सामाजिक सञ्जालमा खेदो

सूचना प्रविधिको विकास र विस्तारसँगै महिला हिंसाको स्वरूप बदलिएको छ ।
रीता साह

काठमाडौँ — गतवर्ष सिरहाबाट बिहानै एक साथीको फोन आयो । उनी निकै हतासिएकी थिइन् । कसैले उनकी छोरीको फोटो तोडमोड गरेर सामाजिक सञ्जालमा राखिदिएछ । पुरानो रिस साध्न कसैले उनकी छोरीलाई बदनाम गर्न खोजेको उनको अनुमान थियो । 

काठमाडौंमै कार्यरत एक महिला सञ्चारकर्मीलाई फेसबुक म्यासेन्जरमा कुनै पुरुषको आईडीबाट दिनदिनै अश्लील फोटो र म्यासेज आउँथ्यो । उसले बेला न कुबेला म्यासेन्जरमा फोन गरेर पनि हैरान पारेको थियो । हदै भएपछि ती सञ्चारकर्मीले साइबर क्राइम अन्तर्गत मुद्दा हालिन् । त्यस पुरुषमाथि कारबाही भयो ।


सूचना प्रविधिको विकास र विस्तारसँगै महिला हिंसाको स्वरूप बदलिएको छ । शारीरिक, यौन, कुरीतिजन्य हिंसासँगै अनलाइन वा साइबर अपराध पनि हुने गरेका छन् । अहिले लोकप्रिय रहेका सामाजिक सञ्जाल फेसबुक,ट्विटर, इन्स्टाग्राम आदिका प्रयोगकर्ता बढेका छन् । विश्वमा फेसबुकको प्रयोगकर्ता सवा दुई अर्ब छन् । तीमध्ये आधाभन्दा बढीले दिनहुँ फेसबुक प्रयोग गर्छन् ।


नेपालमा फेसबुक प्रयोगकर्ताको सङ्ख्या ४१ लाख छ । इन्टरनेटको प्रयोगकर्ता बढेसँगै अनलाइन हिंसाका घटना पनि वृद्धि भएका छन् । २०७० सालमा अनलाइन हिंसासँग सम्बन्धित १९ वटा मुद्दा दर्ता भएका थिए । २०७२ सालमा ३५ वटा मुद्दा दर्ता भए । अनलाइन हिंसामध्ये ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुषमाथि छन् ।


गएको चैतमा छोराहरूको स्कुल विदा थियो । म सपरिवार माइती राजविराज गएकी थिएँ । सामाजिक सञ्जालबाट थाहा पाएर स्थानीय पत्रकारले मलाई अन्तर्वार्ता दिन आग्रह गरे । सुुरुमा आलटाल गरेँ । दिदी भन्दै साइनो गाँसेर पटक–पटक फोन गरेपछि अन्तर्वार्ता दिन तयार भएँ । अन्तर्वार्तामा महिला अधिकारसँग सम्बन्धित प्रश्न धेरै सोधिएको थियो । महिलाको राजनीतिक प्रतिनिधित्व, दाइजो प्रथा लगायत विषयमा लामो कुराकानी भयो ।


अन्त्यमा ती पत्रकारले विनासन्दर्भ एउटा प्रश्न तेर्साए, ‘गाई काटेर खानेबारे तपाईको विचार के छ ?’

मैले जवाफ थिएँ, ‘देश धर्म निरपेक्ष हो, सबै धर्मको सम्मान हुनुुपर्छ । अहिले पनि कतिपय समुदायले गाई काटेर खाने गर्छन् । त्यसमा सरकारले कारबाही पनि गरेको छ ।’


ती पत्रकारले महिला अधिकारबारे गरिएका कुरा छाडेर ‘गाई काटेर खाने परम्परा पहिलादेखिको हो– महिला अधिकारकर्मी रिता साह’ शीर्षक राखेर अनलाइनमा अन्तर्वार्ता छापेछन् । अन्तर्वार्ताको लिङ्क खोलेर पढेँ । मैले जे भनेकी थिएँ, त्यही थियो । कतै पनि गाई काटेर खाने प्रसंग उल्लेख थिएन । तर अन्तर्वार्ता पढाउन र अनलाइनलाई चर्चित बनाउन विवादित शीर्षक राखिएको थियो ।


