१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

बुझ्नेलाई कीरा, अरूलाई लार्भा

नारायण घिमिरे

काठमाडौँ — परिचित साथीकहाँ डिनरको निम्ता आयो । क्यानाडाबाट दूरदेशमा आफ्नो उत्पादन निर्यात गर्न अनौपचारिक छलफलका लागि । घरमा पाकेको मिठे फापरको ढिँडो र गुन्द्रुक छोडी म पाहुना बन्न पुगेंँ । साथीकी पत्नी बारबरा निकै खुसी देखिइन् ।

बुझ्नेलाई कीरा, अरूलाई लार्भा

व्यापार वार्ता गर्दैगर्दा बारबरा भने खाना पस्किँदै थिइन् । स्वादिला परिकार पहिले मलाई आउँथ्यो ।

हल्का पेय र स्न्याक्सपछि सलाद र ग्रिनरी खुवाउने कार्यक्रम रहेछ । बारबरा आफैं फार्ममा पुगी ताजा पालुंगो ल्याइन् । हल्का नुनिलो कागती पानीमा आधा उमालेको हरियो पात मलाई दिइन् । त्यसमा सग्लो हरियो कीराको लार्भा थियो । उनको बुबाको प्लेटमा हेर्दा अलि सलक्क नभएको भाग लगाइन् । मलाई अलिक अप्ठ्यारो लाग्यो । आफूलाई पालुंगोको एलर्जी रहेकाले त्यति राम्रो प्रोटिन भएको कीरा खान नसक्ने जनाएर उम्किएँ । मेजमानी र व्यावसायिक भेटपछि घर फर्कंदा मेरो मन तिनै कीरा–फट्यांग्रातिर तानियो ।

अमेरिकी फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसन (एएफडीए) का अनुसार सागसब्जी सरसफाइ र प्रशोधनमा कीरा र तिनका लार्भालाई निमिट्यान्न पार्न सकिँदैन । त्यसैले सग्लै कीरा वा तिनका टुक्रा भेटिँदा गुणस्तरमा खोट लगाइँदैन । हरियो वा फ्रोजन गरिएको सय ग्राम पालुंगोमा ५० भन्दा बढी लाहीजस्ता ससाना कीरा भेटियो भने त्यो गुणस्तरीय मानिँदैन । त्यस्तै २४ पौन्डको सब्जीमा भेटिएका सबै हरिया कीराका लार्भा जोड्दा १२ मिलिमिटरभन्दा लामो बने अथवा सय ग्राममा ८ वटाभन्दा बढी लार्भा र प्युपा भेटिए उक्त सागसब्जी गुणस्तरीय मानिँदैन । र बजार लैजान रोकिन्छ ।

कतिपय खाद्यान्नमा पनि यही हो । एएफडीएको डिफेक्ट लेबल ह्यान्डबुकका अनुसार दूधबाट बनेको चकलेट बारमा हालिने सय ग्राम कोका पाउडरमा कीराका ८ टुक्रासम्म किरा भेटिए त्यसलाई सफा मानिन्छ । वा दालचिनी स्टिकमा तौलको ०.५ प्रतिशतसम्म कीरा लगायतका कैफियत भेटिए पनि सफा नै मानी बजारमा लैजान दिइन्छ । दालचिनीको स्टिकमा दुइटा मरेको कीरा वा पिँधेको ५० ग्राम पाउडरमा ४ सयभन्दा कम कीराका टुक्रा वा ११ भन्दा कम मुसाका रौं भेटिँदा गुणस्तरीय वस्तुकै रूपमा स्वीकार गरिन्छ ।

एफडीएका अनुसार मानिसले जानी–नजानी खानासँगै वर्षको आधा किलोग्राम कीरा खाइरहेको हुन्छ । प्राविधिक रूपबाट जानी–जानी वार्षिक लगभग आधा किलो अपरिचित कीरा खाँदा मानव स्वास्थ्यमा फरक पर्दैन । साग खानेले कीरा खान्छ, मह काढ्नेले हात चाट्छ । कानुनले समेत सागसब्जीमा स्वास्थ्यलाई हानि हुने बाहेकका कीरा भेटिनुलाई सामान्य मानेको छ ।

