कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

हिंसालाई पुँजीवादी घुम्टो

हाम्रा छोरी निर्बाध रूपमा गन्तव्यमा पुग्न पाउने कहिले ? हामी ढुक्कसँग निदाउने रात, चयनसँग बिताउने दिन आउने कहिले ?
डा. साधना प्रतीक्षा

काठमाडौँ — हातमा बलिरहेको मैनबत्तीले साँझको अँध्यारो चिर्दै म अघि बढिरहेकी थिएँ । न्यायका लागि आयोजित अनुष्ठानमा उज्यालो फैलाउन बालिने हजारौं मैनबत्तीसँगै आफ्नो मैनबत्ती समावेश गर्न मलाई हतारो थियो ।

हिंसालाई पुँजीवादी घुम्टो

मेरा पाइला अनायास कुनै कठोर वस्तुमा ठोक्किन्छन् । चारैतिरबाट डरलाग्दा मुकुन्डोधारीहरूले मलाई घेरा हाल्छन् । एउटाले मेरो हातको मैनबत्ती खोसेर निभाउँदै पर मिल्क्याउँछ र भन्छ, ‘हाम्रा सामु यस्ता कमजोर मैनबत्ती टिक्दैनन् ।’ सबैजना अट्टाहास गर्न थाल्छन् । ‘हामी माथिल्लो पहुँचका । हामीलाई सबैले चिन्छन् र पनि कसैले चिन्न चाहँदैनन् । हामी नयाँ–नयाँ मुकुन्डोभित्र हुन्छौं । तिमी जस्ता आइमाईले बालेका यस्ता मैनका राँकाले हाम्रो मुकुन्डो उतार्न सक्दैन बुझ्यौ !’


उसको भनाइ नसकिंँदै भयानक आँधी आउँछ । त्यसको गडगडाहट र उनीहरूको अट्टाहास विस्तारै चित्कारमा परिणत हुन्छ । टाढाबाट कुनै बालिकाको स्वर सुनिन्छ, ‘आमा, मैले न्याय पाउँदिन ?’ मेरो मुटु चसक्क चस्कन्छ । आवाज आएतिर हेर्छु, अँध्यारो मात्र छ । ‘आमा मलाई बचाऊ ! म बाँच्न चाहन्छु ! म खेल्न चाहन्छु । हुर्केर, बढेर ठूलो मान्छे बन्न चाहन्छु ।’

मलाई आफैभित्रबाट कोही बोलेजस्तो लाग्छ, ‘आमा मलाई नजन्माऊ । यस्तो पीडादायी मृत्युभन्दा नजन्मनु जाती ।’ असंख्य छोरीको क्रन्दनले मलाई भाउन्न होला जस्तो हुन्छ र म बेसरी चिच्याउँछु, ‘छोरी !’ ‘ममी किन यसरी कराउनुभएको ? म यहीं छु ।’ आँखा खोल्छु, मुटु जोरले ढुकढुक गरिरहेको र खलखली पसिना आइरहेको थियो । छोरीको निर्दोष अनुहारमा ती असंख्य छोरीलाई देख्छु, जो कोपिलामै क्रूर पञ्जाको सिकार भएर मिचिइरहेछन् । छोरीलाई चपक्क अँगालो हालेर म अघिको भयानक सपना बिर्सने प्रयास गर्छु ।


