सयपत्री माला किन मिल्काउनु ?

रुघा, मर्की–ब्रोन्काइटिस निको होस्, पाइल्स र महिनावारीमा रगत बग्ने समस्या कम होस्, बुढ्यौलीमा समेत दृष्टि नघटोस्, छाला स्वस्थ रहोस् भनेर हिजोआज दिनमा ५ कपसम्म सयपत्री चिया पिउने पारखी भेटिएका छन् ।
नारायण घिमिरे

काठमाडौँ — नेपाली समाजमा चलनचल्तीका शब्द ‘सफा’ र ‘पवित्र’ बीचको भिन्नता बुझ्न मलाई झन्डै ३ दशक लाग्यो । मेरो बुझाइमा ‘सफा’ भनेको एउटा अवस्था हो, कुनै कार्य गरी प्राप्त गर्न सकिने । जस्तै– तामा वा स्टिलको जुठो गिलास खकालेर पानी पिउने प्रयोजनका लागि ‘सफा’ बनाउन सकिएला ।

तर त्यो ‘पवित्र’ नै हुन्छ भन्ने निश्चित छैन । ‘पवित्र’ शब्दले समग्रमा सधैं ‘शुद्धता’ राख्ने संस्कृतिको बृहत अवस्थालाई इंगित गर्छ । तिहारका बेला दिदीबहिनीको धन्य मनले दाजुभाइलाई लगाइदिने सयपत्रीको माला, लगाइदिने भावना र त्यसको परिवेश सबैलाई ‘पवित्र’ मान्न सकिन्छ । किन र कसरी सयपत्रीको माला पवित्र भयो भन्ने तर्कका लागि भने अलिकति चर्चा जरुरी होला ।

तिहार भन्ने बित्तिकै हामी सयपत्री फूल सम्झन्छौं । हाम्रा पुर्खाले तिहारको मालाका लागि सयपत्री र मखमली नै किन रोजे होलान् ? फूल, कोपिला, पात, डाँठ र जराको आयुर्वेदिक महत्त्व रहेको सयपत्रीबारे आयुर्वेदिक फर्माकोपियामा खासै उल्लेख छैन । तर आयुर्वेदले सयपत्रीको पात र फूलको थुप्रै प्रयोजन सुल्झाएको छ ।

मेक्सिकोमा सयपत्रीलाई ‘झन्डु’ भनिँदो रहेछ । त्यहाँ बगैंचाको सौन्दर्यका साथै झन्डु फूलबाट चाडबाडमा खानाको परिकार बनाउँदा रंगाउन हालिने पहेंँलो र सुन्तला–रातो खाद्य रंग बनाइन्छ । हाम्रा गाउँघरमा पनि चिसो लाग्दा, रुघाखोकी र ब्रोन्काइटिस हुँदा सयपत्रीको सम्पूर्ण बिरुवा पिँधेको झोल ३०–४० मिलिलिटरजति पिउने चलन नभएको होइन । छालामा साह्रै दुख्ने र पिप बन्ने बिबिरा उठ्दा, हाड–जोर्नी र मांसपेशी दुख्दा सयपत्रीको पातको लेदो दलेर छुटकारा लिइआइएकै छ ।

गाउँघरमा पिसाब पोल्दा सयपत्रीको पात र फूल पिँधेर बनेको लेदो ५०–६० मिलिलिटर पिउन दिने चलन छ । त्यही लेदो लगाउँदा पाइल्सको फुन्द्रो घट्छ भने पिप आउने घाउ ड्रेसिङ गर्दा छिटो सन्चो हुन्छ । तातोपानीमा सयपत्रीको स्टिम डिस्टिलेट ४–५ थोपा हाली पिउँदा दमका बिरामीको स्वास्थ्यमा उल्लेखनीय सुधार आउँछ ।

