कुकुरलाई चर्पी 

कुकुरको दिसा तत्कालै कुहिँदैन । यो खेतबारीमा हाल्नु हुँदैन । यसबाट औषधि प्रतिरोधी अनेकन सूक्ष्म जीवाणु र रोगका कारक जीव फैलिन्छन् ।
रामचन्द्र अधिकारी

काठमाडौँ — सिंगो देशलाई खुला दिसामुक्त क्षेत्र घोषणाको  तयारी गरिँदै छ । टोल, गाउँ, स्थानीय तहलाई खुला दिसामुक्त बनाउने अभियान दुई दशकदेखि चल्दैछ । कुकुरको दिसालाई व्यवस्थापन गर्न सकिएन भने मानवको मलमूत्र व्यवस्थापन हुँदैमा खुला दिसामुक्त क्षेत्र बन्न कसरी सक्छ ?

कुकुर पालकहरूले आफूले पालेका कुकुरलाई कहाँ दिसा गराउने गर्नुभएको छ ? चर्पीमा गराउने गर्नुभएको भए अरूलाई पनि सिकाउनुहोला । होइन भने सचेत हुन जरुरी छ ।

ठूला घरमा पालिएका कुकुरलाई दिसा गराउन सडकमा ओरालिन्छ । अरूका गेटमा दिसा गराएका कारण झगडा भएका दृष्टान्त छन् । घरमा साङ्लामा बाँधेर पालिएका कुकुरलाई खुला र सार्वजनिक स्थानमा दिसा गराइन्छ, घरबास सडकमा हुने कुकुर दिसा गर्न अन्त जाने कुरा भएन ।मानवको मात्र मलमूत्रलाई लक्षित गरेर खुला दिसामुक्त क्षेत्रको लक्ष्य पूरा हुन सक्दैन । भलै मानव सभ्य बन्लान् ।

प्राकृतिक खान्कीमा रहेको कुकुरको दिसामा अलि कम हानिकारक वस्तु हुन्छ । मानव समानको भोजनमा बाँचेकाहरूको दिसा मानवको भन्दा खास भिन्न हुँदैन । कतिपय परजीवीको लागि कुकुरको दिसा साह्रै रुचाइएको खाना र सुरक्षित बासस्थान हो ।

कोर्नेल विश्वविद्यालय, भेटेरिनरी मेडिसिन कलेजको अध्ययन टोलीको विवरण अनुसार अंकुशे जुकाको खानी कुकुरको जीउ र दिसा हो । अर्को तथ्यांक छ– एक ग्राम दिसामा दुई करोड ३० लाखवटा कोलिफर्म ब्याक्टेरिया हुन्छन्, जसलेमानव जगतमा झाडापखाला, आन्द्रामा समस्या, मृगौलाको रोग निम्त्याउँछन् ।

कुकुरको दिसाबाट जार्डिया, गालोजुका, सालमोनेला, इकोली, कोरोना भाइरस, कोम्पिलोब्याक्टर, क्रिप्टोसोरिडियम, स्ट्राफाइलोकोकोस लगायत औषधी प्रतिरोधी अनेकन सूक्ष्म जीवाणु र अन्य रोगका कारक जीव फैलिन्छन् । मानिस र कुकुरमा आलोपालो गर्दै सरी–सरी जीवन चक्र पूरा गर्ने थुप्रै दोजीव आश्रित (डाइजेनेटिक) जुका र किरा वर्गका परजीवी छन् ।

मानिसले कुकुरलाई काखी च्याप्ने, सँगै सुताउने, बेड र भान्साघरसम्म पुर्‍याउने, ऊसँग खेल्ने, जिस्किने क्रियाकलाप कति हदसम्म ठिक होला, यो पालक आफैले सोच्ने र बुझ्ने कुरा हो । तर सार्वजनिक स्थानमा अरूलाई र वातावरणलाई प्रभाव पर्नेगरी दिसा गराइदिनु गलत हो । एकातिर स्वतन्त्र घुमिहिँड्ने सामुदायिक कुकुरलाई नियन्त्रण प्रयास असफल भइरहेको छ, घरभित्र रहेकाहरूको पनि फोहोर सार्वजनिक ठाउँमा आएपछि स्वच्छ वातावरण र सभ्य सहरको परिकल्पना गर्न सकिन्न ।

काठमाडौंमा मात्र करिब २२ हजार ५ सय सामुदायिक कुकुर रहेको काठमाडौं एनिमल ट्रिटमेन्ट सेन्टर भन्ने संस्थाले उल्लेख गरेको छ । सोही संस्थाका अनुसार प्रत्येक वर्ष कुकुरको टोकाइबाट दुई सय मानिसको रेबिज रोग लागी मृत्यु हुने गरेको छ र ३५ हजार मानिस कुकुरको टोकाइको सिकार बन्छन् ।

