छोरी, स्कुटर र यौन दुर्व्यवहार

सार्वजनिक यातायातभित्र धूमपान हटेजस्तै महिलामाथि हुने यौन दुर्व्यवहार पनि अन्त्य गर्न सकिन्छ ।
वसन्त महर्जन

काठमाडौँ — राजधानी काठमाडौंमा सार्वजनिक यातायात सार्वजनिक यातायात साधनको कमी छ । बाटोमा कोही उच्चपदस्थ व्यक्तिको आवागमनसँगै असहज परिस्थिति सिर्जना हुन्छ । भीडभाडका बीच यातायात साधनभित्र महिला यात्रुलाई अप्ठ्यारोमा पार्ने, टाँस्सिएर बस्ने, संवेदनशील अंगमा स्पर्श गर्ने तथा क्वारक्वार्ती हेर्ने यौन विकृत मानसिकताका पुरुष पनि समस्या हुन् ।

यही समस्यालाई चित्रण गरिएको वृत्तचित्र सोर्‍हौं ‘काठमाडौ इन्टरनेसनल माउन्टेल फिल्म फेस्टिभल’ (७–११ मंसिर) मा प्रदर्शन गरियो । ‘एबाउट अ गर्ल’ शीर्षकको १७ मिनेट लामो वृत्तचित्रले धेरै प्रश्न उठाएको छ तर उत्तर खोज्नतिर खासै चिन्तन भएको पाइएन ।

स्कुल जाने छोरी आफूलाई एउटा स्कुटर माग्छिन् । वृत्तचित्रको सुरु यही दृश्यबाट हुन्छ । छोरीको माग तत्काल पूरा गर्न सक्ने अवस्थामा बाबु हुँदैनन् र छोरी ठुस्किएर निस्कन्छे । स्कुटर छोरीको ‘फर्मायसी’ नभएर आवश्यकता भएको त्यसपछिका दृश्यहरूले चित्रण गर्छन् । वृत्तचित्रको मुख्य विषयवस्तु पनि यही हो । अर्थात्, सधैं स्कुल जाँदा छोरी मान्छेले सार्वजनिक यातायातमा भोग्नुपर्ने यौनजन्य दुर्व्यवहार तथा त्यसको असरलाई वृत्तचित्रले समेटेको छ । वृत्तचित्रले छोरीलाई स्कुटी किनिदिए समस्या समाधान हुने सन्देश दिएको छ ।

वृत्तचित्रको प्रदर्शनपछि भएको छलफलमाप्राय: दर्शकले छोरीलाई स्कुटर चाहिने र अभिभावकले यसलाई बुझ्न नसकेको धारणा व्यक्त गरे । स्कुलस्कुलमा अभिभावकलाई भेला पारेर छोरीलाई स्कुटर किनिदिन अनुरोध गर्ने अभियान थाल्नुपर्ने मन्तव्य पनि व्यक्त भयो र त्यसमा अन्य दर्शकले ताली बजाएर समर्थन गरे । तर, यो समस्याको समाधान होइन, समास्याबाट भाग्ने काइदा मात्रै हो । यसले समस्यालाई अझ विकराल रूप दिन्छ ।

केही दशकअघि यातायातको साधनभित्र धूमपान गर्ने समस्या थियो । चुरोट सल्काउँदै र धूवाँ उडाउँदै यताउता हेर्नु पुरुषार्थ प्रदर्शन ठानिन्थ्यो । तर, समाज विकासका क्रममा सार्वजनिक यातायातभित्र धूमपानको विरोध चर्को भयो । अहिले धूमपानको कल्पना पनि गर्न सकिन्न ।
सार्वजनिक यातायातभित्र धूमपान हटेजस्तै महिलामाथि हुने यौन दुर्व्यवहार पनि अन्त्य गर्न सकिन्न र ? अवश्य सकिन्छ । यसका लागि छोरीलाई स्कुटर किनिदिएपछि सबै समस्याको समाधान हुन्छ भन्ने सोचबाट माथि उठ्नुपर्छ ।

