१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

साइकलयात्राको समाजशास्त्र

प्रत्येक साइकल यात्रीसँग उसको पारिवारिक सम्बन्ध सडकमा दगुरिरहेको हुन्छ । सडक दुर्घटनाले व्यक्ति, परिवार, नातागोता, समुदाय हुुँदै समाजसम्म प्रभाव पार्छ । 
नरेन्द्र मिश्र

काठमाडौँ — डेढ महिनाअघि कीर्तिपुरस्थित ल्याबरोटरी स्कुलअगाडि बल्खु–दक्षिणकाली सडक किनारमा काठमाडौं उपत्यका खानेपानी लिमिटेडले खुलै छाडेको खानेपानी च्याम्बरमा खसेर काठमाडौं महानगरपालिका–१५ चागलका साइकलयात्री श्यामसुन्दर श्रेष्ठको मृत्यु भयो । साइकल स्ल्याबमा ठोक्किएर उछिट्टिँदा श्रेष्ठ च्याम्बरमा खसेका थिए ।

साइकलयात्राको समाजशास्त्र

एक सातापछि घटनास्थलमा श्रेष्ठको सम्झनामा राखिएको सेतो साइकल र त्यसमा उनकी दिदी शुभद्राले फूल चढाउँदै गरेको तस्बिर गत कात्तिक १८ गते कान्तिपुर दैनिकको मुखपृष्ठमा छापिएको थियो । त्यस दिन दिदी शुभद्रा, आफन्त र केही साइकलयात्रीले श्रद्धाञ्जलीसभा आयोजना गरेर सेतो साइकलमा फूल चढाएका थिए ।


ती घटना, सेतो साइकल र श्रद्धाञ्जलीसभाले दु:खद, मार्मिक र सांकेतिक छन् । तिनले खबरदारीपूर्ण सन्देशसमेत दिएका छन् । यो र यस्ता प्रकृतिका साइकल दुर्घटनाले हामीमाझ थुप्रै प्रश्न जन्माएका छन् ।


साइकलयात्रीले कस्ता खालका समस्या भोग्दै आएका छन् ? किन साइकलयात्रीले अनाहकमा ज्यान गुमाउनुपरिरहेको छ ? के हाम्रा सहरमा साइकलयात्रालाई निम्नवर्गको सवारीसाधनका रूपमा मात्र हेरिन्छ ? सडकमा साइकलयात्रीलाई वर्गीय असमानताको व्यवहार गरिन्छ कि गरिँदैन ?


सहरमा साइकल

राजधानीका मुख्य सडकहरू प्राय: व्यस्त रहने गर्छन् । सडकमा प्राय: दुईपांग्रे र चारपांग्रे सवारी साधनले बाक्लै गरी एकपछि अर्कोलाई पछयाइरहेका हुन्छन् । बेलाबखत साइकलयात्रीलाई दगुरिरहेको पनि देख्न सकिन्छ । पैदलयात्रीले दैनिक ओहोरदोहोर गर्ने छँदै छ । सडकहरू प्राय: साँघुरै छन् । सवारीसाधनको संख्या दिनप्रतिदिन उकालो लागिरहेको छ ।


उपत्यकामा प्रत्येक दिन करिब ३५४ वटा नयाँ सवारीसाधन थपिन्छन् । मोटरसाइकलको कुरै नगराैं । ११ लाखभन्दा बढी दुईपांग्रे सवारीसाधन दर्ता भइसकेका छन् । प्रतिदिन सवारीसाधन थपिँदै जाँदा यहाँका सडकको आकार र संख्या भने लगभग विगतकै अवस्थामा छन् ।


काठमाडौं उपत्यकामा साइकलयात्रालाई त्यति सहज सवारीसाधनका रूपमा लिएको पाइँदैन । यसका पछाडि धेरै कारण छन्– साइकलमैत्री भौतिक संरचनाको कमी, व्यक्तिको आर्थिक अवस्था, पँुजीवादी जीवनशैलीको प्रभाव, समयको सीमितता, बदलिँदो सहरिया जीवनशैली, नयाँ सामाजिक मूल्य र मान्यता आदि ।


