१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

तपाईंले बोल्ने दोस्रो भाषा कुन् ?

दानराज रेग्मी

काठमाडौँ — विश्वमा भाषा तीव्र गतिमा लोप हुने क्रममा छ । भाषाविद्हरू भन्छन्, ‘हरेक दुई सातामा एउटा भाषा मर्छ ।’ नेपालको जनगणनालाई हेर्‍यो भने उल्टो देखिन्छ । हरेक जनगणनामा यहाँ बोलिने भाषाको संख्या बढिरहेको हुन्छ ।

तपाईंले बोल्ने दोस्रो भाषा कुन् ?

सन् १९५२–५४ को राष्ट्रिय जनगणनाले पहिलोचोटि मातृभाषा गणना गरेको थियो । त्यसबेला ५२ वटा मातृभाषा बोलिन्थे । सन् २००१ को जनगणनामा ९२ पुग्यो । सन् २०११ को जनगणनाले नेपालमा बोलिने भाषाको संख्या १२३ पुर्‍याएको छ ।

पञ्चायतकालमा सन् १९७१ र १९८१ को जनगणनामा अविश्वसनीय रूपमा संख्या क्रमश: १७ र १८ मा सीमित गरिएको थियो । विश्वमा बोलिने भाषा संख्या घटिरहेका बेला नेपालमा चाहिँ कसरी बढ्दैछ त ? स्वाभाविक रूपमा प्रश्न पैदा हुन्छ ।

नेपालमा छुट्टै भाषिक गणना गरिएको छैन । भाषाको संख्या, नामकरण, वक्ता संख्या र स्थानबारे जानकारी दिने आधिकारिक स्रोत यिनै जनगणना हुन् । सन् २००१ अगाडिका जनगणनामा विशेषत: भाषाको संख्याबारे थुप्रै विसङ्गति भए पनि तथ्यगत रूपमा टिकाटिप्पणी हुनसकेन । नेपालको भाषिक सर्वेक्षण परियोजना (सन् २००९–२०१७) ले लगभग सबै प्रमुख भाषाको समाजभाषा वैज्ञानिक सर्वेक्षण गरेको छ । यसले दिएका तथ्यहरूका आधारमा सन् २०११ को जनगणनाको तथ्याङ्कमा प्रमुख दसवटा विसङ्गति वा कमजोरी देखिएका छन् ।

१. पुर्खाको भाषालाई मातृभाषाका रूपमा गणना । नेपाली भाषा सरकारी कामकाज र पठन–पाठनको माध्यम भाषा भएकाले थुप्रै अन्य मातृभाषी समुदायका बालबालिका र युवक–युवतीले पहिलो भाषाका रूपमा नेपाली प्रयोग गरेको पाइन्छ । जनगणनामा भाषाका सम्बन्धमा दुइटा मात्र प्रश्न सोधिएका थिए । पहिलो, तपाईको मातृभाषा के हो ? दोस्रो, तपाईले दोस्रो भाषाका रूपमा कुन बोल्नुहुन्छ ?

सीमित प्रश्नावली भएका कारण केही जनजाति समुदायका सूचकले आफूले नबोल्ने तर पुर्खाले बोल्ने गरेको भाषालाई मातृभाषाको रूपमा लेखाएको पाइन्छ । जस्तो– मोरङमा बसोबास गर्ने भुजेल जातिका कसैले भुजेल भाषा बोल्दैनन् । तर जनगणनाले मोरङमा हजारौंले यस भाषालाई मातृभाषाका रूपमा प्रयोग गरेको देखाएको छ ।

२. भाषा र भाषिकाबीच भिन्नता नठम्याउनु । हरेक भाषामा स्थान र वक्ताको सामाजिक अवस्था अनुसार भिन्नता देखिन्छन् । नेपालीका पनि स्थान अनुसार उच्चारण र व्याकरणमा भिन्नता पाइन्छन् । जनगणनामा भने वक्ता, गणक तथा विज्ञहरू पनि निश्चित भाषा र त्यसका भाषिकाबारे अन्योलमा परे । त्यसैले नेपालीका खास भाषिकाका रूपमा रहेका सुदूर पश्चिममा बोलिने नेपाली भाषालाई दैलेखी, आछामी र डोटेली, बैतडेली जस्ता नाममा स्वतन्त्र भाषाका रूपमा गणना गरिएको छ ।

भाषिक विशेषता एउटै हुँदाहुँदै पनि आठपहरिया र बेलहारे छुट्टै भाषाको रूपमा आएका छन् । सुनसरी र मोरङमा बोलिने अङ्गिकाका नामले स्वतन्त्र भाषाका रूपमा गणना भएको छ, जबकि सर्वेक्षणका क्रममा धेरै सूचकले आफूले मैथिली भाषा बोलेको जानकारी दिए ।