वृत्तचित्र हेरिसकेपछि एक दर्शकले अनुरोध गरेका थिए, ‘यौन दुर्व्यवहारको प्रतिकार गर्ने महिलाको पक्षमा अन्य पुरुषले साथ दिने हो भने केही हौसला मिल्थ्यो ।’ यस्तो अवस्थामा ‘केही हौसला’ नभएर ‘धेरै हौसला’ मिल्ने र यसले समाजमा राम्रो असर पार्दै जाने कुरा हेक्का राख्नुपर्छ । चुप लागेर बस्ने वा भीडभाडको बसमा अलिअलि छुन भइहाल्छ नि भनेर उल्टो पीडितलाई सिकाउने प्रवृत्तिले कहिल्यै समस्या समाधान गर्दैन ।

रत्नपार्कबाट कीर्तिपुरतर्फ गइरहेको सार्वजनिक यातायातमा एकपल्ट यस्तै यौनदुर्व्यवहार भइरहेको थियो । पीडित महिला केही बोल्न सकिरहेकी थिइनन् । ठीक त्यसै बेला अर्की जागरुक महिलाको आँखामा यो दृश्य पर्‍यो र बिस्तारै उनले आफू वरिपरिका अन्य यात्रुको ध्यानाकर्षण गराइन् । झट्ट हेर्दा भद्रभलाद्मी देखिने ती पुरुषबाट यस्तो पनि हुन्छ भन्ने सोच्नै सकिन्नथ्यो । यौन विकृत मानसिकताका ती पुरुषलाई तिनै महिलाले गाली गरिन् । होइन भनेर प्रतिकार गर्ने वा बहाना बनाउने कुनै अवस्था थिएन र साक्षीका रूपमा वरिपरिका यात्रु काफी थिए । ती पुरुष उत्ति नै खेर कालो–नीलो मात्रै भएनन्, हतास हुँदै कालिमाटी पुगेपछि ओर्लिए ।

सार्वजनिक यातायातका रूपमा सञ्चालित बस, टेम्पोलगायतका साधनको स्वामित्व कसैको भए पनि सेवामा हुन्जेल ती सबैको अधिकारभित्रका कुरा हुन्छन् । त्यहाँ कुनै व्यक्ति वा वर्गविशेषको वर्चस्व हुँदैन । यात्रा गर्ने महिला हुन् वा पुरुष, दुवै बराबर हुन्छन् । यस्तो सार्वजनिक स्थलमा कसैले कसैलाई हेप्न त झनै पाइँदैन । यौन दुर्व्यवहारलाई महिलाको मात्रै समस्या नभएर सबैको चासो र सरोकारको विषय बनाउनुपर्छ । यस्तो घटना हुनासाथ विरोध गर्ने वा विरोध गर्नेलाई साथ दिने हो भने समस्या चाँडै समाधान हुन्छ । होस नभएर एकअर्कामा छुँदा माफी माग्नु सामान्य शिष्टाचार भइहाल्यो । यौन दुर्व्यवहारजन्य हो र विरोध पनि भयो भने सम्बन्धित व्यक्ति
तत्कालै लज्जित हुनुपर्छ ।

यसबाट वरिपरिकाअन्य पनि सचेत हुन्छन् । कोही अटेरी नै भए गाडीबाट झार्ने वा प्रहरीको जिम्मा लगाइदिने गर्नु उत्तम हुन्छ । यस्ता घटनालाई सामाजिक सञ्जालमा सार्वजनिक गरिदिने हो भने त्यस्ता व्यक्तिले अन्यत्र पनि महिलामाथि कर्के आँखा लगाउन सक्दैनन् । यसबाट सम्पूर्ण महिलाप्रति हेर्ने दृष्टिकोणमा परिवर्तन आउने सम्भावनारहन्छ ।

