१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सेतो साइकलको सन्देश

सुविधासम्पन्न कार पाल्ने हैसियत भएकाहरू साइकलको पाइडिल पेल्दै छन्, साइकलको हैसियत भएकाहरू कार पाल्ने कष्ट झेल्दै छन् । सन्तान थरीथरीका ।
तारालाल श्रेष्ठ

काठमाडौँ — झिलिमिली तिहारको साँझ एक्लै साइकल लिएर निस्किएँ । गन्तव्य ‘सेतो साइकल’ प्रतिस्थापित स्थल थियो । कीर्तिपुर किल्लाको उचाइबाट ओरालो झर्दा साइकलको गति स्वतन्त्र थियो, त्रिभुवन विश्वविद्यालयको प्रवेशद्वारसम्मै ।

सेतो साइकलको सन्देश

पुरै कान्तिपुरी नगरी स्वयम्बरका लागि सिङ्गारिएकी दुलहीझैं देखिन्थ्यो । मेरो मानसपटलमा भने सेतो साइकलको विम्ब सलबलाइरहेको थियो ।


सन् १८८५ मै फ्रेडरिक नित्सेले ईश्वरको मृत्युको घोषणा गरे तापनि विश्वभर भाग्यवादी हावी छन् । के केयुकेएलले त्रिविको गेटछेउ सडकमा खाडल बेबारिसे नछाडिदिएको भए श्यामसुन्दरको साइकल अन्त कतै खाडलमा खस्थ्यो र उनको खाडलभित्रै खसेर मृत्यु हुन्थ्यो ? खुला खाडल यत्रतत्र मुख बाएर बसिराख्यै छन् । यदि उक्त खाडल केयुकेएलले पुरेको भए उनी पुरै आयु बाँच्थे ? श्यामसुन्दरको मृत्युको समाचार सार्वजनिक हुने बित्तिकै आधा घन्टामै उक्त खाडलको मुख ढाकियो । पहिले किन ढाकिएन ? कर्मथलो कीर्तिपुर आवत–जावत गर्दा जब श्यामसुन्दरको सम्झनामा अस्थायी गमलामाथि राखिएको ‘घोस्ट साइकल’ देख्छु, साइकलसँग जोडिएका अनेक दृश्यविम्ब सल्बलाउँछन् ।


केदारभक्त माथेमाको एउटा विचारले मलाई भित्रैसम्म छोयो । माथेमाको अनुभवमा, ‘मोटर मोरो घाडो, साइकल अभिन्न साथी हो ।’ मोटर मोरोलाई पहिलो कुरा त जोकोहीले किन्नै सक्दैन । किनेपछि पाल्नै कठिन । पार्किङको तनाव त्यत्तिकै । सुरक्षाको सास्ती उत्तिकै । जामको जञ्जालभित्र फँसेपछि सिर्जनात्मक समय सबै स्वाहा । कैयौं कार्यक्रममा कारवाला सहभागी बन्नै सकिन्न ।


अग्रासनमा बसेको बेला ‘यति नम्बरको कार कसको हो, सारिदिनुस्’ भन्दै सार्वजनिक सूचना जारी हुँदा दौडिनुपर्छ । साइकल भने आफ्नै शरीरको एउटा अङ्गझैं सहजै बोक्न सकिने । रोक्न सकिने । सडकमा भेटेजति इष्टमित्रसँग गफिन मिल्ने । यसो कुनोतिर अड्याएर फुटपाथतिरै चिया मार्न मिल्ने । जहाँतहीँ रोकेर किनमेल गर्न सकिने । जति किलोमिटर कुदाए पनि पैसै नपर्ने । साँच्चैको वातावरणमैत्री । साइकल वास्तवमा सबैको साथी हो ।


कलाका बारेमा कुरा गर्न कनकमणि दीक्षितसँग एक हप्ता कुरेर ‘अपोइन्टमेन्ट’ लिएको थिएँ । त्रिविको नियमित कक्षा सकेर सिधै पुगेँ, यलमाया केन्द्र, मदन पुरस्कार गुठी । ठिक १ बज्न १ मिनेटै बाँकी थियो । बाइकबाट ओर्लिएर धुलो टकटक्याउँदै थिएँ । निर्धारित समय ठिक १ बजे एउटा फुटपाथमा फालिदिए पनि कसैले नचोर्लाजस्तो थोत्रो सामान्य साइकलको पाइडिल पेल्दै पुरै केस पाकेका यद्यपि सन्तुलित शरीरवाला व्यक्ति मेरो बाइककै आडमा आएर रोकियो ।


यसो हेर्छु त कनकमणि दीक्षित । अति सामान्य थोत्रा साइकलमा हुइँकिएर ‘अपोइन्टमेन्ट’ टाइममै आइपुगेका दीक्षित देखेर म ट्वाल्ल परेँ । उनले मलाई चिनेनन् । मैले ‘डिस्टर्व’ गरिन । थोत्रो साइकललाई केहीबेर अवलोकन गरेँ । बेलायतस्थित अक्सफोर्ड विश्वविद्यालयतिर पानीमा रुझ्दै प्राध्यापकहरू साधारण साइकलमा हुइँकिरहेको सम्झना भयो ।


सुविधा सम्पन्न कार पाल्ने हैसियत भएकाहरू साइकलको पाइडिल पेल्दैछन्, साइकलको हैसियत भएकाहरू कार पाल्ने कष्ट झेल्दैछन् । सन्तान थरीथरीका । कलाका बारेमा कफी पिउँदै गफियौं । दीक्षितको थोत्रो साइकलबारे अबको भेटमा कुरा गर्ने विचार छ ।


बाइकमा हुइँकिँदा प्रत्येक चिसो मौसममा चेष्ट इन्फेक्सन हुन्छ । डाक्टरले बाइक चढ्ने होइन, ‘कार किन्नुस्’ भन्छ । आफ्नो नियमित कमाइले कार कुदाउन नसक्ने आँकडा निस्कन्छ । कार पाल्नकै लागि केही छक्कापञ्जा गर्नुपर्ने अवस्था देखेँ । कर, मर्मत, इन्धन, नियमित किस्ता । एक पटक कारबारे बुझ्न सोरुम चहारेँ ।


कार बिक्रेता युवा–युवतीले ‘आजै किन्नुस्, अहिल्यै आउनुस्, अफर छ, ढिलो नगर्नुस्’ भन्दै फोन गरेर हैरान । ‘हाम्रो मुलुकमा हामीले चढ्ने कारको कुनै पार्ट्स पनि बन्दैन, इन्धनको उत्पादन थोपो छैन, साइकल किन्नुस्’ कसैले भन्दैन । कारको साटो ‘चेष्टगार्ड‘ किनेँ । एउटा मित्रको ‘ग्राउन्डेड’ साइकल उपहार पाएँ । मर्मत गरेर साइकलमा हुइँकन थालेँ ।


ओहो, साइकलमा सवार हुँदा त संसारै अर्को देखिँदो रहेछ । कीर्तिपुरदेखि बानेश्वर पानीपँधेरो बन्यो । बालुवाटार, असन, बागबजार, बालाजु जताततै साइकलबाटै यात्रा गर्न थालेँ । पिक आवर छल्यो, साइकलमा हुइँकियो । कर्मथलो कीर्तिपुर फन्को मार्न बाइकको आवश्यकतै परेन । विना पैसा व्यायामसँगै काम पनि फत्ते ।


अल्बर्ट आइन्स्टाइन साइकलका सौखिन रहेछन् । ‘जीवन साइकल चलाउनु जस्तै हो, साइकलझैं सन्तुलित र चलायमान हुनुपर्छ जिन्दगानी’ भन्थे आइन्स्टाइन । कार चलाएर जिम हाउस र खेलमैदान पुग्नुका साटो साइकल भविष्यको सबैभन्दा असल साथी बन्ने भविष्यवाणी वैज्ञानिक लेखक कार्ल सगनले गरेका रहेछन् । सवारीको सबैभन्दा सुन्दर कलात्मक आविष्कार आखिर आजसम्म साइकललाई मान्ने महान व्यक्तित्व संसारमा अनगिन्ती छन् ।


