कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

सरकारी काममा सास्ती 

मञ्जु भट्ट

काठमाडौँ — एक साताअघि मेरा देवर दिनेश ढकाल एक महिना बिदा लिएर दुबईबाट आए । दुबई फर्किन श्रम स्वीकृति लिनुपर्ने रहेछ । उनले काठमाडौंमा श्रम स्वीकृति लिएर मात्र घर जाने भए । उनी श्रम विभाग पुगेर बिहान ७ बजेदेखि लाइन बसे । त्यो दिन पालो आएन ।

अर्को दिन बिहान ५ बजे नै गएर लाइन बसे । त्यो दिन पनि लाइनमा अगाडिसम्म पुगे । पालो आएन । उनी अचम्ममा परे, ‘आखिर किन पालो आउँदैन ?’ तेस्रो दिन बिहानै ३ बजे गएर फेरि लाइन बसे । आफ्नो पालो आउँदै नआउने तर अर्को लाइन छिट्टै सर्नुको कारण उनले पत्ता लगाए– पाँच हजार वा त्योभन्दा माथि घूस खुवाउनेको छिटो काम हुने रहेछ ।


बल्लतल्ल उनले श्रम स्वीकृति पाए तर लाइनमा बस्दाबस्दै बिहानको चिसोले उनी बिरामी भए । दुई दिन औषधि खाँदै आराम गरेर काठमाडौंमा बस्नुपर्‍यो । उनको बिदा सकिँदै थियो ।


एउटा काम गराउन सरकारी कर्मचारीबाटै घूस मागिन्छ, दिएन भने लामो समयसम्म काम बन्दैन भन्ने उदाहरण हो यो । ठूलाठालु मिलेर हामी सोझा जनतालाई लाचार बनाएका छन् भन्दै उनी घरतिर लागे ।

केही महिनाअगाडि मैले चिनेका एक जना खाता बन्द गरेर सबै पैसा झिक्न नागरिक लगानि कोष जानुभएछ । मागेजति कागजात पुर्‍याएर फाइल एक जना महिला कर्मचारीको टेबलमा राख्नुभएछ ।


ती महिला कर्मचारीले फाइल दिँदै भित्र अरूलाई भेटेर आउनु भनी पठाइछन् । हाँस्दै बसेकी अर्की कर्मचारीले ‘एकछिन भए पनि खोज्दै बसोस्’ भनेको फाइल बोकेर जाने मान्छेकी श्रीमतीले सुन्नुभएछ । कर्मचारीहरू किन गैरजिम्मेवार हुँदै गएका हुन् ?


न्यायालयमा सधैँ ढिलासुस्ती हुन्छ । अदालतले जहिले पनि कर्मचारी अपुग भएकाले समयमा पेसी तोक्न सकिएन, फैसला गर्न सकिएन भन्ने गरेको सुनिन्छ । मैले चिनेको एक जना मान्छे ‘मलाई झूटो आरोप लगाइयो न्याय पाऊँ’ अदालत गए । उनको पेसी तीनचोटि सरिसकेको छ । कतिचोटि सर्ने र कति वर्षसम्म सरिराख्ने हो, थाहा छैन । उनी न्याय पाउने आशामा तीन वर्षदेखि जेलमा छन् । यस्ता संवेदनशील घटनालाई सम्बन्धित निकायले पहिलो प्राथमिकतामा राख्नुपर्ने हो ।


त्रिवि परीक्षा नियन्त्रण कार्यालयमा पनि लापरबाही छ । विद्यार्थीप्रति अति गैरजिम्मेवारी प्रदर्शन हुन्छ । ट्रान्सक्रिप्ट प्रोभिजनल वा मूल प्रमाणपत्र लिन विद्यार्थीले परीक्षा नियन्त्रण कार्यालय बल्खुबाट बीस दिनदेखि एक महिना कुर्नुपर्छ । मेरो प्रवीणता प्रमाणपत्र तहको ट्रान्सक्रिप्टमा नामको एउटा हिज्जे (स्पेलिङ) बिगारिएको थियो ।


प्रमाणपत्रमा कार्यालयका कर्मचारीको लापरबाहीले गलत हिज्जे लेखिएको स्पष्ट थियो । मसँग भएको रजिस्ट्रेसनको अर्धकट्टी र प्रत्येक वर्षको प्रोभिजनल मार्कसिटमा मेरो नाम सही थियो । मैले ती सबै पेस गरेँ । पन्ध्र दिनपछि आउन भनियो । बोलाइएकै समयमा म गएँ तर तयार भएको थिएन । एक सातापछिको समय दिएर कर्मचारीले फर्काइदिए । म चुपचाप फर्किएँ । गुनासो गर्ने ठाउँ त्यहाँ छैन । कसैले केही सोध्न खोज्यो भने कर्मचारीहरू नसुनेझैं गर्छन् या झर्केर ठाडै जवाफ दिन्छन् ।


दुई वर्ष पहिले स्नातक तहको मूल प्रमाणपत्र लिन भनेर तोकिएको शुल्कसहित उक्त कार्यालयमा फाराम बुझाएकी थिएँ । पन्ध्र दिनको समय दिइयो । बोलाइएको मितिभन्दा एक साता ढिला गरी म शुल्क बुझाएको रसिद बोकेर बल्खु पुगेँ । सम्बन्धित विषयको शाखामा झ्यालको ग्रिलबाट मैले रसिद पेस गरेँ । लामै लाइन थियो । करिब तीन घण्टाको पर्खाइपछि मैले प्रमाणपत्र पाएँ । समयमै काम भएकामा म छक्क परेँ ।


प्रमाणपत्र सुरुदेखि अन्तिमसम्म हेरेँ । माथिल्लो दायाँतिर लेखिएको मेरो रजिस्ट्ेरसन नम्बर फरक भेटियो । एकचोटि फेरि पहिलेकै प्रक्रियाबाट जानुपर्ने भयो । रजिस्ट्ेरसन नम्बर सच्याउन फेरि शुल्क, नयाँ फोटो तथा प्रत्येक वर्षको प्रोभिजनल र ट्रान्सक्रिप्टका प्रतिलिपि बुझाउनुपर्ने भयो । गल्ती गर्ने कर्मचारी, दु:ख पाउने विद्यार्थी † आफूले नगरेको गल्तीका लागि प्रत्येकपटक शुल्क पनि बुझाइरहनुपर्ने !


यातायात कार्यालयका अनियमितता पनि कम छैनन् । नियमानुसार शुल्क तिरेर लाइसेन्स बनाउन खोज्नेहरू घन्टौं लाइनमा उभिन बाध्य हुन्छन् । अतिरिक्त पैसा बुझाएर चोर बाटोबाट लाइसेन्स बनाउनेहरूले लाइनमा बस्नै पर्दैन । कागजात बुझाएको केही मिनेटभित्रै लाइसेन्स प्राप्त हुन्छ । सरकारी कार्यालयमा कर्मचारीको कार्यशैली कहिले सुधार हुने ? नागरिकले सुशासनको अनुभूति कहिले पाउने ?

प्रकाशित : पुस ८, २०७५ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?