भोलिपल्ट केही अनलाइनले अधिकारकर्मी रिता साहले गाई काटेर खान पाउनुपर्छ भनिन् भन्ने ढंगले समाचार बनाएर सामाजिक सञ्जालमा भाइरल गराए । त्यसबारे सत्य–तथ्य नबुझिकन सामाजिक सञ्जालमा ममाथि गालीको वर्षा भयो । गाली पनि यहाँ उल्लेख गर्न नसकिने खालका भद्दा थिए । चार दिनपछि मसँग अन्तर्वार्ता लिएको अनलाइनले मैले त्यसो नबोलेको भन्दै विज्ञप्ति प्रकाशित गर्‍यो, भ्वाइस रेकर्ड पनि सार्वजनिक गर्‍यो । तर त्यसले ममाथि भएको टिकाटिप्पणी तथा म र मेरो परिवारले भोगेको मनोवैज्ञानिक यातनाको क्षतिपूर्ति गर्न सक्दैन । हालै दसंैका बेला पनि रामनारायण यादव नामक फेसबुक आईडीबाट त्यही पुरानो गलत अन्तर्वार्ताको लिङ्क राखेर प्रचार गर्न खोजियो ।


यस्ता घटनाको भुक्तभोगी थुप्रै छन् । केही महिनाअघि राष्ट्रिपतिको फोटोलाई बिगारेर सामाजिक सञ्जालमा भाइरल गराउनेलाई कारबाही गरिएको थियो । हालै प्रधानमन्त्रीको स्वास्थ्यबारे अनर्गल खबर लेख्ने अनलाइन सञ्चालक प्रकाउ परे ।


कतिपयले सामाजिक सञ्जालमा भएका हिंसा लुकाउने गर्छन् । कोही सामाजिक सञ्जालमा निष्क्रिय भइदिन्छन् । कमैले मात्रै उजुरी दिन्छन् ।


मधेस आन्दोलनका बेला सामाजिक सञ्जालमा कडा खाले टिप्पणी हुने गर्थे । एक पक्षले अर्को पक्षको नेता–कार्यकर्ता तथा अभियानकर्ताको फोटो बिगारेर अश्लील गालीगलौज गरेको देखिन्थ्यो । यस्ता पोष्ट नक्कली आईडीबाट बढी हुन्थे । आन्दोलन सकिएपछि पनि उनीहरूमाथि आक्रमण भइरहेको देखिन्छ ।

सामाजिक सञ्जालमा हुने महिलामाथिको हिंसाको गम्भीर मनोवैज्ञानिक असर हुन्छ । कतिपयको पारिवारिक जीवन तहस–नहस भएको छ ।


समय सापेक्ष सूचना प्रविधि प्रयोग र उपयोग गर्नु स्वाभाविक हो । सामाजिक सञ्जालको माध्यमबाट सार्वजनिक बहस र छलफल हुने गर्छ । यस्तो बहस र छलफलले कम समयमा धेरैलाई जोड्छ । सामाजिक सञ्जाल पछिल्लो समय सामाजिक अभियानको सशक्त माध्यम बनेको छ । यसले धेरै सकारात्मक प्रभाव पनि पारेको छ । दुरुपयोग पनिबढ्दो छ । आफ्नो विचारसँग मेल नखानेलाई नस्वीकार्ने जमात बढ्दो छ । फरक विचार भएकालाई गालीगलौज गर्ने प्रवृत्ति बढ्दै गएको छ । महिलालाई हैरानी दिन अश्लील भिडियो तथा म्यासेज पठाउने गरिन्छ । यस्ता म्यासेज परिवारलाई देखाउन पनि मिल्दैन ।


