१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

पुरुष सापेक्ष संस्कार 

प्रमोद मिश्र

काठमाडौँ — कात्तिक ८ गते राति सिकागो (अमेरिका) मा सुत्नै लाग्दा मेरो मोबाइल फोन बज्यो । विराटनगरमा जाग्राम बसेकी मेरी श्रीमती डाँको छाडेर रुन थालिन् । किन रोएको भनेर अलि झर्किएँ तर फेरि आमाहरूलाई त केही भएन भनेर आत्तिएँ । ससुरालीमा ९१ र ८२ वर्षीया दुई जना सासूआमा हुनुहुन्छ ।

पुरुष सापेक्ष संस्कार 

९४ वर्षीया फुपूसासू विराटनगरमा बितेको खबर श्रीमतीले फोनमा दिँदा म दिउँसो अफिसमा थिएँ । ‘फुपू जानुभो’ भन्ने खबरले एकछिन भावविह्वल भएपछि थामिँदै भनेको थिएँ, ‘राम्रै भयो, शारीरिक पीडाबाट मुक्त हुनुभो ।’ जाने बेला उच्छ्वासले ‘राधाकृष्ण’ भनेर प्राण त्याग गर्नुभएछ । कुनै पाप गर्नुभएको रहेछ भने पनि लोक भनाइअनुसार प्राण त्याग्ने बेलाको भगवद् नामोच्चारणले सिधै स्वर्ग जानुहोला भन्ने मनमा भयो तर अहिले यस्तो जोडको रोदन किन भनेर श्रीमतीलाई सोधेँ ।


‘फुपूको किरिया विराटनगरमा गर्न नदिने भए । विराटनगरमै आउनुस् भन्दा नि मान्दैनन् र पहाडको आफ्नै घरमा किरिया बस्छौं भन्छन्,’ उनले भनिन् । मैले कारण सोधेँ । फुपूको घरपट्टिका मानिस काठमाडौंमा र पहाडमा बस्छन् । उनीहरूले आफैं किरिया गर्ने भनेछन् । ‘पण्डित र यहाँ भेला भएको समाजले पनि घरपट्टिकाले त्यसो भनेपछि माइतीको केही चल्दैन, दुई ठाउँमा भाँडो राख्न मिल्दैन भन्छन्,’ श्रीमतीले सुनाइन् । मलाई अलि विस्मय भयो ।


फुपूको जीवन आम नारीको जस्तो भएको भए यो ठिकै हुन्थ्यो । साधारणतया हिन्दु परम्परा र शास्त्रानुसार स्त्रीको विवाहपश्चात् घर, थर र कर्मथलो आफ्नो वैवाहिक घर हुन्छ, अर्थात् पतिको घर । माइतीको वंश र आश्रय त्यागिन्छ अनि पतिको वंश र कुल आफ्नो हुन्छ । हिन्दु समाज पितृसत्तात्मक हो ।

फुपूको विवाह नौ–दस वर्षको उमेरमा ८५ वर्षअघि पूर्वी पहाडको एक कुलीन क्षत्री परिवारमा भएको थियो तर सासूको कहरले बिहेलगत्तै फुपू माइत फर्किनुभयो । त्यसपछि एकाध खेपबाहेक न पति न तिनको परिवारले सोधखोज गरेका थिए । फुपू स्वयंले पनि पतिसँग जाने वा सोधखोज गर्ने वास्ता राख्नुभएन । लोग्ने मर्दा तिनका परिवारले फुपूलाई खबरसम्म गरेनन् । यसलाई अस्वाभाविक पनि मानिएन ।


गर्भेटुहुरी भएकीले होला, तीन वर्ष जेठा दाजुसँगै आँटिली आमाको मायाकै न्यानोमा हुर्किन फुपू माइत फर्कनुभयो । माइतमै कुलीन झर्रा क्षत्री परिवारको बन्धन–अनुशासनमा बसी जवानीका वसन्त र वृद्धावस्थाका बर्खा र हिँउद काट्नुभयो । जिन्दगीभरि दाजु लीलाभक्तको प्रगतिलाई आफ्नो प्रगति र उनको परिवारलाई आफ्नो परिवार ठान्नुभयो । दाजुकै छोराछोरीलाई ज्युज्यान गरी हुर्काउनु, बढाउनुभयो । तीन दशकअघि दाजुको देहान्त भयो ।


