२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

असल नियतको अभाव

रोजिना पोखरेल

काठमाडौँ — ‘म भ्रष्टाचार गर्दिनँ । म भ्रष्टाचार हुन दिन्नँ । म देश र जनताका लागि इमानदार भएर काम गर्ने प्रतिज्ञा गर्दछु ।’सिंहदरबारमा हरेक मन्त्रालयको मूलद्वारमा यी वाक्य देखिन्छन् । भ्रष्टाचार छ, हुन्छ तर अब म हुन दिन्नँ है भन्दै गराइएको प्रतिज्ञाले सदाचारितामा कस्तो प्रभाव पार्ला ? हेर्न बाँकी छ ।

इतिहासलाई साक्षी राख्दा व्यवहारगत परिवर्तन नगरे सम्म, नेतृत्ववर्ग उच्च नैतिकतामा नरहेसम्म लेखेर असल नियत आउँदैन भनेर सदाचार देखिँदैन । यस्ता प्रचारी चटकको अवधि पनि छोटो हुन्छ ।

परजीवी चरित्र परजीवीलाई अर्काको जीवन, अर्काको मूल्यको अर्थ हुँदैन । आफू बाँच्न उसले अरूलाई चुस्नैपर्छ, अरूलाई खानैपर्छ । परजीवीले आफ्नो आहार आफैं बनाउँदैन, मेहनत गरी सिर्जना गर्दैन, अरूलाई खोजी गर्छ ।


राजनीतिक दलका स्थानीय तह, प्रदेश र केन्द्रस्तरका अधिकांश नेताको बाँच्ने आधार राजनीति बनेको छ । आफ्नो छुट्टै इलम, आयस्ता, व्यवसाय, स्रोत खोजी गर्न धेरैले ध्यान दिँदैनन् । तल्लो तहदेखि माथिल्लो तहसम्म स्तर, मापन फरक होला तर प्रक्रिया एउटै हो– आफ्नो पद, पहुँच देखाएर, राजनीति भजाएर गुजारा चलाउने र भविष्यका लागि जोहो गर्ने ।


परजीवीको नैतिकता, सदाचारिता हुँदैन । उसको कर्म, धर्म भनेकै अरूमा भर पर्ने, अरूलाई चुस्ने हो । इलम, पेसा, व्यवसायले मानवलाई संघर्ष, मेहनत, परिश्रमको महत्त्व बुझाउँछ तर राजनीति गुजाराको माध्यम बन्दा बजेट विनियोजन, कार्यान्वयनमा भागबन्डा, लुँछाचुँडी सामान्य बन्दै छ ।


मेरो बजेट, हाम्रो बजेट, हामीलाई योजना, हाम्रा लागि कार्यक्रम, हामीबाट सञ्चालनजस्ता पक्ष मजबुत हुँदा जनताका लागि समृद्धि टाढा देखिन्छ । राष्ट्रिय, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले धेरै हदसम्म जनता, अगुवालाई परजीवी बनाउँदै आएका छन् । शारीरिक, बौद्धिक परिश्रम, मेहनत, दु:खबिनाको प्राप्तिले परजीवी संस्कारलाई बढावा दिन्छ ।


विलासी नेतृत्व

राजनीति पेसा, व्यापार होइन । यो सामाजिक सेवा, राष्ट्रिय योगदानका लागि आफ्नो दूरदृष्टिसहित जनताको समर्थन प्राप्त गर्दै सामाजिक अगुवाइ गर्ने पथप्रदर्शनको दर्शन हो । यसको नेतृत्व आफ्नो सिद्धान्त सम्हाल्दै सादा, सरल, आदर्श जीवन जिउँदै आम जनताका लागि मार्गदर्शक बन्छ भन्ने मान्यता हो ।


राष्ट्रप्रमुख, सरकार प्रमुखको नैतिकताको सुई सिधा भए आम जनताले गौरव महसुस गर्छन् । जनता आफ्नो अभिभावकका रूपमा रहने नेतृत्ववर्ग अनुकरणीय बनेको हेर्न चाहन्छन् । ऊ व्यक्तिमुखी होइन, जनमुखी बनेको हेर्न चाहन्छन् । हरेक क्रियाकलापमा पारदर्शिताको अपेक्षा रहन्छ । राजनीतिलाई पेसा, व्यवसायका रूपमा विकसित गर्दै लाँदा न्याय, नैतिकता र सदाचार हराउँदै आएको स्पष्ट देखिन्छ ।


