१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

भाषा शिक्षाका तीन भ्रम

बहुभाषिक मस्तिष्क एकल भाषिकभन्दा बढी विश्लेषणात्मक र संवेदनशील हुन्छ । फरक भाषाका शब्दको चित्र फरक नै सम्झन सक्ने भएकाले उसको सम्झना पनि विस्तृत हुन्छ ।
टीका भट्टराई

काठमाडौँ — भाषिक र शैक्षिक अभियन्ता र सांसदको सुझबुझ र प्रयत्नका कारण अनिवार्य तथा नि:शुल्क शिक्षा विधेयक मातृभाषामा शिक्षा पाउने स्थापित अधिकार वञ्चित गराउनबाट बचेको छ ।

भाषा शिक्षाका तीन भ्रम

मातृभाषा शिक्षणमा निषेध गर्ने प्रयत्नमा कताकता ‘एक भाषा एक भेष’को पृष्ठभूमिको गन्ध नभएको होइन । तर समग्रमा शिक्षामा भाषाको भूमिका र स्थानबारे रहेका भ्रम जिम्मेवार देखिन्छन् ।


१) हाइहाइ अंग्रेजी !

हाम्रो समाजमा स्वाभाविक ऐतिहासिक र भूभौतिक कारणले अंग्रेजी हावी छ । औपनिवेशिक बेलायतलाई आफ्नो प्रभुत्व स्थापना गर्न आफ्नो भाषा व्यापक बनाउनु थियो ।

विशेषगरी विचार गर्न नपर्ने तर निर्देशन पालना गर्न सक्ने जनमत तयार गर्ने अभिष्टमा विरानो भाषामा शिक्षा दिनुजस्तो प्रभावकारी उपाय अर्को के नै हुन्थ्यो र ? भारत राजनीतिक रूपमा स्वतन्त्र भए पनि त्यहाँ बेलायतले स्थापना गरेको शैक्षिक पद्धति र मानसिकता कायम रह्यो ।

आफ्नो प्रभावशाली छिमेकीको शासकीय भाषामा आफ्ना भाइभारदारकै दख्खल कायम राख्ने जङ्गबहादुरले दरबार स्कुल स्थापना गरेर यसको महत्त्व नेपालमा प्रत्यक्ष स्थापित गरेकै हुन् । अहिले पुरा दक्षिण एसियाले शिक्षाको गुणस्तरको पर्याय अंग्रेजी भाषाको ज्ञान मानिरहेको छ । हामीले यसलाई निर्देशन पालना गर्ने माध्यमभन्दा पर लानसकेका छैनौँ ।

त्रिविका पूर्व उपकुलपति केदारभक्त माथेमा भन्छन्, ‘म आफन्तका केटाकेटीले अंग्रेजीमा गरेको बकम्फुसे कुराकानी सुनेर वाक्क छु । बाउआमा त्यसैमा दङ्ग छन् । विरानो भाषाको सतही ज्ञानले विषय–वस्तुको गहिराइ र आलोचनात्मक चिन्तन स्वाट्टै हरायो । अंग्रेजीले विद्वान हुने भए सबै विद्वान बेलायती हुन्थे ।’

सन् सत्तरी–असीको दशकतिर नेपालमा विदेशी सहयोग र पर्यटक बढ्दै गरेकाले त्यसमा सञ्चार गर्ने जनशक्ति खाँचो थियो । यसमा प्रवासबाट नेपाली आएर पनि निर्देशनात्मक कार्यालयीय आवश्यकता पुरा भयो । पछि उनीहरू नेपाली समाजमा अंग्रेजी शिक्षाका पर्याय भए । भाषाले सस्ंकृतिमा ल्याएको दुष्प्रभाव छुट्टै चर्चाको विषय हो ।

भाषा ज्ञान आर्जनको माध्यम हो । सम्पूर्ण ज्ञान होइन । त्यो आवश्यकता र सन्दर्भद्वारा परिचालित हुन्छ । अंग्रेजी मातृभाषा भएको बेलायतका विद्यालयमा चिनियाँ भाषा पढाइ हुन्छ । क्यानाडामा हिन्दी पढाइ हुन्छ ।

सिङ्गापुरमा मातृभाषाको दक्षतालाई अङ्ग्रेजी जत्तिकै महत्त्व दिइन्छ । हाम्रा युवा विद्यालयमा धेरैजस्तो अंग्रेजीमा फेल भएर अरबतिर जान्छन्, हाम्रा स्कुलले त्यहाँको भाषा पढाउने सोच बनाएको देखिन्न । त्यो वर्गका युवा अरबतिर जाने भए निजी स्कुलहरूले अरबी सुरु गरिसक्थे होलान् !


