कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

बुद्धिजीवी र शब्दको क्षयीकरण 

नयाँ नेपाल, सुशासन, भ्रष्टाचारप्रति शून्य सहनशीलता जस्ता शब्द/शब्दावली आफैँमा ‘आइरोनी’ बनेका छन् । ‘समृद्धि’ शब्दको स्खलन पनि त्यही रफ्तारमा हुँदै छ ।

काठमाडौँ — एक बलिष्ठ मान्छेले अर्को चिनारु मरञ्च्याँसेलाई एक मुक्का हानेछ । मरञ्च्याँसेले भनेछ, ‘ओइ तँ जिस्किएको कि साँच्चै हानेको ?’ बलिष्ठ : ‘साँच्चै ।’ मरञ्च्याँसे : ‘त्यसो भए ठिक छ, मलाई जिस्किएको मन पर्दैन ।’ 

बुद्धिजीवी र शब्दको क्षयीकरण 

प्रधानमन्त्री केपी शर्मा ओलीको बुद्धिजीवीलाई ‘थला पार्ने’ भनाइ सार्वजनिक भएसँगै बुद्धिजीवी बजार (?) एक हदसम्म तात्यो । नेकपाका अध्यक्ष ओलीको बुद्धिजीवीप्रतिको यो टिप्पणी पहिलो होइन ।


उनले बुद्धिजीवीलाई कहिले ‘कुहिएको फर्सी’ भने त कहिले ‘नयाँ लुगा काट्ने मुसा’ । उनका यी टिप्पणीप्रति त्यतिखेर पनि केही लहर विरोधका आवाज सुनिए र पानीका फोकाजस्तै विलाए ।


प्रधानमन्त्रीले कसलाई भने, सायद बुझ्नुपर्नेले बुझे र चुप लागे । नबुझ्नेहरू केही समय प्रतिक्रियात्मक बने र पछि आफै चुप लागे । प्रधानमन्त्री ओलीले आफ्नो भनाइको स्पष्टीकरण दिइसकेका छन्, तर बुद्धिजीवीप्रतिको प्रश्न भने जस्ताको तस्तै छ ।


बुद्धिजीवीप्रति पटक–पटक कटाक्ष गरे पनि ओली नेतृत्वको सरकारले चैतन्य मिश्रको नेतृत्वमा नीति अनुसन्धान प्रतिष्ठान नामको ‘थिङ्क ट्याङ्क’ पुनर्गठन गरेको छ (पुनर्गठन यस अर्थमा कि बाबुराम भट्टराई नेतृत्वको सरकारले २०६९ सालमै श्रीराम पौडेल नेतृत्वमा नीति अनुसन्धान प्रतिष्ठान गठन गरेको थियो, पछि सुशील कोइराला नेतृत्वको सरकारले यसको विघटन गरिदियो) । यसले प्रधानमन्त्री ओलीको समग्र बुद्धिजीवीप्रति नै नकारात्मक धारणा नभएको प्रस्ट हुन्छ ।


यस पृष्ठभूमिमा बुद्धिजीवी र उनीहरूको राजनीतिक पार्टीसँगको सम्बन्धबारे चर्चा गर्नु उपयुक्त हुन्छ । यहाँ चर्चा गरिएका बुद्धिजीवी प्राज्ञिक कर्ममा रमाउने प्राज्ञभन्दा समाजसँग संवाद गर्न रुचाउने ‘पब्लिक इन्टेलेक्चुअल’ बढी हो । नेपालको सन्दर्भमा प्राज्ञ र ‘पब्लिक इन्टेलेक्चुअल’ बीचको सुस्पष्ट भिन्नता छैन । यस लेखमा दुवैलाई ‘बुद्धिजीवी’ शब्द प्रयोग गरिएको छ ।


हामीले देखेका अधिकांश बुद्धिजीवी आफूलाई विज्ञ भन्न रुचाउँछन् । अधिकांश विज्ञको कार्यक्षेत्र शक्तिकेन्द्रको वरिपरि चक्कर लगाउने र कुनै राजनीतिक नियुक्तिका लागि लिगलिगे दौडमा सीमित हुन्छ । उनीहरू आफू आबद्ध राजनीतिक दल र आफू नजिकका गुटको नेताका देवत्वकरण र विपक्षीको दानवीकरण गरी योग्यता सावित गर्छन् ।


नेपालमा विज्ञका रूपमा राजनीतिक नियुक्ति लिनेहरू ‘ब्रिफकेसवाला’ ‘प्लुटोक्राट्स’ पनि प्रशस्त छन् । उनीहरूलाई सदावहार विज्ञ भने हुन्छ । उनीहरूको योग्यता साम, दाम जेजसरी प्रयोग गरेर हुन्छ, हरेक शासकको ध्यान आफूतर्फ तान्न सक्नु हो ।


