१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

दूधभन्दा महँगो गहुँत

नारायण घिमिरे

काठमाडौँ — गत जुलाईमा भारतको राजस्थानमा गिर र थारपारकर जातको उन्नत नस्लका गाईको गहुँत १५ देखि ३० रुपैयाँ प्रतिलिटर बिक्री भइरहेको थियो । दूधको भाउ भने प्रतिलिटर २२ देखि २५ रुपैयाँ थियो । महाराष्ट्रको केशवशास्त्री गौशालाको २ सय ३० गाईबाछाबाट बिहानै ४ बजे २ सय लिटर गौमूत्र नजिकैको डिस्टिलेसन युनिटमा पुर्‍याइँदै थियो ।

दूधभन्दा महँगो गहुँत

डिस्टिलेसन युनिटले गौमूत्र पास्चराइज, फिल्टर, बोतल प्याक र लेबल गरी राज्यभरिकै किराना दोकानमार्फत साइजअनुसार प्रतिबोतल २० देखि ८० भारुमा बिक्री गर्दै थियो । बङ्लरुको माँगाय प्रडक्टले भारतको प्रसिद्ध अनलाइन ग्रोसरी चेन ‘बिग बास्केट’ मार्फत गहुँतबाट बनेको भुइँ र शौचालय सफा गर्ने फ्लोर क्लिनर (गिनोल), दाँत माझ्ने टुथ पाउडर, ओठ फुट्दा लगाउने बाल्म र अनुहारमा दल्ने फेस प्याक लन्च गर्‍यो ।


पहिलो महिनामै करिब १ लाख भारुको कारोबार भयो । माँगाय प्रडक्टजस्ता हजारौं गाईपालक आज बिग बास्केट, ई–वे र अमेजन आदि नामुद प्लेटफर्ममा गाईको प्रशोधित गोबर, पिसाब, दूध–घिउ–दही, पिसाबबाट निर्मित पञ्चगव्य, गोबर पोलेर बनाइएको विभूति, सिन्के अगरबत्ती आदिमा करोडौंको कारोबार गरिरहेका छन् ।


गुजरातको पिताम्बरी प्रडक्टले त्रिफलामा कन्सन्ट्रेटेड गोमूत्र हाली ‘गोमूत्र प्लस’ नामक पाउडरको क्याप्सुल बजारमा ल्याएको छ जुन ३० क्याप्सुलको २ सय भारु पर्छ । गुजराती हिन्दु समुदायले लन्डनको वेम्ली, अमेरिकाको न्युयोर्क र क्यानडाको टोरन्टोमा ५० एमएल युरिन डिस्टिलेट बोतलको २ सय ६० देखि ३ सय भारुमा किनेर १५ एमएल युरिन डिस्टिलेटमा १५ एमएल पानी हाली औषधिका रूपमा गहुँत खाइरहेका छन् ।


गहुँत ९५ प्रतिशत पानी, युरिया र मिनिरल–साल्ट २.५ प्रतिशत, इन्जाइम तथा हर्मोन २.५ प्रतिशत हुने ७.४ देखि ८.४ पीएचको क्षारीय पेय हो । अध्ययनले देखाएअनुसार गोमूत्रमा सोडियम, नाइट्रोजन, सल्फर,

भिटामिन ए, बी, सी, डी, ई आदिका म्याग्निज, आइरन, सिलिकन, क्लोरिन, म्याग्नेसियम, कपरलगायत २४ थरी मिनरल भेटिन्छन् ।


कम्तीमा १७ थरी इन्जायम तथा हर्मोन भेटिने गोमूत्रमा सिट्रिक, सक्सिनिक र क्याल्सियम साल्ट तथा कार्बोकसिलिक एसिड, ल्याक्टोज, फस्फेट र क्रिएटिनजस्ता तत्त्व भेटिन्छन् । गोमूत्रमा पाइने औरम हाइड्रोअक्साइड सुनको क्षार हो । यसले आयुर्वेदको दाबी सही प्रमाणित गर्छ ।


शरीरमा र्‍याडिकलाइज आयोन तुरुन्तै नियन्त्रण नहुँदा यसले फ्याट, न्युक्लिक एसिड, प्रोटिन आदिलाई आक्रमण गरी सेललाई बिगारिदिन्छ । शरीरमा क्यान्सरलगायत रोग तिनै अक्सिडेटिभ स्ट्रेसका कारण भित्रिन्छ । लगातारको रेडिएसन, प्रदूषण, चिन्ता र कुपोषण आदिका कारण हुने अक्सिडेटिभ स्ट्रेसबाट मानिसमा बुढ्यौली, छाला रोग, मधुमेह, हृदयघात, क्यान्सरलगायत जटिल रोग पैदा हुन्छन् ।


शरीरमा फ्री र्‍याडिकल पैदा हुँदा त्यसलाई आक्रमण गरी तुरुन्तै न्युट्रलाइज गर्न सक्ने क्षमता विकास गर्न सहयोगी हुने एन्टी–अक्सिडेन्ट मानिसले प्राय: खानाबाट पूर्ति गर्नु जरुरी हुन्छ । अक्सिडेटिभ स्ट्रेस धेरै हुँदा मानिस छिट्टै बूढोसमेत देखिने हुँदा एन्टी–अक्सिडेन्टयुक्त खाना/पेयलाई एन्टी–एजिङ भनिएको हो ।


