कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

खोप कति सुरक्षित ?

खोप असुरक्षित होइन कि खोप नलगाउनुचाहिँ आफू र आफ्नो परिवारलाई असुरक्षित बनाउनु हो ।
डा. दिनेश धरेल

काठमाडौँ — हालसालै सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाको शिवगन्जमा बीसीजी खोप लगाएको केही समयपछि बेहोस भएर एकमहिने शिशुको उपचारका क्रममा मृत्यु भएको खबर आयो । २/३ वर्षअघि झापामा एउटा शिशुको खोपका कारण मृत्यु भएको आशंकामा तनाव सिर्जना भई महिनौंसम्म खोप कार्यक्रम अवरुद्ध हुँदा त्यस घटनाको अनुसन्धानमा म पनि संलग्न थिएँ । यस्ता घटना बारम्बार भइरहेका छन् ।

खोप कति सुरक्षित ?

यसले जनमानसमा खोपले ज्यान लिने पो रहेछ भन्ने मनोविज्ञान विकास हुन सक्छ । यस्तो भय र भ्रमले गर्दा लाखौं मानिसको अकाल मृत्युबाट ज्यान जोगाइरहेको खोपको प्रयोग घट्ने र प्राणघातक संक्रामक रोग बढ्ने पो हो कि भन्ने चिन्ता लाग्न थालेको छ ।

विश्व स्वास्थ्य संगठनले संसारभरि नै खोप लगाएपछि हुन सक्ने अवाञ्छित घटनाको विवरण संकलन गर्ने, त्यसको गम्भीरता र कारणको अनुसन्धान गर्ने, तथ्यांक राख्ने र यी कुरालाई तालिम, सूचना र सञ्चारका लागि प्रयोग गर्ने कुरामा विशेष ध्यान दिएको छ । खोप लगाएपछि देखिएका सबै गम्भीर असर वा घटना खोपका कारण हुन सक्छ भनी शंका भएमा विशेषज्ञ टिमले अनुसन्धान गर्नुपर्ने प्रावधान छ । त्यसपछि मात्र त्यो खोपको प्रतिक्रिया हो वा खोप कार्यक्रमको कमजोरी हो वा सुईको प्रतिक्रिया हो वा संयोग मात्र हो निक्र्योल हुन्छ । मृत्युका धेरैजसो घटना अन्य कारणले भएको र खोपपछि हुनु संयोग मात्र हुन सक्छ ।

विश्वका हरेक देशमा जस्तै नेपालमा पनि विज्ञ सम्मिलित राष्ट्रिय समितिले खोपसम्बन्धी नीति तथा कार्यक्रमलाई मार्गनिर्देशन गरेको हुन्छ । खोप लगाएपछि हुन सक्ने अवाञ्छित घटनाको अनुसन्धान गर्ने विज्ञहरू सम्मिलित राष्ट्रियस्तरको समिति क्रियाशील छ । खोप कार्यक्रम नेपालको पहिलो प्राथमिकता प्राप्त जनस्वास्थ्य कार्यक्रम हो । यो स्थानीय तहसम्म बलियोसँग विस्तारित भइसकेको छ । यो वर्षौंको अनुभव र निकै ठूलो लगानीमा सम्भव भएको हो, जुन नेपालमा बाल मृत्युदर घटाउने एउटा प्रमुख खम्बा हो । खोप सुरक्षित तथा विश्वसनीय भएन भने जनस्वास्थ्यमा गम्भीर धक्का लाग्नेछ ।

खोप पूर्णतया सुरक्षित छ त ? पक्कै पनि छैन । कुनै पनि औषधि वा स्वास्थ्य प्रविधि शतप्रतिशत सुरक्षित हुँदैन । त्यसैले त खोप लगाउन तालिम प्राप्त स्वास्थ्यकर्मी चाहिएको हो ।

खोपको उत्पादन, भण्डारणदेखि मानिसमा प्रयोग गर्दासम्म हरेक चरणमा नियमन चाहिएको हो । यद्यपि खोपबारे केही कुरा बुझेको बालरोग विशेषज्ञको नाताले म भन्न सक्छु कि बालबालिकाको जीवन रक्षा गर्न खोप निकै प्रभावकारी र एकदमै सुरक्षित उपाय हो । सरकारले आफ्नो सीमित स्रोत साधनको बाबजुद विदेशी सहयोग जुटाएर भए पनि धेरैजसो खोप नि:शुल्क उपलब्ध गराउँदै आएको छ ।