सामाजिक सञ्जालमा हुने हिंसा नियन्त्रण गर्न सरकारले विद्युतीय कारोबार ऐन २०६३ को प्रयोग गर्दैआएको छ । ऐनको दफा ४७ अनुसार कम्प्युटर, इन्टरनेट लगायतका विधुतीय सञ्चार माध्यममा नैतिकता, शिष्टाचार विरुद्ध सामग्री, कसैप्रति घृणा वा द्वेष फैलाउने सामाग्री प्रकाशन वा प्रदर्शन गरे १ लाख रूपैयाँ जरिवाना वा ५ वर्षसम्म कैद वा दुबै सजाय हुनसक्छ । यसमा उजुरी मोफसलका जिल्लामा लिइए पनि कारबाही काठमाडौंमा मात्रै चलाउने गरिन्छ ।


यसबारे सामाजिक सञ्जालका धेरै प्रयोगकर्तालाई जानकारी छैन । जानकारी हुनेहरूले पनि झञ्झटिलो हुने र गोप्य जानकारी अरुले थाहा पाउने डरले लुकाउने गर्छन् । सामाजिक सञ्जालमा हुने हिंसा नियन्त्रण गर्न थप कडा कानुन बनाएर लागु गर्नु अपरिहार्य छ । प्रकाशित : कार्तिक २६, २०७५ ०८:१४

प्रतिक्रिया
पठाउनुहोस्

जग्गाको जालझेल

रीता साह

काठमाडौँ — सिरहा गोलबजारकी ५५ वर्षीया कारीदेवी यादवको शव गतसाता घरनजिकै बाँसघारीमा भेटियो । उनी साउन २५ गतेदेखि हराइरहेकी थिइन् । जेठाजुसँग अंशसम्बन्धी मुद्दाका कारण उनको हत्या भएको स्थानीय दाबी गर्छन् ।

हकारीदेवीले दिवंगत ससुराका नाममा रहेको जग्गा पाउनुपर्ने भन्दै मुद्दा हालेकी थिइन् ।

सप्तरीको राजविराजका सूर्यनारायण साह, उनकी गर्भवती पत्नी बेचनी देवी र डेढ वर्षीया छोरी प्रतिभाको गत जेठमा हत्या भयो । सूर्यनारायणका दाजु पञ्चदेव र भाउजू प्रमिलाले सम्पत्ति एकलौटी बनाउन उनीहरूको हत्या गरेको डेढ महिनापछि खुल्यो । २०४८ सालमा भारतको नयाँदिल्लीमा बेचिएका सूर्यनारायण तीन वर्षअघि घर फर्किएका थिए ।

यी घटना गम्भीर प्रकृतिका भएकाले समाचारमा आए । समाचारमा नआउने तर जग्गासँग जोडिएका थुप्रै घटना मधेसका गाउँघरमा दिनहुँ घट्छन् । मधेसी समाजमै किन यस्ता घटना बढी हुन्छन् ? यही कौतुहलले यो विषय लेख्न लागेकी छु । म पनि त्यही समाजमा हुर्केबढेकी हुँ । जग्गा विवाद मैले प्रत्यक्ष र अप्रत्यक्ष रूपले अनुभव गरेकी छन् । यो विषय सामान्यजस्तो देखिए पनि यसले पीडित परिवारलाई गम्भीर असर पारेको हुन्छ । प्रभाव समाजलाई परिरहेको हुन्छ ।

मधेसी समाज कृषिप्रधान हो । मधेसको जग्गा उर्वर छ । दुई बाली धान पाक्छ । मधेसी समाजमा जग्गाजमिनको विशेष महत्त्व हुन्छ । रोजगारीको प्रमुख माध्यम कृषि हो । पछिल्लो समयमा जागिर गर्ने र विदेश जाने क्रम बढ्दो छ । जमिनलाई पैतृक सम्पतिका रूपमा जगेर्ना गर्ने परम्परा छ । पहिला–पहिला कृषिभूमि पर्याप्त थियो र जनसंख्या कम । अहिले मधेसको जनघनत्व बढ्दै गएको छ । कृषिभूमि सीमित छ ।