प्रयोगशालामा गरिएको वैज्ञानिक परीक्षणमा एक लिटर मानव कोषिकामा उत्पन्न र्‍याडिकलाइज आयोनलाई ५.२५ एमएल ताजा गहुँतले र ७.३७ एमएल युरिन डिस्टिलेटले तुरुन्तै नियन्त्रण गर्न सक्ने प्रमाणित गरिदियो । क्षारीय गोमूत्र सेवनले मानव शरीरभित्रका एन्टी–अक्सिडेन्टको आवश्यकताअनुरूप सन्तुलन गर्नसमेत उल्लेखनीय भूमिका खेलेको देखिएपछि ‘गोमूत्र थेरापी’ को माग संसारमै ह्वात्तै बढेको हो ।


लौठ सल्लाको बोक्रा र पातबाट पाठेघर र स्तन क्यान्सरको औषधि हुने टेक्सोल निकालिन्छ । बोक्रा ताछ्दा लौठ सल्ला मर्ने र बोक्राभन्दा पातबाटै सस्तोमा उच्च गुणस्तरको टेक्सोल बन्ने पहिचान भएपछि डाबर इन्डिया लिमिटेडले ११.५ करोड (अनुसन्धान खर्च मात्र ४ करोड) भारु खर्चमा लौठ सल्लाको पातबाट टेक्सोल बनाउने प्रविधि विकास गरी उत्पादन गरिरहेको छ । क्यान्सरका बिरामीलाई ८ पटक यो औषधि सेवन गर्दा जम्मा १.७ ग्राम जरुरी पर्छ । डाबर इन्डिया लिमिटेडको करोडौं लगानीको उद्योगमा टेक्सोल उत्पादन प्रतिमहिना ६ सय ग्राम मात्र हुने गरेको बताइएको छ ।


४०–५० डिग्री सेल्सियसमा डिस्टिल गरिएको गोमूत्र सेवनले टेक्सोलबाट स्तन क्यान्सरको उपचार गरिरहेका महिलामा टेक्सोलको प्रभावकारिता २० गुना बढाएको पाइएको छ । गोमूत्र आफैं कुनै रोग निवारणको औषधि रहेको प्रमाणित नभए पनि मधुमेह, पत्थरी, कलेजोको समस्या, छालाको रोग, छारेरोग, ट्युमर, क्षयरोग आदिरोग निदानमा सहयोगी हुने प्रमाणित भएको छ ।


गोमूत्रमा प्रचुर मात्रामा कार्बोनिक एसिड हुन्छ, जसले गहुतको बासना दिन्छ । कार्बोनिक एसिड मूलत: फिनोल र क्रिसोलको मिश्रण हो, जसका कारण गाईको पिसाब डिस्इन्फेक्टेन्ट र एन्टी–सेप्टिक हुने गर्छ । बजारमा पाइने चलनचल्तीको सेन्थेटिक फिनोलले हाम्रो वातावरण बिगार्ने भए पनि भुइँ र शौचालय सफा राख्न ५ प्रतिशत फिनोल प्रयोग हुने गरेको छ ।


गोमूत्रलाई भुइँ र शौचालय सफा गर्ने वातावरणमैत्री फ्लोर क्लिनर बनाएर गौनाइलका नाममा बिक्री व्यापक छ । गौनाइल कम्पनीअनुसार गौमूत्रमा युकालिप्टस, पाइन, क्यासटर, निम ओएल, लेमन ग्रास, बाबरी, वनफाडाको मुना, धूपी, सयपत्रीलगायत एन्टी–ब्याक्टेरियल हब्र्सका एक्सट्रेक्ट हालेर बेच्ने गरिन्छ ।


कामधेनु गाईलाई भारत र नेपालको रैथाने गाईको नस्ल मानिन्छ । हाल भारतमा मात्र कम्तीमा २७ थरी र नेपालमा ७ थरीका रैथाने गाई भएको रेकर्ड छ । गोबर पञ्चगव्य पेयको एक भाग हो । गोबरलाई सुकाएर डढाउँदा आउने खरानीको विभूति निधारमा लगाइन्छ । यसको धुवाँले वातावरण शुद्ध गर्छ, लामखुट्टेलगायत परजीवीलाई धपाउँछ ।


रैथाने जुरो हुने ‘गिर गाई’ को दूधमा ए–टू एमिनो एसिड र ओमेगा–थ्री भेटिन्छ । जुरो नहुने आयातीत होलिस्टिन, एचएफलगायत गाईको दूधको प्रोटिनमा ए–वान एमिनो एसिड हुने हिस्टिडिन र ओमेगा–सिक्स भेटिन्छ । ओमेगा–सिक्स केटाकेटीको वृद्धि विकासमा ओमेगा–थ्रीजस्तो सहयोगी मानिँदैन । रैथाने गाईको दूधमा हुने प्रोलिन र ओमेगा फ्याट नवजात शिशुको वृद्धि विकासमा उत्कृष्ट मानिन्छ ।


नेपालमा प्राय: आयातीत गाईले दूध धेरै दिन्छन् तर रैथाने गाईको दूध र दूधका परिकार विकासे गाईको भन्दा उच्चकोटिको भेटिएको छ । रैथाने गाईको मल र पिसाबसमेत मेडिकल, आयुर्वेदिक, कस्मेटिक, स्यानिटाइजर, क्लिनरलगायत सांस्कृतिक र मनोवैज्ञानिक प्रयोजनमा समेत अब्बल भेटिएको छ । आयातीतभन्दा रैथाने गाईबाट हुने फाइदा धेरै रहेकाले कालान्तरमा रैथाने गाईपालन नयाँ पुस्ताको छनोटमा पर्ने निश्चित छ ।

प्रकाशित : पुस ८, २०७५ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?