दाजुले दिएको जग्गा नागरिकता नभएकाले फुपूका नाममा पास हुन सकेन । एक जना भदाले सीडीओ अफिसमा बेहोरा भन्ने क्रममा फुपूको सानैमा बिहे भएको खुस्काएछन् । त्यसपछि सीडीओले केको नागरिकता दिन्थ्यो † पतिले सनाखत नगरी हुँदैन भन्यो । कहिले कसका नाममा, कहिले कसका नाममा राख्ने क्रममा जग्गा हिनामिना भयो । कालान्तरमा माछामासु छाड्नुभयो र कृष्णमार्गी वैष्णव भई दीक्षा लिनुभयो । फुपूलाई कसैसँग कुनै माग वा गुनासो रहेन । पछिल्लो समय फुपूलाई हाड मक्किने (आस्टियोपरोसिस) रोगले भेटेको थियो ।


श्रीमतीले ‘मलाई साथ दिने कोही छैन’ भनिन् । सालोलाई फोनमा सोधेँ । उनले पनि ‘हाम्रो केही चल्दैन, भिनाजु । तीन जना पण्डित आँगनमा हुनुहुन्छ, उहाँहरू पनि त्यसै भन्नुहुन्छ’ भने । ‘पण्डितजीसँग कुरा गरौं एक फेर, के भन्दारैछन्,’ मैले भनेँ । ‘तुलसा मैयाँबाहेक सबै जना घरपट्टिकाले किरिया गर्न चाहे पाउँछन्’ भन्ने लोकविचार पण्डितले सुनाए ।


‘तर शास्त्रले के भन्छ, पण्डितजी ?’ मैले सोधेँ । ‘शास्त्रअनुसार घरपट्टिकाले चाहे उनीहरूले गर्न पाउँछन्,’ पण्डितले निष्कर्ष सुनाए । ‘विराटनगर आउन पनि नमान्ने, मुखाग्नि पनि नदिने अनि किरिया गर्ने अधिकार तिनीहरूलाई कसरी हुन्छ ?’ मैले तर्क गरेँ ।


‘त्यो त ठिकै हो तर एक जनाबाहेक कोही त्यसो भन्दैनन्, के गर्ने ?’ भनेर पण्डित फोनबाट हटे । सालाले पनि स्वर ठूलो पारे र दिदीलाई चुप लाग्न आदेश दिए, ‘अमेरिकाबाट आएर अन्तिम बेला फुपूको सेवा गर्न पाउनुभो, अरू के चाहियो ? छाड्नुस् यी सब लफडा ।’


दसैंको षष्ठीका दिन विराटनगर पुग्दा फुपूलाई अर्धबेहोसी अवस्थामा भेट्यौं । सालाले न भरपर्दो स्वास्थ्यकर्मी भेटिराखेका थिए न फुपूको सरसफाइ गर्ने दक्ष महिला वा पुरुष । ओछ्यानमा सुतेको सुतेकैले गर्दा दुवैपट्टि बेडसोर (ओछ्यान घाउ) भइसकेको थियो ।


फुपूको असह्य पीडालाई घटाउन सकिन्छ कि भनेर लगत्तै म अस्पतालतर्फ सिटी रिक्सामा दौडिएँ । जान त एक दिन सबैलाई छ तर जीवनका अन्तिम दिनहरूमा कष्ट र पीडा हुनु हुन्न भन्ने मेरो मान्यता छ । अस्पतालमा जेरियाट्रिक (वृद्धावस्थासम्बन्धी चिकित्सा) को डाक्टर नपाइने रहेछ । घरमा गएर नर्सले इलाज गर्ने व्यवस्था पनि रहेनछ ।