नाथ्रीफुट्दा धेरै रगत बग्न रोक्ने अचुक औषधी भनेकै सयपत्री फूल उमालेर सेलाएको पानी नाकमा हाल्नु हो । रजस्वला र पाइल्समा सामान्यभन्दा बढी रगत बगेमा सयपत्रीको पातको लेदोलाई चौथाइ थुर्मी गाईको घिउमा हल्का भुटेर खाने चलन अद्यापि छँदैछ ।

अब पाठकवृन्दलाई आफ्नै आँगनमा ढकमक्क फुलेको सयपत्रीका वैज्ञानिक तथ्य जान्ने खुल्दुली जाग्नु स्वाभाविक छ । सयपत्रीका फूल, डाँठ र जरा बहुगुणी छन् । सयपत्री फूलको एक्सट्रेक्टमा झन्डै ९३ प्रतिशत अत्यन्त उपयोगी पिग्मेन्टस हुन्छन् । ८८ प्रतिशत लुटिन र ५ प्रतिशत जियाजेन्थिन । लुटिनले प्रकाशको किरणबाट निलो प्रकाश सोस्छ । थोरै कन्सन्ट्रेसनमा सोस्दा पहेंँलो देखिन्छ भने धेरै कन्सन्ट्रेसनमा सोस्दा सुन्तला–रातो । सयपत्रीको पत्रमा हुने लुटिनको मात्राले यसको रंग निर्धारण गर्छ । जियाजेन्थिनले भने रामपुर पहेंँलो जातको मकैको गेडाजस्तो पहेंँलो रंग दिन्छ ।

लुटिन र जियाजेन्थिन आँखाको रेटिनाको लागि जरुरी पर्ने क्यारेटिनोइड हो । बुढ्यौलीमा आँखाको दृष्टि घट्दै जानुको धेरै कारणमा एउटा मुख्य कारण रेटिनामा लुटिन, जियाजेन्थिन जस्ता क्यारेटिनोइडको कमी हुनु पनि हो । सयपत्री फूलले दिने रंगमा मनग्य लुटिन र जियाजेन्थिन पिग्मेन्टस पाइने हुँदा सयपत्री फूलबाट बनाइएको खाद्य रंग मानव दृष्टि वृद्धिमा सहयोगी हुने भेटिएको छ । सयपत्री फूलको रंग हालिएको दाना खुवाएको कुखुराले पारेको अन्डामा लुटिन र जियाजेन्थिन क्यारेटिनोइड धेरै पाइन्छ ।

दृष्टि वृद्धिका लागि त्यही अन्डा खाएर लुटिन र जियाजेन्थिन रेटिनासम्म पुर्‍याउन सकिने आजसम्म हामीलाई उपलब्ध सबैभन्दा उत्कृष्ट तरिकामध्ये एक मानिएको छ । त्यसैले कुखुराको न्युट्रिसन सप्लिमेन्ट बनाउन सयपत्रीको माग बढ्न थालेको छ ।

दूषित हावापानीबाट मानिसको छालामा संक्रमण गर्ने किटाणु प्राय: ग्राम पोजेटिभ र ग्राम नेगेटिभ प्रकृतिका हुन्छन् । सयपत्रीको बिरुवा पिँधेको लेदोमा लेमोनिन, ओसिमिन, लिनालाइल एसिटेट, लिनालोल, टेजिटोन र नोनाइल अल्डिहाइड जस्ता केमिकल हुन्छन् । सयपत्रीको फूल र बिरुवाको झोलमा र वातावरणमा जाने बासनामा पाइने माथिका तत्त्वहरूमा ग्राम पोजेटिभ र ग्राम नेगेटिभ ब्याक्टेरिया मार्ने (एन्टी–ब्याक्टेरियल) गुण हुन्छ ।