३. वास्तविक वक्ता संख्या निर्धारण गर्न नसक्नु । भाषाको जीवन्तता तह निर्धारण गर्ने प्रमुख आधार वक्ता संख्या हो । गलत वक्ता संख्याका आधारमा जीवन्तताको तह निर्धारण गरी भाषा विकास वा संरक्षणका कार्यक्रम सञ्चालन वा त्यसका लागि सिफारिसले भाषाको अवस्थामा सकारात्मक सुधार ल्याउँदैन । जनगणनामा मातृभाषाका वक्ता संख्यामै थुप्रै त्रुटि छन् ।

डोल्पा जिल्लामा साविकको सहरतारा गाउँ विकास समितिका सहरतारा, तुपतरा र ताराकोट नामका तीन गाउँमा बोल्ने काइके (मगर काइके) भाषाको वक्ता संख्या लगभग एक हजार छ । तर जनगणनाले ५० जनामात्र वक्ता देखाएको छ । माथिल्लो मनाङका खाङ्सार, मनाङ, ब्राका, पिसाङ जस्ता गाउँमा तीन हजारभन्दा बढीले बोल्ने मनाङे भाषाको वक्ता संख्या गणनामा ३९२ मात्र देखाइएको छ । गलत वक्ता संख्याका आधारमा भाषा संरक्षणका लागि सही रणनीति अपनाउन सकिन्न । सम्बन्धित भाषिक समुदायमा पनि भाषा संरक्षण र भाषा प्रयोगप्रति नैराश्यता आउन सक्छ ।

४. भाषा बोलिने मूल स्थान उल्लेख नहुनु । दुर्गम भेगका मानिस रोजगारी र न्यूनतम आवश्यकता परिपूर्तिका लागि मूल स्थानबाट विशेषत: सहरी क्षेत्रतिर बसाइँ–सराइ गरिरहेको पाइन्छ । केही काइकेभाषी डोल्पाबाट काठमाडौं र भक्तपुरमा आएर स्थायी रूपमै बसोबास गरिरहेका छन् । मनाङे भाषाका वक्ता काठमाडौंमा मनग्ये पाइन्छन् । जनगणनामा काइके र मनाङेका वक्ता काठमाडौं उपत्यकामा मात्र देखाइएको छ । मूल स्थानका रूपमा मनाङे भाषा बोल्ने मनाङ र काइके भाषा बोल्ने डोल्पामा भने एकजना पनि वक्ता नदेखिनु आश्चर्य र उदेकलाग्दो होइन र ? दैलेखी भनी गणना गरिएका भाषिक वक्ता पनि दैलेख नभएर कैलाली र कञ्चनपुरका केही गाउँमा पाइन्छन् ।

५. राईलाई छुट्टै सूचीकृत । किरात राई समूहका बान्तवा, चामलिङ, थुलुङ, कुलुङ, हायु, याम्फु, आठपहरिया, याक्खा, कोयी, साम्पाङ, दुमी, पुमा, दुङ्माली, खालिङ जस्ता २४ वटा भाषालाई सन् २०११ को जनगणनामा मातृभाषाको रूपमा सूचीकृत गरिएको छ । १ लाख ५९ हजार १ सय १५ वक्ता संख्या देखाइएको राई नामक भाषा छुट्टै सूचीकृत हुनपुगेको छ । यसो हुनुमा दुई कारण हुन सक्छन् । पहिलो, गणकले व्यक्तिको जातिगत जानकारी प्राप्त गरेपछि भाषाबारे प्रश्नै नसोधी अनुमानका भरमा मातृभाषाका रूपमा राई लेखिदिनु ।

दोस्रो, भाषिक अभियन्ताको भनाइमा लागेर एक जाति एक भाषाका रूपमा मातृभाषाको स्थानमा राई लेखाउनु वा वक्तामा आफूले बोल्ने बोलीको आधिकारिक नाम थाहा नहुनु वा थाहा नगराइनु । राई एक जातिका रूपमा परिचित भए पनि उनीहरूले बोल्ने भाषा फरक–फरक छन् । राई मात्र भनेर स्वतन्त्र भाषाका रूपमा गणना गर्दा अरू स्वतन्त्र भाषाको प्रयोग र गौरवमा धक्का लाग्न सक्छ ।

६. एउटै भाषा एकभन्दा बढी नाममा सूचीकृत । विभिन्न जातिले भिन्न स्थानमा बोल्ने एउटै भाषा एकभन्दा बढी नाममा सूचीकृत हुनपुगेका छन् । सन् २०११ को जनगणनामा छुट्टाछुट्टै नाममा सूचीकृत भएका कोच र गनगाई फरक भाषा नभएर एउटै हुन् । त्यस्तै अवस्था राजवंशी र ताजपुरिया भाषाको छ ।