अचेल मलाई यस्तै सपनाले सताउने गरेका छन् । प्राय: यस्तै सपना देख्छु, डराउँदै ब्युँझन्छु, अनि निकै बेरसम्म निदाउन सक्दिन । बिहान छोरी स्कुल गएदेखि साँझ ऊ घर नआएसम्म चयनले बस्न सक्दिन । यो मेरो मात्र होइन, असंख्य आमाको वर्तमान हो । दिनहँुजसो छोरीहरू दोहोरो मरिरहेका छन् ! यौनको अर्थै नबुझेका उनीहरू पहिला यौनहिंसाले मारिन्छन्, त्यसपछि आफ्नो अपराध लुकाउन उनीहरूको हत्या गरिन्छ । उनीहरूका हत्यारा खुलेआम छाती फुलाएर हिँड्छन् । तर राज्यको सुरक्षा संयन्त्र उनीहरूसमक्ष पुग्न सक्दैन । उनीहरूका लागि दण्ड–सजायको व्यवस्था छ, तर उनीहरू पुलिस प्रशासनको हातै लाग्दैनन्, सजाय परकै कुरा हो । आज हरेक छोरीकी आमाको अनुहारमा मौन प्रश्न सल्बलाएको देखिन्छ– हाम्रा छोरी निर्वाध रूपमा गन्तव्यमा पुग्न पाउने कहिले ? हामी ढुक्कसँग निदाउने रात अनि चयनसँग बिताउने दिन आउने कहिले ?


प्राय: विद्यालयमा अतिरिक्त क्रियाकलाप अन्तर्गत छात्राहरूलाई नाचगान, सौन्दर्य–प्रसाधन, फेसन सो, मोडलिङ आदि सिकाइन्छ । अभिभावक आफ्ना दूधे नानीहरूलाई ‘स्लिभलेस’ फ्रकमा सजाइ गुडियाजस्ता बनाएर स्कुल पठाउँछन् । ‘छोरीमान्छे राम्री हुनुपर्छ’ भन्ने यस्तै सामाजिक मान्यताले उनीहरूलाई कमजोर बनाउने गर्छ ।


एकातिर निर्मलाको क्रूर हत्याको यति लामो समय भैसक्दा अनि सिङ्गो देश उनको न्यायका लागि आन्दोलित भैरहँदा पनि राज्यको सुरक्षा संयन्त्रले अपराधीको सुइँंको पाउनसकेको छैन । अर्कातिर सरकारका गृहमन्त्री ‘बलात्कारको मुख्य कारण पुँजीवाद हो’ भन्दै सैद्धान्तिक व्याख्यान गर्न थाल्छन् । उनले यसरी कारण पहिल्याउनु अस्वाभाविक होइन । तर कारण यो मात्र नभएर अनेक हुन सक्छन् । यस्ता कारण खोज्ने, तिनको सैद्धान्तिक व्याख्या गर्दै समाधानको उपाय सुझाउने काम सम्बन्धित विज्ञहरूको हो । राज्यले विज्ञ परिचालन गरी अध्ययन, अनुसन्धान गराई तिनको कारण तथा समाधान दुवै खोज्नुपर्छ । सरकार र मन्त्रीहरूको काम सैद्धान्तिक व्याख्या गर्ने होइन, शान्ति सुरक्षा कायम गर्नु, हरेक नागरिकको बाँच्न पाउने अधिकार सुनिश्चित गर्नु, अपराधी पत्ता लगाउनु, पीडकलाई दण्ड–सजाय तथा पीडितलाई न्याय दिनु हो । खै यसमा राज्यको सक्षमता ? हत्या, हिंसा, बलात्कारजस्ता घटनालाई पुँजीवादी घुम्टोले कतिञ्जेल ढाकिरहने ?


पुँजीवादी संस्कृतिले महिलालाई वस्तुकरण गरेको यथार्थ नकार्न सकिँदैन । यो चिन्ताको विषय पनि हो । तर सरकारले पुँजीवादको प्रभाव न्युन गर्न के–कस्ता योजना तय गरेको छ त ? देशको बिगँ्रंदो अर्थतन्त्र, बेरोजगारी, युवा पलायन, बढ्दो साइबर संस्कृति तथा तत्जन्य विकृति आदिजस्ता समस्याको समाधान खोजिएको खै ? पुँजीवादी प्रभावको न्युनीकरणका लागि देशभित्रका स्रोत–साधन तथा जनशक्ति उपयोग गरी आधारभूत आवश्यकतामा आत्मनिर्भर हुन सक्नुपर्छ । जनताका न्युनतम आवश्यकता परिपूर्ति गर्न सियोदेखि पिठोसम्म आयात गर्नुपर्ने मुलुकमा पुँजीवादी प्रभावको सैद्धान्तिक व्याख्या गर्ने गृहमन्त्रीले पुँजीवादी प्रभावलाई निस्तेज गर्न लागुपदार्थ, मदिरा, अश्लील तथा यौन उत्तेजक सामग्रीको सहज उपलब्धता तथा तिनको विज्ञापनमा भैरहेको महिलाको प्रयोग आदिमाथि नियन्त्रणका लागि ठोस कार्यक्रम प्रस्तुत गरेको खै ? जबकि यौन हिंसाजन्य घटनामा ती पक्षहरू बढी जिम्मेवार रहेको तथ्य सार्वजनिक भैसकेको छ ।