२) जति छिटो, धेरै त्यति राम्रो

जति सानो उमेरमा अर्को भाषा सिक्यो, त्यति राम्रो भन्ने भ्रम छ । एउटा भाषिक परिवारमा रहेको बच्चालाई हठात अर्को परिवारमा लैजाँदा उसलाई धेरै मानसिक दबाब पर्छ ।

उसका मस्तिष्कका अन्तरकुन्तर उपयोग हुन पाउन्नन् । साना खेतका गह्रामा ठूलो ट्रयाक्टर चलाउँदा गह्रा भत्किन्छ, अन्तरकुन्तर जोत्न सक्दैन । साना फोगटामा गोरुले पनि जोत्न नसकेर कुटो–कोदालो लगाएरै खन्नुपर्छ ।

भाषालाई व्यक्तिको आर्जित सम्पत्ति मानिन्छ । ऊ धेरै मिहेनत गरेर धेरै आर्जन गर्न सक्ने भइसकेको हुँदैन । एउटा भाषाको संरचना ग्रहण गरिसकेपछि अर्को भाषा ग्रहण गर्न सजिलो हुन्छ । सिकारुले एक भाषा र अर्को भाषाको तुलना गर्न सक्छ ।

बच्चाको दैनिक वातावरणमै दुई वा थप भाषा भए पनि उसले आर्जन गर्न सक्छ । यसमा सिकारुका रूपमा ऊ आफैं सक्रिय हुन्छ र दुइटै भाषा ‘कमाउँछ’ । तर करले कमाउँदा भार पर्छ र मस्तिष्क पुरा विकास हुन पनि बाधा पर्छ । यस मिथ्याले कतिलाई घरमा मातृभाषा बोल्न दुरुत्साहन गरेको पनि छ ।

अभ्यास र अनुभवले बहुभाषिक मस्तिष्क एकल भाषिक मस्तिष्कभन्दा बढी विश्लेषणात्मक र संवेदनशील बताइन्छ । फरक भाषाका शब्दको चित्र फरक नै सम्झन सक्ने भएकाले उसको सम्झना पनि विस्तृत हुन्छ । उदाहरणका लागि कुनै कुरा एक भाषामा मात्र सम्झनेभन्दा एकभन्दा बढी भाषामा सम्झँदा धेरै कुरा आउँछ, यद्यपि यस कुरामा विज्ञहरूको मतैक्य छैन ।

सानो उमेरमा कुनै भाषाका ध्वनिहरू सुनियो भने पछि त्यो भाषा सुन्न सजिलो पर्छ र त्यही अनुसार उच्चारण गर्न पनि । पहिलो भाषा नेपाली हुने समुदायले गुरुङ, मगर, तामाङजस्ता समुदायका ह, र, ल मिसिएका अनुनासिक ध्वनिहरू उच्चारण गर्न सक्दैनन् ।

ती मातृभाषी समुदायले पनि अ, आ, ट, त, उ, द आदिको उच्चारण उल्टो गर्छन् । तर छिमेकमै सानैदेखि भाषा मिसिएको छ भने दुवैले दुरुस्त बोल्छन् । सञ्चार गर्न सक्ने भएसम्म अनुवादककै पेसा गर्ने बाहेक उच्चारण दुरुस्त नभएको भाषाले व्यवहार र बुझाइमा फरक पर्दैन ।

नेपालका बहुसंख्यक स्कुलमा पढाइने अंग्रेजी बेलायतका मातृभाषीले बुझ्न गाह्रै पर्छ । दक्षिण एसियालीलाई अंग्रेजीको अफ्रिकी उच्चारण बुझ्न कठिन हुन्छ ।

धेरै वर्ष लगाउनुभन्दा सिकाउने तरिका, सिकारुको लगन र उत्साहले भाषिक ज्ञान प्रभावित गर्छ । त्रिविमा शिक्षा सङ्कायको एक विषय पनि उत्तीर्ण गर्न सङ्घर्ष गर्नुपरेका मेरा आफन्त कोरियन भाषा पढ्न जान थालेपछि अंग्रेजी बढी बुझ्ने र बोल्न सक्ने भएका थिए ।

छ महिना वा एक–दुई वर्ष कोरियाली भाषा पढेर नेपाली युवा कामकाजी सञ्चार गर्न सक्छन् । १५—१६ वर्ष रटेर कति घन्टा पढ्दा पनि नेपाली विद्यार्थी अंग्रेजीमा पास गरे पनि सञ्चार गर्न सक्दैनन् ।

पहिलो भाषाका रूपमा पढाइने भाषा र दोस्रो भाषाका रूपमा सिकाइने भाषाका विधि र तरिका फरक छन् । हामीकहाँ न अंग्रेजी न नेपाली दोस्रो भाषा सिकाउने विधि प्रयोग गरेर पढाइन्छ । यसले पनि सिक्न धेरै गाह्रो परेको छ । यसप्रतिको संवेदनशीलता पनि बनिसकेको छैन । कतिले मातृभाषा भन्दा जनजातिका भाषा भन्नेमात्र ठान्छन् ।


३) माध्यम र विषय

मातृभाषामा शिक्षणको कुरा गर्दा सम्बन्धित भाषामा पाठ्य–पुस्तक नभएको औंल्याइन्छ । एक दृष्टिले यो जायजजस्तो लागे पनि भाषा माध्यम र विषय केका रूपमा लिन खोजिएको हो, स्पष्टता नभएको देखिन्छ ।

