कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

छोरीहरुको सुरक्षा

आफ्नै परिवेश
जबसम्म बलात्कारीलाई कडा सजाय दिन सकिँंदैन, तबसम्म हाम्रा कलिला नानीहरूदेखि आमा, हजुरआमाहरूको अस्मिता संकटमा परिरहन्छ ।
झमक घिमिरे

काठमाडौँ — आँखा हुन् छोरीहरू तिनै आँखाबाट म संसार नियाल्ने गर्छु दुई बलिया पखेटा हुन् मेरा तिनकै बलमा म जगत्‌काे विचरण गर्छु ।

छोरीहरुको सुरक्षा

कवि सुलोचना मानन्धरले भनेझैं छोरीहरू सबैका आँखा भइदिए कति जाती हुन्थ्यो, सबैका पखेटा भइदिए कति वेश हुन्थ्यो ।

तर यहाँ छोरीहरूलाई फुल्नै नपाई बलात्कार गर्ने ब्वाँसाहरूको बिगबिगी छ । छोरीहरू दिनदिनै अकालमै मारिने क्रम बढेको छ । यौनपिपासुले नाबालिकादेखि वृद्धा आमालाई समेत छाडेका छैनन् । स्त्री जातिलाई सधैं भोगको रूपमा परिभाषित गरियो, त्यही रूपमा संस्कारमा बुझियो र बुझाइयो ।

महिला भएर जन्मिनु एक अर्थमा अभिशापजस्तै बनाइयो छ । हाम्रो मानसिकतामा थोरै फेरबदल आए पनि पुरानै सोचविचारले हामी ग्रस्त छौं । छोरा जन्मिए हर्षित हुन्छौं, छोरी जन्मिए बाहिर अनुहारमा नदेखाए पनि भित्र मनको एक कुनामा खल्लोपनको आभास गरिरहेका हुन्छौं । आखिर किन ?

हाम्रो आफ्नै मानसिकतामा परिवर्तन गर्नु आवश्यक छ । सन्तान जुन लिंग जन्मे पनि प्रसव वेदना उस्तै हुन्छ, समय उत्तिकै लाग्छ, हुर्काइमा उत्तिकै समय खर्चनुपर्छ । अनि किन भेद गरिरहेका छौं, हामी ? सन्तान जन्माउनु मात्र ठूलो कुरा होइन, उसको हुर्काइ कस्तो वातावरणमा भएको छ, त्यही अनुसार उसको चेतना यावत कुरा विकसित हुँदै जाने हो ।

छोरा र छोरी या अन्य लिंग लिएर जन्मिँदैमा आफैंमा नराम्रो हुँदैन । नराम्रो त अभिभावकत्वको मानसिकतामा छ । केहीलाई छाडेर अधिकांश अभिभावकको मनमा के हुन्छ भने सन्तानभन्दा छोराको चाह बढी हुन्छ, यो मानसिकता हाम्रो समाज, देशमा मात्र होइन, विकसित समाज र देशमा पनि रहेको पाइन्छ ।

किनभने भौतिक रूपमा जतिसुकै विकासको चरम चुली उक्लिए पनि मानिसको सोच र विचारमा अझै भेदमुक्त समाजको परिकल्पना गर्न सकिएको छैन भन्ने कुराको प्रमाण बेलायतको राजपरिवारभित्र छोराले विवाह गरेकी बुहारीले पालना गर्नुपर्ने नियमले स्पष्ट पारेको छ । यहाँसम्म कि बुहारीले आफूले लाउने वस्त्रहरू पनि राजदरबारबाट तोकिएको मात्र लगाउनुपर्ने आफूलाई मनपरेका वस्त्रहरू लाउन नपाउने नियम लादिएको छ । त्यसको ठाउँमा कुनै पुरुष हुन्थ्यो भने उसलाई पनि यस्ता खालका नियमहरू लाइन्थ्यो त ?

विश्व समुदायको मानसिकता हेर्दा पुरुषप्रधान सोचविचारमै चलेको देखिन्छ । यसले पनि के देखाउँछ भने सारा विश्व एक लिंगीय परम्परा, सोच र विचारमै चलेको स्पष्ट हुन्छ । यस सन्दर्भमा हेर्दा नेपालजस्तो अल्पविकसित मुलुकमा स्त्री जातिको समग्र अवस्था मूल्यांकन गर्दा दयनीय नै छ ।

यस्तो अवस्थामाथि छोरीहरू जबर्जस्ती बलात्कृत हुने, अपहरित हुने, उनीहरूको चरित्रमाथि प्रश्न उठ्ने र दाग लाग्ने घटना दिनदिनै भइरहेका छन् । यी घटना आम मानिसका लागि सामान्य बन्दै गइरहेका छन् । वर्तमान सरकारले यस्ता घटनाका दोषीहरूलाई निष्पक्ष छानबिन गरेर कारबाही गर्छु भने पनि दोषीहरूले आम जनताले चाहेजस्तो खोइ के कारणले सजाय पाइरहेका छैनन् ।

जबसम्म सबै उमेरका स्त्री जातिलाई जबर्जस्ती बलात्कार गर्नेहरूलाई कडा सजाय दिन सकिँंदैन, तबसम्म हाम्रा कलिला नानीहरूदेखि आमा, हजुरआमाहरूको समेत अस्मिता संकटमा परिरहन्छ र यस्ता यौनपिपासुहरूको यौनभोक मेट्ने साधन बनिरहन्छन् । हाम्रा कलिला शिशुहरूदेखि आमा, हजुरआमाहरू यिनको सुरक्षाका लागि सरकारदेखि सडकसम्म आवाज पनि नउठेका होइनन् ।

यी उठेका आवाजको सम्मान गर्न सबै तहतप्काका चेतनशील मानिस एक हुन आवश्यक छ र यस्ता अपराधीहरूलाई दण्डित गर्न सामाजिक तहबाट पनि पहल गर्नु आवश्यक छ । तब त्यस्ता घटना न्यून हुन्छन् ।

प्रकाशित : भाद्र २०, २०७५ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?