न्याय हराएको देश

सडक–गल्लीमा टाँसिएका पोस्टर उक्काइए पनि न्यायका लागि उर्लेको जनलहर रोकिने छैन, घरघरमा नानीहरूले नै सिसाकलमले उतार्नेछन् निर्मलाको तस्बिर ।
साधना प्रतीक्षा

काठमाडौँ — विद्यालयको अतिरिक्त क्रियाकलापमा मेरी छोरीले एउटा चित्र बनाएर ल्याई । मलाई लाग्यो, सधैंझैं यसपालि पनि फूल, प्राकृतिक दृश्य, हिमाल यस्तै केही होला । जब उसको चित्रमा नजर लगाएँ, झस्कें । चित्र त्यही अबोध बाला निर्मला पन्तको थियो जसमाथि भएको अत्याचारविरुद्ध चार महिनादेखि आम नागरिकले आवाज उठाइरहेका छन् ।

उनै तेह्रवर्षे निर्मलालाई मेरी तेह्रवर्षे छोरीले सिसाकलमद्वारा सेतो कागजमा उतारेर देखाउँदा म अर्थात् एउटी आमालाई मन थाम्नै गाह्रो भयो । निर्मला र निर्मलाजस्ता असंख्य छोरीहरू यौनहिंसाको सिकार भएर मारिइँदा ती आमाहरूको कलेजो कति छिया–छिया भयो होला ? यही प्रश्नसँगै म पुन: दुख्न थालें ।

मजस्तै असंख्य आमा यसरी नै दुखिरहेका होलान्, निर्मला र निर्मलाहरूले न्याय नपाएको राज्यभित्र ।
यौनहिंसापीडित बालिकालाई न्याय र दोषीलाई सजायको माग राख्दै उनको तस्बिर भाइरल भइरहेछ, अर्कातिर विदेशी पाहुनालाई सुसन्देश नजाने भन्दै सरकारले उक्त तस्बिर उक्काउने अभियान चलायो । किन सरकारको टाउको दुखाइ बन्यो अन्यायमा परेकी ती निर्दोष बालिकाको तस्बिर ? एउटी अबोध बालिकालाई न्याय दिन नसक्ने सरकारबाट जनताले के अपेक्षा गर्ने ? जनमानसमा अहिले यही र यस्तै प्रश्न सल्बलाइरहेका छन् ।

पशुपतिनाथका सयौं छोरीमाथि यौनहिंसा र ततपश्चात् हत्या भइरहेको, अपराधीहरू उन्मुक्त भएर हिंडिरहेको अवस्थामा न्याय माग्दै आवाज बुलन्द पारिरहँदा सरकारले भने त्यसलाई दबाउँदै ‘इशुकी एक्ली छोरी’ को भव्य स्वागत गर्‍यो । देशभित्र महिला तथा बालिकामाथि हुने हिंसाविरुद्ध सडकमा अनशन भइरहेका बेला हाम्रा प्रधानमन्त्री भने विदेशी धार्मिक संस्थाले पाँचतारे होटलमा गरेको कार्यक्रममा त्रिदिवसीय अतिथि बने ।

संघीय गणतान्त्रिक संविधानले सुनिश्चित गरेको धर्म निरपेक्षताको धज्जी उडाउँदै भएको उनको यस्तो सहभागिता तथा आशीर्वाद ग्रहण उपयुक्त थियो वा थिएन, सम्बन्धित विज्ञमाझ बहसको विषय हो । तर, प्रश्न उठिरहेछ गाई, गंगा र गायत्रीले पनि पवित्र पार्न नसकेर लैंगिक हिंसा र बलात्कारले दिनानुदिन आक्रान्त हाम्रो समाज इसाई ‘पवित्र माता’ ले अभिषेक गरेको ‘पवित्र जल’ ले शुद्धीकरण होला र ?

‘होली वाइन महोत्सव’ मा नेपाली जोडीले आपसमा जुठो मदिराको चुस्की लिइरहेको बेला गाउँगाउँका आमा समूहहरू भने मदिराले सामाजिक विकृति र महिला हिंसा बढाएको भन्दै आफ्नो गाउँलाई मदिरा निषेधित गर्न लागिपरेका थिए ।

सहर–बजारका महिलाहरू व्यभिचारीहरूको यौनप्यासको सिकार भएर मारिएका बालिका तथा किशोरीलाई न्यायको माग राख्दै सडकमा सुतिरहेका थिए । सत्ता र शक्तिको आडमा सम्पन्न र प्रतिष्ठित बनेका कथित पहुँचवालाहरू मदिरालेलठ्ठिएर आसुरी उन्मादमा आई अबोध बालिकाहरूको सिकार गरिरहेका बेला मदिराले आचमन गर्ने संस्कृति भित्र्याइनुले सुखद भविष्यको संकेत गरेको छैन । हाम्रा छोरीहरूलाई सुरक्षित भविष्य चाहिएको छ, बाइबलको आशीर्वाद होइन ।

हरेक वर्ष लैंगिक हिंसाविरुद्ध अभियान चलिरहँदा म सोच्ने गर्छु यो नै अन्तिम अभियान होस् । समाजबाट हिंसा अन्त्य हुने हो भने अभियान चाहिँदैन । हामीकहाँ लैंगिक हिंसा घट्नुको सट्टा दिनानुदिन बढ्दै गएको देखिन्छ । सामाजिक, आर्थिक, राजनीतिक, शैक्षिक आदि सवै क्षेत्रमा महिला, किशोरी तथा बालिका शारीरिक तथा मानसिक हिंसा खेप्न बाध्य बनिरहेका छन् ।

युगौँदेखि समाजमा स्थापित पुरुषसत्तात्मक मानसिकताले महिलालाई वस्तुका रूपमा हेर्ने गर्छ । यसले नारीको उपयोगिता पुरुषको कामावेग मेटाउने साधनका रूपमा सीमित पार्न खोज्छ । पुँजीवादी संस्कृतिभित्रको पुरुषसत्ताले सौन्दर्य प्रतियोगिताको बजार थापेर नारीको प्रकृतिप्रदत्त सौन्दर्यलाई कामुकताको यन्त्रले परीक्षण गर्ने गर्छ ।

तिनै उपभोक्तावादी पुरुषहरूको वाहवाहीमा मख्ख पर्दै हामी ‘राम्रा’ महिलाहरू अनेक भावभंगिमामा आफ्नो यौवनित सौन्दर्य पस्किने गर्छौँ । विगतमा सौन्दर्यको यस्तो बजारीकरणप्रति विमति राख्ने वामपन्थी खेमाका बौद्धिक तथा राजनीतिक महिलाहरूको खबरदारी देख्दा केही आशा लागेको थियो तर अहिले उनीहरूको मौनता देख्दा विस्मात लागिरहेको छ ।

पुँजीवादी संस्कृतिलाई गाली गरेर नथाक्ने कमरेडहरू नै अहिले सौन्दर्य प्रतियोगिताका सर्वाधिक प्रचारक बने । करणी र कथनीबीचको यस्तो विपर्यास सायद हामी नेपालीको दुर्भाग्य हो । अर्कातिर महिला तथा बालिकामाथि हुने यौनजन्य तथा अन्य हिंसाका घटनाप्रति सरकार तथा राज्यको सुरक्षा संयन्त्रको उदासीनताका कारण दण्डहीनताले प्रश्रय पाउने गर्छ ।

समाजमा दूधे नानीदेखि वृद्ध आमाहरूसमेत यौनहिंसाका सिकार भइरहेका र अपराधीहरू खुलेआम हिँडिरहेका छन् । महिला हिंसाविरुद्ध कानुनी उपचार भए पनि सत्ता र शक्तिको आडमा लुक्ने अपराधीहरू पुलिस–प्रशासनको नजरमै पर्दैनन् । यस्ता अपराधी पत्ता लगाएर तिनलाई हदैसम्मको सजाय गर्न राज्यका संयन्त्र लागि नपरेसम्म सरकारले जति नै आदर्शका कुरा गरे पनि विश्वसनीय हुँदैन ।

निर्मलाजस्ता नेपाली चेलीहरूले न्याय नपाएसम्म एक मात्र होइन, अनेक ‘पवित्र माता’ हरूले विश्वशान्तिको सन्देश दिँदै जतिसुकै आशीर्वाद दिए पनि हिंसाविरुद्धको अभियान र आक्रोश शान्त हुन सक्दैन ।

अचेल म जताततै हिंसा मात्र देख्ने गर्छु । श्रम बजार, कार्यालय, विद्यालय, विश्वविद्यालय आदि सबैतिर स्थापित पुरुषश्रेष्ठताको मानसिकताका कारण महिलाहरूले मानसिक हिंसा खेपिरहेका देखिन्छन् । यस्ता घटनालाई महिलाको चरित्रसँग जोडेर बदनाम गराउने परम्पराका कारण पीडितहरू खुलेर बोल्न सक्दैनन् ।

कार्यक्षेत्रमा महिलालाई योग्यताभन्दा यौनिकताका आधारमा हेर्ने, सम्बन्धित पुरुषको चाहनाअनुरूप बन्न नचाहने महिलाको कार्यसम्पादन प्रक्रियालाई असहज बनाएर अक्षम साबित गराउने, वृत्तिविकासमा बाधा पुर्‍याउनेजस्ता घृणित कार्यहरूसमेत हुने गर्छन् । यसप्रकारको मानसिक प्रताडनाविरुद्ध कानुनी उपचारका लागि प्रमाण हुँदैन । त्यसैले यो झनै घातक हुने गर्छ । हालै मी–टु अभियान मार्फत पीडित महिलाले आफूमाथि भएको हिंसा र उत्पीडनबारे बोलेका छन् ।

हाम्रो सामाजिक तथा सांस्कृतिक मूल्यमान्यता पुरुषनिर्मित भएको हुनाले पुरुष तथा पुरुष मानसिकता बोकेका महिलाबाटै पनि यसबारेमा अलोचना भएको देखियो । मी–टुमार्फत महिलाले देखाएको साहस प्रशंसनीय छ । यो महिलाहरूबाट हिंसाविरुद्ध गरिएको प्रतिकारको द्योतक हो । प्रतिष्ठाको आवरणमा लुकेर अपराध गर्नेहरूका लागि यो चुनौती पनि हो । हामी महिलाहरूले सहनशीला–सुशीलाका आदर्शहरू भत्काउँदै यसरी नै विद्रोह गर्नुपर्छ ताकि भविष्यमा महिलाप्रति गलत मनसाय राख्नेहरू प्रतिष्ठित बन्ने संस्कार अन्त्य होस् ।

अचेल म प्रत्येक चेलीका अनुहारमा निर्मला मात्र देख्न थालेकी छु । घरकी छोरी, कक्षाका छात्राहरू, बाटोमा हिँडेका बालिका–किशोरी सबैमा ‘सरकार भेटियो न्याय भेटिएन’ अंकित उही निर्मलाको छवि देख्छु अनि कतै म बहुलाएकी त होइन भन्दै आफूलाई जाँच्न थाल्छु । कक्षामा नाटककार समको ‘स्वास्नीमान्छे’ नाटक पढाउने क्रममा उनको काल्पनिक प्रमिलापुरी नारी राज्यप्रति गर्व गर्छु ।

नारीलाई केवल भोग्याका रूपमा हेर्ने हिंस्रक मुचुकुन्नको शल्यक्रियाद्वारा भाव परिवर्तन गरी सज्जन बनाउन सफल चिकित्सक कादम्बिनीको सफलतामा गदगद हुँदै पुकार्न थाल्छु ‘कादम्बिनी, मेरो देशलाई तिम्रो आवश्यकता छ । बालादेखि वृद्धासम्मका महिलालाई केवल भोग्या देख्ने हजारौं मुचुकुन्नहरू छन् यहाँ । आऊ, यी सबैको भाव परिवर्तन गरेर भद्र देवनन्दन बनाइदेऊ । आऊ, तिम्री ऋषिका ऋतालाई पनि साथ लिएर ।’

सरकार तथा प्रहरी–प्रशासनको उदासीनताका कारण निर्मलाले न्याय पाउने आशा क्षीण हुँदै गए पनि उनको न्यायका लागि बुलन्द यो आवाज अझै बुलन्द हुँदै जानेछ । यो आवाज ती हिंस्रक नरपशुहरूप्रति खबरदारीको हँुकार हो जसले गर्दा भविष्यमा अबोध बालिकाप्रति गिद्धेनजर लगाउनुअघि उनीहरू एकचोटि पक्कै झस्किनेछन् ।

पुरातन मूल्यमान्यताले जति नै आलोचना गरे पनि मी–टुका अनुयायीहरू आफूमाथि भएका हिंसाविरुद्ध खुलेर बोल्नेछन् । सहनशीलताले नै दण्डहीनतालाई बढाइरहेको हुन्छ । सडक–गल्लीमा टाँसिएका पोस्टर उक्काइए पनि न्यायका लागि उर्लेको जनलहर रोकिनेछैन, घरघरमा नानीहरूले नै सिसाकलमले उतार्नेछन् निर्मलाको तस्बिर । यो लडाइँ एक्ली निर्मलाका लागि होइन, यौनहिंसापीडित असंख्य नेपाली चेलीहरूको न्यायका लागि हो ।

प्रकाशित : मंसिर २५, २०७५ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्

हरियो जमराको जुस

जमराको जुस तोकिएको मात्राभन्दा बढी खाँदा हानि गर्ने निश्चित छ । यो रोग लाग्नबाट बचाउने सहयोगी हो, कुनै रोग निदान गरेको प्रमाण छैन । 
नारायण घिमिरे

काठमाडौँ — स्वस्थ र तन्दुरुस्त जीवन पद्धति संसारकै प्राथमिकतामा छ । पानीको फोकाजस्तै लाग्ने लगभग ३७.२ खर्ब कोषबाट मानव शरीर बनेको छ । तिनै कोष स्वस्थ रहेसम्म मानिस तन्दुरुस्त हुन्छ । स्वस्थ मानिसको रगतको पीएच ७.३५ देखि ७.४५ हुन्छ, जुन हल्का क्षारीय हो ।

शरीरलाई क्षारीय गुण दिन योग्य बनाउन दिनभरिमा खाइने खानामा क्षारीय र अम्लीय खानाको अनुपात ८०:२० प्रतिशतमा राख्नुपर्छ ।

च्याउसरी जताततै खुलेका हेल्दी फुड र ड्रिंकका रूपमा जमराको जुस प्रसिद्ध हुनुको कारण यसको क्षारीय गुण हो । पोषक गुण यसका अतिरिक्त फाइदा मात्र हुन् । पोषक गुण अरू थुप्रै हरिया सागसब्जीमा पनि पाइन्छन् । प्रभावकारी क्षारीय गुण र थोरै मात्रामा भए पनि धेरै प्रकारका पोषक तत्त्व र इन्जाइम भएकाले संसारमा जमरा ‘सुपर–फुड’भनी चिनिएको हो ।

खाद्य विज्ञानमा खानपानसम्बन्धी सामान्य परम्परा छ— इच्छा लागुन्जेल खाँदा सामान्य मोटाउने या दुब्लाउनेबाहेक अन्य अवगुण हुन्न भने खाना यति नै खानु भनी सीमा नतोक्ने । यो–यो तत्त्व यतिसम्म प्राप्त हुनेगरी तोकिएको क्यालोरी वेरपर हुनेगरी दैनिक खाने कि भनी समय र परिस्थितिअनुरूप न्युट्रिसनल मापदण्ड बनाइदिने ।

जमराको ३० एमएल (६० एमएल) ताजा जुसमा क्यालोरी ६–१२, सोडियम ३–६ मिलिग्राम, कार्बोहाइड्रेट ०.५–१ ग्राम, डाइटरी फाइबर ०.०३–०.०६ ग्राम, चिनी ०.५–१ ग्राम, प्रोटिन ०.६–०.१२ ग्राम पाइएको थियो । भिटामिन ए १२५–२५० आरई, भिटामिन सी १–२ मिलिग्राम, क्याल्सियम ७.२५–१४.५ मिलिग्राम, फस्फोरस २२.५–४५ मिलिग्राम, म्याग्नेसियम ७–१४ मिलिग्राम, जिंक ०.१–०.२ मिलिग्राम, क्याल्सियम ७–१४ मिलिग्राम र आइरन ०.१८–०.३६ मिलिग्राम भेटिएको थियो ।

आयुर्वेदका अनुसार ढंग पुर्‍याएर खाइएको खाना ओखती बन्छ अन्यथा विष । जमराको जुस तोकिएको मात्राभन्दा बढी खादा हानि गर्ने खाद्य सप्लिमेन्टमा पर्छ । तोकिएभन्दा बढी खाँदा जमराको जुसको साइड इफेक्ट निश्चित छ । अनुसन्धान र व्यावहारिक अनुभवले सामान्य मानिसलाई दिनमा ६० एमएलभन्दा बढी जमराको जुस नखान सिफारिस गरिएको छ ।

दिनमा ३०–३० एमएल दुई पटक वा ६० एमएल मात्र एक पटक । स्वादका लागि केही मह हाली खानु पनि ठीकै मानिन्छ । हेल्दी फुड र ड्रिंक स्टोरहरूलाई मात्र ३० एमएल र ६० एमएल सर्भिङ साइज तोकी बेच्न अनिवार्यजस्तै गरिन्छ ।

जमराको पाउडर, ट्याब्लेट र क्याप्सुल सुपरफुडका रूपमा बजारमा उपलब्ध भएकाले दिनमा बढीमा ३ ग्राम पाउडर बराबर हेल्थ सप्लिमेन्टको सुरक्षित मात्रा तोकिएको छ । सलादका रूपमा बढीमा ५० ग्राम जमरा चपाएर खानु सुरक्षित मानिएको छ ।

१७ प्रकारका एमिनो एसिड र ८० वटा इन्जाइम पाइने भएकाले कुनै विशेष प्रकारको रोग छ भने डाक्टरको सल्लाहमा जमराको जुस खाने–नखाने निर्धारण गर्नु अनिवार्य हुन्छ । जमरा यसको ९५ प्रतिशत पानी कटाउँदा ७० प्रतिशत क्लोरोफिलको त्यान्द्रो हो ।

क्लोरोफिल एन्टिअक्सिडेन्ट हुने र इन्जाइममा रोग प्रतिरोधात्मक गुण हुने हुँदा यसले शरीरमा क्यान्सरलगायतका विकृतिविरुद्ध इम्युन शक्ति बढाउने भयो । प्रशस्त फाइबर हुने र फाइबरमा धेरै क्लोरोफिल रहनाले जमराको स्प्रेड्राई गरी बनेको पाउडरले समेत एन्टिडाइबिटिक सप्लिमेन्टको काम गर्ने मान्यता छ । यसमा पाइने सेलेनियम (१ पीपीएम प्रति १०० एमएल) र लेट्रिलनिट्रिलोसाइडस (भिटामिन बी १७) मा समेत एन्टिक्यान्सर गुण हुन्छ । क्यान्सर प्रतिरोधात्मक गुण हुने र १३ थरीका भिटामिन
(बी १२ समेत) पाइने हुँदा जमरामा थप आकर्षण बढेको हो ।

प्राकृतिक रूपमै उत्कृष्ट भिटामिन–ए (४२७ आईयू प्रति १०० एमएल), सी (३.६५ मिलिग्राम प्रति १०० एमएल) र ई (१५.२ आईयू प्रति १०० एमएल) को स्रोतका रूपमा जमराको जुसलाई मानिएको छ । भिटामिन ए, सी र ई दिमाग र मुटुको सेल चाँडै बूढो भई पैदा हुने समस्या घटाउन सहयोगी भनिन्छ ।

जमरामा हुने धेरै प्रकारका इन्जाइम र एमिनो एसिडले शरीरको प्राकृतिक क्लिंजरका रूपमा काम गर्ने र कलेजोमा पुग्ने शरीरलाई हानि हुने हेबी मेटल डिटक्स गरी रगतमार्फत मिर्गौला हुदै फाल्न र तन्दुरुस्त राख्न सहयोग गर्ने अनुसन्धानलेपुष्टि गरेको छ ।

५ हजार वर्षपहिले आयुर्वेदिक र इजिप्टियन संस्कृतिमा पेयका रूपमा जमरा चलनचल्तीमा भएको पढ्न पाइए पनि सन् १९३० तिर अमेरिकामा सुपर फुड भनी प्रचारमा आएपछि ३० एमएल हरियो जमराको जुसबाट लगभग १ किलो हरियो सागपात बराबरको पोषण मिल्ने विश्वासमा आकर्षण बढेको देखिन्छ ।

हरियो जमरा परम्परागत रूपमै पिउदै आईएको प्रख्यात हेल्थ ड्रिंक हो । कुनै रोगको निदान गर्ला कि भनी सम्झेर कसैले जमरा खानु आफ्नै कुरा भए पनि जमराले कुनै रोग निदान गरेको वैज्ञानिक परीक्षणबाट प्रमाणित भएको छैन । अध्ययनले यो रोग लाग्नबाट बचाउने सहयोगी विकल्प भने हो भन्ने देखाएको छ ।

खाध्य गुणस्तर व्यवस्थापन संस्कृति कमजोर भएको मानिने नेपाल, बंगलादेश, पाकिस्तानलगायतका कतिपय देशका एकाध चिकित्सकले हरियो जमराको जुसका कारणआफ्ना बिरामीमा कलेजोको समस्या देखापरेको गुनासो गरेको पाइएको छ । जमराको जुस फाइदाकारी बन्न केही अनिवार्य सर्त छन्— जमरालाई असल कृषि पद्धतिबाट उमारिनु र त्यसबाट बनेको जुस गुड म्यानुफ्याक्चरिङ प्राक्टिसअनुसार पस्कनु । जमरा उमार्न हालिएको माटो, पानी र उमार्न प्रयोग गरिने वातावरण अनिवार्य स्वीकृत मापदण्डभित्र रहेको प्रमाणित हुन जरुरी हुन्छ ।

जमरामा कीराले नबिगारोस् भनी विषादी हालिएको रहेछ भने त्यो कलेजोका लागि शत्रु हुनेछ । दूषित माटो, मल, हावा, पानी प्रयोग गरिएको जमरासमेत स्वास्थ्यका लागि बिष हो । जमरा हाम्रो शरीरमा मूलत: क्षारीय गुण दिनका लागि खाइन्छ तर उमालेको वा हिट–ट्रिटमेन्ट गरिएको जमरामा क्षारीय गुण नष्ट हुन्छ । जमरा सिधै जुस बनाएर खानेकुरा हो । चिनीले जमराको जुसलाई अम्लीय बनाइदिने हुँदा मात्र थोरै मात्रामा महसँग खाली पेटमै खान भनिएको हो ।

जमरा उमार्न प्रयोग गरिने भाँडा र माटो अनिवार्य पास्चराइज गरिएको, पिउन योग्य पानी सिञ्चित गरी उमारिएको, पास्चराइज मल र भाँडोमा उमारिएको हुनुपर्छ । तयारी जमरा माटोबाट कम्तीमा १ इन्च माथि काटी राम्रोसँग धोएर सफा जुसरबाट बनाइएको र सफा भाँडामा सर्भ गरेर मात्र पिउन विज्ञहरू सल्लाह दिन्छन् । हरियो जमरा त्यति लामो समयसम्म नटिक्ने हुनाले चाँडै बिग्रन्छ । तसर्थ, जुस बनाएको १५ मिनेटभित्र यसलाई पिउनसल्लाह दिइन्छ ।

काटेको हरियो जमरा १ हप्तासम्म फ्रिजमा राखी खान ठीकै मानिए पनि ताजामा जस्तो भरपूर पोषण रहन्न । जमराको जुस क्षारीय गुणको हुने हुँदा जमरा राख्ने, जुस बनाउने ठाउँ, जुसर, सर्भ गर्ने भाँडा आदि परम्परागत फलफूलको जुस बेच्ने पसलभन्दा पनि सफा रहनु जरुरी छ । अन्यथा यसले प्रतिकूल स्वास्थ्य निम्ताउँछ । सहरमा रहेका जमरा र अन्य जुस पसललाई अनिवार्य रूपमा खाद्य गुणस्तर जाँचको मापदण्डमा राखिनुपर्छ ।

लेखक खाद्य वैज्ञानिक हुन् ।
narayanghimire@yahoo.com

प्रकाशित : मंसिर २५, २०७५ ०८:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्