन्, अनि रातो कोलोबसएक हजारमात्रै ।
बाँदरको दिमागी क्षमता तथा चतुर्‍याइँ कति बढेर आयो भनेर गहिराइमा अनुसन्धान भइसकेको छैन । यिनीहरू निकै बाठा भएका छन् । शब्द नफुटे पनि आवाजबाटै सञ्चार गर्छन्, औजार प्रयोग गर्छन्, अनुहारको प्रस्तुतिले पनि सन्देश संवाहन गर्छन्, हात मिलाउँछन्, मायाप्रेम र दया व्यक्त गर्छन्, अंकमाल गर्छन् । मानिससँग इगो लिन्छन् र मौका पर्दा धेरै अगाडिको रिस साँध्छन् ।

प्रशस्त खानेकुरा पाउने/नपाउने, सुरक्षित सुत्केरी हुन पाइन्छ/पाइन्न भन्ने अनुमान लगाई गर्भधारणका लागि तयार हुने कि नहुने भनेर निधो गर्छन् । राजनीतिका नियम बनाएका हुन्छन् र नेता चुन्छन्, समूह फुटाएर नयाँ समूह बनाउँछन् । कुनै समस्या दिमाग लगाएर समाधान गर्ने र आपसी सरसल्लाह गर्नेसम्मको चेतनशीलता छ । आफ्नो गृहक्षेत्र निर्धारण र सुरक्षा गर्छन्, जहाँ अरु आए सामुहिक बलले आक्रमण गर्छन् । यसको चेतना र बठ्याइँ वृद्धि हुँदै आएर मानिसबाट फाइदा लिँदै सहरमा रमाइरहेको एकथरी वैज्ञानिकको भनाइ छ ।

सुप्रसिद्ध विज्ञान पत्रिका प्राइमेटमा छापिएको एक लेख अनुसार नेपालका आसामिस बाँदरहरू एड्स रोगको अनुसन्धाननिम्ति अति उपयुक्त छन् । अरु देशका यस्तै बाँदरमा पोलियो, पितज्वरो, औलो, क्षयरोग, हेपाटाइटिस जस्ता रोगको भ्याक्सिनको सफल परीक्षण गरिसकिएको छ ।

नेपालका बाँदरहरूले प्रदूषणको मात्रा कस्तो छ भनेर पनि संकेत दिइरहेका छन् । युनिभर्सिटी अफ वासिङटनका लिशा जोन एन्जेल लगायतको टोलीले स्वयम्भूको बाँदरको बच्चाको जीउमा माउकोमा भन्दा बढी मात्रामा लिड पत्ता लगाएको छ ।

बच्चाले धेरै जीउ कन्याएको, उसको रौं झरेको भेटिएपछि अनुसन्धान गर्दा यस्तो पाइएको हो । यो गह्रौं धातुको कण प्रदूषित हावामा हुन्छ । तसर्थ जीवऔषधीय विज्ञानका अनुसन्धानमा बाँदर अति उपयुक्त जनावर हो । पश्चिमा जीव वैज्ञानिकले यस सन्दर्भमा अनुसन्धान गरेका छन् । उनीहरूको निष्कर्ष छ, बाँदरलाई अशक्त र वृद्धहरूको स्याहार–चाकर गर्नाका लागि सहयोगीको भूमिकामा मजाले प्रयोग गर्न सकिन्छ ।

भेँडा–बाख्रा, हाँस–कुखुराको गोठालो लगाउन, पसलमा स्टाफको रूपमा प्रयोग गर्न र घर रेखदेख गर्नसमेत बाँदरलाई सदाउन सकिने विज्ञहरूको ठम्याइ छ ।

लेखक स्नातकोत्तर क्याम्पस विराटनगरका उपप्राध्यापक हुन् ।

प्रकाशित : पुस १३, २०७५ ०७:५७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

हातमा कीटाणुको खात

सबैभन्दा चलायमान अंग हातले कीटाणुलाई आश्रय मात्र दिँदैन, अरू भाग र अरूका शरीरतिर विस्तार पनि गरिदिन्छ ।
रामचन्द्र अधिकारी