यसले छालालाई ती किटाणुको संक्रमणबाट जोगाउँछन् । एन्टी–सेप्टिक गुणका कारण नै छालाको रोग, डन्डिफोर, खटिरा आदिमा सयपत्रीको उपयोग घरेलु उपचारमा प्रयोग हुँदै आइरहेको छ । सम्भवत: बासनाको उक्त गुणका कारण हाम्रा पुर्खाले घर वरिपरि सयपत्रीको झाडी बनाउने गरेका होलान् । रगतमा प्रो–थ्रम्बिन कमी हुने, प्लेटिलेट्स बढ्ने अनि रक्तस्राव नरोकिने समस्या संसारमा विकराल बन्दैछ ।

सयपत्रीको पात निचोरेर निकालिएको रसमा मानिसको रगतमा प्रो–थ्रम्बिन बन्न सहयोगी हुने ग्यालिक एसिड, इस्कोपोलिटिन, फ्रिनुलिक एसिड, कुयरसिसिटिन भेटिन्छ । तिनले प्रो–थ्रम्बिन बन्न र रक्तस्रावका बेला रगत जमाउन सहयोग गर्छन् । सयपत्रीको पातको रस एकातर्फ एन्टी–सेप्टिक हुने र अर्कोतर्फ रगत जमाउन सघाउने हुँदा पाइल्स र महिनावारीमा रामवाण सावित भएका छन् ।

वनस्पतिमा पाइने प्रोटिन पेरोक्सिडेज, अक्सिडेज, लिपोक्सिनेज र क्याटालेज रोग र किरा प्रतिरोधात्मक इन्जाइम मानिन्छन् । पछिल्लो समय जैविक विधिबाट सयपत्रीको पात निचोरेर निकालिएको रस छर्कंदा गोलभेँडा खेतीमा रोग र किरा प्रतिरोधात्मक इन्जाइम आश्चर्यजनक रूपमा वृद्धि गर्न सकिएको छ । सयपत्रीको जैविक विधिबाट बिरुवामा रोग र किरा प्रतिरोधात्मक शक्ति बढाउन सक्षम ग्रिन इस्प्रे प्रमाणित भएकाले मानिसका लागि स्वस्थबद्र्धक कृषि उत्पादनमा पनि सयपत्री बिरुवाको माग बढेको छ ।

जब सयपत्री खेती मालामा मात्र सीमित भएन र यसको अथाह गुणबारे जानकारी बाहिरियो, यसको चिया पिउने चलन पनि बसिहाल्यो । सामान्यतया ४ किलो सयपत्रीको फूल सुकाउँदा १ किलोजति तयार हुन्छ । झुरुम–झुरुम हुनेगरी सुकाइएको सयपत्री हातले माडिदिँदा धुलोपिठो बन्छ । सयपत्रीको २ चिया चम्चा धुलोलाई उम्लिएको २ सय मिलिलिटर पानीमा १० देखि १५ मिनेट छाडिदिएपछि बन्ने झोल छानेर तातै चिया खान सकिन्छ । रुघा, मर्की–ब्रोन्काइटिस निको होस्, पाइल्स र महिनावारीमा रगत बग्ने समस्या कम होस्, बुढ्यौलीमा समेत दृष्टि नघटोस्, छाला स्वस्थ रहोस् भनेर हिजोआज दिनमा ५ कपसम्म सयपत्री चिया पिउने पारखी भेटिएका छन् ।

आज विश्व बजारमा सयपत्रीको चिया,ट्याब्लेट, गोली र क्याप्सुल तथा दृष्टिबद्र्धक चूर्ण, रगत सफा गर्ने जुस, छालाको लागि क्रिम आयुर्वेदिक सप्लिमेन्टका रूपमा बिक्री भइरहेको छ । हामी भने भाइटीकाको मालामा सीमित गरी गमक्क परी बसेका छौं । अरु जे होस्, दिदीबहिनीको धन्य मनले दाजुभाइलाई सयपत्री गाँसेर माला लगाइदिने पवित्र संस्कृतिमा भने हामीले जति गर्व गरे पनि हुन्छ ।

लेखक खाद्य वैज्ञानिक हुन् ।

प्रकाशित : कार्तिक २९, २०७५ ०८:०२
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