यस्तो कुरा सुनेर र पढेर मात्रै पनि अन्यमा राम्रै प्रभाव पर्छ । समस्याको स्थायी समाधान खोज्ने र समाजलाई सभ्य बनाउने हो भने जागरुकता ल्याउनैपर्छ । छोरीलाई स्कुटर किनिदिएर परिवर्तन हुनेवाला छैन । छोराछोरीलाई पढाउन गार्‍हो भइरहेका बेला स्कुटर पनि व्यवस्था गरिदिनुपर्‍यो भने कमजोर आर्थिक अवस्थाको परिवारलाई थप बोझ हुन्छ । स्कुटरमा जान सक्ने छोरी त यौन दुर्व्यवहारबाट बच्लान् । अन्य छोरीहरू यौन दुर्व्यवहारको सिकार भइरहून् त? यो सोच्नै नसकिने कुरा हो ।

प्रकाशित : पुस ४, २०७५ ०८:४०
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

लुम्बिनीमा पञ्चशील पालना

सस्तो लोकप्रियताका लागि मात्र लुम्बिनी नगरपालिकालाई पञ्चशील क्षेत्र घोषणा गरिएको हो भने लज्जास्पद हुनेछ ।
वसन्त महर्जन

काठमाडौँ — गौतम बुद्धको जन्मथलो लुम्बिनीबाट नामकरण गरिएको लुम्बिनी सांस्कृतिक नगरपालिकालाई पञ्चशील क्षेत्र घोषणा गरिएको छ । बुद्ध धर्ममा पञ्चशील भन्नाले हिंसा नगर्ने, चोरी नगर्ने, झुठो नबोल्ने, व्यभिचार नगर्ने र नशालु पदार्थ सेवन नगर्ने प्रण हो । यो सामान्य बौद्धहरूले पालना गर्नुपर्ने न्यूनतम नियम हो ।

पञ्चशील बौद्धजनका लागि अनिवार्य भए पनि अरूसँग असम्बन्धित भने होइनन् । पञ्चशील क्षेत्र घोषणालाई अन्यथा लिनु हुँदैन ।

लुम्बिनी नेपाली गौरव हो । तत्कालीन कपिलवस्तु गणराज्य अन्तर्गत पर्ने लुम्बिनी वनमा ईशापूर्व ५६३ वैशाख पूर्णिमाका दिन भगवान गौतम बुद्धको जन्म भएको थियो । कालान्तरमा यो क्षेत्र बौद्धहरूका लागि तीर्थस्थल बन्यो । स्वयं बुद्धबाट यस क्षेत्रलाई अत्यन्त सम्वेदनीय स्थलका लिनुपर्ने आज्ञा भएको थियो ।

उति बेलादेखि बौद्धहरूले यसलाई सम्वेदनीय स्थलकै रूपमा ध्यान भावना तथा भगवानप्रति श्रद्धा अर्पण गर्दै आइरहेका छन् । लुम्बिनी त्यहाँ निर्माण भएका संरचनाका कारण पुरातात्त्विक महत्त्वको क्षेत्र बनेको छ । ऐतिहासिक, सांस्कृतिक तथा मानवीय मूल्यका आधारमा महत्त्व दिई संयुक्त राष्ट्र संघ अन्तर्गतको युनेस्कोले यसलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरिसकेको छ । अहिले अन्य धर्मावलम्बीका लागि पनि लुम्बिनी आकर्षणको केन्द्र हुनथालेको पाइन्छ ।

लुम्बिनीलाई भूगोलको एउटा टुक्रा वा पर्यटकीय स्थलका रूपमा मात्रै बुझ्नु र बुझाउनु ठूलो भुल हुन्छ । यस क्षेत्रले ग्रहण गरेको अर्थ भगवान गौतम बुद्धको जन्मस्थल हो । बौद्ध बाहेक अन्यले पनि सोही अर्थमा यसलाई महत्त्व दिने हुन् । बुद्ध र बौद्ध विषय–वस्तुबारे जान्ने–बुझ्ने मनसायले तिनीहरू बौद्ध स्थलमा आउने हुन् । लुम्बिनी लगायत बौद्ध स्थललाई बौद्ध वातावरणले युक्त गर्नुपर्छ ।