जुनसुकै खोप लगाएको एक घण्टाभित्र प्राय: ५/१० मिनेटभित्रै एलर्जी देखिन सक्छ, जसले गर्दा बच्चा बेहोस हुने र ज्यान जाने पनि हुन सक्छ । प्रत्येक १० लाखमा एक जनासम्ममा यस्तो हुन्छ । त्यसैले खोप लगाएपछि कम्तीमा १५ देखि ३० मिनेट स्वास्थ्यकर्मीको निगरानी हुने ठाउँमै बस्नुपर्छ । खोप लगाउने ठाउँमा त्यस्तो प्राणघातक प्रतिकियाको आकस्मिक उपचार गर्न सकिने व्यवस्था गरिएको हुन्छ, हुनुपर्छ ।

ख्याल गर्नुपर्ने कुरा के छ भने कुनै–कुनै बच्चा खोपको एलर्जीले नभएर आत्तिएर, दुखेर, रुँदारुँदै दूध सर्काएर वा पहिले सुरु भइसकेको कुनै रोगको थप असर देखिएर पनि बेहोस हुन सक्छन् । खोप लगाउँदा ज्वरो आउने, अलिअलि डाबर आउने, सुई लगाएको ठाउँमा दुख्ने वा सुन्निनेचाहिँ धेरै जनामा देखिन्छ तर यस्ता सामान्य असर केही दिनभित्रै पूर्णतया हराएर जान्छन् ।

खोप संक्रामक कीटाणुलाई कमजोर बनाएर वा मारेर वा कुनै अंश निकालेर निकै सानो मात्रामा बच्चाको शरीरमा निश्चित उमेर र अन्तरालमा प्रवेश गराएर पछि त्यो कीटाणुले आक्रमण गर्दा प्रतिरक्षा गर्ने क्षमता विकास गर्ने तरिका हो । खोप लगाएपछि हुन सक्ने अवाञ्छित घटनाको रिपोर्ट गर्नुपर्ने मुख्य कारण नै खोपलाई भविष्यमा थप सुरक्षित बनाउनलाई हो ।

खोप उपचारका लागि नभएर रोकथामका लागि हो । यो स्वस्थ मानिसलाई संक्रमणबाट बचाउन लगाइन्छ । हाम्रो पुस्ताले करोडौंको ज्यान लिएको बिफर रोग देख्नुपरेन, खोपले गर्दा यो रोग १९८० मै निर्मूल भयो । हामीले बर्सेनि लाखौंको ज्यान लिने र अपांग बनाउने पोलियो पनि खासै देख्नुपरेन, खोपले गर्दा यो रोग नेपालबाट निर्मूल भइसक्यो । दादुरा, धनुष्टंकार, भ्यागुते रोग, लहरेखोकीबाट ज्यान जानेहरूको संख्या निकै कम हुन थालेको छ ।

यो वर्षौंदेखि खोप लगाउने गरेकाले सम्भव भएको हो । हामीले देखेनांै भन्दैमा यी रोग अलप भएका होइनन्, धेरैभन्दा धेरै मानिसले खोप लगाएका कारण फैलिन नपाएका हुन् । खोप असुरक्षित होइन कि खोप नलगाउनुचाहिँ आफू र आफ्नो परिवारलाई असुरक्षित बनाउनु हो ।

संसारका कतिपय ठाउँमा खोपविरुद्ध अभियान चल्दा पनि नेपालमा खोपको नकारात्मक असरको हौवामा परेर खोप बहिष्कार गरेको देख्नुपरेको छैन । त्यो अवस्था आउनु पनि हुँदैन । खोप सुरक्षित हुनैपर्छ । यसका लागि निर्धारित गुणस्तर मापदण्ड प्रत्येक खोपमा सुनिश्चित गरिएको हुनुपर्छ । बरु राष्ट्रिय खोप कार्यक्रमलाई यसका लागि सबल र जिम्मेवार बनाउन आफ्नो भूमिका बढाउने पो हो कि ?


[email protected]

प्रकाशित : पुस ११, २०७५ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?