छोरी, स्कुटर र यौन दुर्व्यवहार

सार्वजनिक यातायातभित्र धूमपान हटेजस्तै महिलामाथि हुने यौन दुर्व्यवहार पनि अन्त्य गर्न सकिन्छ ।
वसन्त महर्जन

काठमाडौँ — राजधानी काठमाडौंमा सार्वजनिक यातायात सार्वजनिक यातायात साधनको कमी छ । बाटोमा कोही उच्चपदस्थ व्यक्तिको आवागमनसँगै असहज परिस्थिति सिर्जना हुन्छ । भीडभाडका बीच यातायात साधनभित्र महिला यात्रुलाई अप्ठ्यारोमा पार्ने, टाँस्सिएर बस्ने, संवेदनशील अंगमा स्पर्श गर्ने तथा क्वारक्वार्ती हेर्ने यौन विकृत मानसिकताका पुरुष पनि समस्या हुन् ।

ZenTravel

यही समस्यालाई चित्रण गरिएको वृत्तचित्र सोर्‍हौं ‘काठमाडौ इन्टरनेसनल माउन्टेल फिल्म फेस्टिभल’ (७–११ मंसिर) मा प्रदर्शन गरियो । ‘एबाउट अ गर्ल’ शीर्षकको १७ मिनेट लामो वृत्तचित्रले धेरै प्रश्न उठाएको छ तर उत्तर खोज्नतिर खासै चिन्तन भएको पाइएन ।

स्कुल जाने छोरी आफूलाई एउटा स्कुटर माग्छिन् । वृत्तचित्रको सुरु यही दृश्यबाट हुन्छ । छोरीको माग तत्काल पूरा गर्न सक्ने अवस्थामा बाबु हुँदैनन् र छोरी ठुस्किएर निस्कन्छे । स्कुटर छोरीको ‘फर्मायसी’ नभएर आवश्यकता भएको त्यसपछिका दृश्यहरूले चित्रण गर्छन् । वृत्तचित्रको मुख्य विषयवस्तु पनि यही हो । अर्थात्, सधैं स्कुल जाँदा छोरी मान्छेले सार्वजनिक यातायातमा भोग्नुपर्ने यौनजन्य दुर्व्यवहार तथा त्यसको असरलाई वृत्तचित्रले समेटेको छ । वृत्तचित्रले छोरीलाई स्कुटी किनिदिए समस्या समाधान हुने सन्देश दिएको छ ।

वृत्तचित्रको प्रदर्शनपछि भएको छलफलमाप्राय: दर्शकले छोरीलाई स्कुटर चाहिने र अभिभावकले यसलाई बुझ्न नसकेको धारणा व्यक्त गरे । स्कुलस्कुलमा अभिभावकलाई भेला पारेर छोरीलाई स्कुटर किनिदिन अनुरोध गर्ने अभियान थाल्नुपर्ने मन्तव्य पनि व्यक्त भयो र त्यसमा अन्य दर्शकले ताली बजाएर समर्थन गरे । तर, यो समस्याको समाधान होइन, समास्याबाट भाग्ने काइदा मात्रै हो । यसले समस्यालाई अझ विकराल रूप दिन्छ ।

केही दशकअघि यातायातको साधनभित्र धूमपान गर्ने समस्या थियो । चुरोट सल्काउँदै र धूवाँ उडाउँदै यताउता हेर्नु पुरुषार्थ प्रदर्शन ठानिन्थ्यो । तर, समाज विकासका क्रममा सार्वजनिक यातायातभित्र धूमपानको विरोध चर्को भयो । अहिले धूमपानको कल्पना पनि गर्न सकिन्न ।
सार्वजनिक यातायातभित्र धूमपान हटेजस्तै महिलामाथि हुने यौन दुर्व्यवहार पनि अन्त्य गर्न सकिन्न र ? अवश्य सकिन्छ । यसका लागि छोरीलाई स्कुटर किनिदिएपछि सबै समस्याको समाधान हुन्छ भन्ने सोचबाट माथि उठ्नुपर्छ ।

वृत्तचित्र हेरिसकेपछि एक दर्शकले अनुरोध गरेका थिए, ‘यौन दुर्व्यवहारको प्रतिकार गर्ने महिलाको पक्षमा अन्य पुरुषले साथ दिने हो भने केही हौसला मिल्थ्यो ।’ यस्तो अवस्थामा ‘केही हौसला’ नभएर ‘धेरै हौसला’ मिल्ने र यसले समाजमा राम्रो असर पार्दै जाने कुरा हेक्का राख्नुपर्छ । चुप लागेर बस्ने वा भीडभाडको बसमा अलिअलि छुन भइहाल्छ नि भनेर उल्टो पीडितलाई सिकाउने प्रवृत्तिले कहिल्यै समस्या समाधान गर्दैन ।