साइकलयात्राबाट गन्तव्यमा पुग्न लामो समय लाग्ने र यो विशेषत: निम्नवर्गले प्रयोग गर्ने सवारीसाधन हो भन्ने गरिन्छ । समग्रमा साइकलयात्राबाट बेफाइदाभन्दा पनि फाइदा बढी भएको देखिन्छ । विभिन्न मुलुकमा गरिएको अध्ययनअनुसार यसले व्यक्तिको स्वास्थ्यमा प्रत्यक्ष फाइदा गर्छ ।


जस्तो कि कुनै व्यक्तिले दैनिक ३० मिनेट प्रतिदिन साइकलयात्रा गरे मधुमेह, उच्च रक्तचाप, उदासीनताका साथै अन्य सामान्य शारीरिक रोग कम गर्न ४० प्रतिशत मद्दत पुग्छ भनिन्छ । पछिल्लो ब्रिटिस मेडिकल जर्नलको एक अनुसन्धानअनुसार नियमित साइकल चलाउनाले क्यान्सरको खतरा ४५ प्रतिशतसम्म कम हुन सक्छ । यसले वातावरण सन्तुलन, सहरको प्राकृतिक सौन्र्दय, इन्धनको बचत, वायु प्रदूषणमा कमी, ट्राफिक जाममा कमी र कम खर्चिलो सवारीसाधन यसका मुख्य विशेषता नै हुन् ।


साइकल र बदलिँदो जीवनशैली

राजधानी सहर, पुँजीवाद उन्मुख जीवनशैली र साइकलयात्राको सम्बन्ध एकअर्कामा जेलिएको छ । यसको अर्थ पुँजीवादले मानिसको आम्दानीको स्रोत, साइकल, दुईपांग्रे र चारपांग्रे सवारीसाधनको उपभोगलाई प्रभाव पार्छ भन्ने हो ।


यी सवारीसाधनको प्रयोगलाई हाम्रो बदलिँदो समाजमा वर्गीय हैसियताका रूपमा पनि हेरिने थालेको छ । साइकलबाट मोटरसाइकल र मोटरसाइकलबाट चारपांग्रे गाडीसम्मको चाहनामा वर्गीय रूपान्तरण हुनु यसको एक उदाहरण हो । सैद्धान्तिक रूपमा यो हुनु स्वाभाविक पनि होला । सहरमा साइकललाई दैनिक सवारीसाधानका रूपमा प्रयोग गर्नु निम्नवर्गीय पारिवारिक हैसियतको संकेत मात्र हो कि होइन भन्ने प्रश्न पनि छ ।


के हामी साइकल संस्कृति अँगाल्न सक्छौँ ? के हामी चलाइरहेको मोटरसाइकल त्याग्न सक्छौँ ? यसमा सक्ने र नसक्ने व्यक्तिका आआफ्नै कारण होलान् । यसमा व्यक्ति, परिवार, पेसा, लिंग, समय, सामाजिक हैसियतका साथै आर्थिक अवस्थाले प्रभाव पार्दैन भन्ने छैन तर किन हाम्रो सहरिया जीवनशैलीमा साइकल उपयोगी भइरहेको छैन भन्ने मुख्य सवाल हो ।


तसर्थ साइकलयात्रा र मोटरसाइकल/चारपांग्रेयात्राबीचको सम्बन्धलाई पारिवारिक, आर्थिक, सामाजिक, भौगोलिक, मनोवैज्ञानिकका साथै पँुजीवादको बढ्दो प्रभावलाई समाजशास्त्रीय विश्लेषण गर्नु जरुरी देखिन्छ ।