विवादमा आउन नहुने सर्वोच्च पद समयसमयमा विवादमा तानिनु, व्यवहार तथा कार्य जनताको नजरमा सम्मानपूर्ण हुन नसक्नुजस्ता पक्षले नकारात्मक सोच मात्र वीजारोपण गर्न सक्छ । हिजो राजनीतिमा लाग्दा बोकेको सोच, सिद्धान्त, दु:ख र आश्वासन आज व्यक्तिगत, पारिवारिक र विलासितामा रूपान्तरण भएको स्पष्ट देखिन्छ ।


कर्मचारीतन्त्रमा कछुवा चरित्र

कछुवा सुस्त हिँड्छ । उसको आयु लामो हुन्छ । सुरक्षाका लागि जिउमाथि कवच हुन्छ । उसलाई कुनै हर्ष, विस्मात् देखिन्न । मात्र खान, रम्न र जम्न पाए पुगे हुन्थ्यो जस्तो गर्छ । हाम्रो कर्मचारीतन्त्र त्यस्तै देखिन्छ । जागिर जाला भन्ने पिर छैन । सुस्त कार्यशैली, खालि खाने मुहान खोज्ने बानी छ ।


ट्रेड युनियनरूपी सुरक्षाकवच पहिरिएको कर्मचारीतन्त्र कसरी खरायो बन्ला ? पूर्व/बहालवाला प्रधानमन्त्री, मन्त्रीहरूले कर्मचारीले असहयोग गरे, फाइल लुकाए, ढिला कार्य गरे भनिरहेका हुन्छन् । कर्मचारीतन्त्रको नियत, नैतिकता र कार्यशैली नसुधारेसम्म समृद्धिको खाका कोर्न कसरी सहयोग पुग्ला ?


महँगा सेवाकर्मी

केही महिनाअगाडि एक जना आफन्त नोकरीको वृत्तिविकासमा आफूलाई आघात पुगेको महसुस गरी कानुनी उपचारका लागि काठमाडौंमा नाम चलेको एक वकिलको ल फर्ममा जानुभयो । म पनि साथमा थिएँ । वकिलले केही समय दिनुभयो ।


सबै कुरा सुन्नुभयो । कागजात हेरेजस्तै गर्नुभयो अनि भन्नुभयो, ‘ठिकै छ, यी कागजात एक प्रति यहाँ छाड्नुस् । २ लाख पनि छाड्नुस् । मुद्दा प्रक्रिया बढाउँला अनि लाग्ने हिसाबकिताब पछि गरौंला ।’ म र मेरा आफन्त हेराहेर गर्‍यौं अनि हुन्छ, भोलि आउँला भनेर हिँड्यौं ।


यस्ता ल फर्म र अन्य सेवा प्रदायक निकायले माग्ने र लिने सेवा शुल्कको मूल्य अचाक्ली बढी छ । पेसागत आचारसंहिताले कतिसम्म सुहाउँछ, प्राप्त सेवाशुल्कको कर तिरिन्छ कि तिरिन्न, सर्वसाधारणले सेवा ग्रहण गर्न कत्तिको सक्लान् जस्ता पक्ष बहसमै छन् ।


गाली र आलोचना धेरै सरकारको हुन्छ तर राज्य सञ्चालन संयन्त्रमा सबै क्षेत्र, संस्था, पेसा, व्यवसायगत निकाय पनि सारथि हुन्छन् । तिनले अपनाएका नियत, नैतिकताले पनि समाज र देशमा कस्तो नतिजा ल्याउने भन्ने ठूलो भूमिका खेल्छ ।


भ्रष्टमैत्री समाज

समाज आफैं अनियमितताको कडा विरोध गर्छ, आफैं भ्रष्टाचारलाई मान्यता प्रदान गर्न पनि तत्लीन देखिन्छ । प्रक्रिया पुर्‍याउनभन्दा केही रकम खर्च गरी छिटो, छरितो काम सक्न पाए, सेवा लिन पाए हुन्थ्यो भन्ने सोचाइ व्यापक छ ।


