शिक्षामा खट्केको कुरा

पुस्तकमा मात्र अल्झनु वा रमाउनु अनि बाजा बजाउनु र नाच्नु भनेको पढाइबाट टाढा भाग्नु पक्कै होइन । किताबको किरो मात्र भएर चम्कन सकिन्छ भन्ने कुरामा अल्झिरहनु हुँदैन ।
सुरेशराज शर्मा

काठमाडौँ — नेपालले नोबेल पुरस्कार पाउने अवस्थामा पुग्न त पर्खनै पर्ला, तर स्पोर्टस, एथलेटिक्स र कला क्षेत्रमा भने चाँडै छलाङ मार्न सक्ने सम्भावना प्रशस्त छ । प्रत्येक स्कुल–कलेजमा खेलकुद मैदान हुनुपर्छ ।

शिक्षामा खट्केको कुरा

स्कुलको पूर्वाधार विकास गर्दा ज्यादै खट्किने कुरा नै सानो बगैंचा (उद्यान) नहुनु, खेलकुद मैदान नहुनु, कम्पाउन्ड वाल, ढोका र चमेनागृह नहुनु हो । केही निजी विद्यालय र तराईतिरका केही स्कुलमा मात्र यी संरचना देख्न पाइन्छ ।

ससाना बालबालिकाले खेल्ने ठाउँ नपाउनु, प्रकृतिबारे सिक्न बगैंचा नपाउनु, भोक लाग्ने बित्तिकै खाने ठाउँ नपाउनु विद्यालयलाई शोभा नदिने कुरा हुन् । भए पनि अपर्याप्त छन् र अलि ठूला उमेरकाले ओगट्छन्, सानाले पाउँदै पाउँदैनन् । महाकवि लक्ष्मीप्रसाद देवकोटाले भन्नुभएको छ, ‘उद्यानमा बस गई सब तत्त्व खुल्छन् ।’

कुनै कुरा सिक्नुपर्‍यो भने साना उमेरकाले चाँडो सिक्छन् भनिन्छ । खेल्नु भनेको मनोरञ्जन गर्नुमात्र होइन, अनुशासित हुन सिक्नु र प्रतिस्पर्धा गर्न सिक्नु पनि हो । फुटबल भनौं, क्रिकेट भनौं, उमेरमै सिक्नुपर्छ ।

३५/४० वर्षको भएपछि त प्रतिस्पर्धाका लागि होइन, सोखका लागिमात्र खेलिन्छ । नेपालमा, त्यो पनि पहाडी भेगमा बस्नेको शरीर चुस्त हुन्छ । खुराक मिल्यो भने र समयमा सिक्न पायो भने देशभित्रको प्रतिस्पर्धामा मात्र होइन, बाह्य प्रतिस्पर्धामा पनि चम्कन सक्छ ।

साना उमेरकाले खेल्न नपाउने, सही उमेरकाले पनि बल्ल–बल्ल केहीमात्र खेल्न पाउने व्यवस्था पटक्कै मिलेन । पढ्नु भनेको पुस्तकमा मात्र अल्झनु वा रमाउनु अनि बाजा बजाउनु र नाच्नु भनेको पढाइबाट टाढा भाग्नु पक्कै होइन ।

समूहमा गरेको काम कति सार्थक हुन्छ, खेलकुदबाट त्यो थाहा हुन्छ । समूहमा प्रत्येकले आआफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ । गोलकिपरले गोल रोक्छ, गोल गर्न जाँदैन । क्रिकेटमा सानो गल्ती भयो भने आउट नै हुनपुग्छ वा विपक्षीले आउट गरिदिन्छ । प्रत्येक खेलाडीले आफ्नो दायित्व पूरा गर्छ । एकले गरेको गल्ती र लापरबाहीले आफ्नो टिमले नै हार्न पुग्छ । साथी–साथीले मिलेर खेल्यो भने जितिन्छ ।

आफ्नो गल्तीको दोष अर्कोलाई दिन पाइँदैन । अर्को स्कुलको टिमलाई हराउन सकिएन भने आफ्नो साख रहँदैन । तसर्थ स्कुलमा खेलिने खेलले अनुशासनको महत्त्व सिकाउँछ । पूरा तयारी गरेर काम गर्‍यो भने त्यो काम पूरा हुन्छ भनी सिकिन्छ । आफ्नो कमजोरीले पूरै टिमको हार हुनगएको देख्नुपर्छ र त्यसको लाजको भार आफूले बोक्नुपर्छ ।

आफूभन्दा राम्रो गर्ने व्यापारीले गर्दा आफ्नो व्यापारलाई धक्का पुग्छ, त्यसले व्यापार गर्नेलाई पनि पाठ सिकाउँछ । स्कुलदेखि नै अनुशासन र खेलको मर्यादा खस्कँदा हार बेहोर्नुपर्छ । अझ कहिलेकाहीं ‘जसले पनि आफ्नो स्पिरिटलाई स्पोर्टसम्यानको स्पिरिटमा राख्नुपर्छ’ भनिन्छ । खेल आफू हार्ने तर अरूले झेल गर्‍यो भन्ने होइन । अर्को प्रतिस्पर्धामा आज भएको गल्ती नदोहोर्‍याई गर्छु भन्ने स्पिरिटलाई ‘स्पोर्टसम्यान स्पिरिट’ भनिन्छ ।

