कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

नाम प्रगतिशील, संस्कार पुरातन

मल्ल के सुन्दर

काठमाडौँ — दसैं यसपटक अत्यधिक चर्चाको विषय बन्यो । विशेषत: टीकाका सन्दर्भमा आलोचना व्यापक र बोझिलो थियो । यो कुनै पर्व वा व्यक्ति विशेषसँग मात्र सम्बन्धित मुद्दा थिएन ।

नाम प्रगतिशील, संस्कार पुरातन

यो नयाँ संविधान, शासन व्यवस्था, संरचनामा नौला शासकले अनुसरण गर्दै गरेका विधि, व्यवहार र संस्कार परिवर्तित राजनीतिक मूल्य, मान्यता र मर्मअनुसार भए भएनन् भन्ने विषयको गम्भीर सैद्धान्तिक प्रश्न हो ।

आआफ्नो आस्था र परम्पराअनुसार कुनै चाडपर्वमा रमाउनु वा संलग्न हुनु मानिसको नैसर्गिक कुरा हो । त्यसमा आलोचना वा विवादको औचित्य पुष्टि गर्न सकिन्न । नेपालजस्तो विविधता र सांस्कृतिक बहुलता भएको मुलुकमा आआफ्नो आस्था र परम्पराअनुसार फरक फरक प्रसंग र अवसरमा पर्व मनाउनु स्वाभाविक हो । राज्यले नागरिकको सांस्कृतिक आस्था र प्रथाजन्य अधिकार सुरक्षाको समेत प्रत्याभूत गर्छ ।

सामन्ती राजतन्त्र छैन, एकल संस्कृति र धर्मका पक्षमा पनि संविधान रहेन । संविधानले ‘विभिन्न जात, जाति, धर्म, भाषा, संस्कृति र सम्प्रदायबीच पारस्परिक सद्भाव, सहिष्णुता र ऐक्यबद्धता कायम गरेर राष्ट्रिय एकता कायम’ गर्ने नीति तय गरेको छ । विविधतामा एकताका लागि यो उपयुक्त उपाय हो । संघीय संरचना र लोकतान्त्रिक गणतन्त्रसहित मुलुकले यसको अनुभूति दिलाउन सकोस् भन्ने नागरिकको चाहना हो ।

नयाँ शासन सत्ता, प्रणाली, संविधानमा नागरिकले संस्कृति, संस्कार, चाड, पर्व आदिका सन्दर्भमा नौलो पद्धति आरम्भको अपेक्षा गर्नु स्वाभाविक हो । ‘लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही राष्ट्र निर्माण गर्ने’ भन्ने संविधानद्वारा परिलक्षित गन्तव्यसम्म पुग्न त्यहीअनुरूप राज्यसत्ताको संस्कार, संस्कृति र आचरण तथा आस्थामा रूपान्तरण खाँचो हुन्छ । हिजो हिन्दु शासक थिए, सामन्ती आस्थाअनुसार उनी जुन बाटो लाग्थे, त्यो एक मात्र उत्तम थियो । उनलाई पथप्रदर्शक मानेर राज्य, राज्यभित्रका सबै प्रजाजन पिछलग्गु बन्नुपथ्र्यो, अन्यथा राजद्रोह ठहथ्र्यो । संस्कृति, संस्कार, परम्परा, पर्व सबैमा त्यसैको कालो छाया पर्‍यो । राजतन्त्र अन्त्य हुनुको एउटा कारण त्यससँग गाँसिएको एकल संस्कृति, धर्म, भाषाको संकीर्ण साम्प्रदायिक प्रचलन थियो ।

अभिजात्य र अन्य, सम्पन्न र विपन्न, हुने र नहुने, माथिल्लो र तल्लो, ठूला र साना जातजाति, वर्गका रूढि मान्यतामा प्रचलित हाम्रा संस्कार, संस्कृति, रीति, परम्परा, चाडपर्व सामन्ती अवशेष हुन्, तिनको जरैदेखि रूपान्तरण गरिनुपर्छ भनेर लामो समयदेखि नेपाली समाजमा चेतना छर्नेहरूमा वाम विचारक जनपक्षीय अभियन्ता थिए । तिनै खेमाका मुखियाहरू सत्ताको बागडोरमा रहँदा लोकजनले सामन्ती प्रचलनमा रहेका संस्कार, संस्कृति, रीतिमा आमूल परिवर्तनका साथै जनआन्दोलन तथा लोकतन्त्रको मूल्य, मान्यता रमर्मअनुसारको नौलो अभ्यास आरम्भ भएको हेर्न चाहन्छ ।

‘समाजवादतर्फ उन्मुख’ नौलो व्यवस्था भनिसकेपछि त्यसलाई राज्यसत्ताको विधि, व्यवहार र विचारबाट चरितार्थ गराउनुपर्छ । नयाँ संविधान जारी भए यता सत्तामा नयाँ शक्ति र व्यक्तिको आरोहण भए पश्चात विशेषत: संस्कृति, संस्कार, रिति, परम्परा, चाडपर्वका सन्दर्भमा आचरण संविधानद्वारा परिकल्पना गरिएअनुसार ‘समाजवाद’ अनुकूल रह्यो भन्ने पुष्टि हुँदैन । व्यवहार, बोली र विचारमा हिजैको सामन्ती शैली पुनरावृत्ति हुँदै गएको छ । यसपटकको दसैं र टीकामा व्यापक आलोचना हुनुको मूल कारण त्यही हो ।