लुम्बिनीको अवस्था सधैं एकनासको पाइएन । कुनै बेला राजकीय उद्यानका रूपमा रहेको लुम्बिनी वन पछि धार्मिक क्षेत्र हुनपुग्यो । पछि उजाड मात्र भएन, विस्मृतिको गर्तमै विलिन हुन पुग्यो । प्राप्त साहित्यका आधारमा खोजी कार्य हुँदा सम्राट अशोकद्वारा राखिएको अभिलेख सहितको शिलास्तम्भ भेटिएपछि लुम्बिनीको पहिचान यस स्थलमा भएको हो ।

लुम्बिनीको पहिचान भएर समाचार संसारभर फैलिसक्दा पनि यसको संरक्षण तथा विकासमा खासै ध्यान पुर्‍याउन सकिएको थिएन । यस्तो परिस्थितिमा विश्वले नेपालप्रति गुनासो गर्ने तथा चित्त दुखाउने कार्य पनिनभएको होइन ।

सन् १९६७ मा संयुक्त राष्ट्र संघका तत्कालीन महासचिव ऊ थान्तले लुम्बिनी भ्रमण गरी त्यहाँको वस्तुस्थितिमा चिन्ता व्यक्त गर्दै विकासका लागि तत्कालीन राजा महेन्द्र समक्ष अनुरोध गर्नुका साथै आफ्नै पहलमा अन्तर्राष्ट्रियकरण गरेपछि लुम्बिनीको विकासले गति लिएको मान्नुपर्छ ।

लुम्बिनीको विकासका सवालमा संयुक्त राष्ट्र संघकै पहलमा गुरुयोजना बनेको थियो । सो गुरुयोजना अनुरूपका विकास निर्माण ढिलै सही तर भइरहेका छन् । यसको रेखदेख गर्न लुम्बिनी विकास कोष नामक एउटा स्वायत्त संस्था पनि छ ।

प्रबुद्ध बौद्ध जगतले भौतिक निर्माणमा मात्र नभएर अन्य कुरामा पनि ध्यान दिनुपर्नेमा पहिल्यैदेखि जोड दिँदै आइरहेको थियो । लुम्बिनी जाने बाटोको रक्सी कारखाना चर्को विरोधपछि हटाइयो । यस क्षेत्रमा गर्नुपर्ने थुप्रै काम छन् ।

लामो समयको बहुपक्षीय सहकार्य र सम्झौतापछि लुम्बिनी सांस्कृतिक नगरपालिका तथा लुम्बिनी विकास कोषले पञ्चशील क्षेत्र घोषणा गरिएको हो । यसको कार्यान्वयनमा सबै पक्ष गम्भीर हुनुपर्छ । यस क्षेत्रमा पञ्चशील पालनालाई ध्यान दिनुपर्छ भन्ने बौद्ध जनकोठूलो माग थियो ।

लुम्बिनी सांस्कृतिक नगरपालिकालाई पञ्चशील क्षेत्र घोषणा गर्नु र त्यसको कार्यान्वयन गर्नु एक तहको कार्य हो । अर्को तहको कार्य नीति–नियमले नभएर व्यक्ति आफै शील पालनामा लाग्नु हो । जमिनमा पाइला टेक्दा घोच्छ भनेर पूरा जमिनमा मुलायम सामग्री ओछ्याउन गार्‍हो होला, तर व्यक्तिले जुत्ता लगाएर हिँडे समस्या समाधान हुन्छ । यो प्रज्ञासँग पनि सम्बन्धित कुरा हो । नगरपालिकाले पूरा क्षेत्रलाई पञ्चशील क्षेत्रबनाउने महत्त्वाकांक्षी घोषणा गरेको छ । पञ्चशील पालना गर्न उत्साहित पार्ने दायित्व अब नगरपालिकाको हो ।