रत्नपार्कबाट कीर्तिपुरतर्फ गइरहेको सार्वजनिक यातायातमा एकपल्ट यस्तै यौनदुर्व्यवहार भइरहेको थियो । पीडित महिला केही बोल्न सकिरहेकी थिइनन् । ठीक त्यसै बेला अर्की जागरुक महिलाको आँखामा यो दृश्य पर्‍यो र बिस्तारै उनले आफू वरिपरिका अन्य यात्रुको ध्यानाकर्षण गराइन् । झट्ट हेर्दा भद्रभलाद्मी देखिने ती पुरुषबाट यस्तो पनि हुन्छ भन्ने सोच्नै सकिन्नथ्यो । यौन विकृत मानसिकताका ती पुरुषलाई तिनै महिलाले गाली गरिन् । होइन भनेर प्रतिकार गर्ने वा बहाना बनाउने कुनै अवस्था थिएन र साक्षीका रूपमा वरिपरिका यात्रु काफी थिए । ती पुरुष उत्ति नै खेर कालो–नीलो मात्रै भएनन्, हतास हुँदै कालिमाटी पुगेपछि ओर्लिए ।

सार्वजनिक यातायातका रूपमा सञ्चालित बस, टेम्पोलगायतका साधनको स्वामित्व कसैको भए पनि सेवामा हुन्जेल ती सबैको अधिकारभित्रका कुरा हुन्छन् । त्यहाँ कुनै व्यक्ति वा वर्गविशेषको वर्चस्व हुँदैन । यात्रा गर्ने महिला हुन् वा पुरुष, दुवै बराबर हुन्छन् । यस्तो सार्वजनिक स्थलमा कसैले कसैलाई हेप्न त झनै पाइँदैन । यौन दुर्व्यवहारलाई महिलाको मात्रै समस्या नभएर सबैको चासो र सरोकारको विषय बनाउनुपर्छ । यस्तो घटना हुनासाथ विरोध गर्ने वा विरोध गर्नेलाई साथ दिने हो भने समस्या चाँडै समाधान हुन्छ । होस नभएर एकअर्कामा छुँदा माफी माग्नु सामान्य शिष्टाचार भइहाल्यो । यौन दुर्व्यवहारजन्य हो र विरोध पनि भयो भने सम्बन्धित व्यक्ति
तत्कालै लज्जित हुनुपर्छ ।

यसबाट वरिपरिकाअन्य पनि सचेत हुन्छन् । कोही अटेरी नै भए गाडीबाट झार्ने वा प्रहरीको जिम्मा लगाइदिने गर्नु उत्तम हुन्छ । यस्ता घटनालाई सामाजिक सञ्जालमा सार्वजनिक गरिदिने हो भने त्यस्ता व्यक्तिले अन्यत्र पनि महिलामाथि कर्के आँखा लगाउन सक्दैनन् । यसबाट सम्पूर्ण महिलाप्रति हेर्ने दृष्टिकोणमा परिवर्तन आउने सम्भावनारहन्छ ।

यस्तो कुरा सुनेर र पढेर मात्रै पनि अन्यमा राम्रै प्रभाव पर्छ । समस्याको स्थायी समाधान खोज्ने र समाजलाई सभ्य बनाउने हो भने जागरुकता ल्याउनैपर्छ । छोरीलाई स्कुटर किनिदिएर परिवर्तन हुनेवाला छैन । छोराछोरीलाई पढाउन गार्‍हो भइरहेका बेला स्कुटर पनि व्यवस्था गरिदिनुपर्‍यो भने कमजोर आर्थिक अवस्थाको परिवारलाई थप बोझ हुन्छ । स्कुटरमा जान सक्ने छोरी त यौन दुर्व्यवहारबाट बच्लान् । अन्य छोरीहरू यौन दुर्व्यवहारको सिकार भइरहून् त? यो सोच्नै नसकिने कुरा हो ।

प्रकाशित : पुस ४, २०७५ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

सुर्ती छाड्नुस् है !

सुर्ती छाड्नुभयो भने अंगहरू स्वस्थ हुन्छन् । तपाईंका छोराछोरी, श्रीमती, बुबाआमा सबै जना अति खुसी हुनेछन् । 
डा. राजेन्द्र कोजु

काठमाडौँ — बायाँ हत्केलामा दायाँ हातको बुढीऔंला नाच्दै छ, सुकेको सुर्तीको पातसँग सेतो चुना राम्ररी मिलाउन । मोल्दै गएपछि चुना र सुर्तीको धूलो पनि निस्किन्छ । धूलो चपाइँदैन ।

दाहिने हातको चार औंलाले मोलिएको सुर्तीमाथि प्याटप्याट हानेपछि धूलो उडेर जान्छ । राम्ररी मिसिएको सुर्ती मात्र बाँकी हुन्छ । उडेको खारयुक्त धूलोले कसैको नाकलाई सन्काइदियो भने छ्युँ गर्ने जिम्मा उसैको ।