अंग्रेजीमा कीरा खाने मानिसलाई इन्टोमोफेगी भनिन्छ । नेपालीमा कीराहारी कि के ? अमेरिकी मुलुकमा समेत ‘म त कीरा पनि खान्छु’ भन्दा अरूले नाक खुम्च्याउँछन् । स्टारबकमा कफी पिउने क्रममा महको सानो पोको बढाइदिँदा आहा भनी झम्टिने साथीहरूलाई मैले सोधेको छु, ‘यो मौरी नामक कीराबाट आउने खानेकुरा हो नि ?’ त्यसपछि थुप्रैले वाकवाकी आउला जस्तो गरेका छन् ।

विश्वका विभिन्न क्षेत्रमा खानाको प्रकृति फरक–फरक छ । समूहमा बाँच्ने कीराको सिकार सजिलो छ । एकै ठाउँमा झुम्मिएर बस्ने मौरी, कठेउरी, सिंगुस मह, माउ र लार्भा प्रोटिनका स्रोत खानाका रूपमा प्रख्यात छन् । नेपालमा समेत समूहमै बाँच्ने बच्छिउँ, अरिंगाल, बारुलाका माउ र लार्भा प्रोटिनका लागि सिकार गरिन्छ ।
मानिसले दशकौंदेखि कमिला, धमिरा, फट्यांग्रा र किथिर्का प्रोटिनको स्रोतका रूपमा खाँदै आएका छन् । अफ्रिकामा झिसमिसेमै फट्यांग्रा समातेर नुनपानीमा उमालेर भुटी खाने चलन छ ।

फट्यांग्राको खुट्टालाई नुनसँग मिसाएर भुटेपछि पिँधेर बनाइने पिनट बटर अफ्रिकीपन झल्काउने खानाका रूपमा संसारमै चर्चित छ । दक्षिण कोरियाका किसानले धानबारीका किथिर्का र फट्यांग्रा सुपर मार्केटमा बेच्छन् । अफ्रिका र अस्ट्रेलियामा धमिराको कथा छुट्टै छ । ३ इन्चसम्म लामो हुने रानी जातका धमिराको संसारमै उच्च माग छ । धमिरा उच्च कोटिको प्रोटिनको स्रोतका हो । कंगोको जैरमा धमिरालाई हल्का तेलमा भुटेर बजारमा बेचिरहेका हुन्छन् । त्यहाँका माछा, बफ, कुखुरा आदिमा भन्दा त्यसमा उच्च कोटिको प्रोटिन पाइएको छ ।

केतुकीमा लाग्ने मेज्कल वर्म नामक रात्रिपुतलीको लार्भा मेक्सिकोको सोखिन खानामा पर्छ । रेडवर्मलाई केतुकीको गुभोबाट जिउँदै जम्मा गरी रातो र क्रिस्पी हुनेगरी भुटेर बनाइने परिकार त्यहाँको उत्कृष्ट खानामा गनिन्छ । रेडवर्म लार्भामा पाइने प्रोटिन ५८.३ प्रतिशत हुन्छ भने चिल्लो पदार्थ ३०.६५ । केतुकीको एउटै बिरुवामा सामान्यतया १ इन्च लामो २ सयदेखि ५ सयसम्म लार्भा लाग्छन् । मेक्सिकोका किसानले केतुकीको प्रति लाभ्रेकीरा २० देखि ४० रुपियाँमा बेच्छन् ।

संसारका ८० प्रतिशत मानिस कीराका परिकार नियमित खान्छन् । मेक्सिकोको फट्यांग्रा हालिएको रोटी, कम्बोडियामा झुरुम–झुरुम हुनेगरी भुटिएको रातो बेउमाता कमिला, जापानमा भुटेर खाइने झ्याउँकिरी, रेसमकीरा, बारुला र पानीबारुलाका लार्भा कीराका चर्चित परिकार हुन् । युरोपमा समेत कीरा खाने चलन छ । सारडिनियान नामक भेडाको दूधबाट बनेको चिज बिग्रिएपछि स्याउँ–स्याउँती सुलसुले पर्छन् । त्यसका लार्भाका लागि बिक्री गरिने कसुमार्जु नामक चिज इटालीको परम्परागत खाना हो । फिल्लोफागा नामको गोब्रेकीरा फ्रान्सको पुरानो खानाको रेसिपीमा प्रयोग हुने बिटल प्रजातिको कीरा हो ।

मानव पोषणको हिसाबले हेर्दा फार्ममा पालिएको क्रुकेट वा किथिर्का खानाका लागि सुरक्षित त छँदैछ, त्यसमा पनि मानिसका लागि अत्यावश्यक पर्ने प्राय: एमिनो एसिडबाट परिपूर्ण प्रोटिनको स्रोत हुन्छ । किथिर्काको धुलोमा मासुमा भन्दा २ गुणाभन्दा बढी प्रोटिन पाइन्छ । त्यसमा पानीपालुंगोमा भन्दा १५ प्रतिशतभन्दा बढी आइरन र सालमोन माछामा पाइनेभन्दा बढी भिटामिन–बी १२ हुन्छ । क्रुकेटको लगभग ८० प्रतिशत प्रोटिन मानिसले पचाउन सक्छ । जबकि मानिसको शरीरले कुखुरा र बँदेलको मासुको ५५ प्रतिशत अनि चौपायाको मासुको ४० प्रतिशत प्रोटिनमात्र पचाउन सक्छ । धेरै प्रोटिन, मध्यम बोसो र थोरै कार्बाेहाइड्रेड हुने सन्तुलित खानाको स्रोत हो, किथिर्काको पिठो ।

किथिर्काको पिठो गुणकारी पौष्टिक तत्त्वले भरिपूर्ण भएकाले हाल बजारमा अन्य पिठोमा मिसाइ बिस्कुट, पाउरोटी, प्रोटिनबार, हेल्थबार, प्रोटिन ड्रिंक, ब्रेक–फास्ट सिरियल आदि बनाउने चलन छ । हाल गोलभेँडाबाट टोमाटो सस बनाए जस्तै मिलवर्म र क्रुकेट मिसाएर बनेको स्वादिष्ट बोलोगनाइज सस बजारमा आइसकेको छ । विभिन्न कीराबाट बनेका यस्ता सस औद्योगिक स्तरमै बन्न थालेपछि संसारभरि धमाधम कीराका रेस्टुरेन्ट खुलिरहेका छन् ।

नेदरल्यान्ड्सको बागेनिङ्गेन युनिभर्सिटीको इन्टोमोलोजी डिपार्टमेन्टले संसारभरि मानिसद्वारा खाइने २ हजार ४० कीराको सूचीमा बनाएको छ । अनुसन्धान चलिरहेकाले सूचीमा कीरा नाम थपिँदैछन् । संसारमा धेरै खाइने कीरामा ३१ प्रतिशत गोब्रेकीरा र अन्नबालीमा लाग्ने घुन प्रजातिका कीरा छन् । त्यसपछि क्रमश: मोथ तथा पुतलीका लार्भा, विषालु कीराका प्रजाति झ्याउँकिरी, बिच्छी, पानीमा पाइने जेन्टवाटर बग प्रचलनमा छन् । मानिसहरूले खोजी–खोजी खाने टप–५० कीराको सूचीमा लाही, साङ्ला, गड्यौंला, माकुरा, सलह, कालो र रातो कमिला, मकैमा लाग्ने घुन आदि समावेश छन् ।

सन् २०१४ को अध्ययन अनुसार भारतमा कम्तीमा २ सय ५५ कीरा खाने गरेको भेटियो । भारतको अरुणाचल प्रदेशमा १ सय ५८, त्यसपछि मणिपुर, असाम र नागाल्यान्डमा ४० देखि ६० प्रकारका कीरा खाने चलन पाइएको थियो । चाइनिज एकेडेमी अफ फरेस्ट्रीको २०१७ को अनुसन्धान अनुसार चीनमा ३ सय २४ जातिका कीरा खाने गरिएको छ । त्यसमा १ सय ७४ कीराको पौष्टिक गुणसमेत यकिन भइसकेको छ । चीनमा १०–२० जातिका कीरा नियमित रूपमा खाने गरेको भेटिएको छ । चीनमा मानिसको खाना, औषधि, भिटामिन, यौन उत्तेजक सप्लिमेन्ट र जनावरको दानाका लागिसमेत कीरा प्रयोग हुँदै आएका छन् । नेपालमा हालसम्म कति प्रकारका कीरा खाइन्छ भन्ने यकिन छैन ।

बदलिँदो परिस्थितिमा खाद्य प्रयोजनका लागि जंगल तथा खेतबारीमा व्यावसायिक कीरा उत्पादन हुनथालेको छ । थाइल्यान्ड, लाओस, कम्बोडियामा किथिर्का खेती सुरु भइसकेको छ । अमेरिका र नेदरल्यान्ड्समा समेत खाने कीराको खेती मौलाउँदैछ । गँगटा, माकुरा र कीराको खपटा ग्लुकोजबाट बनेकोचिटिन नामक पोलिसेकराइडबाट बनेको हुन्छ । खपटा रगत बग्न रोक्ने, जम्न सघाउने र घाउलाई छिटो निको पार्न सहयोगी हुन्छ । उक्त गुणले गर्दा हेल्थ फुड र कस्मेटिकमा समेत त्यसको प्रयोग गरिन्छ ।

सन् २०१४ को तथ्यांक विभागको भूमि सम्बन्धी तथ्यांक अनुसार नेपालको जम्मा १ लाख ४७ हजार १ सय ८० वर्गकिलोमिटर क्षेत्रफलको २.६ प्रतिशत पानी छ । लगभग २३ हजार ५ सय ७० वर्गकिलोमिटर अर्थात् १६ प्रतिशत खेती गरिएको जमिन छ । खेती गरिएको जमिनमध्ये आधामा मात्र सिँचाइ सुविधा छ । हामीले पुस्तौंदेखि मात्र १६ प्रतिशत (८ प्रतिशतमात्र सिञ्चित) जमिनमा कृषिको ८० प्रतिशत लगानी घोप्टाए पनि किसानको जीवन पद्धति उँभो लागेन । त्यसको विकल्प आजसम्म खुट्याउनसमेत सकिएन । नेपालमा सजिलै उम्रने र हुर्कने वनस्पति, जीवहरूको मूल्य पहिचान, प्रशोधन र व्यावसायिकीकरणतर्फ पनि हाम्रो ध्यान पुगेन । मेडिसिनल र एरोमेटिक रैथाने वनस्पतिबाट मुलुकलाई समृद्धि दिन सकिन्छ । त्यसको अर्को सम्भावना प्राकृतिक अर्गानिक कीरा खेती हो ।

छिमेकी भारतको दुई तिहाइ जनसंख्या शाकाहारी छ । नेपालमा रैथाने वनस्पतिबाट उत्पादन गर्न सकिने सिजनिङलाई नेपालकै कृषिबाट आउने प्रोटिनसँग मिलाएर शाकाहारी मासु, अन्डा र भेगन चिज बनाएर भारतको बजार पुर्‍याउन सकिन्छ । मासु, अन्डा, गेडागुडी बाहेक प्रोटिनको स्रोत पानीमा पाइने लेउ, झ्याउ र कीरा–फट्यांग्रा नै हुन् । त्यसका लागि चीन स्वर्ण बजार हो । भारतमा भन्दा चीनमा मान्छेको खानपान र पशुपन्छीको दानाका लागि कीराको माग बढ्दो छ । नेपालले चिनियाँ बजारमा रैथाने कीरा पैठारी गरी व्यापार–व्यवसाय बढाउन सक्छ ।
घिमिरे क्यानाडा निवासी खाद्य वैज्ञानिक हुन् ।

प्रकाशित : आश्विन ६, २०७५ ०७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?