कुन माध्यमबाट र कसरी मानिसले पैसा कमायो, कमाउँदै छ भन्नेतिर होइन, कमाइएको पैसालाई महान् ठानिने संस्कार समाजले विकास गर्दै छ । पैसा कमाउने, शक्ति प्रदर्शन गर्नेको राप, ताप लिन समाज अग्रसर छ । सरल जीवन जिउने, सानो आयस्ताबाट जीविका चलाउने, सानो इलम चलाउने, मेहनतबाट गुजारा चलाउने मानिस समाजको आदर्श पात्र बन्न नसक्ने हुँदै गएको छ ।


जसरी पनि पैसा कमाउने, धाक रवाफ लगाउने व्यक्ति सामाजिक जीवनमा सफल ठानिने संस्कार विकास हुँदै छ । सरलभन्दा विलासी जीवनलाई सफलताको सूचक मान्ने समाज विकास भइरहेको छ ।


निजी क्षेत्रले देशको बेथिति, भ्रष्टाचारको उग्र विरोध गर्छ तर आफ्नो पेसा, व्यवसायमा पारदर्शी र कानुनबमोजिम व्यवस्थित गरेको खासै पाइन्न । सरकारलाई बुझाउनुपर्ने कर होस् या ग्राहकबाट लिने नाफाको प्रतिशतजस्ता पक्षमा इमानदार पाइँदैनन् । सामाजिक दायित्वबाट पन्छिन खोजेको देखिन्छ ।


प्राज्ञिक राजनीतीकरण

प्राध्यापक, शिक्षक र अन्य विज्ञ वर्ग राजनीतिको फेरो नसमाते आफू छायामा पर्ने, मौका नपाउने मनस्थितिबाट गुज्रिएका छन् । राजनीतिक दलैपिच्छेका प्राज्ञिक जमात बनेका छन् । नैतिकता सिकाउने पाठशाला, विश्वविद्यालय, प्राज्ञिक केन्द्र स्वार्थको खोजी गर्ने, व्यापारीकरण हुने दिशामा केन्द्रित छन् ।


राजनीतिक रङले असल प्राज्ञिक वर्ग स्वत: छाया र हेलामा पर्दै आएका छन् । नैतिकता सिकाउने जमातमै रोग पसेपछि बौद्धिक वर्गलाई समाजले कसरी पत्याउने ? संविधान, कानुन, नियम आदिमा लोकतान्त्रिक तवरबाट जनहितलाई ध्यान दिएर पर्याप्त कानुनी व्यवस्था गरिए ।


सुशासन, असल व्यवस्था, भ्रष्टाचार निवारण र अनियमितता नियन्त्रण गर्न संस्थागत संयन्त्र, शक्ति नियन्त्रण र सन्तुलनका लागि विभिन्न संयन्त्र बनाइए । ती कानुनी व्यवस्था, संयन्त्रको सन्तोषजनक नतिजा देखिँदैन । यसको मुख्य कारण तिनको प्रयोग र प्रचलनमा राखिने गलत नियत हो ।


प्रशस्त कानुन हुँदैमा कानुनी शासन, प्रशस्त राजनीतिक दल तथा नेता हुँदैमा असल नेतृत्व, प्रहरी–प्रशासन हुँदैमा भरपर्दो शान्तिसुरक्षा र अमनचयन, सेवाप्रदायक नजिक हुँदैमा चुस्त सेवा, स्कुल–विश्वविद्यालय हुँदैमा गुणस्तरीय शिक्षा हुँदैन भन्ने हामीले देखिसकेका छौं, भोगिसकेका छौं ।


सरकारको नेतृत्वमा नैतिकताको धर्म, अन्य निकायमा पेसागत मर्यादा र असल नियत हुनैपर्छ । संकीर्ण स्वार्थकेन्द्रित अनैतिक प्रवृत्तिको जालो नतोडिएसम्म चालिएका कदम, बोलिएका भाषण, देखाइएका सपना र लगाइएका समृद्धिका नारा अपुरै रहनेछन् ।

प्रकाशित : पुस १, २०७५ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?