काठमाडौँ — हात धुनका गाह्राले वा धुने वातावरण नभईकन खानुपर्ने स्थिति आए भनिन्छ— आफ्ना हात जगन्नाथ । आशय हो, हात आफ्नै हुन्, सफा र पवित्र छन् । वैज्ञानिक हिसाबले भने यो स्वीकार्य छैन । बरु वैज्ञानिक उखान बनाउन सकिन्छ— आफ्ना हात : कीटाणुका खात । 

हाम्रो शरीरका तीनवटा सबैभन्दा फाहोरी अंगमध्येको एक हो, हात । हातमा करोडौं हानिकारक ब्याक्टेरियालगायतका कीटाणु हुन्छन् । सोचौँ, हात आफ्नै जिउको कताकता घुम्छ ? यसले केके समाउँछ, छुन्छ ? सबै ठाउँबाट रोगका कारक कीटाणु हातमा सरी आउँछन् ।

ढोकाको हेन्डल, पैसा, मोबाइल सेट, गाडीका हेन्डल, कम्प्युटरको किबोर्ड अनि आफ्नै शरीरका अंगहरू मात्र छोइएको हो भने मात्रै पनि १० करोडवटा ब्याक्टेरिया हातको प्रतिवर्ग इन्च क्षेत्रफलमा रहन्छन् । विश्व स्वास्थ्य संगठनका अनुसार सर्वसाधारण मानिसको हातका टुप्पामा ब्याक्टेरियाका करिब ४६ लाखवटा टुकडी प्रतिवर्गसेन्टिमिटरमा पाइने गरेको छ ।

चर्पीमा दिसा गरेर मलद्वार सफा गरीफर्केको मानिसका हातमा २० करोड ब्याक्टेरिया प्रतिइन्च टाँसिएर आउँछन् । मानिसको हातमा बस्ने वा हातबाट सर्ने कीटाणुहरूले डिसेन्ट्री, हैजा, टाइफाइड, हेपाटाइटिस ए, सार्स, इन्फ्लुएन्जा, कन्जक्टिभाइटिसलगायत अनेक रोग लगाउँछन् । साइटोमेगालो भनिने हानिकारक भाइरस र क्यान्सर लगाउने इपिस्टेन बार भाइरसको बासस्थान पनि हातै हो ।

ओसिला हात कीटाणुका लागि अनुकूल हुन्छन् । ओसिलामा सुक्खाको भन्दा एक हजार गुणा बढी ब्याक्टेरिया हुने गरेको अध्ययनहरूले देखाएका छन् । हातमा टाँसिएका ब्याक्टेरिया तीनदेखि ४८ घण्टासम्म बाँच्छन् । त्यसबीचमा प्रजनन गरिसकेका हुन्छन् । एउटा टुकडीमा सातै घण्टामा सन्तान बढेर २० लाख ९७ हजार पुग्छन् ।

स्वास्थ्यका क्षेत्रमा काम गर्ने विविध संस्थाहरूको अनुसन्धानले भनेको छ— हातमा सात जातिका १५० प्रजाति ब्याक्टेरिया, छ जातिका फन्जाई, दुई जातिका यिस्ट प्रायश: स्थायी बासिन्दाका रूपमा रहन्छन् । कुनै कामका लागि मुख, नाक, आँखा वा जनेन्द्रियमा हात पुर्‍याएको खण्डमा ती उतै पनि विस्तार हुन्छन् र उताका पनि हातमा टाँसिएर आउँछन् ।

अमेरिकाको रोग रोकथाम तथा नियन्त्रण केन्द्रले एक प्रतिवेदन सार्वजनिक गर्दै भनेको छ— ८० प्रतिशत संक्रमण फोहोरी हातका कारण हुने गरेका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार हरेक साल ३५ लाख बालबालिका झाडापखालालगायत श्वासप्रश्वाससम्बन्धी संक्रमणबाट मर्ने गरेका छन् । यस्ता संक्रमण हातकै माध्यमबाट हुने उसले भनेको छ । अविकसित देशका २० प्रतिशत बालबालिका हातबाट हुने संक्रमणबाट पीडित हुने गरेको तथ्यांक छ ।