दुई तिहाइको बलियो सरकार अपराधीलाई चुनौती दिन सक्दैन, कालाबजारीसँग जुध्न सक्दैन, व्यापारी–व्यावसायीको घोषित–अघोषित सिन्डिकेट तोड्न सक्दैन ! पर्वको मुखमा महङ्गी बढेको मूकदर्शक भएर हेर्छ ! देशमा आमूल परिवर्तन गर्न आवश्यक पर्दा कानुनै संशोधन गर्नसक्ने क्षमता भएको यो सरकार अपराधी, कालाबजारी, घुसखोर, तस्कर आदिसँग किन डराउँछ ?


अपराधी पत्ता लगाउन नसक्ने राज्यबाट जनताले के आशा गर्ने ? नागरिकले आफू सुरक्षित भएको अनुभूति कसरी गर्ने ? निर्मला जस्ता अबोध बाला लुटिइरहनु, तर राज्यबाट सहानुभूति मात्र पाइरहनुले अपराधीको मनोबल बढाउँछ । बालिका तथा किशोरी यौनहिंसाका सिकार भइरहेका छन् । यौन हिंसाजन्य अपराधमा संलग्न अपराधीलाई दण्डित गर्न कति कठिन रहेछ भन्ने कुरा निर्मला प्रकरणले देखाएको छ । यस्ता अपराध न्युनीकरणका उपाय प्रभावकारी हुने सन्दर्भमा हाल किशोरीहरूलाई दिइन थालिएको आत्मरक्षा प्रशिक्षण एउटा सकारात्मक पहल हो । अब प्रत्येक विद्यालयले छात्रालाई यौन हिंसाप्रतिको सचेतता र प्रतिरक्षा सिकाउनुपर्छ ।


यौन हिंसाजस्तो सामाजिक अपराधलाई महिलाको मात्र समस्या ठानेर महिलाले नै जुलुस निकाल्नुपर्ने अवस्था, बलात्कारलाई महिलाको अस्मितासँग जोडेर हेर्ने सामाजिक दृष्टिकोण, महिलालाई यौनका रूपमा मात्र हेर्ने पुरुष मानसिकता आदिमा परिवर्तन नआएसम्म यौनहिंसा महिलाका लागि शारीरिकमात्र नभएर मानसिक उत्पीडन बनिरहनेछ । बलात्कार हुनु नारीको अस्मिता लुटिनु होइन, ऊमाथि यौनहिंसा हुनु हो । हरेक हिंसापीडित महिलासँग उसको परिवार तथा सम्बन्धभित्रका पुरुष पीडित भएका हुन्छन् । यसलाई महिलाको मात्र नभएर सामाजिक समस्याका रूपमा लिइनुपर्छ । निर्मलामाथि भएको अपराध उसको परिवारको मात्र होइन, क्षेत्रविशेषको मात्र होइन, कुनै संघ–संस्था, अधिकारकर्मी–महिला तथा दलविशेषको समस्या पनि होइन । यो सामूहिक समस्या हो । तमाम छोरीले निर्भयतापूर्वक बाँच्न पाउने अधिकारको माग हो । राज्यबाट न्याय हराएको छैन भने निर्मलाको अपराधीले सजाय पाउनैपर्छ र हामी छोरीका आमा ढुक्कसँग निदाउने समय आउनुपर्छ ।

प्रकाशित : आश्विन १६, २०७५ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?