पञ्चशीलका सन्दर्भमा बौद्ध जगतभित्रै पनि अतिवादी प्रवृत्ति पाइन्छ, जसबारे स्पष्ट हुनु आवश्यक छ । कसले कति शील पालना गर्‍यो वा गरेन भनेर चियोचर्चा गर्दै हिँड्ने प्रवृत्ति सही होइन । यही कुरालाई लिएर आरोप–प्रत्यारोप गर्दै हिँड्दा द्वेषभावना विकास हुनुका साथै मैत्रीपूर्ण वातावरण सिर्जनामा नकारात्मक असर पर्छ । शील पालना गर्नलाई हो, देखाएर हिँड्न होइन भन्ने कुरा सदैव मनमा राख्नुपर्छ ।

एक व्यक्तिले एकैचोटी सबै शील अक्षरश: पालना गर्नैपर्छ भन्ने मान्यता राम्रै भए पनि व्यावहारिक होइन । हेर्दा पाँचवटा नियमजस्तो लाग्छ, तर पालना गर्ने बेला जीवनका कति धेरै पक्षलाई समेटेको हुन्छ भन्ने अवबोधि हुन्छ । यो पक्का हो, एउटा शीलको पालनाले अर्को शीलको पालनामा सघाउ पुर्‍याउँछ र शील पालनाले जीवनका धेरै कुरामा सकारात्मक परिवर्तन ल्याउँछ । यसलाई अन्य नीति–नियमजस्तो दण्ड–जरिवाना तथा नसिहतको माध्यमबाट पालना गराउन सकिन्न ।

शीलको प्रचार–प्रसार गर्ने, पालनामा जोडतथा प्रोत्साहन दिने गर्नाले सकारात्मक परिवर्तन हुन्छ । सबै शील पालना गर्न नसकिए पनि जति सकिन्छ, त्यति पालना गर्दै जानु र त्यसबाटप्राप्त सकारात्मक परिवर्तनबाट प्रोत्साहित भएर अरू थप शील पालनामा अग्रसर हुनु व्यावहारिकपक्ष हो । उदाहरणका लागि विगतमा जीव हत्यालाई घटाउँदा जुन आत्मसन्तुष्टि प्राप्तहुन्छ, त्यसले जीव हिंसाबाट विरक्त हुन धेरै मात्रामा सघाउने हुन्छ ।

गोरखा जिल्लाको उत्तरी भेगस्थित चुम उपत्यकामा पञ्चशील पालनाको अभ्यास स्मरणीय छ । बौद्ध धर्मावलम्बीको बर्चस्व रहेको त्यस उपत्यकामा पञ्चशील पालनामा जोड दिइनु स्वाभाविक हो ।

उपत्यकामा सबै शीललाई कडाइका साथ लागु नगरिए पनि पहिलोजीवहिंसा नगर्ने शीललाई भने सयौं वर्ष अघिदेखि पालना गरिएको छ । यही कुरा उपत्यकाको पहिचान बनेको छ ।

लुम्बिनी सांस्कृतिक नगरपालिकालाई पञ्चशील क्षेत्रका रूपमा घोषणा गरिनुले विश्वभरको बौद्ध जगतमा तरङ्ग ल्याउँछ । पञ्चशील पालनाले सकारात्मक परिवर्तन ल्याउनेमा शंका छैन । पुरै क्षेत्रमा मैत्रीपूर्ण वातावरण, भ्रष्टाचार तथा अनाचारको जरै उखिलिनु आमूल परिवर्तन हो । यो अभ्यासले अन्यत्र पनि प्रभाव पर्दै जान्छ । तर सस्तो लोकप्रियताका लागि पञ्चशीलको कुरा गरेको भए, त्यो जतिको लज्जास्पद अरू हुँदैन ।

प्रकाशित : मंसिर ११, २०७५ ०८:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT