१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

माकुरी जाल

धेरै किरा खाइदिएर माकुराले बालीनाली जोगाइदिएको छ । रेशम खेतीझैँ माकुरा खेती गर्न सकिएला कि भनेर अध्ययन हुँदै छ ।
रामचन्द्र अधिकारी

काठमाडौँ — माकुरीको जाल निकै शक्तिशाली हुन्छ । मायाप्रेमले यसलाई आदर्श सामग्री मानेको छ । के माकुरीको जालो बलियो होला ? वैज्ञानिक पनि विश्वस्त भएका छन्– माकुरीको जाल निकै बलियो हुन्छ । उत्तिकै ब्यास भएको स्टीलभन्दा जालोको त्यान्द्रो दह्रो हुन्छ ।

माकुरी जाल

माकुरीले जालो किन बुन्छ ? माकुरालाई फँसाउन कि आहारा किरा पँmसाउन ? कि अरू कुनै प्रयोजन छ ? हुन त भाले र पोथी दुबै जालो बनाएर बस्ने हुन् । किरालाई आकर्षित गरी फँसाउन र खाएर भोक मेटाउन जाल बनाएका हुन्छन् ।

तर माकुरी (पोथी माकुरा) ले भालेलाई फँसाउन पनि जाल थापेकी हुन्छे । माकुरीको जाल कलात्मक पनि हुन्छ । भाले डुल्दै आउँदा आफ्नै जालोलाई मनपराओस् र आफ्नैमा फँसाउन पाइयोस् भनेर पोथीले आकर्षक जालो बनाएकी हुन्छे । भाले घुम्ने क्रममा सबैभन्दा मनपरेको, राम्रो जालोको छेउमा जान्छ । अनि जालो हल्लाउँछ । पोथीले मनपर्दो भाले रहेछ भने स्वागत गर्छे, अनि तिनीहरूको सहबास हुन्छ । राम्रो जालमा फँसेको भाले यौनकर्म सकिने बित्तिकै जाल छाडी भागेन भने पोथीले उसको ज्यानै लिन्छे । ‘माकुरीको जालमा फँस्यो’ त्यसै भनिएको होइन । भालेले अर्को चलाखी भने गर्छ । यौनकर्म सकेको कति पनि समय नबित्तै आफ्नो जालो निकाल्छ र पोथीको यौन अंग टालिदिन्छ, ताकि अरूसँग उसको सम्पर्क नहोस् ।


खानेकुरा पासोमा पार्न, आफू शत्रुबाट सुरक्षित रहन, टाढासम्म हावामा तैरिएर पार गर्न पनि माकुरालाई जालो चाहिएको छ । डार्बिन बार्क स्पाइडर भनिने एक प्रकारको माकुरोले ८० फिट फराकिलो नदीमाथि जालोको पुल बनाएर वारपार गरिरहेको उनै वैज्ञानिक चाल्र्स डार्बिनले अनुसन्धानका क्रममा भेटेका थिए भन्ने शास्त्रहरूमा उल्लेख छ ।


माकुराको शरीरलाई धागो वा जालोको कारखाना भन्ने गरिन्छ । जीउभित्र भएको ग्रन्थिबाट अथाह मात्रामा जालो बुन्ने धागो निस्किन्छ । सुरुमा निस्किरहँदा तरल हुन्छ, हावाको सम्पर्कमा आउने बित्तिकै ठोस रूप लिइहाल्छ । धागो (सिल्क) निकाल्ने पेटको पछिल्लो भागमा दुईदेखि छवटा स्पिनेरेट्स हुन्छन् । माकुराले दिनका दिन जालो फेरिरहेका हुन्छन्, उही ठाउँमा भए पनि । पुरानो जालोलाई डल्लो पारेर बेर्छन्, अनि खान्छन् पनि । जालोमा प्रशस्त प्रोटिन पाइने भएकाले खान्कीको आवश्यकता पनि पूरा हुन्छ ।


माकुराको जाल प्रजातिपिच्छे फरक हुन्छ । विभिन्न आकार–प्रकार र रंगका जाल हुन्छन् । साथै घामपानीबाट जोगाउनलाई अनेक रसायन प्रयोग गरेको पाइन्छ । बगैँचामा पाइने साधारण माकुराले सात प्रकारको धागो उत्पादन गर्छ, सीप लगाएर जालो बनाउँछ ।


