कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

किन सम्हालिँदैन मान्छे ?

ब्ल्यु फिल्म र मादक पदार्थको लतमा फँसेका व्यक्तिमा बच्चादेखि वृद्धासम्मलाई एकान्तमा भेटे नछाड्ने र जस्तोसुकै अपराध गर्न पछि नपर्ने मनोवृत्ति हुन सक्छ ।
निर्मला भण्डारी

काठमाडौँ — दुई वर्षअघि काठमाडौंको एउटा निजी स्कुलमा पढ्ने १३ वर्षीया किशोरी यति दुर्गन्धित भइन् कि उनका साथीहरू कक्षामा सँगै बस्न मानेनन् । उनलाई नुहाएर आउन भनियो । नुहाएर आए पनि दुर्गन्ध कमी नभएपछि शिक्षकले मसिनो गरी सोधपुछ गरे । उनले रुँदै भनिन्, ‘मलाई धर्म दाजुले नराम्रो काम गर्छ ।’

किन सम्हालिँदैन मान्छे ?

यसबारे बाबुआमालाई जानकारी गराइयो । उनकै बाबुले प्रहरीमा जाहेरी दर्ता गराए । अनुसन्धानकै क्रममा उनलाई बाबुले समेत बलात्कार गरेको खुलासा भयो । ती बाबुले ११ र ८ वर्षका अरु दुई छोरीलाई समेत बलात्कार गरेको खुल्यो । यो मुद्दामा काठमाडौं जिल्ला अदालतले भर्खरै जन्मकैद फैसला गरेको छ ।

– ७ वर्षे नातिनीलाई बलात्कार गरेको कसुरमा हजुरबाबु पक्राउ परे । यो खबर सुनेर विदेशमा रहेका बाबु घर फर्के । ‘सेफ हाउस’मा बस्दै गरेकी छोरीलाई आफ्नै संरक्षणमा राख्ने भन्दै घर लगे । त्यसपछि ‘हजुरबाबुले कसो गरे ? कसरी गरे ? मलाई देखाऊ’ भन्दै बाबुले बलात्कार गरे ।

–कैलालीको गौरीगंगा नगरपालिकामा सहकर्मीले यौन सम्पर्कका लागि राखेको प्रस्ताव अस्वीकार गरेपछि अन्य साथी जुटाएर सामूहिक बलात्कार गरेर हत्या गरे ।

यी यौन हिंसाका प्रतिनिधि घटना हुन् । आङ सिरिङ्ग पार्ने यस्ता घटना दिनहुँजसो सार्वजनिक भइरहेका छन् । एक महिनाअघि कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार गरी हत्या भएपछि प्रदर्शन निरन्तर छ । दोषी पहिचान र कारबाहीको माग राख्दै चलेको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरी गोली चलाउँदा १४ वर्षीय किशोरको ज्यान गयो । दर्जनौं घाइते छन् ।

सृष्टिको सर्वोत्कृष्ट चेतनशील प्राणी भएर पनि मानिस किन पशुवत बन्दै गएको छ ? कुन जैविक र मानसिक तत्त्वको कमीले मानिसले आफूलाई सम्हाल्नै सकिरहेको छैन ? त्यसको समाधान के हुनसक्ला ? यो विकृति कसरी कम गर्न सकिन्छ ? यस आलेखमा यिनै विषय उठाइएको छ ।

मनोवैज्ञानिक असर
यौन हिंसाबाट गुज्रिएका पीडितको शारीरिक, मानिसक, मनोवैज्ञानिक, पारिवारिक र यौन जीवनबारे मैले केही मनोविद्, सामाजिक परामर्शकर्ता, अनुसन्धानमा खटिएका प्रहरी लगायतसँग बुझ्ने कोसिस गरेँ । तर सबैबाट चित्त नबुझ्दो होलसेल उत्तर आयो ।

यही बेला साहित्यकार जुनोट डियाज (पुलित्जर पुरस्कार सन् २००८, नेसनल बुक क्रिटिक्स सर्कल अवार्ड विजेता) को ‘म बलात्कृत पुरुष’ भन्ने संस्मरणात्मक लेख पढ्न पाएँ । ४९ वर्षीय उनले लेखेका छन्, ‘म आठ वर्षको छँदा बलात्कृत भएँ । जसका कारण मेरो जीवन ड्रागनले निलेर ध्वस्त पारेझैंँ भयो । म डिप्रेसन र रोक्नै नसक्ने गरी रिस उठ्ने समस्याको सिकार भएँ । ऐनामा आफ्नो अनुहार हेर्दा डराउने, आफ्नै विम्बमा अपराध र अवहेलना देख्ने भएँ । कसैले आफूलाई हेरे उसलाई सबै थाहा छ र मलाई घृणाले हेर्दैछ जस्तो लाग्ने । घटना भुल्न संगीत सुनेँ, किताब पढेँ, अनेक गरेँ । राति निदाउनै सक्दिनथेँ, निदाइहाले पनि सपनामा कहिले आफ्नै बाबु, दाजुभाइ, शिक्षक, साथी त कहिले नचिनेको मान्छेद्वारा बलात्कृत हुन्थेँ । सपनामै चिच्याउँथेँ, कराउँथेँ । आफैलाई सिध्याउन धेरैपटक कोसिस गरेँ । शौभाग्य भनौं, एक सुन्दर युवतीलाई मनपराउन थालेँ । मलाई लागेको थियो, अब जिन्दगी जोगियो । सारा पीडा र डरलाग्दा सपना सकिन्छन् । हामी सँगै बस्यौं, एउटै पलङमा सुत्यौं, तर मैले उनीसँग यौन सम्बन्ध राख्न सकिन । जब नजिक हुन्थेँ, तब विगतको घटना स्मृति बनेर मनमस्तिष्कमा सल्बलाउन थाल्थ्यो । अन्तत: हामी छुट्न बाध्य भयौँ । विगत भुल्ने बहानामा प्रेमिका फेरिरहेँ, डिप्रेसनको औषधी र अत्यधिक रक्सी पनि लिइरहेँ ।’