अंग्रेजी वा नेपाली बाहेकका मातृभाषामा पनि पाठ्य सामग्री पाउने हरेक केटाकेटीको अधिकार छ । तर मातृभाषामा शिक्षाको अभिप्राय: माध्यमका रूपमा हो, विषयका रूपमा होइन ।

मातृभाषा माध्यमका रूपमा अर्को भाषा बाहेक जुनसुकै विषय पढाउन पाठ्य–पुस्तक नभई हुन्न भन्ने होइन । सम्बन्धित भाषाको केही ज्ञान भएको र मातृभाषामा शिक्षाको अर्थ बुझेको शिक्षकको जरुरी छ । सम्भव नभएका अवस्थामा विषयका रूपमा पढाउने विचार पनि आएका छन् ।

भाषा माध्यम बनाउन पाठ्य–पुस्तक नै चाहिने तर्कले मातृभाषामा शिक्षा दिन नचाहेका वा अर्थ नबुझेकालाई बल मिल्नेमात्र हो । शिक्षक खुला र संवेदनशील भए पाठ्य–पुस्तक वा भाषिक ज्ञानको अभावले मातृभाषामा पढाइ सुरु गर्न छेक्दैन ।

कति समुदायमा सम्बन्धित भाषाबाट व्याख्या गरिएको नसुनिने होइन । अझ दीर्घकालीन कुरा गर्ने हो भने ठूला स्थानीय भाषा भएको समुदायमा शिक्षण गर्न जाँदा शिक्षकको आवश्यक योग्यतामा सम्बन्धित भाषाको ज्ञान एक पूर्वसर्त बनाउन सकिन्छ । नभए पनि त्यस्ता शिक्षकलाई केही समय दिन सकिन्छ ।

धेरै विद्यालयलाई मूलप्रवाहको भाषा सिकाउनुभन्दा एउटा शिक्षकले भाषा सिक्नु न्यायपूर्ण कुरा हो । कुनै पनि भाषामा यो के हो ? भन्नेजस्ता आधारभूत वाक्य जानेपछि केटाकेटीले नै आफ्नो भाषा शिक्षक र अरु साथीहरूलाई सिकाउँछन् ।

एक वर्ष पढाएर जतनसँग अभिलेख राख्न थालेपछि पाठ्य–पुस्तक बन्न थालिहाल्छ । भाषा त बोलाइ र सुनाइ हो ।

कति मानिस पाठ्य–पुस्तकको अभावले मातृभाषी विद्यार्थी पछाडि पर्ने बताउँछन् । भाषा केटाकेटीको खानाजस्तै हो । उमेर पुगेपछि आमाको दूधमात्र पर्याप्त हुँदैन । लिटो मात्र पर्याप्त हुँदैन । यो एकपछि अर्को पुलजस्तै हो ।

अन्तर्राष्ट्रिय संस्थामा काम गर्ने, विश्व साहित्य अध्ययन गर्ने, विश्व व्यापार गर्ने मानिसलाई अङ्ग्रेजीले मात्र पुग्दैन । कुनै रोगको नयाँ औषधीको खोज गर्नेहरू आदिवासीका भाषा सिक्न जान्छन् । हरेक भाषामा पहिचानमात्र होइन, विशिष्ट ज्ञान छ ।

पहिचान र भाषिक राजनीति भाषा संरक्षणको मूलमा भन्दा टुप्पातिर लाग्यो अर्थात् मातृभाषालाई शिक्षाको माध्यम भाषाका रूपमा जोड दिन सकेन । विद्यालय छाड्ने कारणहरूमा एउटा केटाकेटीको मातृभाषा र विद्यालयको भाषा फरक हुनु पनि हो । बालमैत्री विद्यालयको कुरा गरिन्छ, तर केटाकेटीले भाषा नै बुझ्दैनन् भने त्यस्तो विद्यालय बालमैत्री भन्न मिल्छ र ?

नेपालमा भाषिक एकरूपीकरणको मुद्दालाई नजिकबाट हेरिएको छैन । भाषिक एकरूपीकरणले नेपाली इतर मातृभाषा भएका र नेपाली मातृभाषीहरू पनि अंग्रेजी भाषाको सीमित ज्ञानबाट पनि वञ्चित रहे । सम्भवत: यसले नेपालको वर्गीयतासँग मिसिएको जातीय विभेद अझै उच्च पार्‍यो ।

अब भाषिक विषयमा फेल नहुनेगरी भाषिक विषय राख्ने र अंग्रेजी वा नेपाली मातृभाषाले कमसेकम नेपालीपछिको ठूलो भाषा सिक्न्ने व्यवस्था गरिनुपर्छ । यसले पारस्परिक जटिलता फुकाउँछ र सद्भाव पनि बढाउँछ ।

लेखक शिक्षा नीति तथा अभ्यास केन्द्रसँग सम्बन्धित छन् ।

प्रकाशित : मंसिर १०, २०७५ १२:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?