जडीबुटीको सिरानी

हामी दुर्लभ र बहुमूल्य जडीबुटीको सिरानी हालेर सुतिरहेका छौं । अर्कोतिर परदेशी आयातमा सर्वस्व गुमाइरहेका छौं । कमजोरी कहाँ भयो ?
नारायण घिमिरे

काठमाडौँ — गाउँले स्कुलमा ३ कक्षासम्म मात्र पढाइ हुन्थ्यो । कक्षा उक्लेपछि पृथ्वी राजमार्गमा २ किलोमिटरभन्दा बढी पैदल मार्च गरेर सत्र सय (तनहुँ) नगई सुखै थिएन  ।

अबेरसम्म सुत्ने बानीका कारण बिहान ९ बजे स्कुलतिर कुद्न मलाई हम्मे पथ्र्याे । एक दिन १ किलोमिटर हिँडिसकेपछि दाइ लक्ष्मणले ‘खै कट्टु ? नांगै स्कुल जान्छस् ?’ भनेपछि झसंग भएँ । गन्जी लगाउँदा र चप्पल खोज्दा हतारमा कट्टु लगाउनै बिर्सेछु । धन्न, दाइले दुइटा कट्टु लगाएको रहेछ । भित्री कट्टु पुठोमा च्यातिएको रहेछ । मैले नच्यातिएको चाहिँ मागेँ, तर जोड चलेन । दाइलाई स्कुल जान्न भनी घुक्र्याएँ । झाडीतिर घुस्रेको के थिएँ, काउसोको झुसले सातो लियो । खुरुखुरु दाइलाई पछ्याएँ ।

नेपालमा रहुन्जेल म काउसोको नजिक परिन । जमाना बदलियो । म काउसोको पिछा लागेको दशकौं भइसकेछ ।

कुनै वस्तु देख्दा, घटना सम्झँदा, प्रिय मानिस वा परिस्थितिसँग जम्काभेट हुँदा हाम्रो दिमागले डोपामिन निकाल्छ । मनपराएको मान्छेसँग बस्दा, फोन च्याट गर्दा वा फेसबुक स्टाटसमा लाइक देख्दा पनि दिमागले डोपामिन निकाल्छ, अनि खुसी र प्रेमका साथ धन्य महसुस हुन्छ ।

हाम्रो मस्तिष्कको नर्भ सेलमा न्युरोट्रान्समिटरका रूपमा निजी अनुभूति साटेर शारीरिक गतिविधि नियन्त्रणमा सहयोगी हुने रसायन हो, डोपामिन । डोपामिन निकाल्ने नर्भ सेल झन्डै ८० प्रतिशत मरेपछि पार्किन्सनजस्तो रोग लाग्ने वैज्ञानिकहरूको मत छ । पार्किन्सनको औषधिका रूपमा संसारमा चल्तीमा रहेको प्रमुख औषधि हो, लोभोडोपा । जुनसुकै अवस्थाको पार्किन्सनमा सिफारिस गरिने लोभोडोपाले डोपामिनको कमीलाई भर्पाइ गरिदिन्छ ।

काउसोको भुटेको गेडा पिँधेर बनाइएको सातुमा लोभोडोपा हुन्छ । काउसोको सातुलाई ‘डोपामिन बिन’ भनी बजारमा सप्लिमेन्टका रूपमा बिक्री गरिन्छ । लगभग २ ग्राम (आधा चम्चा) धुलोलाई चिया वा दूध, स्मुथी, सुप वा चिनीसँग खाने गरिएको छ । काउसोलाई अलि पढालेखाले ‘मुकुना पुरियन’ भन्ने गर्छन् । आयुर्वेदले काउसोको जरा शक्तिबद्र्धक टनिक, यौन उत्तेजना बढाउने चूर्ण, पिसाब जगाउने र दिसा खलास गर्ने बुटी मानेको छ । काउसोको भुटेको गेडा पिँधी बनाइएको सातुमा समेत ती गुण हुन्छन् ।

