कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

सांसदलाई कानुन लाग्दैन ?

काठमाडौँ — संघीय राजधानीभित्र घर भएका सांसदहरूले कानुन विपरीत घरभाडा बापत रकम भुक्तानी लिएको देखियो । काठमाडौं उपत्यकामा घर नभएका सांसदले मात्र मासिक १८ हजार रुपैयाँ घरभाडा पाउँछन् । घर भएकाले भने मर्मत खर्चका रूपमा नौ हजार रुपैयाँ पाउने कानुनी व्यवस्था छ । 

काठमाडौं उपत्यकाभित्र घर हुने ३० सांसदमा पूर्वमन्त्री, समितिका सभापति लगायत छन् । त्यस्ता सांसदमा नेकपाका १३, कांग्रेसका १२, राजपाका ३, फोरमका १ र स्वतन्त्र १ छन् । पत्नीका रूपमा मन्त्रिक्वार्टरमा बसेर पनि केही सांसदले घरभाडा बुझ्दै आएको देखियो ।


घरभाडा सुविधा संसद्को नियमित कामकारबाहीमा भाग लिन आउजाउका लागि नजिकमा उपयुक्त घर भाडामा लिएर बस्न दिइएको हो । कान्तिपुरका पत्रकार मकर श्रेष्ठले घरभाडा सम्बन्धी यो खोज गर्न धेरै परिश्रम गर्नुपरेछ । हाम्रा सरकारी निकायहरू सूचना दिन कति उदासीन छन् भन्ने यो एउटा नमुना हो ।


सूचनाको हक सम्बन्धी कानुन बनाएको संस्थाले सूचना दिन इन्कारेको देखियो । घर भाडाको विवरण लिन ५ महिना अगाडि संसद् सचिवालयमा निवेदन दिएका श्रेष्ठले पटक–पटक ताकेता गर्दा पनि पाउन सकेनछन् । सूचनाको हक प्रयोग गरी ०७५ असार ६ मा निवेदन दिएछन् । राष्ट्रिय सूचना आयोगको निर्देशनपछि मात्र कात्तिक १३ मा सचिवालयले सांसदहरूले असोजको तलब बुझेको भरपाइ उपलब्ध गराएछ । कानुन निर्माता संस्थामा यस्तो हालत छ भने अन्य सरकारी कार्यालयमा कस्तो होला !


घर भाडाका सम्बन्धमा खोजतलास भइरहेको असारमै थाहा पाए पनि सांसद र सम्बद्ध पदाधिकारीहरू कानमा तेल हालेर बसे । संसद् सचिवालयका प्रमुख प्रशासकीय अधिकारी महासचिव र लेखा अधिकारीहरू सांसदको शक्ति अगाडि निरीह भए, नपाउने घरभाडा भुक्तानी दिँदै आए ।


कान्तिपुरले ढाँटेर घरभाडा खानु भ्रष्टाचार हो भनेर लेखेपछि सांसदहरू झल्याँस्स बिउँझन थाले । यो विवाद प्रकाशनमा नआएसम्म सांसदहरूले आफूलाई सबै कुरामा सार्वभौम ठानेका थिए । कतिपयले थाहा छैन, सचिवालयले जानकारी दिएन, खाएको रकम फिर्ता गर्ने भन्न थाले । कतिपयले भविष्यमा तलबबाट कट्टा गर्न सचिवालयलाई सूचना दिनथाले ।


एक जनाले मन्त्री हुँदा आफू सासूको घरमा बसेको र सासूलाई भाडा दिएको बताए । ससुरालीमा बस्दा सासूलाई भाडा दिने गरेको पहिलोपटक सुनियो । एकजना उद्योगपति सांसदले काठमाडौंमा घर रहेको भनी संसद्मै बोलेकामा अहिले घर होइन भनी झुटो बोलेको देखियो ।


आफ्नो खातामा सचिवालयले मासिक कति पैसा जम्मा गरिदियो भन्ने पनि थाहा नपाउने हाम्रा सांसद कति हुस्सु रहेछन् । सांसदहरू सबै उमेश श्रेष्ठजस्तै ललितपुर हात्तीवनमा ३०० रोपनी जग्गाका मालिक, अर्बपति भएकाले मासिक तलब–भत्ताको हिसाब गर्दा रहेनछन् ।


उद्योग, व्यापार, व्यवसाय सबैको रहेछ, तलब–भत्ताबाट खर्च गर्न नपर्ने असीमित आय भएकाले हिसाब थाहा नहुने रहेछ भनेर मान्नुपर्ने भयो । जतिसुकै ठूलो उद्योगपति र ठूला व्यवसायी भए पनि कहाँबाट कति पैसा आयो, कति खर्च भयो भन्ने हिसाब नराख्ने भनाइ सुहाउँदो देखिन आएन । पाउने तलब–भत्तामा थपेर चितवन लगायतका विद्यालयलाई सहयोग गर्ने गरेको भन्ने सांसद उमेश श्रेष्ठले पनि पाएको रकम हिसाब नगरी सहयोग गरेका होलान् ? आफूले के कसलाई कति सहयोग गरेको भनी सार्वजनिक गर्दा के कुन हिसाब देखाउने हुन् ? सांसदहरूका यी सबै भनाइ दोष लागेपछि सफाइ लिने खालका देखिन्छन् ।