नियुक्तिभन्दा बाहिर रहेका विद्वान वर्गको पनि दलीयकरण भएको छ । राजनीतिक आस्था र समाज बदल्ने सोचमा भिन्नता हुनु स्वाभाविक हो । एक जीवन्त समाजमा फरक मत, बहस प्राकृतिक हो । प्राज्ञिक कर्म गरिने क्षेत्रमा यो अपरिहार्य हो । प्राज्ञिक कर्म गर्ने भनिएका हाम्रा प्राज्ञहरूले विचार मन्थन हुने यस्ता कार्यक्रममा पनि राजनीतिक आँखाले हेरी कित्ताकाट गरे ।


हालै राजधानीमा सम्पन्न ‘एकेडेमिक’ भनिएको कार्यक्रममा मनगढन्ते राजनीतिक विभाजन गरी केहीलाई नियोजित रूपमा बाहिर पारियो । मानौँ, यो कुनै अमूक पार्टीको अमूक गुटले विपक्षी गुटलाई खुइल्याउन गरेको भेला हो । यो बौद्धिक सिन्डिकेट हो, संकीर्णता हो र बौद्धिक दरिद्रता हो । विचार निर्माण र विस्तारमा लाग्नुपर्ने अधिकांश कथित बुद्धिजीवी सत्ता राजनीतिको खिचातानीमा प्रत्यक्ष संलग्न हुन्छन् र फलस्वरुप लाभका पद प्राप्त गर्छन् ।


बौद्धिकवृत्तमा मात्र यस्तो विकृति छैन । यस्तो प्रवृत्तिको जनक/जननी राजनीति हो । पुरानो राजनीतिक दल नेपाली कांग्रेसमा भीमबहादुर तामाङ, नरहरि आचार्यहरू कांग्रेसी मूलधारभन्दा फरक विषय उठाइरहेका हुन्थे । प्रदीप गिरिका विचार सुन्दा नेपाली कांग्रेसका नेता भनेर ट्याग झुन्डाइरहनु पर्दैन ।


धनराज गुरुङ, रामहरि खतिवडा, प्रदीप पौडेलहरू पनि आम सरोकारका विषयमा बोलिरहन्छन् । जब कांग्रेसको राजनीतिक अभ्यास हुन्छ, गिरि, आचार्य, गुरुङहरू देखिँदैनन् । त्यहाँ ढसमस्स सबैलाई छेक्नेगरी शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्ण सिटौलाहरू मात्र देखिन्छन् ।


नेकपाका घनश्याम भूसाल लेखिरहन्छन्, बोलिरहन्छन् र पार्टी भित्रका कुरा जनतालाई बताइरहन्छन् । नारायण ढकाल, योगेश भट्टराईहरूका कुरा सुन्दा नेकपा राजनीति बुझ्न अझ सहज हुन्छ । भूसाललाई कहिले कम्युनिष्ट पार्टीको मृत्युप्रति चिन्ता हुन्छ भने कहिले कम्युनिष्ट पार्टीको पुनर्जन्मप्रति विश्वास । कहिले नार्सिसस त कहिले फिनिक्स चराका उपमा र उपमेय दिन्छन्, बहस गरिरहन्छन् । शीर्षस्थहरू भने पार्टी मार्दै गुट जन्माउन व्यस्त भएको भान हुन्छ ।


यी सबै प्रवृत्तिको जन्मदाता हाम्रै समाज हो । यस मामिलामा नेपाली समाज खासै परिवर्तनशील नभएको प्रतित हुन्छ । गुण र दोषका आधारमा भन्दा पनि पुस्तैनी राजनीतिक आस्थाका आधारमा निर्वाचनमा भोट दिने प्रवृत्ति बलियो छ । कार्यकारी पदमा पुगेका राजनीतिक युवा पुस्ताको कार्यसम्पादन पनि अघिल्लो पुस्ताझैं ‘एउटै ड्याङ’को देखिएको छ । अहिले चर्चामा रहेको दोहोरो सुविधा, इन्धन र गाडी विषयले पनि त्यही संकेत गर्छ ।


हजुरबुबाहरू राणाहरूबाट शासित हुनुभो, बुबाहरू राजा र पञ्चहरूबाट । हामी गणतान्त्रिक शासकबाट शासित भएका छौं । शासक फेरिएका छन्, शासकका प्रवृत्ति फेरिएको छैन । आम जनताको आँखाबाट हेर्दा श्री ३ तथा श्री ५ का हिजोका सवारी र आजका राष्ट्रप्रमुखहरूका सवारी एउटा उदाहरण हो ।