हाम्रो जमानामा दिदीबहिनीलाई पाठशालाभन्दा घरेलु काममै जोताइन्थ्यो । भैंसीको दूध बेचेर घरखर्ची आउँथ्यो । सोमबारदेखि शुक्रबार दिदीहरू भैंसी गोठालो जान्थे । शनिबार दिदीबहिनी पर्म लगाउन मेला जान्थे । गोठालो जाने पालो हाम्रो हुन्थ्यो । हामीले भैंसी डुलाउने मस्र्याङ्दी किनारमा ८–१० बोट भलायो थिए । भलायो पाक्ने सिजनमा रातो र टर्रो गुलियो त्यही फल खाने लोभले म भैंसी गोठालो गइटोपल्थेँ ।

म भलायो जति पनि खान्थँें । मेरो साथी हरि भने मुखमा भलायो उछ्रियो भनी नजिकै पर्थेन । जिम्बावाल दाइकी छोरीलाई त एकपटक भलायो धेरै उछ्रियो । पल्लो गाउँबाट कविराज बोलाइए । उनले भलायोको फेदकै माटो औषधि भनी शरीरभरि दलिदिए ।

३ हजार वर्ष पहिले लेखिएको विश्वास गरिने रामायणमा भलायोलाई अर्ध–वैद्य भनिएको छ । अर्थात् भलायो लगभग सबै रोग र दोषबाट मुक्ति दिने गुणकारी तर शुद्धीकरण बिना खाँदा ज्यानै लिन सक्ने विषादी हुनसक्छ । भलायोको गेडालाई स्वस्थ जीवन, सन्तान वृद्धि र अजम्बरी आयुको बुटी मानिएको छ । आयुर्वेद र सिद्ध विधिमा भलायो शुद्धीकरण गरी क्यान्सर, दम, बाथ, मधुमेह, पाइल्स, जुका–चुर्ना, हृदयाघात, छालाको एलर्जी आदिमा बुटीका रूपमा प्रयोग हुन्छ । भारतबाट नेपालमा आयात हुने सञ्जीवनी भाटी (ज्वरो र विष), भाल्लाताका रसवाना (एन्टी एजिङ, छालाको रोग), अमृता भाल्लाताका घृता (छालाको रोग, पाइल्स) आदि भलायो निर्मित आयुर्वेदिक सप्लिमेन्ट हुन् ।

ल्याबमा परीक्षण गर्दा भलायोको फलमा सुगन्धित पदार्थ र तेलका साथै हाम्रो शरीरलाई नभई नहुने ३ प्रकारका भिटामिन र ९ प्रकारका एमिनो एसिड भेटिएका छन् । जैतुन, एभोकाडो, पिमेन्टो, भलायोजस्ता थोरैमात्र फलमा प्रशस्त तेल पाइन्छ । प्राणीको बोसो र वनस्पतिको गेडाबाट प्राप्त हुने तेलले हृदयाघात हुने सम्भाबना बढाउँछ । फलबाट प्राप्त हुने तेलले रगतको नलीको भित्री भागमा टाँसिई नसा थुनेर हृदयाघात गराउने चिल्लो पदार्थ हटाइदिन्छ । नेपालको रैथाने भलायोको फलमा यो गुण पाइन्छ ।

भलायोको गेडामा धेरै प्रकारका ऐनाकार्डिक एसिड, भिल्वानोल र फ्लेभोनोइड पाइन्छन् । ती सबैको औषधीय मूल्य छ । एन्टी क्यान्सर केटिचोलले भने यसलाई अति उच्च गुणकारी फलका रूपमा स्थापित गरेको छ । चाइनिज फर्माकोपिया, २००५ मा एमेटोफ्लावोनलाई एन्टी क्यान्सर, एन्टी इन्फ्लेमेटोरी, एन्टी भाइरस, एनालजेसिक गुणधारी मात्र होइन, रक्तचाप तथा रगतमा ग्लुकोज घटाउने र रोगसँग जुध्ने शक्ति बढाउने एजेन्ट भनी व्याख्या गरिएको छ । निकै खस्रो र फस्किलो भलायोको पातमा अत्यधिक मात्रामा एमेटोफ्लावोनका साथै मानव स्वास्थ्यमा उपयोगी खनिज भेटिन्छन् ।