मोलिसकेको सुर्तीको फुर्ती बेग्लै हुन्छ । बडो मिहिनेतका साथ तयार भएको सुर्ती साथीहरूलाई पनि बाँडिन्छ । साथीहरूले बुढीऔंला र चोरऔंलाले एक–एक चिम्टी सुर्ती लिन्छन् वा आफैंले एक–एक चिम्टी बाँडेर दिइन्छ । त्यसलाई तल्लो ओठ र गिजाबीचमा थप्पक्क घुसाइँछ । कसै–कसैले स्टाइल गरेर माथिल्लो ओठ र गिजाको बीचमा च्याप्छन् । भर्खरभर्खर खान सुरु गर्नेलाई यो स्टाइल मन पर्छ होला । रस आउँदै गरेपछि पिच्चपिच्च थुक्न रमाइलो मान्छन् । सुर्ती मोलेर खाने तरिका बानी भएका साथीहरूमा रमाइलो मानिन्छ । नखाने मान्छे पनि यही सुर्तीले मित्र बन्ने गर्छन् । खान मन नपर्नेलाई पनि केही करकाप परेपछि खान सुरु गर्ने सम्भावना बढ्छ ।

सुर्ती खाने बानी लागेपछि जहाँ पनि खान मन लाग्न सक्छ । हाम्रो समाजमा साधारण रूपमा लिइने भएको हुनाले धेरैलाई यसको मतलब नभएको हुन सक्छ । तर, मन नपर्ने मान्छे पनि वरिपरि भयो भने त्यति राम्रो मानिदैन । कुरा गर्दागर्दै बीचबीचमा प्याच्च थुक्दा असभ्य देखिन्छ । बानी लागेको मान्छेले जस्तै बेला पनि खाइराखेको देख्छौं ।

जस्तै– कपाल काट्नेले कपाल काट्न सुरु गर्नुअगाडि वा काट्दा काट्दै पनि साथीले तयार गरेको छ भने बीचमै पनि एक चिम्टी लिएर ओठभित्र घुसाइहाल्छन् । जुठो हात टकटक्याएर फेरि अर्काको टाउकामा कैंची चलाउँदा कस्तो होला ? होटलमा चिया–खाजा ग्राहकलाई दिनुभन्दा पहिला सुर्ती घुसाएर त्यही हातले रिकापी समाएर आउँदा कस्तो होला ? बस कन्डक्टरले सुर्ती घुसाएकै हातले गन्दै फिर्ता पैसा हातमा दिंदा कस्तो होला ? पसले साहुजीले सुर्ती घुसाएकै हातले चिनी जोखिदिँदा कस्तो होला ?

कस्तो–कस्तो बेलासम्म खान्छन् भने, मोटरसाइकल पछाडि बस्नेले हुइँकिएकै बेला बनाउँदै आफैं पनि खाने, अगाडि हाँक्ने साथीलाई पनि ख्वाउने, जाँच दिइराखेको बेला खाने, कारखानामा काम गरिराख्दा हात कालै छ भने पनि लिएर खाने, बिरामी हेर्दै छ भने सुटुक्क भित्र गएर च्यापेर आइहाल्ने, चालकले स्टेयरिङ छाडेर भए पनि हात थापिहाल्ने ! यति धेरै रमाइला र लत लाग्ने सुर्ती हाम्रो शरीरका लागि भने हानिकारक छ । यसबारे ज्ञान भएर पनि बानी परिसकेकाहरू छाड्न सक्दैनन् । यसले मुखको क्यान्सर निम्त्याउँछ । यसले मुटु, फोक्सोलगायत शरीरका विभिन्न अंगमा थुप्रै नराम्रा असर गर्छ ।

सुर्तीले अरूलाई पनि त्यति राम्रो गर्दैन । रमाइलो भए पनि, रमाइलो देखिए पनि, लत लागे पनि, करकापमा परे पनि यो खाने चीजचाहिं होइन । नखानेले खाँदै खाँदैन । खानेले एकपल्ट छाडेर हेर्नोस् त कति खुसी हुन्छन् तपाईंका अंगहरू ? तलतल लागे पनि छाड्नुभयो भने अंगहरू स्वस्थ हुन्छन् । तपाईंका परिवार– छोराछोरी, श्रीमती, बुबाआमा सबै जना अति खुसी हुन्छन् । थोरै भए पनि पैसा बच्छ । वर्ष दिनसम्ममा पैसा पनि निकै जोगिन्छ— सायद छोराछोरीको स्कुलको फी तिर्न पुग्छ ।

प्रकाशित : पुस ४, २०७५ ०८:३४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×