कुनै खेल एक जनासँग मात्र खेलिन्छ, कुनै दुईजना प्रतिस्पर्धीसित त कुनै ६ जना प्रतिस्पर्धीसित खेलिन्छ । कुनै–कुनैले हिमाल आरोहणमा अरू आरोहीसित र प्याराग्लाइडिङसम्म पनि प्रतिस्पर्धा गरेका हुन्छन् ।

अब केही बेर शारीरिक व्यायामबारे चर्चा गरौं । यही विधामा कहिले रूसी, कहिले जर्मन, कहिले फ्रेन्च, कहिले जापानी र कहिले चिनियाँसित प्रतिस्पर्धा गरिन्छ । यी सबै विधाका खेलमा जसको अभ्यास पुग्यो, जसले सानै उमेरदेखि खेल्न पायो, जसले सही प्रशिक्षण पायो, त्यसैले राम्रो गर्न सक्छ ।

समयमै सिकाइयो भने राम्ररी सिक्यो भने प्रतिस्पर्धीले भन्दा म राम्रो गर्छु भन्ने स्पिरिट राख्यो भने नेपालले ओलम्पिकमा चाँडै मेडल जित्छ । तीन–चार वर्षको मात्र प्रयासले संसारकै उत्तम खेलाडी भनी सिद्ध गर्न सकिन्छ । त्यता हाम्रो ध्यान समयमा नै पुग्नुपर्छ । किताबको किरोमात्र भएर चम्कन सकिन्छ भन्ने कुरामा अल्झिरहनु हुँदैन । यहाँ यही भन्न खोजिएको हो ।

अब केही कुरा कलाबारे भनौं । कलामा भएको पौरख त झनै गौरवको कुरा हो । कलामा दुई धार हुन्छन्– एब्स्ट्रयाक्ट आर्ट र परफर्मिङ आर्ट । राम्रो नाच्न सक्नु, राम्रो आवाजमा गीत गाउन सक्नु, मञ्चमा नाटक वा चलचित्रमा राम्रो प्रदर्शन गर्न सक्नु, राम्रो भाषण गर्न सक्नु, राम्रोसित पढाउन सक्नुलाई परफर्मिङ आर्ट भन्न सकिन्छ । त्यसैले राम्रा केटाकेटीहरू चाँडै चम्किने हिरो–हिरोइन हुन मरिमेट्छन्, राम्रा सङ्गीतज्ञ र राम्रा गायक हुन खोज्छन् ।

नेपाल मूर्तिकला, काष्ठकला, धातुकला र पत्थरकलामा परापूर्वकालदेखि नै अब्बल दर्जाको थियो । चैत्यको निर्माणमा पनि उत्तिकै ख्याति आर्जन गर्नसकेका थिए । कलाको केन्द्रमा भक्तपुर दरबार क्षेत्र, पाटन दरबार क्षेत्र, हनुमानढोका क्षेत्र विशेष रूपमा परिचित क्षेत्र हुन् ।

थाङ्काको पेन्टिङ र अन्य पेन्टिङमा पनि नेपाल अब्बल नै रहिआएको छ । नेपालका गौरवका वस्तु सङ्ग्रह गरिएका संग्रहालयहरू ठाउँ–ठाउँमा, अझ विश्वविद्यालय र प्रतिष्ठित कलेजहरूमा वा स्कुलहरूमा हुनुपर्ने हुन् । ती स्थलहरू भएका भए हाम्रा नयाँ पिढीका बालबालिकामा ती कलाप्रति रुचि जाग्ने थियो ।

अध्ययन स्थल भनेको कक्षाकोठा, त्यहीँका प्रयोगशाला र पुस्तकालय मात्रै हुनुपर्छ भन्ने छैन । अध्ययन केन्द्र र अनुसन्धान केन्द्रहरू धेरै छैनन् । हाम्रा विद्यार्थीले परीक्षामा उत्कृष्टता हासिल गरेको कुरामा मात्र गर्व गर्ने गरेको देखिन्छ । आफ्नै सङ्ग्रहमात्र होइन, अरूले गरेका प्रयासप्रति आकर्षण र जानकारी राख्नु पनि त्यत्तिकै महत्त्वपूर्ण कुरा हो ।

नेपालमा कुमारी पूजाजस्तो जीवित वस्तुको आकर्षण अन्य मुलुकमा छैन । हाम्रो परम्परादेखिका पूजाआजामा पनि पहिले–पहिलेदेखिका गौरवपूर्ण वस्तु हुन्छन् । यी कुराको महत्त्व छ । सभ्यता भनेको क्रमिक विकास र निरन्तर परिष्कृत हुँदै बनेको रूप र गौरव हो । सबैले गौरव गर्ने भनेको आर्जन गर्दै गरेको ख्याति हो भनी बुझ्नुपर्छ ।

लेखक काठमाडौँ विश्वविद्यालयका पूर्व उपकुलपति हुन् ।

प्रकाशित : पुस १०, २०७५ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?