कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

कस्तो श्वास गन्हाएको ?

डा. प्रकाश बुढाथोकी

काठमाडौँ — आत्मग्लानि त्यसबखत पक्कै हुन्छ, जब आफ्नै साथीसँग कुराकानी गर्दासमेत साथीले अर्कैतिर मुन्टो बटार्छ । सुन्दर मुखबाट निस्कने मिठा वचनका साथ गन्धरहित सास, सुन्दर दाँत हुनु पनि त्यत्तिकै आवश्यक छ, व्यक्तित्व विकासका लागि । मानिसको सबैभन्दा पहिलो पहिचान भनेकै उसको बोली हो, जसले मानिसको स्तर निर्धारण गर्छ ।

कस्तो श्वास गन्हाएको ?

त्यसैले हाँस्दा र बोल्दा अरू समक्ष सास गन्हाउन थाल्यो भने भोलि ऊसंँग कोही पनि नजिकिन चाहँदैन ।

गन्हाउने मोजा, काखी र सास यद्यपि हरेकका व्यक्तिगत समस्या होलान्, तर यी समस्याले अरूलाई अप्ठ्यारो पार्छन् । गन्हाउने सासका कारण मुखै नखोली बस्न अवश्य सकिंँदैन । मानिसको मुखले उसको शारीरिक स्वस्थता बुझाउँछ । सास गन्हाउनु अस्वस्थताको प्रतीक हो । यो समस्याले कतिपय दम्पतिमा पनि फाटो आएको छ । पीडित आफूसँग हिँडडुल गर्ने र उठबस गर्ने साथीसंगीलाई मात्र हैरानीमा पार्ने नभई स्वयं पनि हीन भावनाले ग्रसित हुनपुग्छ । यस्तो अवस्थालाई रोग आफूलाई र समस्या अरूलाई भनेर चिनिन्छ ।

रोग के हो ? : मुख वा नाकबाट अपवित्र वा अशुद्ध नराम्रो, मन नपर्ने गन्ध आउने अवस्थालाई ‘हेलिटोसिस’ वा ब्याड ब्रेथ वा सास/मुख गन्हाउने रोग मानिन्छ । सास गन्हाउने अवस्था रोग नभई यो सामान्य अवस्था वा शरीर तथा मुखमा भएका रोगहरूको लक्षण वा औषधि प्रयोगको असर हुनसक्छ । त्यसकारण सास गन्हाउने अवस्थाले शरीरमा भएका अन्य रोगको जानकारी दिएर ‘मुख शरीरको ऐना हो’ भन्ने भनाइलाई पनि चरितार्थ पार्छ ।

प्रकार : सास गन्हाउने बिरामीहरू तीन प्रकारका हुन्छन् : आफ्नो सास गन्हाएको थाहा नपाउनेहरू । आफ्नो सास गन्हाएको थाहा पाएर पनि चिन्ता नगर्नेहरू । आफ्नो सास गन्हाएकोमा चिन्तित हुनेहरू । यद्यपि विवाहको लगन भएको बेला यस्ता बिरामी बढी आउने गरे तापनि जीवनसाथी सहपाठीको सिकायतले सधैंजसो आउने गर्छन् । गिँजा सम्बन्धी रोग, दाँतमा किरा लाग्ने, पछि सास गन्हाउने सिकायत लिएर आउने बिरामी धेरै छन् ।

कारण : सामान्य अवस्था– बिहान उठ्नासाथ भोको/व्रत बसेको अवस्था, खानामा प्रयोग गरिएका वस्तुहरू जस्तै– चिया, कफी, मकै, प्याज, लसुन, रक्सी, बोसो, भुटेको खाना, धूमपान, दाँत भर्न प्रयोग भएको सिमेन्ट, राख्ने–निकाल्ने खालको नक्कली दाँत लगाएरै सुत्ने, नाकको सट्टा मुखबाट सास फेर्ने, नमिलेका कृत्रिम दाँत लगाउने, बान्ता वा डकारको सास सामान्य अवस्था भए पनि गन्हाउँछ ।

रोगसँग सम्बन्धित : मुखको स्वास्थ्य कमजोर, दाँत किराले खाएको, दन्तहर्षा, पाइरिया, दाँत छिचरा भएको, जिब्रो खस्रो र बाक्लो भएको, दाँत नमिली बसेको, मुखमा भएका घाउखटिराहरू, संक्रमण तथा दाँत निकालेपछिको घाउ, पिनास, टन्सिलाइटिस, घाँटी दुख्ने, नाक तथा घाँटीको क्यान्सरमा सास गन्हाउँछ ।

फोक्सो, कलेजो, मिर्गाैला, पाचन सम्बन्धी रोगहरू, पीडायुक्त मासिकस्राव, चिनीरोग, ज्वरो, रगत सम्बन्धी रोग, संक्रमण, भिटामिनको कमी, कब्जियतले पनि सास गन्हाउँछ ।

औषधिको प्रयोग : एन्टिहिस्टामिन, एन्टिक्यान्सर, एन्टिबायोटिक, एन्टिकोगुलेन्ट, एन्टिकोलिनर्जिक र मानसिक रोगका दबाइ प्रयोग गर्दा पनि सास गन्हाउँछ ।

थुक कम आउने अवस्था– थुक निकाल्ने ग्रन्थिहरूको रोग, क्यान्सरको उपचार, केही औषधिको प्रयोगमा थुक कम आई सास गन्हाउँछ । कसरी थाहा पाउने ? :

१. तपाईंलाई रुघा लागेको छैन र तपाईको नाक ठिक छ भने आफ्नो हातमुख अगाडि राखेर त्यसमा सास फेर्नुहोस् र हातमा ठोक्किएर फर्केको सास नाकले तानी भित्र लिनुहोस् ।

२. आफ्नो सास गन्हाएको वा नगन्हाएको, आफ्नो अति नजिकका व्यक्तिहरू पति, पत्नी, दाजुभाइ, दिदीबहिनी, सहपाठीसँग सोधेर थाहा पाउन सक्नुहुन्छ ।

३. आफूप्रति अरूको व्यवहार हेरेर र मनन गरेर समूहमा तपाई बोल्दा नजिकमा बसेकाहरूले अनुहार बिगार्ने, अलि पर सरेर बस्न खोज्ने, कुरामा ध्यान नदिने र नाक पुछेजस्तो गरी नाक थुन्ने गरेमा तपाईंको सास गन्हाएको हुनसक्छ ।

तर कति गन्हाएको छ भनी नाप्नको लागि ब्रेथ एनालाइजर, अस्मोस्कोप, ग्यास क्रोमाटोग्राफी, टाइट्रालग जस्ता उपकरणहरूको प्रयोग गरिन्छ । यदि श्वास गन्हाउने अवस्था रहेछ भने मुख वा नाक केबाट हो, पत्ता लगाउनुपर्छ । जसको लागि विस्तृत जानकारीसाथ सामान्य परीक्षण गर्न सकिन्छ । १० सेकेन्डको लागि आेँठ र नाक दुबै बन्द गराउने र त्यसपछि ओँठ बन्दै राखेर नाकमात्र खोल्न लगाउने गर्नुपर्छ । यदि श्वास गन्हायो भने नाक अर्थात फोक्सोबाट समस्या भयो भनी पत्ता लाग्यो । तर ओँठ खोल्दा श्वास गन्हाएमा मुखबाट गन्ध आएको भनी बुझ्नुपर्छ ।

व्यवस्थापन : यसबाट मुक्तिका लागि कुल्ला गर्ने औषधि दिन सकिन्छ । तर यसो गर्दा पनि ठिक नभएमा मानसिक रोग विशेषज्ञ वा फिजिसियनलाई देखाउनुपर्ने हुनसक्छ । औषधि कारण भए औषधि बदल्न सकिन्छ । रोग लागेपछि रोगको उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै जाती भनेझै रोकथामका उपाय समयमै अपनाइयो भने रोग, रोगको जटिलताबाट उत्पन्न हुने समय, पैसा र शरीरको नोक्सानबाट जोगिन सकिन्छ ।

श्वास गन्ध आउने अवस्था हटाउन चुइङ्गम, मिन्ट, फ्रायगरेन्ट डेन्टिफ्राइस, डिअडरेन्ट, माउथवास, ल्वाङ्ग सुकुमेल र स्प्रे प्रयोग गरेको पाइन्छ । अस्थायी उपचारले कम भएजस्तो भ्रम परे पनि रोग भित्रभित्रै बढ्दै जान्छ र जटिलता उत्पन्न हुनगई निकै ठूलो समस्या पनि सिर्जना हुनसक्छ ।

लेखक वीर अस्पतालका वरिष्ठ कन्सल्टेन्ट डेन्टल सर्जन हुन् ।

प्रकाशित : आश्विन २, २०७५ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?