७. अन्तर्राष्ट्रिय भाषालाई मातृभाषामा गणना । नेपाली जनमानसमा भारतीय भाषाका रूपमा परिचित भएका हरियान्वी, पञ्जाबी, उडिया, आसामी, साधनी, गढवाली, मिजो, कुकी र नागामी जस्ता भाषालाई जनगणनाले मातृभाषाको मान्यता दिएको छ । भूटानमा बोलिने जोङ्खा, अति कम वक्ता संख्या भएका चिनियाँ, अरबी, स्पेनेली, रसियाली र फ्रेञ्च जस्ता भाषालाई नेपालका मातृभाषा हुने मौका दिइएको छ । अन्तर्राष्ट्रिय भाषाका रूपमा नेपालमा पढाइँदै आइएको अंग्रेजीलाई पनि मातृभाषाकै दर्जा दिइएको छ ।

आफूले बोल्ने भाषालाई मातृभाषाको पहिचान दिलाउन खोज्नु अस्वाभाविक होइन । तर देशको पहिचानलाई ध्यान दिँदै यस्ता भाषालाई विदेशी भाषाका रूपमा लिनु राम्रो हुन्छ । ८. जातिगत रूपमा वक्ता गणना । सन् २०११ को जनगणनामा केही जातिगत समुदायले आफूले बोल्ने भाषालाई जातिगत रूपमा सूचीकृत गरेका छन् । गोरखाको बारपाक क्षेत्रमा बसोबास गर्ने घले र गुरुङले बोल्ने भाषा एउटै हो । घलेले जनगणनामा त्यही भाषालाई घले र गुरुङले गुरुङ भाषाका रूपमा लेखाएको पाइन्छ । आफूलाई गुरुङका रूपमा पहिचान गराउने उत्तरी मुस्ताङमा बसोबास गर्ने जातिले आफूले बोल्ने भाषा सेके भए पनि गुरुङका रूपमै भाषा सूचीकृत गराएका छन् ।

९. वक्ता नभएका भाषा गणना । सर्वेक्षण र जातिगत सङ्गठनको संयुक्त प्रयासमा दुरा समाजका मानिसलाई भेला गराउँदा दुरा भाषा बोल्न सक्ने एकजना पनि पाइएन । जनगणनामा दुराको वक्ता संख्या दुई हजारभन्दा बढी देखाइएको छ । नेपाली मातृभाषी मुक्तिनाथ अधिकारीले भने आफूले मात्र यो भाषा जान्ने दाबी गर्दै आएका छन् ।

१०. नेपाली भाषाका वक्ता संख्यामा अन्योल । सरकारी कामकाज भाषाका रूपमा नेपाली प्रयोग भइरहेको छ । पञ्चायत कालदेखि पठन–पाठन र आमसञ्चारको माध्यमको रूपमा नेपाली भाषा प्रयोग गरिएको छ । धेरै मातृभाषी नेपाली भाषातिर अपसरित हुँदै गएका छन् । बालबालिकाले आफ्नो मातृभाषा बोल्दैनन् वा बोल्नै सिकाइएको छैन । नेपाली भाषाको पहिलो भाषाका रूपमै दिन–प्रतिदिन वक्ता संख्यामा वृद्धि भइरहेको छ । सन् २००१ को जनगणनामा नेपाली भाषाका वक्ता संख्या ४८ प्रतिशत देखाइएको थियो । सन् २०११ को जनगणनामा भने ४४.१ प्रतिशत छ । यसले भाषाको गणना पद्धतिमै पुनरावलोकन गर्नुपर्ने आवश्यकता देखाएको छ ।

जनमानसमा आफ्नो भाषाप्रति आएको जागरुकता र सचेततालाई भने गनगणनाले धेरै हदसम्म सम्बोधन गरेको छ । धेरै मातृभाषालाई जनगणनाले समावेश गरेको छ । सन् २०२१ मा नयाँ जनगणना हुँदैछ । यस जनगणनामा यस्ता विसङ्गति दोहोरिन दिनु हुन्न । सकेसम्म छुट्टै भाषिक गणना गर्नुपर्छ । अनि जातिभाषिक गणना गर्नु आवश्यक छ ।

परम्परागत रूपमा सामान्य जनगणनामै भाषा गणना गर्ने हो भने भाषा सम्बन्धी प्रश्नावलीमा कम्तीमा तीनवटा प्रश्न समावेश गर्नुपर्छ । पहिलो प्रश्न– तपाईको पुर्खाको वा पहिचानको भाषा के हो ? दोस्रो प्रश्न– तपाईले बोल्ने पहिलो भाषा कुन हो ? र तेस्रो प्रश्न– तपाईंले बोल्ने दोस्रो भाषा कुन हो ?

लेखक त्रिवि भाषाविज्ञान केन्द्रीय विभागका प्राध्यापक हुन् ।
[email protected]

प्रकाशित : भाद्र १३, २०७५ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?