घर भाडाको रकम खातामा जम्मा गर्ने, पटक–पटक झिकेर खर्च गर्ने अनि ‘मैले थाहा पाइन, चिन्तित छु’ भनी जनतालाई उल्लु बनाएर साँखुल्ले बन्न मिल्दैन । आफ्नो खातामा जम्मा भएको रकम थाहा छैन भन्नु झुटो हो । आफूले के कुन शीर्षकमा कति रकम पाउने भनी सचिवालयमा नबुझेको भन्ने कुरा पत्यारलायक देखिँदैन ।


मानाैं, सांसदहरूलाई आफूले पाएको रकम थाहा छैन भने पनि सचिवालयले जानकारी नगराउने कुरा हुँदैन । घर भाडाको विषयमा सांसदहरूलाई जानकारी नदिई काठमाडौं उपत्यकामा घर हुने सांसदलाई भ्रष्टाचार मुद्दा लाग्नेगरी घरभाडा सुविधा दिलाएको हो भने त संसद्का महासचिव लगायत लेखा हेर्नेहरू जिम्मेवार हुन्छन् ।


झुटो विवरण पेस गरेर सरकारी सुविधा लिनु आफैंले बनाएको कानुन उल्लंघन गर्नु हो । नक्कली प्रमाणपत्र पेस गर्नु र झुटो विवरण पेस गरेर सरकारी सुविधा लिनु एउटै हो । घर हुँदाहुँदै छैन भनेर ढाँट्न नैतिक चरित्रले पनि दिँदैन । आफ्नो खातामा पैसा जम्मा भएको थाहा नपाउने सांसदले देशबारे के सोच्लान् ?


समाचार आएपछि पूर्वमन्त्री, सांसदले आफू इमानदार, आर्थिक मामिलामा पारदर्शी रहेको बताउन चुकेका छैनन् । कानुनले मिलोस्–नमिलोस्, भेटेसम्म खान नछाड्ने प्रवृत्ति देखियो । चाहे सांसद हुन्, चाहे पूर्वमन्त्री हुन्, संसदीय समितिका सभापति हुन् वा पूर्वसभामुख, इमानदारी र सुशासनका ठूलठूला आदर्श र उपदेश छाँटेर देश हाँक्ने कुरा गर्नेहरू नै आर्थिक भ्रष्टाचारजन्य काममा उद्यत भएको देखियो ।


सूचनाको हक प्रयोग नगर्दासम्म तलबको विवरण उपलब्ध नगराउने सांसद सचिवालय र सांसदको बरोबर जवाफदेही छ । समाचार प्रकाशन नभएको भए घरभाडा खाने काम रोकिने थिएन । अझै कति सगोलको घर, आफू बसे पनि छोरीलाई बनाइदिएको घर भन्दै उम्किन खोज्दैछन् ।


अन्य निकायका पदाधिकारीले गरेको अनियमिता छानबिन गर्ने सांसदहरूको छानबिन कसले गर्ने हो ? सांसदको सम्बन्धमा अख्तियार मौन छ । आफूले बनाएको सांसदको सुविधा सम्बन्धी ऐनलाई नदेखेझैं गर्न मिल्दैन । विधिशास्त्रले कानुनको अज्ञानता सर्वसाधारण जनतालाई पनि क्षम्य हुँदैन भन्छ । कानुन निर्माताले कानुन उल्लंघन गर्न मिल्दैन, हुँदैन । थाहा पाइनँ भन्न मिल्दैन । कानुनको नजानी गरेको उल्लंघन त क्षम्य हुँदैन भने जानीबुझी गरेको कानुन उल्लंघनमा सांसदहरू जवाफदेहीबाट मुक्त हुँदैनन् ।


के हाम्रा कानुन निर्माताहरूले कुनै जवाफदेही हुनु नपर्ने हो ? भ्रष्टाचार देख्न नसक्ने लोकतन्त्रमा हामी बाँचेका थियौं भने यी सबै सांसदले पदबाट नैतिकताको आधारमा तुरुन्तै राजीनामा गर्नुपर्ने हुन्थ्यो । अख्तियारले भ्रष्टाचारमा मुद्दा लगाउँथ्यो । तर हाम्रो देशमा जसले जे गरे पनि छुटजस्तै छ ।


लेखक विशेष अदालतका पूर्वअध्यक्ष हुन् ।

प्रकाशित : पुस ६, २०७५ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?