मोहन आचार्य लगायतका अनुसन्धाताले गरेको अनुसन्धान अनुसार सन् २०१५ मा पोखरामा १ हजार ७ सय ६७ वटा सामुदायिक कुकुर थिए । सहरी फोहोरको बढ्दो मात्रा र वैज्ञानिक वधशालाको अभावसँगै यस किसिमका कुकुरको संख्या वृद्धि भइरहेको छ । यति धेरै कुकुरले उत्सर्जन गर्ने दिसाले नजानिँदो किसिमबाट मानव जीवनलाई जोखिममा राखेको छ ।

ईपीएकै अनुसार कुकुरको दिसा मानव लगायत गाईवस्तुको मलजस्तो तत्कालै कुहिँदैन । यो झारनाशक रसायन, कीटनाशक विषादी र ग्रिजजस्तो रसायन हो । यसमा रहेका सूक्ष्म हानिकारक जीवलाई नष्ट गर्न धेरै तापशक्ति चाहिन्छ । कुकुरको दिसा खेतबारीमा हाल्न नहुने कृषिविज्ञहरू सुझाउँछन् ।

अमेरिकाको इन्भाइरोमेन्ट प्रोटेक्सन एजेन्सीका अनुसार पानी र माटोमा मात्र होइन, कुकुरको दिसाका हानिकारक जीवले हावामा प्रदूषण गराइरहेका छन् । हावामा रहेका ३० देखि ५० प्रतिशत ब्याक्टेरिया कुकुरकै दिसाबाट आएको अनुसन्धानका क्रममा पाइएको थियो ।

कुकुर र मानिसको सम्बन्ध नौ हजार वर्ष पहिले स्थापित भएको हो । बायोलोजी लेटर्स भन्ने विज्ञान पत्रिकाका अनुसार ब्वाँसोको परिवारबाट कुकुर मानवको परिवारसँग आएको हो भन्ने डीएनए परीक्षणबाट थाहा भएको हो । त्यस अघि मानिसले भेडा, गाई र सुँगुरलाई घरपालुवा जनावर बनाइसकेका थिए । यिनैको गोठालोमा प्रयोग गर्दै आउँदा कुकुर घरपालुवा जनावर बन्यो । आजकाल कतिपय मानिसको अभिन्न मित्रसमेत भएको छ, अनि अपराध अनुसन्धानमा राज्यको सारथी पनि ।

विकसित देशहरूले सहरी सामुदायिक कुकुरको संख्या नियन्त्रण गर्न प्रभावकारी योजना ल्याइसकेका छन् । घरमा पालेको कुकुरलाई जताततै दिसा–पिसाब गराउन कानुनी बन्देज लगाइएको छ । आफूसँगै लगिएको कुकुरको दिसा स्वयम् मालिकले संकलन गर्नुुपर्ने नियम छ । युरोपेली र अमेरिकी मुलुकमा कुकुरले गरेको दिसा ६० प्रतिशतभन्दा माथि स्वयम् मालिकले उठाउने गरेका छन् ।

नेपालमा पनि यस सन्दर्भमा कदम चाल्न जरुरी छ । प्रारम्भिक चरणमा आफूले पालेका कुकुरलाई आफ्नै घरपरिसरमा दिसा गराई त्यसको व्यवस्थापन गर्न–गराउन जोड दिनुपर्छ । क्रमश: कुकुरलाई चर्पी प्रयोग
गर्न सिकाउनुपर्छ । धेरै अनुसन्धानले यो गर्न सकिने भनेर पुष्टि गरिसकेका छन् । कुकुरलाई साङ्लोमा बाँधौं रचर्पी प्रयोग गर्न सिकाऔँ । गाउँ–सहरमा देखिएका सामुदायिक कुकुरको संख्या नियन्त्रण गर्न प्रभावकारी वैज्ञानिक विधि अपनाउन आवश्यक छ । होइन भने सहर सधैं फोहोरी भइरहन्छ ।

लेखक त्रिवि स्नातकोत्तर क्याम्पस विराटनगरका उपप्राध्यापक हुन् ।
ramchandra.adhikari@gmail.com

प्रकाशित : मंसिर ७, २०७५ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

भनसुनबेगर काम कहिले ?

सरकारी कार्यालयमा कर्मचारीहरू हुँदाहुँदै बिचौलिया र लेखनदासलाई किन काम गर्न दिइन्छ ?
मञ्जु भट्ट

काठमाडौँ — तीन वर्षअघि जग्गा पास गर्न मालपोत कार्यालय भक्तपुर पुग्यौं । त्यहाँ कागजात बनाइदिने र जग्गा पास गरिदिने नाममा लेखन्दासलाई पैसा खुवाउनुपर्‍यो । किन अतिरिक्त पैसा असुलेको भनेर सोध्दा त्यसो नगरे ‘हाकिम साबहरूले फाइलमा हस्ताक्षर नै गर्नुहुन्न’ भन्ने जवाफ पाइयो ।

