१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

बाघको बढोत्तरी

शिवराज भट्ट

काठमाडौँ — वन तथा वातावरण मन्त्रालयले आइतबार गएको पाँच वर्षमा नेपालमा बाघको संख्या बढेर २३५ पुगेको सार्वजनिक गरेको छ । यसले संरक्षणप्रेमीलाई उत्साहित बनाएको छ । बाघ पारिस्थितिक प्रणालीमा सबैभन्दा माथि रहने जनावर हो । बाघ संरक्षण हुँदा यसका सबै आहारा प्रजाति र बासस्थान समेत जोगिन्छन् ।

बाघको बढोत्तरी

बाघको बढ्दो संख्या संरक्षण क्षेत्रमा नेपालले लामो समयसम्म गरेको अथक प्रयासको विम्ब हो । यसले अझै सुन्दर भविष्य परिकल्पना गर्ने आधार दिएको छ ।

नेपालमा बाघ संरक्षणको इतिहास चितवन राष्ट्रिय निकुञ्जको स्थापनासँग जोडिन्छ । २०३१ सालमा चितवन राष्ट्रिय निकुञ्ज स्थापनासँगै नेपाल सरकार, अमेरिकाको स्मिथसोनियन इन्स्टिच्यूट र डब्लुडब्लुएफको संयुक्त प्रयासमा ‘टाइगर इकोलोजी प्रोजेक्ट’ चितवनमा सुरु गरिएको थियो । परियोजनाको उद्देश्य बाघ र यसका आहारा प्रजातिबारे विस्तृत वैज्ञानिक अनुसन्धान गर्नु थियो । परियोजनाले नेपालमा थुप्रै अन्तर्राष्ट्रिय स्तरका वैज्ञानिक र अब्बल स्तरका वन्यजन्तु प्राविधिकसमेत जन्मायो ।

त्यही परियोजनाले नेपाल र चितवनलाई अन्तर्राष्ट्रिय स्तरमा चिनायो । बाघ सम्बन्धी थुप्रै नयाँ कुुरा बाहिर ल्यायो । एउटा उदाहरण, परियोजना अन्तर्गत २०३१ सालमै प्रथमपल्ट रेडियो कोलर गरिएको पोथी बाघ १२ वर्ष बाँच्यो । त्यस अवधिमा विभिन्न तरिकाले अनुगमन गरियो । उसले चार बेत बच्चा जन्मायो । उसलाई उसैका बच्चाले आफ्नो विचरण क्षेत्रबाट अन्यन्त्र जान बाध्य बनाए । अध्ययन र संरक्षणमा गरेका राम्रा कामका कारण अन्तर्राष्ट्रिय स्तरमा नेपालले पहिचान स्थापित गरिरहेको थियो ।

२०५७ सालमा सार्वजनिक भएको बाघ सम्बन्धी एउटा प्रतिवेदनले नेपालसहित अन्तर्राष्ट्रिय जगतकै ध्यानाकर्षण गरायो । प्रतिवेदन अनुसार बिसौं शताब्दीमा मात्रै संसारमा बाघले विचरण गरिरहेको बासस्थानको ९३ प्रतिशत भूभाग मासियो । बिसौं शताब्दीको सुरुमा करिब एक लाख बाघ भएको अनुमान थियो । त्यो संख्या घटेर १० हजारमा सीमित भयो । प्रतिवेदनले थप भन्यो कि यही क्रम जारी रहे बाघ चाँडै जंगली अवस्थाबाट लोप हुन्छ । यसले विभिन्न राष्ट्र, संरक्षणमा लागेका संघ–संस्था, दातृ संस्था र अनुसन्धानकर्ता सबैलाई चिन्तित तुल्यायो ।

बाघ संरक्षणको यो चुनौतीमा चरणबद्ध छलफल गर्ने नेपाल नै बन्यो । २०६४ सालमा काठमाडौंमा भएको ‘ग्लोबल बाघ फोरम’ बैठकले बाघ संरक्षणका लागि रणनीति तयार गर्ने घोषणा गर्‍यो । २०६५ मा संसारका बाघ संरक्षणमा संलग्न सरकारी प्रतिनिधि, विज्ञ, गैरसरकारी संघ–संस्था र दाताको जमघट ‘ग्लोबल टाइगर वर्कसप’ काठमाडौंमै भयो । त्यसको सुझाव अनुसार थाइल्यान्डमा मन्त्रीस्तरीय र रसियामा राष्ट्र प्रमुखहरूको बैठक भयो । तिनले सन् २०७९ सम्म बाघ दोब्बर गर्ने लगायतका निर्णय गरेका थिए ।

सन् २००९ को गणना अनुसार नेपालमा १२१ वटा बाघ थिए । त्यसलाई सन् २०२२ सम्म दोब्बर अर्थात २५० गर्ने प्रतिबद्धता जनाइएको थियो । प्रतिबद्धता पुरा गर्न नेपालले बासस्थान विस्तार प्रयास गरेको थियो । यस क्रममा बर्दिया राष्ट्रिय निकुञ्जको पूर्वी क्षेत्र समेटेर बाँके राष्ट्रिय निकुञ्ज घोषणा, पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्र विस्तार र नेपाल र भारतका संरक्षित क्षेत्रलाई जोड्ने जैविक मार्गलाई संरक्षित वन बनाउने घोषणा गरियो ।

बाघकै विचरणलाई दृष्टिगत गरेर नेपाल सरकार, डब्लुडब्लुएफ र अन्य साझेदार संस्थाले तयार पारेको तराई भू–परिधि कार्ययोजनामा एकीकृत कार्यक्रम संलग्न गरेर कार्यान्वयन गरियो । राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र वन क्षेत्रको सुरक्षा व्यवस्था ‘रियल टाइम मोनिटोरिङ’ लगायत आधुनिक प्रविधिबाट सबलीकरण गरिएको थियो । अपराध नियन्त्रणका लागि नेपाल प्रहरीको सीआईबीमा वन्यजन्तु हेर्ने छुट्टै पिलर खोलियो ।

बाघ संरक्षणका लागि भनेर नेपाल सरकारले बाघकै लागि छुट्टै वार्षिक बजेट घोषणा गरी बाघ संरक्षणका थप एकीकृत कार्यक्रम सञ्चालन गर्‍यो । यस बीचमा प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय बाघ संरक्षण सम्मयन्वय समिति गठन भयो । स्थानीय तहमा युवा (समुदायमा आधारित चोरीसिकार नियन्त्रण) समिति लगायतका संरचना बने । केन्द्रमा प्रधानमन्त्री नेतृत्वको समिति र गाउँमा युवाको सञ्जाल (पिपुल टु प्राइममिनिस्टर) को संरचनालाई धेरै देशले सराहना गरेका छन् । नेपालले भारत र चीनसँग संरक्षणका लागि सीमा वारपार सम्बन्ध विस्तार गर्‍यो । नियमित छलफल र बैठक भए । २०७१ मा नेपाल र भारतले आआफ्नो देशमा एकैपटक बाघ गणना सुरु गरी संयुक्त रिपोर्ट प्रकाशित गरेका थिए ।

नेपालले गरेका संरक्षण प्रयासका कारण बाघको बासस्थानमा उल्लेख्य सुधार भएको छ । चोरी सिकार धेरै हदसम्म नियन्त्रण भएको छ । फलस्वरूप २०१४ को बाघ गणनामा नेपालमा बाघको संख्या १९८ पुगेको थियो । अहिले हामी बाघको संख्या दोब्बर बनाउने लक्ष्यको संघारमा छौं । बाघ संरक्षणमा नेपालले सफलताका शिखर चुमिरहँदा यसको चोरीसिकार, बाघ–मानव द्वन्द्व र संरक्षण र विकासको सन्तुलन मिलाउनुपर्ने चनौती छन् । नेपालले यस क्षेत्रमा काम गरिरहेको छ, तर अझै व्यवस्थित र सघन बनाउन आवश्यक छ । प्रभावकारी काम गर्नसके नेपाल संसारमै बाघ दोब्बर गर्ने पहिला राष्ट्र भने बन्न सक्छ ।

लेखक डब्लूडब्लूएफ नेपालका कार्यक्रम निर्देशक हुन् ।

प्रकाशित : आश्विन ८, २०७५ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?