माकुराको जालोका विषयमा धेरै वैज्ञानिकको ध्यान तानियो । यसका अवयवबारे अनुसन्धान भए । उनीहरूले मानव जातिका लागि यो निकै उपयोगी हुने ठहरसमेत गरे । कृत्रिम टेन्डन, लिगामेन्ट, पट्टी, कपडा लगायत गोलीरक्षक कम्ब्याट ड्रेससम्म पनि बनाउन सकिने अनुमान गरिएको छ । जालोको कृत्रिम उत्पादन गर्न सकिएको छैन । रेशम खेती गरेझैँ माकुरा खेती गर्न सकिएला कि भनेर अध्ययन भइरहेको छ । यो जीवबाट सोझै आर्थिक फाइदा उठाउन सकिएला कि भनेर अनुसन्धाता लागिपरेका छन् । माकुराको डीएनए बाख्रामा रोपिदिँदा बाख्राको दूधबाट सिल्क वा धागो उत्पादन हुन्छ भन्ने परिकल्पनामा आधारित भएर विभिन्न स्थानमा प्रयोगात्मक अनुसन्धान भइरहेका छन् । इकोली ब्याक्टेरियामा पनि परीक्षण गरिँदैछ । यी अनुसन्धानको परिणाम सकारात्मक आए इकोनोमिक जुलोजीमा क्रान्ति आउनेछ ।


आथ्र्राेपोडा वर्गको एराक्निडा कक्षामा पर्ने माकुराका आठवटा खुट्टा हुन्छन् । हिँड्दा पालैपालो चारवटाले मात्र टेकेको हुन्छ । संसारमा लगभग ४० हजार प्रजातिका माकुरा रहेको अनुमान छ । जुज प्रिन्ट जर्नल, २००७ फेब्रुअरी अंकमा अनुसन्धाता मञ्जु सिलवाल र सञ्जय मोलरले नेपालमा २ सय २२ प्रजातिका माकुरा भएको उल्लेख गरेका
छन् । तीमध्ये १ सय ७६ प्रजाति रैथाने हुन् ।


यो जीव किसानको सारथी हो । यसले धेरै किरालाई खाइदिएर बालीनाली जोगाइदिएको छ । चरा र चमेराले भन्दा बढी किरा माकुराले खान्छ भनेर प्राणीशास्त्रका पुस्तकमा लेखिएको छ । प्रत्येक एक हेक्टर भुइँमा १० लाखवटा माकुरा भेटिन्छन् । यिनीहरूले फूलमा परागसेचन गरिदिने, झारपातलाई कुहाउन सहयोग गरिदिने र स्वच्छ वातावरण सिर्जना गर्ने काम गरिरहेका हुन्छन् ।


एउटा पोथीले तीन हजार वटासम्म अन्डा बोकेर हिँडिरहेको हुन्छ । त्यति नै संख्यामा बच्चा कोरल्छ । कोरलिएका बच्चा स्वतन्त्र रूपमा विचरण गर्न थाल्छन् । यिनीहरूमा भ्रातृत्व र विवेक हुँदैन । मौका मिले एकले अर्कोलाई खाइदिन्छन् । प्रकृतिको मित्रजीव माकुरादेखि मानिस निकै डराउँछन् । विश्वका १० प्रतिशत पुरुष र ५० प्रतिशत महिला माकुरादेखि डराउँछन् भन्ने एउटा अध्ययन प्रतिवेदनले बताएको छ ।


हामीले प्रायश: उस्तै र उत्रै माकुरा देखेका हौँला, तर धेरै साना अर्थात् पेन्सिलको तिखो टुप्पो जत्रादेखि लिएर करिब एक फुटसम्मका पनि हुन्छन् । सबैभन्दा सानो माकुरा पाटु डिघा हो । सबैभन्दा ठूलो थेराफोसा ब्लोन्डी हो । यो ११/१२ इन्च लामो हुन्छ । यसले छेपारा, सर्प, मुसा र चरासमेत खाने गर्छ ।
हुन त सबै माकुराले मानिसलाई छुँदैखेरि एलर्जी गराउने सामान्य असर गरेका हुन्छन् भने कुनै पुरै विषालु हुन्छन् । ब्राजिलियन वान्डरी माकुरोलाई सबैभन्दा विषालु मानिन्छ ।


यसको विषको सानो अंशले मानिसको मृत्यु हुन्छ । दक्षिण अमेरिका र मध्यअमेरिकाको जंगलमा यो माकुरो पाइन्छ । माकुरालाई प्रकृतिको उपहार भने पनि हुन्छ । यसले मानव जगतलाई धेरै लाभ दिएको छ । यसको पहिचान, संरक्षण र व्यवस्थापन जरुरी छ ।


लेखक त्रिवि प्राणीशास्त्र विभाग स्नातकोत्तर क्याम्पस विराटनगरका उपप्राध्यापक हुन् ।

प्रकाशित : आश्विन ९, २०७५ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?