पुलिसलाई खबर गर्नुपर्‍यो या अख्तियारलाई भन्नुपर्‍यो भनेर सरसल्लाह गर्‍यौँ । बुझ्दै जाँदा यस्तो काम गर्ने मान्छेका नाइके कैयौंपल्ट पक्राउ परेका रहेछन् र एक–दुई दिनमै छुटिहाल्दा रहेछन् । ‘उजुरीले के हुन्छ, कारबाही गर्न सक्नुपर्‍यो नि !’एक जनाले प्याच्च भने ।

फाइल तयार पारेर अन्तिम हस्ताक्षरका लागि सम्बन्धित कर्मचारीकहाँ गयौं । एउटा हाकिमको पछाडि तीन, चारजना आसेपासे हुँदारहेछन् । हाम्रो फाइल हेरेर सिधै ‘आज ढिलो भइसक्यो, भोलि आउनुस्’ भनियो । हामी खिस्रिक्क पर्‍यौं । अर्को दिन आउन गाह्रो थियो । किन्ने र बेच्ने दुवै उपस्थित हुनुपथ्र्यो । सबैजना अलमल्ल उभिएका थियौं । त्यही बेला एकजना कर्मचारीले हाम्रै गाउँले बोली बोलिरहेको सुनेँ । हत्त न पत्त फाइल बोकेर उनको टेबुलमा गएँ र गाउँकै भाषामा हस्ताक्षर गरिदिन याचना गरेँ । नभन्दै तीन मिनेटमा हाम्रो काम सकियो ।

मालपोत लगायत धेरै सरकारी कार्यालयमा लोकसेवा पास गरी आएका सरकारी तलब बुझ्ने कर्मचारीहरू हुँदाहुँदै बिचौलिया र लेखनदासलाई किन र कसको आदेशमा काम गर्न दिइन्छ ?
मेरो एकजना भाइ नेपाल आर्मीको सेकेन्ड लेफ्टिनेन्टको परीक्षा दिन काठमाडौं आयो । राम्रोसँग तयारी गर्‍यो । शारीरिक क्षमता, लिखित जाँच सजिलै पास गर्‍यो । अन्तर्वार्तामा अनुत्तीर्ण भयो । त्यही क्रम तीन चोटीसम्म चल्यो । उसले कसैलाई भनसुन गराएको थिएन ।

ठगी, भ्रष्टाचारका घटना प्राय: सबैतिर छ । भनसुन, चिनजान बिना काम हुँदैन । यातायात कार्यालयमा नियमानुसार शुल्क तिरेर लाइसेन्स बनाउन खोज्नेहरू घन्टौं लाइनमा उभिन बाध्य हुन्छन् । अतिरिक्त पैसा बुझाएर चोर बाटोबाट लाइसेन्स बनाउनेहरू लाइनमा बस्नै पर्दैन । भाडाका गाडी एक, दुई रुपैयाँ सजिलै फिर्ता गर्न मान्दैनन् । एउटै स्टपमा उत्रिँदा पनि भाडादर समान छैन । कसैले अलि ठूलो देखिने बच्चालाई काखमा बोक्दा भाडा लिँदैन भने कसैले जता राखे पनि भाडा लाग्छ भन्छन् ।

आर्मी, पुलिसका ठूला पोष्टमा हुनेहरूका श्रीमान, श्रीमतीका छुट्टै सरकारी गाडीसहित गाडी चालक हुन्छन् । घरमा काम गर्न कम्तीमा एकजना पुलिस या आर्मी खटिएका हुन्छन् ।

भनिन्छ, मान्छेका तीनवटा शत्रु रोग, ऋण र मुद्दा हुन् रे । रोग लाग्यो भने निको हुनसक्छ, ऋण लाग्यो भने तिर्न सकिएला, तर मुद्दा लाग्यो भने कसैले भन्न सक्दैन । न्याय पाउन वकिल राखेर मुद्दा लड्दा मुद्दा लड्ने मान्छे नै उठ्न नसक्नेगरी लडिसकेको हुन्छ ।

त्यसैले जघन्य अपराधका घटना पनि मिलेमतोमैटुङ्ग्याउने प्रवृत्ति छ । शिक्षण संस्थाहरूमा राजनीतिक कार्यकर्ता भर्ती गर्ने होडबाजी चल्छ । प्राध्यापकजस्तो मर्यादित पदमा पनि दलीय भागबन्डा हुन्छ । योग्य र सक्षम जनशक्ति विदेश पलायन हुने क्रम निरन्तर छ ।

राजनीतिक परिवर्तनसँगै सरकारी निकायहरू सुध्रिनुको साटो झन् विकृत बन्दैछन् । सरकार समृद्धिको सपना बाँडिरहेको छ । कार्यशैलीले भने नागरिकलाई निराश बनाउने खालका छन् । आखिर मूल नै धमिलो छ त सङ्लो पानीको आशा कसरी गर्ने ? सरकारले कमजोरी बेलैमा मनन गरोस्, सुखद परिवर्तनको सुरुवात तत्काल थालोस् ।

प्रकाशित : मंसिर ७, २०७५ ०८:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×