अमेरिकी पूर्वराष्ट्रपति जोनएफ केनेडीलाई साइकल चढ्नु जत्तिको आनन्द अरू केही थिएन । अर्का अमेरिकी पूर्वराष्ट्रपति जर्ज डब्लु बुससमेत मुटुको व्यायाम र सन्तुलनका लागि ३० देखि ४० मिनेट साइकल चढ्न सुझाउँछन् । सादगी र स्वाधीनताको विम्ब पनि हो, साइकल । ‘इन्धन नबाल, बरु बोसो पगाल’ जस्ता नारा विश्वभर घन्किँदैछ । अन्तिम श्वास रहेसम्म साइकल चढ्न पाउँ भन्ने महात्माहरू बढ्दैछन् ।


नेपालमा साइकलप्रेमी छन् । साइकल अभियान उठ्नसकेको छैन । तत्कालीन प्रधानसेनापति गौरवशमशेर राणाले हरेक शुक्रबार निवासदेखि मुख्यालयसम्म साइकल चढ्ने निर्णय गरे । मातहत अधिकृतहरूलाई पनि सातामा एकदिन साइकल नभए पैदल वा सार्वजनिक सवारी प्रयोग गर्न निर्देशन दिए ।


कान्तिपुर सम्पादकीय अनुसार राणाको निर्णय ‘क्षणिक रहर’मा सीमित बन्यो । त्यसयता कुनै सार्वजनिक पदाधिकारीले त्यस्तो घोषणा गरेका छैनन्, न साइकल वा पैदलमार्गको सार्वजनिक पक्षपोषण गरेका छन् ।


नेता साइकलमा सवार हुन बाध्यात्मक बन्यो भने सडकहरू उबड–खाबडरहित हुन्थे । ज्यानमारा भौडी र खाडलबाट साइकलयात्रीले अकाल ज्यान गुमाउन पर्दैनथ्यो । हाम्रा विश्वविद्यालयका भिसी उपकुलपतिले शैक्षिक माफियाको साटो साइकल चढे बौद्धिक सौन्दर्यको सुगन्ध प्रवाह हुने थियो ।


गरिब मुलुकका हाम्रा हाकिमहरू प्राय: भुँडी उछिट्टिएका छन् । हप्ताको एकदिन अनिवार्य, अनि क्रमश: दुई दिन, तीन दिन गर्दै केही वर्षपछि सबै साइकलमै अफिस आउन अनिवार्य (अशक्तलाई विद्युतीय बसको व्यवस्था) गरिदिनसके सरकारको महिमागान विश्वभर फैलिन बेर छैन ।


सबैभन्दा ठूलो सडकमा सबैभन्दा ठूलो जाम देख्दा बोध हुन्छ, देशभर सडक विस्तार होइन, संस्कारको विकास आवश्यक छ । ‘कार कल्चर’को कुलतमा नेपाली एलिट तथा मध्यम वर्ग फँसिसकेको छ । न इन्धन, न पाटपुर्जा, कारमा लाग्ने कामकुरो केहीको उत्पादन आफ्नो देशमा छैन ।


तिनै देशको नागरिकलाई छक्कापञ्जा गरेर भए पनि कार किन्ने सपना देख्नुपर्‍या छ । महङ्गा कारको सपनाले निकै सम्भावना बोकेका ‘लाल’हरूलाई दलाल बनायो । कस्तुरीझैं सहरलाई कुरूप बनायो । स्मार्ट सिटीको मतलव अगस्तीले छादेजस्तो इन्धनको दोहन गर्ने कारैकारको सहर होइन ।


केवल अशक्तका लागि विद्युतीय बस आवश्यक हुन्छ । अन्यका लागि साइकल ज्यादै राम्रो । रङ्गिन साइकलै–साइकलको सहरले भरिएको नयाँ नेपाल विश्व जगतको थप पर्यटकीय गन्तव्य बनाउले कि ? प्रत्येक दिन पटक–पटक त्रिवि गेटछेउ गमलामाथि ‘सेतो घोस्ट साइकल’ देख्दा श्यामसुन्दरको आत्माले साइकलमय यस्तै संसारतिर आमन्त्रित गरिरहेको भान हुन्छ ।

प्रकाशित : मंसिर १४, २०७५ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?