को हुन्, महिला ?

उषाकिरण तिम्सेना

काठमाडौँ — ‘महिला जन्मिँदैनन्, बनाइन्छन्,’ उदारवादी लेखिका सिमोन द बोउवारले सन् १९४९ मा ‘द सेकेन्ड सेक्स’ पुस्तकमा लेखेकी छन् । महिला केवल महिला हुन् या मान्छे पनि हुन् भन्ने कुराको मसिनो खोज पुस्तकले गरेको छ ।

को हुन्, महिला ?

बोउवारको समयबाट मात्र होइन, प्रामाणिक या अप्रामाणिक रूपमा धेरै पहिलेदेखि ‘महिला को हुन् या होइनन्’ भन्ने खोज जारी छ । आजको युगमा नारी जातिले प्राय: सबै क्षेत्रमा आफूलाई ‘सक्षम’ प्रमाणित गरेका छन् । मान्छे सक्षम वा असक्षम कस्तो बन्छ, उसको लिंगले होइन, उस/उनलाई दिइने अवसरले निर्धारण गर्ने हो । तर कस्तो र कुन अवसर, बहसको अर्को विषय हो ।


बोउवारले ‘डाटा अफ बायोलजी’ शीर्षक अन्तर्गत त्यही किताबमा लेखेकी छन्, ‘महिलाले पुरुषले भन्दा अतिरिक्त श्रम गर्नुपर्छ । गर्भवती हुने, बच्चा जन्माउले, दूध चुसाउने जस्ता काम उक्त श्रमभित्र पर्छ र त्यस काम महिलाले मात्र गर्नुपर्ने कुरा भने विशिष्ट हो ।’ त्यही विशिष्ट विषयलाई पितृसत्तावादले ‘आइमाईको थाङ्ने काम’ भनेर बुझ्छ । यता उग्र महिलावादीहरूले बच्चा जन्माउनुपरेको, दूध चुसाउनुपरेको कारण वा प्रकृतिले नै महिलालाई ठगेको भन्नेजस्ता कुरा गर्छन् । प्राकृतिक जिम्मेवारीका कारण महिला पछि परेका हुन् भनियो भने त्यसले निष्कर्ष दिँदैन ।


यता बच्चाको सरसफाइ, खानपान र हेरविचारको विषय सामाजिक कुरा हो । ती काम महिला वा पुरुष जसले निर्वाह गरे पनि हुन्छ । बराबर जिम्मेवारी बाँड्दा पनि हुन्छ । तर कुनै पनि कामले व्यावसायिकता हासिल नगरेको हाम्रोजस्तो समाजमा घरायसी कामलाई महिलाको निजी कामका रूपमा बुझिन्छ । महिला–पुरुषको शारीरिक भिन्नता प्राकृतिक हो । अन्य भिन्नता भने समाजले निर्माण गर्ने हो । तिनै भिन्नताले महिलाको सामाजिक स्तर निर्धारण गरेको हुन्छ ।


माक्र्सवादी–नारीवादी मारिया माइसले ‘द सोसल ओरिजिन अफ द सेक्सुअल डिभिजन अफ लेबर’ (सन् १९७९) मा महिलाबारे खोज गरेकी छन् । मारियाका अनुसार महिलाहरू आफ्नो समान हैसियत वा मुक्तिका लागि संघर्ष गर्छन् भने बुझ्नुपर्छ, उनीहरू माथिको कुनै पनि असमानता सामाजिक–ऐतिहासिक हो, लिंगीय होइन । उनको तर्क छ, तमाम विभेद सामाजिक होइनन् र लिंगीय हुन् भन्ने हो भने ब्रह्माण्ड रहेसम्म यी विभेद रहने भए, यस्ता विभेद रहनु स्वाभाविक र न्यायोचित देखिने भयो । महिला वा पुरुष जाति यो ब्रह्माण्ड रहेसम्म रहलान् ।


आजको मानव समाजले कम्तीमा दस हजार वर्ष गुजारेको छ । हामीले अभ्यास गरिरहेको महिला–पुरुष बीचको असमानतालाई लिंगीय हो भनेर बुझे समाजका अन्य विभेद र शोषक–शासित पनि जन्मजातै हुन् भन्ने निचोडतिर पुगिन्छ । त्यसो मान्ने हो भने महिला माथिको विभेद सामाजिक परिवर्तनको विषय हुन सक्दैन ।


बच्चा जन्माउनु उत्पादन र पुनर्उत्पादनको कुरा हो । त्यो शरीर संरचनासँग जोडिन्छ । स्त्री जातिका केही प्राकृतिक जिम्मेवारी तुलनात्मक रूपमा धेरै र सम्वेदनशील भएको सत्य हो । त्यो अनिर्वाय र विकल्परहित हो । त्यसलाई अनुसन्धानकर्मी र लेखकहरूले बारम्बार उल्लेख गरेका छन् ।


महिलाको शरीरमा पाठेघर हुन्छ, त्यहीँ मानव भू्रण हुर्कन्छ । बच्चा जन्माउनु र दूध चुसाउनु लगायत विषय मानवीय र प्राकृतिक हुन् । यता जैविक विशेषताका आधारमै महिलामाथि पुरुष हावी भएको देखिन्छ । महिलाले बच्चा हुर्काउने र घरायसी काम एकैसाथ गरिरहेका हुन्छन्, तर ती कामलाई ‘काम’ ठानिँदैन । आजको पुँजीवादी उत्पादन प्रणालीमा प्रत्यक्ष नाफा आर्जनका लागि गरिने कामलाई मात्र उत्पादन ठानिन्छ ।