सांस्कृतिक फाँटमा अब राज्य र तिनको नेतृत्वपंक्तिमा रहेका व्यक्ति तथा वर्गले अंगीकार गर्ने नीति र व्यवहार कस्तो हुनुपर्ने हो, राष्ट्रियस्तरमै बहस र छलफल गर्ने बेला भएको छ । चाडपर्व, संस्कार, संस्कृति र रीति लोकाचारका क्षण मात्र होइनन्, तिनका पछाडि लोकआख्यान छन्, मान्यता र विश्वास छन् । कतिपय चाडपर्व र रीति अवास्तविक, अभौतिक, अवैज्ञानिक, अन्धपरम्परामा आधारित छन् । अप्रत्यक्ष रूपमा हिजैको सामन्ती व्यवहार र प्रचलनलाई पृष्ठपोषण गराउनेखालका छन् ।

यसले समाजमा विभेद, सामाजिक उत्पीडन, अन्धविश्वासलाई निरन्तरता दिन प्रोत्साहित गर्छ । पूर्वजन्म, पुनर्जन्मदेखि कर्मको लेखीमा भर पर्नुपर्ने भाग्यवादी मान्यता अनि अलौकिक प्रसंगमा निर्भर गराउने विधि र व्यवहार छन् हाम्रो समाजमा । पुरोहितवादको परलोक उन्मुख आख्यानका आधारमा सन्त्रास सिर्जना गर्दै मान्छेलाई निरीह, असहाय, अक्षम जीवनयापन गर्न विवश पार्ने कतिपय कुटिलता पनि छन् हाम्रा संस्कृति संस्कारमा ।

संस्कृति, संस्कार, विधि र परम्पराका नाउँमा भावुकता र साम्प्रदायिक संकीर्णता उचित होइन । नेपाललाई अब चेतनाको नौलो गोरेटोमा डोर्‍याउने हो भने युगदेखि संस्कृति, परम्परा र आस्थाका रूपमा हामीलाई आजसम्म प्रगतिको बाटोमा लम्कन अवरोध केले गरेको छ, निरपेक्ष ढंगले निधो गरिनुपर्छ । कुन कुन संस्कृति परम्परा, चाडपर्व राज्य तहबाट प्रवद्र्धन गरिनुपर्ने हो र कुन कुन त्याज्य छन्, पहिचान हुनुपर्छ । संस्कृति, सम्पदा, पर्व, परम्परा तथा रीतिका सन्दर्भमा स्पष्ट राष्ट्रिय नीति तय गरिनुपर्छ । राष्ट्रको समृद्धि र सम्पन्नता वा विकास र प्रगति मापन केवल भौतिक तथा आर्थिक स्थितिको सूचाकांकबाट हुँदैन । राष्ट्रिय सीमाभित्रका नागरिकको संस्कार तथा सांस्कृतिक चेतनाको स्तर वृद्धि पनि समृद्ध र विकसित राष्ट्रबोधका लागि अनिवार्य हुन्छ ।

राजदरबारका सदस्यहरूले हिजो राजतन्त्र छँदा जेजसो गर्थे, त्यसैको अनुकरण राष्ट्रप्रमुखदेखि कार्यकारी प्रमुखसम्मले गरिरहेका छन् । विभिन्न मेलापर्वमा राजकीय शैलीमा भौतारिने क्रम जारी छ । राजा रानीकै शैलीमा मठ, मन्दिर पुग्न मरिहत्ते छ । शाही औकात देखाउने गरी मेला, पर्व, जात्रा र चाडमा शुभकामना वक्तव्य ओइरिएको पाइन्छ । राष्ट्रपति होस् वा प्रधानमन्त्री, यसप्रकारको व्यवहार निजात्मक मोह हो ।

यो संस्कृति, संस्कार, पर्व, परम्पराका सम्बन्धमा नीतिगत अस्पष्टता र सैद्धान्तिक दिवालियापनभन्दा केही होइन । वैज्ञानिक द्वन्द्वात्मक भौतिवाद र जनसंस्कृतिको जपनामा जुग बिताइएकाहरूको नेतृत्वमा रहेको सत्ता जनसंस्कृति, जनसंस्कार र जनवादी परम्परा विकासमा किन चुक्दै छ ? यो सार्वजनिक प्रश्न हो ।

गणतन्त्र र संघीय नेपालको नयाँ संस्कृति, संस्कार र परम्पराको खाका के हो ? श्रीपेच नगुथेका राजारानीको भ्रममा छन्, हाम्रा राजनेताहरू । यो अग्रगामी परिवर्तनकारी नौलो समाज स्थापनाको चाहना राखेका नेपालीजनका लागि शुभ संकेत होइन ।

प्रकाशित : कार्तिक १८, २०७५ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?