दुईपांग्रे र चारपांग्रे सवारीसाधनभन्दा साइकलयात्रीले आफ्नो शारीरिक क्षमता/शक्ति प्रयोग गर्नुपर्छ । सडकको किनारबाट च्यापिएर यात्रा गर्नुपर्छ, धुवाँधुलोले प्राय: सधैँ पिरोल्छ र ठूला सवारीसाधनका सहचालक/चालकबाट गरिने निम्नस्तरको व्यवहार सहनुपर्छ । यो अवस्था र मानसिकतालाई परिवर्तन गर्न जरुरी छ ।


विशेषत: सहरमा मध्यमवर्गले भागदौडको जिन्दगी, व्यस्तताका कारण दुईपांग्रे सवारीसाधनलाई अनिवार्य ठानेको हुन सक्छ । साइकलयात्रालाई सबै वर्ग, लिंग र उमेरमा लानका प्रोत्साहन गर्नुपर्छ । केही पश्चिमा मुलुकमा ‘साइकल सहर’ का रूपमा विकास गरिएका छन् । हामीलाई साइकल सहर बनाउन केले रोकेको छ ?


दुर्घटनाको जोखिम

काठमाडौं उपत्यकामा २०७० सालपछि ३३ जना साइकलयात्रीको सडक दुर्घटनामा मृत्यु भएको देखिन्छ । साइकल दुर्घटना किन हुन्छन् ? दुर्घटनाको दोषी को ? सामान्यतया साइकलयात्री दुर्घटनामा पर्नुका पछाडि धेरै कारण हुन सक्छन् ।


तैपनि यसलाई दुइटा पाटाबाट हेर्न सकिन्छ । पहिलो, साइकलयात्रीको यात्राको क्षमतामाथि प्रश्न उठाएको पाइन्छ । दोस्रो, साइकल लेन अभाव, अव्यवस्थित सडक, खाल्डाखुल्डी, ठूला सवारीसाधनको चाप आदि ।


प्रत्येक साइकलयात्रीसँग उसको पारिवारिक सम्बन्ध पनि सडकमा दगुरिरहेको हुन्छ । यसको अर्थ सबै यात्रीमा पारिवारिक सम्बन्ध, आशा, भरोसा, अपेक्षा र संघर्ष पनि जोडिएको हुन्छ । सडक दुर्घटना र मानवीय क्षतिले व्यक्ति, परिवार, नातागोता, समुदाय हुँदै समाजसम्म प्रभाव पारिरहेको हुन्छ ।


व्यक्ति, घरपरिवार र आफन्तले यस्ता घटना बिर्सन सकिरहेका हुँदैनन् । पारिवारीक सदस्य गुम्दाको पीडा र त्यसबाट सिर्जित सामाजिक, आर्थिक तथा मनोवैज्ञानिक प्रभावले परिवारलाई लामो समयसम्म पछ्याइरहेको हुन्छ ।


के गर्ने ?

सहरमा साइकलयात्रा बढाउनु भनेको स्वस्थ र सुरक्षित रहनु तथा वर्गीय सन्तुलन कायम गर्नु पनि हो । चिल्ला गाडी, बस, माइक्रोबस, मोटरसाइकलजस्ता सवारीसाधनको संख्या बढ्नु मात्र सहरको पहिचान होइन । तिनीहरूको सहज, सरल, व्यवस्थित र सुरक्षित यात्रा सुनिश्चित गर्नुपर्छ ।


सडक दुर्घटनामा कुनै नागरिकको ज्यान गुम्ने अवस्था रहनु हुँदैन । त्यसका लागि साइकल सहरको परिकल्पना विकल्प हुन सक्छ । साइकल संस्कृतिलाई प्रोत्साहन गर्न साइकल सडक संरचनाको विकास, साइकल लेन, साइकलबिसौनीका साथै सर्वसाधारणमा साइकलको पहुँच अभिवृद्धि, प्रोत्साहन, सुरक्षित यात्राको अनुभूति र साइकलमैत्री वातावरण खाँचो छ ।


लेखक रत्नराज्यलक्ष्मी क्याम्पसका समाजशास्त्र विभाग प्रमुख हुन् ।

प्रकाशित : पुस १, २०७५ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?