भाषणबाजीमा भन्ने गरिएका आदर्श व्यवहारमा लागु गरेका न राजनीतिक पार्टी देखिए, न तिनका नेता । मानौँ, सिंहदरबार यस्तो साँचो हो, जहाँ पसेपछि जोकोही पनि पहिले शासनसत्ता सम्हालेका राजनीतिक पार्टी र नेताजस्तै बन्छन् । ‘नेपालको माटो सुहाउँदो शासन पद्धति’देखि ‘नयाँ नेपाल’ हुँदै ‘समृद्ध नेपाल सुखी नेपाली’सम्मका शासन अभ्यासमा शासकको अनुहार र व्यवहारमा धेरै समानता भेटिन्छ ।


विश्व राजनीतिक इतिहासमा आफ्नो कार्यशैलीप्रति प्रश्न उठाउन प्रेरित गर्ने राजनीतिक नेतृत्वबारे हामीले सुनेका छौं । हाम्रो सन्दर्भमा भने प्रमाणित त्यस्ता नेतृत्वहरू देखिएनन् । नेपालमा त्यस्तो अपेक्षा गर्नु पनि सायद दुरुह हुन्छ ।


नेपाली शासकहरूको भजनमण्डलीको अपेक्षा पनि महाराजाहरूको भन्दा फरक नहुने रहेछ । शासन र शासकका महात्म्य गाउने र स्तुतिगान लेख्नेहरूको पुनर्जन्म भैरहँदो रहेछ । यसले ‘कलर ब्लाइन्ड’ जमातको सिर्जना गर्ने रहेछ । नयाँ पुस्ताका राजनीति गर्नेहरू र उनीहरूका बुद्धिजीवीहरू पनि त्यसरी नै तयार हुने रहेछन् ।


हामी हरेक शासकसँग त्यसरी नै अभ्यस्त हुँदैछौं । यसले एकातर्फ विश्व राजनीतिक तथा आर्थिक रंगमञ्चमा नेपालको पहिचान वर्षौंदेखि उस्तै छ । यसको जबर्जस्त असर भने विश्वासको क्षयीकरण हो । यसको प्रमाण शब्दका भावहरूको क्षयीकरण हो । केही वर्षयता नेपाली शब्दका अर्थ तथा भाव अत्यन्त रफ्तारमा फेरिएका छन् ।


उदाहरणका लागि झन्डै एक दशकअघि खुब तामझामका साथ नेपाली बोलिचालीमा भित्रिएको ‘नयाँ नेपाल’ शब्दावली हो । यो शब्दावली यति मोहनी रूपले शब्द–बजारमा भित्रियो कि हरेक राजनीतिक दस्तावेज र भाषणमा यसको प्रयोग हुन्थ्यो ।


यही शब्दको वरिपरि रहेर मनोज गजुरेलले गाईजात्राको अवसरमा एक भिडियो ‘फोटोकपी नेपाल निर्देश’ तयार गरे । गजुरेलको त्यो गाईजात्रे प्रस्तुति हेरेर सायद अधिकांशले हाँस्न बिर्सिए र ‘स्पेल बाउन्ड’ भए होलान् । अहिले उनीहरू ‘नयाँ नेपाल’ शब्दको प्रारब्ध देखेर आफैप्रति टिठ मान्दा हुन् । सुशासन, भ्रष्टाचारप्रति शून्य सहनशीलता जस्ता शब्द/शब्दावली पनि आफैमा ‘आइरोनी’ बनेका छन् । अहिले सर्वउच्चारित ‘समृद्धि’ शब्दको स्खलन पनि त्यही रफ्तारमा हुँदै गएको छ ।


प्रधानमन्त्रीको संकेत काफी छ । लिगलिगे दौडमा रुचि राख्ने र भाग लिने बुद्धिजीवीले देशको समृद्धितर्फको यात्रा देख्नैपर्छ । देश विकास र समृद्धिको बाटोमा अगाडि बढिसकेको छ । प्रधानमन्त्रीले देखेका तथ्यांकले यसै भन्छन् । समृद्धि, सुशासन पनि कतै नांगो आँखाले देखिन्छ त ? र अन्त्यमा, प्रधानमन्त्रीको बुद्धिजीवीप्रतिको प्रहार साँच्चै कि जिस्काइ मात्र ?


[email protected]

प्रकाशित : पुस ९, २०७५ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?