भलायोको फलको बाहिरी भागमा ऐनाकार्डिक एसिड पाइन्छ । कतिपय मानिसमा ऐनाकार्डिक एसिडमा पाइने उरुषीओल नामक तेलले छालाको एलर्जी निम्त्याउँछ । छालाको एलर्जी हुँदा चिलाउने, रातो हुने, सुन्निने र फोका उठ्ने आदि लक्षण देखिन्छन् । इस्ठाफाइलोकोकस र इस्ट्रेप्टोकोकस जस्ता इन्फेक्सन हुँदा भने जीवन जोखिममा पर्छ । उरुषीओल भलायोको गेडा र डाँठमा समेत हुन्छ । बाल्दा मनग्ये उरुषीओल धुवाँ हँुदै शरीरको सम्पर्कमा आउँछ । न्वारनका बेला आमाको दूधमा मात्रै निर्भर बच्चामा वातावरण प्रतिरोधक शक्ति धेरै हुन्छ । त्यसैले उरुषीओलको संसर्ग हुँदा शरीरमा एन्टी एलर्जी पैदा हुने र पछि खासै असर नगर्ने वैज्ञानिक तथ्य नै हो ।

अनुसन्धानले भलायोको बोक्रामा प्रशस्त एन्टी अक्सिडेन्ट हुने देखाएको छ । यो बुढ्यौली रोक्नमा समेत गुणकारी हुनेमा शंका रहेन । यो मानव कोषमा पैदा हुने विषाक्त पदार्थ विरुद्ध लड्ने, हटाइदिने र दर्द घटाउन सहयोगी हुने भेटियो । शरीरले नसहने बाहिरी प्रोटिनको उपस्थितिले प्राय: मानिसमा छालाको एलर्जी हुने गर्छ । भलायोको बोक्राले त्यस्ता बाहिरी प्रोटिनलाई रोकेर फटाइदिन्छ ।

भलायोको फेदको माटोमा उसकै बोक्राको भाग प्रशस्त भेटिन्छन् । भलायोको चोपबाट छालाको एलर्जी हुँदा फेदकै माटो केही हदसम्म औषधि हुन सम्भव छ । आयुर्वेदमा गुदीसमेत भएको नरिवलको दूध वा प्रशस्त नरिवल पानी पिउनु भलायोको चोपबाट हुने छालाको एलर्जीको सही घरेलु उपचार मानिएको छ ।

डेढ दशकअघि ससुराली नुवाकोटको अमारे जाँदा ३३ किलोमा खाजा खान झरेका थियौं । बार्दलीमा एक किशोर एकोहोरो खोक्दै थिए । ‘मरेको बिरालोले सास फेर्दैन,’ लगभग ७ मिनेटको बसाइमा उनले त्यो वाक्य करिब ५० चोटी भट्टयाए । १० वर्षपछि तिनै पुरुषसँग भेट भयो । उनी आयुर्वेद डाक्टर बनिसकेछन् । उनको गुनासो थियो, ‘सरकारले बुझेन । आयुर्वेदको विकास भएन ।’

हामी दुर्लभ र बहुमूल्य जडीबुटी अनि मणिको सिरानी हालेर सुतिरहेका छौं । हाम्रा बलियाबांगा युवा भने खाडीको उराठ मरुभूमिमा भविष्यको खोजीमा भौंतारिँदैछन् । हामी परदेशी आयातमा सर्वस्व गुमाइरहेका छौं । कमजोरी कहाँ भयो ? सरकारमा वा हाम्रो आफ्नै सुझबुझमा ?

प्रकाशित : कार्तिक १४, २०७५ ०७:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×