मधेसमा जग्गाका लागि हुने झगडा चार किसिमले हुने गरेको देखिन्छ । पहिलो, अंशका लागि । पुख्र्याैली सम्पत्तिमा हुने अंशबन्डामा जालझेल गर्दा झगडा हुने गर्छ । दोस्रो, मोहियानी हकको जग्गा बाँडफाँट । सरकारले मोहीको जग्गालाई आधा–आधा भागमा बाड्ने नीति लिएको छ । कतिपय टाठाबाठाले यसलाई सरकारी नीतिअनुरूप बाँडफाँट गर्न नचाहँदा झगडा हुने गर्छ । तेस्रो, घर बनाउने बेला छिमेकीको जग्गा च्याप्दा । अरूको जग्गा वा सार्वजनिक जग्गा च्यापेर घर बनाउने मनोविज्ञान अधिकांशमा देखिन्छ ।

घर बनिसकेपछि कसैले भत्काउँदैन भन्ने सोचाइ हुन्छ । चौथो, खेतको आली बनाउने बेला । खासगरी असारे खेतीका बेला खेतको आली बनाइन्छ । त्यतिबेला कतिपयले अरूको आली काटेर आफ्नो खेतको जमिन बढाउन खोज्छन् । मैले बाल्यकालमा गाउँमा यस्ता अनेक झगडा देखेकी थिएँ । अरूले हाम्रो खेतको आली काटेको आमा सुनाउनुहुन्थ्यो । त्यही विषयलाई लिएर कहिलेकाहीं पञ्चैती गर्नुपथ्र्यो ।

गाउँघरमा जग्गासम्बन्धी झगडा पञ्चैतीबाट सल्टाइन्छ तर यसले कहिलेकाहीं सामान्य कुटपिटदेखि हत्यासम्मको रूप लिने गर्छ । मधेसमा अधिकांश मुद्दा जग्गाकै कारण दर्ता हुने गर्छ । पुस्तौंपुस्ता जमिनको मुद्दा लड्दै आएका व्यक्ति र परिवार छन् । कतिपय भने यस्ता झगडामा सुल्झाउनुभन्दा चर्काउनतिर लागेका हुन्छन् । प्राय: बलियो पक्षलाई उचाल्ने र कमजोरलाई दबाउने गरिन्छ । पछिल्लो समय विदेश र सहरमा बसेकाको जग्गा थिचोमिचो गर्नेको संख्या बढ्दो छ । यस्ता झगडामा कतिपय वकिल, अमिन र राजनीतिकर्मीले मलजल गरेको पाइन्छ ।

जग्गासम्बन्धी झगडाले आर्थिक, सामाजिक र मनोवैज्ञानिक रूपमा असर गरेको हुन्छ । यस्ताखाले कलह भएको परिवारमा दिनदिनै झगडा हुन्छ । अदालतमा मुद्दा परेको छ भने निरन्तर पैसा खर्च हुन्छ । मानसिक तनाव थपिन्छ । कतिपयको परिवारमा बालबालिकाको पढाइ–लेखाइमा असर परेको छ । सामान्य विवादबाट सुरु हुने यस्ता झगडा पछि प्रतिष्ठाको विषय बन्दारहेछन् ।

जग्गासम्बन्धी यस्ता विवादबारे मधेसी समाजमा बहस हुनु जरुरी छ । यस्ता समस्यालाई सकेसम्म गाउँमै टुंग्याउने संयन्त्र बनाउनुपर्छ । स्थानीय सरकार र जनप्रतिनिधिहरू यसमा गम्भीर हुनुपर्छ । स्थानीय तहले सल्टाउन नसक्ने झगडा मात्र माथिल्लो तहमा कानुनी उपचारका लागि जाने अवस्था हुनुपर्छ । स्थानीय राजनीतिकर्मी र समाजका अगुवाले सकारात्मक र रचनात्मक भूमिका निर्वाह गर्नुपर्छ ।

प्रकाशित : भाद्र १७, २०७५ ०८:२३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×