यौन हिंसाबाट पीडित व्यक्तिमा मानसिक, पारिवारिक र यौन जीवन कतिसम्म तहसनहस हुँदोरहेछ भन्ने डियाजको भोगाइले प्रस्टयाउँछ । कलिला नानी, महिला, प्रौढ, वृद्धालाई यस्तो क्रूर घटनाले कस्तो असर पार्ला ? नजरअन्दाज गरेर बोल्नु थप अन्याय हुनेछ ।

हिंसाका कारण
मनोविद् तृष्णा साहका विचारमा बलात्कार गर्ने सोच आउनु एक प्रकारको मनोरोग हो । यसलाई ‘साइको सेक्सुअल डिसअर्डर’ भनिन्छ । पछिल्लो समय यस्ता घटनामा बालक, युवा र वृद्ध समेतको संलग्नता बढ्नुमा बेरोजगारी, मोबाइल र इन्टरनेटमा सहज पहुँच, अश्लील फिल्म हेर्ने सुविधा, मादक पदार्थ सेवन, यौन उत्तेजना बढाउने खालका औषधीको उपलब्धता, चलचित्रमा राखिने उत्तेजक दृश्य, आध्यात्मिक चिन्तनको अभाव र नैतिकताको ह्रास प्रमुख कारण हुन् ।

अनुसन्धानमा खटिएका प्रहरीहरूका अनुसार ब्ल्यु फिल्म तथा मादक पदार्थको लतमा पँmसेका व्यक्तिमा बच्चादेखि वृद्धासम्मलाई एकान्तमा भेटे नछाड्ने र जस्तोसुकै अपराध गर्न पछि नपर्ने मनोवृत्ति हुनसक्छ । यस्तो कुलतमा फँसेको सिन्धुलीको एकै अपराधीले ११ जना, सप्तरीमा ८ जना र रौतहटमा ५ जनासम्म बलात्कार गरेको पाइएको उनीहरूको भनाइ छ ।

समाधान
६० प्रतिशत आफन्तबाट, २० प्रतिशत छिमेकी, चिनेजानेका तथा २० प्रतिशत बाहिरी व्यक्तिबाट बलात्कारका घटना भएको देखिन्छ । यसले आफ्नो परिवार सबैभन्दा असुरक्षित देखाउँछ । यस्ता आपराधिक मानसिकता भएका व्यक्तिको कुदृष्टिबाट जोगिन र जोगाउन बढी सजग हुनुपर्छ । बालबालिका, अशक्त र वृद्धालाई एक्लै छाड्न हुँदैन । समाजले त्यस्ता अपराधलाई सिंगो समाजकै समस्याका रूपमा हेरेर समाधान खोज्ने मानसिकता विकास गर्न ढिलो भइसकेको छ ।

आम नागरिकको जीउधनको सुरक्षा गर्नु राज्यको प्रमुख दायित्व हो । यस्ता घटनामा प्रहरीले जाहेरी दर्ता नगरिदिने, गरे पनि पीडितको इच्छा विपरीत जबर्जस्ती मिलापत्र गराउने गरेको पनि देखिएको छ । प्रमाण लोप गरेर अपराधीलाई उम्किने वातावरण तयार गरी अदालत जाने जनगुनासा सुनिन्छन् ।

कमजोरी भए नदोहोर्‍याउने प्रतिबद्धताका साथ काम गर्नुपर्छ । पीडितलाई न्याय र पीडकलाई अधिकतम दण्ड–सजायको भागिदार बनाउन कानुनकर्मी र न्यायकर्मीको भूमिका अहम् रहन्छ । मिडियाले अपराध न्यूनीकरणमा सहयोग पुग्नेगरी समाचार सम्प्रेषण गर्नुपर्छ ।

लेखिका अधिवक्ता हुन् ।

प्रकाशित : भाद्र १४, २०७५ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?