महिलाले गरेको कामले पनि नाफा कमाउन सहयोग गरेको हुन्छ । तर सामान्यतया ती कामको मूल्यांकन गरिँदैन । महिलाले गरेको कामलाई ‘गृहिणीकरण’ गरिन्छ । तर पनि उल्लेखित महिलाको दायित्व अन्तत: श्रम नै हुन् । गर्भाशय र स्तन आदि प्राकृतिक श्रमका साधन हुन् । तर अन्त्य हुनै नसक्ने जस्ता लाग्ने श्रमविभाजन, असमानता, विभेद र स्तरीकरणले महिलामाथि शोषण जारी छ ।


महिलालाई सस्तो श्रमिकका रूपमा प्रयोग गरेको, सामाजिक सुरक्षा नगरेको र ‘हायर एन्ड फायर’ गरेको विषय सन् १९७५ मा मेक्सिकोमा भएको अन्तर्राष्ट्रिय महिला सम्मेलनले उठाएको थियो ।


ती मुद्दा कृषि र औद्योगिक दुवै क्षेत्रमा थिए र छन् । यसरी श्रम शोषण हुने कुरा लिंगीय वा पारिवारिक कुरा थिएन, होइन । त्यो समाजमा विद्यमान उत्पादन प्रणालीको कुरा हो । महिलावादी लेखक केट मिलेटले सन् १९७० मा ‘थ्योरी अफ सेक्सुअल पोलिटिक्स’ नामको किताब लेखिन् । उनको मत छ, ‘हालसम्मका विकासक्रम पितृसत्तात्मक थिए । सेना, उद्योग, प्रविधि, विश्वविद्यालय, विज्ञान, राजनीति, कार्यालय र वित्तीय लगायत समाजका सबै पाटा पुरुष नियन्त्रित थिए र छन् ।


पितृसत्ताले यसरी जरो गाडेको छ कि जे–जे कुरा स्थापित छन्, तिनलाई हामी सामाजिक स्थायित्वका रूपमा बझ्छौं । खास कुरा के हो भने प्रणालीको ‘भालेकरण’ जैविकता होइन, त्यो त मात्र सत्ताभ्यास हो ।’ उनले वर्गका कुुरा गरेर एक महिला विरुद्ध अर्को भड्काउन र लडाउन माक्र्सवादद्वारा सजिलो भएको तर्क गरेकी छन् ।


अमेरिका लगायत पहिलो विश्व भनिने देशहरूमा महिला श्रमिकहरूले आप्रवासी श्रमिकलाई विस्थापित गर्छन् । समाजवादी मुलुकहरूमा पनि तुलनात्मक रूपमा महिलाको स्थिति गतिलो छैन, थिएन । र केट मिलेटको निष्कर्ष थियो– पुरुष सत्ताको एकाधिकार यौनमा आधारित छ । दास युगमा महिला दास दुई अर्थमा काम लाग्थे । एक, उनीहरू श्रम गर्थे । दोस्रो, बच्चा पनि पाउँथे अर्थात् उनीहरूको पुनर्उत्पादन हुन्थ्यो । यता काम गर्न नसक्ने दासहरू मारिन्थे । श्रम गर्न असक्षम दास पुरुष मारिन्थ्यो भने महिला दासको हालत के होला ? सामन्तवादी उत्पादन प्रणालीभित्र महिला–पुरुष भन्ने नै हुन्नथ्यो, जुन अभ्यास अहिले पनि जारी छ ।


यस्तो ‘लुट उत्पादन प्रणाली’भित्र महिलाको भूमिका घरभित्र मात्रै सीमित रहन गयो । किनकि राजा, शासक, ठूला जमिनको मालिक, घोडचढी र मुखिया लगायत सबै समाज र प्रशासन सञ्चालनका प्रमुख सबै पुरुष थिए । हाम्रै राणाकालीन समयमा सबै महिलाको हालत घरायसी कामदार र यौनदासीमा मात्र देखिन्छ । उपनिवेशकालले पनि महिलाको शक्ति र आर्थिक स्वनिर्णयमा असर पारेको थियो ।


पुँजीवादी उत्पादन प्रणालीमा सामान्यतया महिला कित श्रमिक हुन् या पुँजीपति । त्योभन्दा पर उनीहरू बजारका उपभोक्ता हुन् । चम्किलो र भड्किलो विज्ञापनले ठूलठूला भ्रम सिर्जना गरेको आजको उपभोक्तावादी समाजमा उनीहरू त्यसकै पछि कुदेका छन् । प्रत्येक युग र व्यवस्थामा महिलालाई दोस्रो स्थान मिलेको छ । जति धेरै श्रीमती बटुली सन्तान उत्पादन गर्न सकियो, उति धेरै सन्तान, सामथ्र्य र सम्पत्ति सञ्चय हुने युगका अवशेष अहिले पनि कतै–कतै छँदैछ । समय बदलिए पनि अहिलेको सामाजिक मनोविज्ञान त्यसैमा आधारित छ ।


आजको मुख्य प्रश्न महिलाको सार्वजनिक उपस्थिति किन कमजोर छ वा भयो भन्ने हो । यो प्रश्नको उत्तर निरपेक्ष रूपमा सबै खाले समाजबाट एउटै आउँदैन । तर कारण प्राय: एउटै हो– सम्पत्ति, सामाजिक र आर्थिक प्रणालीसँग महिलाको सम्बन्ध । महिला भिन्नै प्राणी होइनन् । उही हाडछालामा ठडिएका र भोक–प्यास–प्रेमले युक्त मान्छे हुन् ।

प्रकाशित : मंसिर १२, २०७५ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?