फुपूको असह्य कष्ट कम गर्न सकिन्छ कि भनेर डाक्टरलाई सोध्दा तिनले सादा कागजमा दुई थरी गोली लेखिदिए । त्यही घोलेर खुवाउँदा फुपूलाई केही अथवा भयो । भोलिपल्ट सरसफाइका बाबजुद घाउबाट गन्ध आउन थाल्यो । ड्रेसिङ गर्ने मानिस ल्याउन सिटी रिक्सामा खुर्र शिक्षण अस्पताल कुदेँ ।


फूलपातीका दिन एमर्जेन्सीबाहेक सबै बन्द । बिन्तीभाउ गरेपछि एक जना राय थरका स्वास्थ्यकर्मी घर जान तयार भए । त्यस दिन र भोलिपल्ट राम्रो ड्रेसिङ गरिदिए । पर्सिपल्टदेखि न आए न फोन उठाए ।

मेरी फुपूसासूबारे यति बेलीविस्तार लाउन आवश्यक थिएन । सम्भ्रान्त क्षत्री परिवारकी एक वयोवृद्ध चेलीको सामाजिक, कर्मकाण्डी, कानुनी र जीवनका अन्तिम दिनहरूको अवस्था अहिले पनि यस्तो हुँदोरहेछ भन्ने बुझाउन चित्रण गरेको हुँ । उनको यस्तो स्थिति भयो भने साधनविहीन अरू नारीको के अवस्था हुँदो हो !

मोरङ नेपालका विकसित जिल्लामा पर्छ । विराटनगर काठमाडांैपछिको ठूलो मात्र होइन, सबैभन्दा जागरुक, सचेत र धेरै मन्त्री, प्रधानमन्त्री उत्पादन गरेको सहर हो । त्यहाँ स्वास्थ्य सेवा, सामाजिक न्याय र धार्मिक रूढिको अवस्था यस्तो छ भने देशका अविकसित, पिछडिएका गाउँठाउँमा कस्तो होला ? र, पञ्चायती आधुनिक सामन्तवाद, बहुदलीय प्रजातन्त्र र सामाजिक अनि आर्थिक अधिकारका लागि लडिएको दसवर्षे माओवादी ‘जनयुद्ध’ पछिको गणतन्त्रमा पनि महिलाको पुरुष निरपेक्ष कानुनी अधिकार स्थापित हुन सकेको छैन ।


पाँच दिनपछि टीका आशीर्वाद थापी श्रीमतीलाई फुपूको स्याहारको मोर्चा सम्हाल्न छाडेर म सिकागो फर्कें । त्यसको तीन दिनमै फुपूले आफ्नो कष्टकारी काया त्याग्नुभयो । भोलिपल्ट सालालाई फोन गरेँ । ‘चतरा जाने मान्छे हुँदैनन् भनेको त लोग्नेमान्छे, स्वास्नीमान्छे सबै गए । दिदी पनि मलामी जानुभो,’ उनले सुनाए, ‘आफ्नो श्राद्ध फुपूले उहिल्यै पण्डित बोलाएर गराइसक्नुभएको थाहा पाएपछि दिदी शान्त हुनुभो ।’

जीवन छँदै श्राद्ध गरेको मलाई थाहा थिएन ।


‘फुपू त एकैछिनमा खरानी हुनुभो । सजिलै गरी जानुभो । बाँच्ता पनि कसैलाई दु:ख दिनुभएन, मर्दा पनि त्यस्तै । दसैं सिद्धिएपछि र तिहार सुरु हुनुअघि कुनै बाधा अड्चन नगराउने गरी जानुभो,’ सालाको बोलीमा सन्तोष र शान्ति थियो ।


‘धर्मात्मा हुनुहुँदोरहेछ । स्वर्गमा पनि कसैसँग केही माग नगरी, कसैलाई दु:ख नदिई बस्नुहुनेछ भन्ने मलाई पक्का विश्वास छ,’ मैले भनेँ अनि मनमनै भनेँ, ‘अरू फुपूहरूको जीवन सजिलो बनाउन यस लोकमा भने हाम्रो न्याय र अधिकारको माग कम हुनु हुँदैन ।’


मिश्र संयुक्त राज्य अमेरिकास्थित लुइस विश्वविद्यालयमा अंग्रेजीका विभागाध्यक्ष हुन् ।

प्रकाशित : कार्तिक २५, २०७५ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?