हातमा बस्ने अनि पैसा (नोट), मोबाइल फोन, क्रेडिट कार्डलगायतका हातहातै चल्ने सामग्रीमार्फत फैलिएर कीटाणुले अरूलाई पनि असर गर्ने समस्या प्रशस्त छ । बेलायतको मेट्रो नामक संस्थाको अध्ययन प्रतिवेदन भन्छ, १० प्रतिशत क्रेडिट कार्ड र १६प्रतिशत मोबाइल फोनमा दिसाको अंश र दिसामै पाइने सूक्ष्म हानिकारक जीव पाइए । सन् २००२ मा छापिएको साउथन मेडिकल विज्ञान पत्रिकाका अनुसार चलिरहेका ९४ प्रतिशत पैसामा दिसाको अंश पाइन्छ ।

यी दृष्टान्तबाट भन्न सकिन्छ, हाम्रा हातजत्तिकै मोबाइल, पैसा, क्रेडिट कार्डलगायतका हाते सामग्री पनि फोहोर छन् । धेरैका हात परिरहने अफिसमा कम्प्युुटरको किबोर्ड, दराज र ढोकाका हेन्डल कीटाणुका खानी हुन् । बीबीसीले सन् २००४ को एउटा लेखमा लेखेको छ— निकै व्यवस्थित र सफा मानिएको अफिसका सामग्रीमा प्रतिवर्ग इन्चमा २० हजार ९६१ वटा कीटाणु हुन्छन् । हातबाटै सबै खालका हेपाटाइटिसका भाइरस, धेरै किसिमका जुका र जुम्राका लिखासमेत सर्न सक्छन् ।

ग्लोबल हाइजिन काउन्सिल भन्ने संस्थाले गरेको एक सर्वेक्षणका अनुसार ५३ प्रतिशत मानिस दिसा गरेपछि हात धुन्छन् तर पिसाबपछि हात धुनेको संख्या साह्रै न्यून छ । सादा पानीले मात्र हात धुँदा खास प्रभाव पर्दैन, साबुन वा अन्य अन्य एन्टिब्याक्टेरियल रसायनमिश्रित वस्तु (एन्टिसेप्टिक) ले धुनुपर्छ । फेरि कति बेरसम्म मिच्ने र कसरी पूरा हात सफा हुने गरी धुने भन्ने कुराको पनि हेक्का राख्नुपर्छ ।

साधारणतया आँखाले देखिने गरिको फोहोर नटाँसिएको हात २० सेकेन्डसम्म मिचेर मात्र पखाल्नुपर्ने सम्बन्धित क्षेत्रका जानकारहरू बताउँछन् । फोहोरी हात र हातमा कीटाणु अनि तिनीहरूबाट हुने संक्रमणबाट सर्वसाधारण मात्र होइन, भीआईपीहरूसमेत पीडित छन् । हात मिलाएर अभिवादन गर्नेहरूले हातका फोहोर र रोगजन्य कीटाणु साटासाट गरिरहेका हुन्छन् ।

मानिसको शरीरका मुख्य फोहोरी अंगहरू मुख, हात, मलद्वार, नाक, छाला आदि हुन् । सबैभन्दा चलायमान अंग हात भएकाले यसले कीटाणुलाई आश्रय मात्र दिदैन अरू भागमा र अरूका शरीरतिर विस्तार पनि गरिदिन्छ । हात मात्र सफा राख्ने हो भने यस्ता संक्रमणमा २० प्रतिशतले गिरावट ल्याउन सकिन्छ । सफा मोबाइल र सफा पैसा कसरी बनाउने भन्ने ठूलो चुनौतीको विषय हो ।

तथापि सावधानी भने अपनाउन सकिन्छ । जस्तै– बच्चालाई मोबाइल र पैसा खेलाउन वा टोक्न नदिने, पैसा गन्ने व्यवसायी र कर्मचारी बाहेककाहरूले पैसा चलाएपछि हात धुने, हात मिलाएर अभिवादन व्यक्त गर्नुको विकल्परोज्ने, अफिसमा हात पुछ्न एन्टिमाइक्रोब्स कागजको प्रयोग गर्ने उपाय अपनाउन सकिन्छ ।
लेखक त्रिवि स्नातकोत्तर क्याम्पस विराटनगरका उपप्राध्यापक हुन् ।

प्रकाशित : मंसिर २४, २०७५ ०८:०४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT