कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

भारतीय संरचनाले सास्ती

नेपाली भूमि नडुब्ने र भारतमा पनि बाढीले वितण्डता नमच्चाउने गरी विद्यमान भारतीय संरचनाहरुलाई कसरी सुधार गर्न सकिन्छ ?

काठमाडौँ — केही दिनअघि सप्तरीको हनुमान नगर कंकालिनी नगरपालिका र तिलाठी गाउँपालिकाका ३ सय ३५ घर डुबानमा परे । त्यस अघि कपिलवस्तुको भगवानपुर गाउँका ७ सय बिगाहा धानखेत डुब्यो । प्रत्येक वर्षायाममा नेपालको सीमावर्ती क्षेत्रका गाउँबस्ती तथा हराभरा जमिन डुबानमा पर्छ ।

भारतीय संरचनाले सास्ती

नेपाल–भारत जमिन सीमाका कतिपय स्थान जल–सीमामा परिणत हुन्छ । नेपाली जनताले वर्षौंदेखि भोगिरहेको यो पीडा झन्–झन् बढ्दो छ । नेपाली सीमाञ्चल क्षेत्र किन डुबानमा पर्छ ? यसको समाधान कसरी गर्न सकिन्छ ? यसबारे विवेचना गरिएको छ, यो लेखमा ।


नेपालमा ६ हजार नदीनाला, खोलाखहरे, खोल्साखोल्सी, नालाघोला छन् । यिनका पानी मिसिएर ६० साना–ठूला नदी नेपालको सिमाना काटेर भारततर्फ पस्छन् । नेपालमा खन्याएको एक गाग्रो पानी पनि भारतमै पुग्छ । २९ नदीले ६ सय ४५ किलोमिटर सीमारेखाको काम गरेका छन् ।

भारतले करिब १३ नदीनालाका १५ स्थानमा सीमा नजिकै ब्यारेज, बाँध, जोर्तिबाँध, चक्रबाँध, तटबन्ध, जलबन्धन जस्ता भौतिक संरचना निर्माण गरेको छ । १ हजार ७ सय ५० किलोमिटर लामो पूर्व–पश्चिम तन्काएर जमिनको सहतभन्दा १० फिट अग्लो राजमार्ग पनि बनाइरहेको छ । यस्ता संरचनाले नेपालबाट बगेर भारततर्फ जाने नदीको प्राकृतिक बहाव छेक्छ । यसले नेपालको सीमावर्ती भूभाग जलमग्न भएर डुबान हुन्छ । यस्ता डुबान प्रभावित हुने क्षेत्रको विवरण यस पंक्तिकारले अध्ययन गरे अनुसार यसैसाथ संलग्न तालिकामा उल्लेख गरिएको छ ।


डुबानका कारण
भारततर्फ बगिरहेको कोसी नदीको धारलाई पाइलट च्यानल खनी पानीको बहाव नेपालतर्फ फर्काएपछि सबै पानी एकैसाथ बग्न सकेन । ३ फिटसम्म गहिराइको डुबान भयो । परिणामत: सप्तरी हनुमान नगर क्षेत्रका ३ सय ३५ घरबास डुबानबाट प्रभावित भए । कोसी धारलाई पूर्वतर्फबाट बग्न दिइरहेको भए भारतीय सीमावर्ती भूभाग कटानमा पर्ने थियो । पानीको बहाव फर्काउने कार्यबाट भारतीय सीमावर्ती भूभाग जोगियो । नेपालतर्फ भने प्रतिकूल प्रभाव पर्‍यो ।


कोसी नदीलाई भारतमा ‘विहारको दु:ख’ भनिन्छ । विहारको दु:ख हटाउन कोसी व्यारेज बनाइएको छ । वर्षायाममा ब्यारेजको ढोकाले पानी छेकिदिँदा कोसीले भारतमा वितण्डता मच्चाउन पाउँदैन । तर नेपाली सीमावर्ती भूमिचाहिँ डुबानमा पर्छ । २०६५ भदौ २ गते अपरान्हसम्म कोसी ब्यारेजको ५६ मध्ये २७ ढोका खोलिएको थियो । आवश्यक संख्यामा ढोका नखोलिँदा नेपालतर्फ जमेको पानीको सतह निकै बढ्यो ।

फलत: जलजमाउको प्रेसरले पूर्वी तटबन्ध भत्काएर नेपालको ३ गाउँपालिकाभित्र कोसीको भङ्गालो पसी तहसनहस बनायो । २७ नेपालीले ज्यान गुमाए । ५० हजार विस्थापित भए । ती गाउँपालिकाको ३५ प्रतिशत धानबालीलाई नोक्सान पुर्‍यायो । कोसीको फेरिएको भङ्गालोले भारततर्फ पनि निकै क्षति पुर्‍यायो । कटैयाको ६० मेघावाट विद्युत आपूर्ति बन्द भयो । १२ विद्युत टावर क्षति भए । घटनाको लगतै भदौ २ गते साँझमा ब्यारेजको ४० ढोका खोलियो । अनि डुबान घट्दै गयो ।


केही अघि कपिलवस्तुको कृष्णनगर नगरपालिकाको दक्षिण सीमास्तम्भ नं. ५५३ तथा ५५४ को नजिकै बनाइएको महलिसागर ब्यारेजको सबै १५ ढोका बन्द गरिएकाले यशोधरा गाउँपालिका–५, बेदौली, मुडिला, लाहरौली, भैंसहिया क्षेत्रका अधिकांश भाग डुबानमा परे । स्थानीय फुर्सत अली धुनिया, धनराज यादव, थानेदार धोबीसमेत सयौंको धानखेत तथा गाउँबस्ती डुब्यो । करिब ७ सय बिगाहा जमिन डुबानमा पर्‍यो ।


महलिसागर ब्यारेज नेपाल र ब्रिटिसकालीन भारतसँगको सन् १९०१ को सम्झौता अनुसार ५ ढोके सामान्य बाँधका रूपमा पानी छेक्ने स्लुइस गेट नहाल्नेगरी बनाइएको थियो । तर सन् २००३ मा यसलाई मर्मत गर्ने क्रममा पुरै भत्काई १५ ढोके बनाइयो । पक्की नयाँ ब्यारेज २०१० नोभेम्बरमा निर्माण पूरा गरियो । निर्माणका क्रममा नेपालले पटक–पटक विरोध गरे । स्थानीय वासिन्दाले धेरैपटक निर्माणकार्य रोकिदिए । दुई सरकारका सम्बन्धित निकायबीच पत्राचार तथा बैठक भए । तर काम रोक्दै फेरि चालु गर्दै गरियो । यो त प्रतिनिधिमूलक उदाहरण मात्र हो ।


सरकार प्रमुखको अभिव्यक्ति
भारतका प्रधानमन्त्री मोदीको तेस्रोपटक नेपाल भ्रमणका बेला दुवै प्रधानमन्त्रीको सम्बोधनका क्रममा प्रधानमन्त्री केपी ओलीले भनेका थिए, ‘भारतीय पक्षको पूर्वाधारका कारण नेपाली भागमा आएको डुबान विषयमा पनि छलफल भयो । मनसुन अगावै यसमा संयुक्त टोलीले काम गरेर समस्याको समाधान खोजिनेछ । दुवै पक्ष यसमा सहमत छौं ।’ (कान्तिपुर, २०७५, वैशाख २९) । मोदीसँगको भेटवार्तामा ओलीले भारतीय बाँधका कारण ‘नेपाली भूमि डुबानमा पर्दा तपाईको मन दुख्छ कि दुख्दैन’ भन्ने जिज्ञासा राखेको बताइएको थियो, त्यतिबेला ।

परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले २०७५ असार ३२ मा सञ्चारकर्मीलाई भनेका थिए– नेपाली भाग डुबानमा पर्दै आएकोले यसलाई सम्बोधन गरेर दिगो व्यवस्थापन गरिनेछ । नेपाल–भारत संयुक्त टोलीले बाढी तथा डुबानबारे तिलाठीदेखि पर्सासम्म र नवलपरासी पश्चिमतर्फको क्षेत्रमा मनसुन अगावै, मनसुनका समय र मनसुनपछि गरी तीन चरणमा अध्ययन गरिने उनले जनाएका थिए । यस्तो अध्ययन तथा डुबान समस्या समाधानका वाचा कार्यान्वयनमा आएको डुबान पीडितले अनुभव गर्न पाएका छैनन् ।


समाधान
नेपालमा डुबान प्रकोप हुन नदिने र भारतमा पनि बाढीले वितण्डता नमच्चाउनेगरी विद्यमान भारतीय संरचनालाई कसरी सुधार गर्न सकिन्छ ? भविष्यमा यस्ता संरचना नबनाउने र बनाउनैपरे दुवै देशको सहमतिमा नेपाललाई आघात नपर्नेगरी निर्माण गर्ने नीतिगत निर्णय गर्न आवश्यक छ ।

मनसुन वर्षाका समय ब्यारेजका आवश्यक ढोका खोलिनुपर्ने र नेपालबाट बग्ने नदीको प्राकृतिक बहाव नरोकिनेगरी भारतले प्रशस्त मात्रामा निकासका कलभर्ट बनाउनुपर्ने प्रावधान त्यस्तो नीतिले समेट्नुपर्छ । तल्लो तटीय क्षेत्रमा भारतीय भूभागलाई नेपालबाट बग्ने नदीले कटान गर्न नसकोस् भनी नदीका दुवै किनारमा आवश्यकता अनुसार पक्की तटबन्ध भारतले निर्माण गर्न आवश्यक छ । यस्तो प्रबन्ध गरिएमा नेपाली भूभागमा पनि डुबान हुँदैन । भारतीय भूमि पनि बाढीबाट जोगिन्छ ।

प्रकाशित : भाद्र १८, २०७५ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?