२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

वर्ण–व्यवस्था मलजल गर्ने शिक्षा

जातका आधारमा गरिने भेदभाव नेपाली समाजको प्रमुख समस्या हो । यो विषयलाई त्यसरी नै प्रस्तुत गरिनुपर्छ ।
प्रकाश विक

काठमाडौँ — दैलेखको तीजडाँडा चामुण्डास्थित हिमालय आधारभूत विद्यालयका कक्षा ६ र ७ का गैरदलित विद्यार्थीले ‘दलितले पकाएको खाजा खाँदैनौँ’ भने । विद्यालय प्रशासन केही समय बन्द भयो । झापाको भद्रपुरस्थित ‘श्री कृष्ण दै्रपायन गुरुकुल वेद विद्याश्रम’को प्रशासनले इलाम ५ का विकास कार्की ढोलीलाई दलित भएकै कारण भर्ना लिएन ।

वर्ण–व्यवस्था मलजल गर्ने शिक्षा

यी दुई घटना मिडियामा आएका हुन् । मिडियाले नदेखेका जातीय भेदभाव तथा छुवाछूतका कैयौं घटना दलित विद्यार्थीले भोग्दै आउनुपरेको छ । शिक्षा प्रणाली हिन्दु पौराणिक मूल्य–मान्यताबाट निर्दिष्ट हुँदै आएकाले कतै यस्ता घटना हुँदै आएका त होइनन् ? शंका उब्जाएको छ । समाजमा जातीय अपराधका घटना किन हुन्छन् ? प्राय: सबैको एउटै जवाफ आउने गर्छ– अशिक्षा कारणले । तर त्यस्तो होइन । छुवाछूत गर्ने समुदाय खासमा बाहुन/क्षत्री हुन् । उनीहरूले आफूलाई स्वघोषित शिक्षित ठान्छन् । छुवाछूत भोग्ने समुदाय अशिक्षित भएकाले हो ? त्यसो त होइन । छुवाछूत शिक्षितले गर्ने व्यवहार अपराध हो ? यो पनि होइन ।


छुवाछूतको मूल स्रोतबारे धेरै अध्येताको निष्कर्ष हिन्दु वर्ण–व्यवस्था हो भन्ने छ । माथिका उदाहरण पनि यही धार्मिक व्यवस्थाका परिणाम हुन् । छुवाछूत उन्मूलन गर्ने धेरै उपायमध्ये शिक्षा प्रणाली एक हो । तर नेपालको शिक्षा प्रणालीले जातीय छुवाछूतको मुख्य स्रोतबारे अध्ययन, अध्यापन गराउँदैन । बरु पाठ्य सामग्रीले विद्यार्थीलाई अप्रत्यक्ष रूपमा जातीय भेदभाव तथा छुवाछूत गर्न प्रोत्साहन गरिरहेको देखिन्छ । यसै कारण नेपालमा जातीय भेदभाव तथा छुवाछूत जब्बर रूपमा छ । यसले बाहुन/क्षत्री समुदायलाई शक्तिमा रहन टेवा पुर्‍याएको छ ।


वर्ण–व्यवस्थाबारे मौन पाठ्यक्रम
मानव समाजको विभिन्न पक्षको वैज्ञानिक ढङ्गले अध्ययन गर्ने विषय हो, सामाजिक अध्ययन । केदारभक्त माथेमा भन्छन्, ‘सामाजिक शिक्षा असल नागरिक तयार पार्ने विषय हो । यो विषयमा आफ्नो परिवार, धर्म–संस्कृति, जातजाति, समाज, राज्यव्यवस्था आदिबारे अध्ययन गराइन्छ ।’ तर विद्यालयको सामाजिक अध्ययन विषयको पाठ्यक्रममा नेपाली समाजको वास्तविक तस्बीर भेट्टाउन मुस्किल छ ।


नेपाली समाज बुझ्न हिन्दु वर्ण–व्यवस्थाबारे बुझ्नु अनिवार्य छ । तर सामाजिक अध्ययन विषयमा यसबारे पाठ्यक्रम छैन । यथार्थ झल्काउने पाठ्यक्रम नभएपछि विद्यार्थीले आफ्नो समाजबारे के बुझ्छन् ? यिनले भविष्यमा कसरी समाज विकासमा टेवा पुर्‍याउलान् ? यी गम्भीर प्रश्न हुन् । सामाजिक अध्ययन विषयमा हिन्दु समाजको नकारात्मक धार्मिक तथा सामाजिक मूल्य–मान्यता, खराब चलन, आपराधिक प्रथा र संस्कृतिबारे गहिराइमा पुगेर व्याख्या गरिएको छैन, ढाकछोप गरिएको छ । एकथरीलाई म ठूलो हुँ भन्ने आत्मरति र अर्कोथरीलाई म सानो हुँ भन्ने हीनभावना विकास गराएको छ । यो समाजमा मानव भएर जिउन असफल पारिएका दलित समुदायमाथि अर्को विभेद हो ।


दलित समुदायले विगतका शैक्षिक पाठ्यक्रममा असन्तुष्टि व्यक्त गरेपछि केही सवाल हालसालैको पाठ्यक्रममा समावेश गरिएको छ । यो कार्यलाई प्रगतिशील कामका रूपमा लिन सकिएला । तर, सामाजिक अध्ययन विषयको पाठ्यक्रमले दलितका मुद्दालाई सही ढंगले प्रस्तुत गर्न अझै सकेको छैन ।


कक्षा ३ को सामाजिक अध्ययन विषयको पाठ ३ मा छुवाछूत हटाउनेबारे कथा छ । कथा एक बाहुनले विपत्पश्चात् मुसहरको घरमा बास बसेको र उसैले छोएको खाएको बारे छ । तर समाजमा बाहुन र मुसहर को हुन् ? उनीहरूको सामाजिक स्थिति कस्तो छ ? यस्तो सामाजिक अवस्थाको जड के हो ? एकले अर्कोले छोएको नखानुको कारण के हो ? कथा केही बोल्दैन ।


छुवाछूतको मुख्य स्रोत के हो ? कतै उल्लेख छैन । ‘छुवाछूत खानपिनमा मात्र त हो नि’ भनेजसरी प्रस्तुत गरिएको छ । यसै पाठको क्रियाकलापमा ‘छुवाछूत सामाजिक अपराध हो’ भनिएको छ । यसलाई अन्य अपराधलाई सजायको आधारमा विभाजन गरेजस्तै सामान्य, गम्भीर र जघन्य अपराधमध्ये एक हो भनेको भए सार्थक हुन्थ्यो । बलात्कार, मानव बेचबिखनलाई नेपालको कानुनले गम्भीर र जघन्य अपराधको सूचीमा राखेको छ ।


कक्षा १० को सामाजिक अध्ययन विषयको एकाइ ४ को पाठ ‘घरेलु हिंसा र छुवाछूत’मा ‘जात, धर्म, पेसा, क्षेत्र, लिङ्ग, अपाङ्गता, शारीरिक प्रणाली आदिका आधारमा गरिने भेदभावलाई छुवाछूत भनिन्छ’ भनिएको छ । यो परिभाषा गलत छ । भेदभाव र छुवाछूतको अर्थ फरक छ । भेदभाव हँुदैमा छुवाछूत हँुदैन, तर छुवाछूत हुँदा भेदभावसहित अन्य धेरै कुरा हुन सक्छन् । उदाहरणका लागि दुर्गम क्षेत्रबाट आएका कुनै एक तथाकथित ‘उच्च जात’का व्यक्तिलाई काठमाडौंमा सुगम क्षेत्रबाट आएका व्यक्तिले भेदभाव गर्न सक्छन्, तर त्यो छुवाछूत हँुदैन । नेपाली समाजमा छुवाछूत हुने जातको कारणले हो । यो कुरा पाठ्यक्रमले खुला रूपमा भन्न सक्नुपथ्र्यो ।


कक्षा १ देखि १० सम्म पढाइने सामाजिक अध्ययन विषयको ‘हाम्रो सामाजिक मूल्य र मान्यता’ एकाइमा यस्ता पाठ राखिएका छन्, जसमा ‘नेपाल सयौं जातजाति मिलेर बसेको साझा फूलबारी हो, एकले अर्काको सम्मान गर्छन् र धार्मिक सहिष्णुता छ’ लेखिएको छ । जातका आधारमा गरिएको कामको बाँडफाँड वैज्ञानिक छ, यसैले समाज चलेको छ, जातका आधारमा पेसा हुँदैनथ्यो भने समाज अशान्त हुन्थ्यो भन्ने भाव पाठ्यक्रमले दिन्छ । यही समाजमा जातको आधारमा हुने छुवाछूतका कारण कैयौं दलितले ज्यान गुमाउनुपरेको, शारीरिक र मानसिक हिंसा भोग्नुपरेको कुरा उल्लेख छैन ।


सामाजिक अध्ययन विषयमा समाज बुझ्न केही महत्त्वपूर्ण एकाइ राखिएका छन् । जस्तै– हाम्रो सामाजिक मूल्य र मान्यता, सामाजिक समस्या र समाधान, नागरिक चेतना र हामी र हाम्रो समाज आदि । तर यी एकाइ अनुसार राखिएका पाठले नेपाली समाजको यथार्थ झल्काउँदैनन् । यो विषयको पाठ्यक्रममाथि सरसर्ती अध्ययन गर्दा लाग्छ– नेपालमा जातीय समस्या ठूलो विषय होइन ।


जातको आधारमा गरिने भेदभाव नेपाली समाजको प्रमुख समस्या हो र यो विषयलाई त्यसरी नै प्रस्तुत गरिनुपर्छ । पाठ्यक्रम मस्यौदा लेखन/परिमार्जन कार्यदल, लेखक छनोट कार्यदल आदिमा एउटा पनि दलित समुदायका व्यक्ति छैनन् । दलितमैत्री पाठ्यक्रम नहुनुको खास कारण यही हो । जातीय विभेद तथा छुवाछूतलाई शैक्षिक संस्था (विद्यालय) ले समेत यो वा त्यो बहानामा लुकाउँदै आएका छन् । काठमाडौंका केही विद्यालयमा विद्यार्थीको जात सार्वजनिक गर्न लगाइँदैन भन्ने कुरा एक पत्रकारले सुनाएका थिए । ढाकछोप गरेर कसरी सामाजिक शिक्षाजस्तो विषय पढाउनसके होलान् ? विद्यार्थीले समाजबारे के बुझे होलान् ? कक्षामा शिक्षकले छुवाछूतबारे के उदाहरण दिएर पढाए होलान् ?

नीति अभाव
व्यक्तिले सामाजिक मूल्य, मान्यता, सिद्धान्त र विचार घर हुँदै समाजबाट सिक्ने हो । उसले समाजमा आफ्नो कुन स्थान छ र आफूले अरूसँग कस्तो व्यवहार गर्नुपर्छ भन्ने कुरा सामाजिकीकरणबाट सिक्छन् । यसबाट जे सिके, त्यस्तै व्यवहार यिनले विद्यालयमा देखाउँछन् । यस्तो सामाजिकीकरण रोक्न शैक्षिक प्रणालीमा भेदभाव तथा छुवाछूत विरुद्ध नीति तत्काल लागु गर्नुपर्ने देखिन्छ । विद्यालयमा कुनै व्यक्ति पढ्ने, पढाउने वा जागिर खाने सिलसिलामा ‘कुनै प्रकारको विभेद गर्ने छैन’ भनी हस्ताक्षर गराएर सम्झौता गर्ने अभ्यास कतिपय देशमा छ । कसैले विभेद गरिहाले त्यही अनुसार दण्ड जरिवानाको व्यवस्था हुन्छ । नेपालको शैक्षिक प्रणालीले यस्तो किसिमको नीति लागु गरे समाजमा चेतना ल्याउनमा सहयोग गर्न सक्छ । विद्यार्थीले आफ्नो विद्यालयमा लागु गरिएको यस्तो नियमबारे घर–समाजमा बताउँछ ।

शक्तिमा रहने औजार
फ्रान्सका माक्र्सवादी दार्शनिक लुइस अल्थुसर ‘इडियोलोजी एन्ड इडियोलोजिकल स्टेट अपारटस’मा पँुजीपति वर्गलाई शक्तिमा रहन शैक्षिक संस्थाले कसरी मद्दत गर्छ भन्नेबारे उल्लेख गरेका छन् । उनी दमनकारी र वैचारिक दुई प्रकारका राज्य संस्थाबारे चर्चा गर्छन् । दमनकारी राज्य संस्थामा प्रहरी प्रशासन, सेना, अदालत आदि पर्छन् । वैचारिक राज्य संस्थामा विद्यालय, चर्च, ट्रेड युनियन, नागरिक समाज आदि पर्छन् । दुवै खाले संस्थाले पुँजीपति वर्गलाई सधैं शक्तिमा रहन मद्दत गर्छन् ।


उनका अनुसार पुँजीपति वर्गले सधैं शक्तिमा रहन वैचारिक राज्य संस्थाको प्रणालीद्वारा मानिसका विचार, मूल्य, मान्यता र विश्वासमाथि नियन्त्रण गर्छ । शैक्षिक प्रणालीले वर्गीय असमानतालाई एक पिढीबाट अर्को पिढीसम्म हस्तान्तरण गर्दै पुनरुत्पादन गर्न सहयोग गर्छ । शिक्षाले सत्य–तथ्य लुकाउँदै वर्गीय असमानतालाई वैधानिकता पनि दिन्छ । गरिबहरू असमानता आवश्यक छ भन्ने हदसम्म पुग्छन् र उनीहरू आफैले आफ्नो अधीनस्थ अवस्था स्वीकार्छन् ।


यस अवधारणा नेपालको शैक्षिक प्रणालीसँग ठ्याकै मेल खान्छ । यसमा वर्गको ठाउँमा जात राखेर बुुझ्न सकिन्छ । दलित समुदाय यति धेरै उत्पीडन, दमन र शोषणका बाबजुद पनि अधीनस्थको स्थिति स्वीकार्छन् । यो प्रवृत्ति शासन सत्तामा रहने सवर्ण जातको जुक्ति बाहेक अरू के हुनसक्छ ?


लेखक अनुसन्धानकर्ता हुन् ।

प्रकाशित : भाद्र २९, २०७५ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?