निर्मलाका लागि नागरिक आन्दोलन

सम्पादकीय

काठमाडौँ — प्रहरीकहाँ जानु नै ठेस लाग्नुजस्तो भयो भने कुन नागरिकले न्यायको आस गर्छ ? महेन्द्रनगरकी १३ वर्षीया निर्मला पन्तकी आमाको निश्चल हारगुहार प्रहरीले सुरुमै वास्ता गरेन । अहिले राति भइसक्यो, भोलि खोजी गरौंला भन्ने रुखो जवाफ दियो ।

निर्मलाका लागि नागरिक आन्दोलन

भोलिपल्ट उखुबारीमा बलात्कृत छोरीको शव भेटिएपछि उनले छाती पिट्नु देश, समाज र न्याय व्यवस्थालाई सराप्नुसरह थियो ।

ठीक एक महिना भयो कञ्चनपुर, भीमदत्त नगरपालिकाका नागरिक तातेको । आमाले प्रहरीको आड पाउन नसकेपछि अडोसपडोससँग पुकारा गरिन् । साउने झरी दर्किरहेको रात आकाशझैं उनी अनिदो रहिन् । त्यसयता प्रहरी र प्रशासनको व्यवहारले स्थानीय नागरिक त्यसैगरी जाग्राम छन् । जनता त्यसै जाग्दैन । महेन्द्रनगरले नागरिक आन्दोलन जगाएको छ । निर्मलाका लागि न्याय माग्दा सरकारले सुनुवाइ नगरेपछि नागरिक आन्दोलनले स्वस्फूर्त देशव्यापी विस्तार लिएको छ ।

प्रहरी सुरुकै दिनदेखि रक्षात्मक हुन पुगेको छ । जनताको सुरक्षा दिनुपर्ने संगठन आफ्नै रक्षामा उत्रिनुपरेपछि एकपछि अर्को अत्याशा र हतासाको सिकार हुन पुग्छ । आन्दोलित नागरिकहरूको आक्रोश थेग्न नसकेपछि अश्रुग्यास प्रहार गर्दै आएका बेला शुक्रबार गोली हान्ने मनस्थितिमा पुग्यो जसले एकजना १४ वर्षीय विद्यार्थीको छाती दाग्यो । अरू केही घाइते भए । सरकारले प्रशासक र प्रहरी अधिकृत फेर्दै, छानबिन समिति गठन गरेको छ जसलाई सघाउ पुर्‍याउन स्थानीय सर्वदलीय सहमतिबाट सडक शान्त पार्न खोजिएको छ ।

प्रहरीको शंकास्पद भूमिकाले स्थानीयवासीलाई जगाएकामा अब कुनै सन्देह रहेन । जिल्ला प्रहरीले सुरुकै दिनदेखि पीडित परिवारको पक्ष लिएन । प्रहरी कसको भन्ने प्रश्न उब्जियो । प्रहरीले न्याय दिलाउने आशा जगाउनुको साटो जनआक्रोशमा घिउ थप्न थाल्यो । पीडितमुखी हुनुपर्ने प्रहरीले निष्पक्षतासम्म देखाउन सकेन । प्रहरी प्रमुखले पीडित परिवारलाई सान्त्वना र आश्वासन होइन, चेतावनी र त्रासदी दिँदै शवदाह गर्न बाध्य पारे । उकुसमुकुस भएका जनताको भुसको आगो सल्काउन प्रहरी आफैंले तीन सातापछि थप अर्को अपत्यारिलो अभिनय गर्‍यो । कसैले विश्वास नगर्ने पात्रलाई प्रमुख दोषीका रूपमा प्रस्तुत गर्‍यो ।

कुनै पनि अपराधको ढाकछोप आफैंमा अपराध हो । नक्कली आरोपी सिर्जना गरिएको हो भने त्यो झन् ठूलो अपराध हो । प्रहरीको कामकारबाही नागरिकले निगरानी गरिरहेको हुन्छ । नागरिकको विश्वासभन्दा माथि हुन ऊ सक्दैन । ‘झूटो पात्र’ खडा गरेको क्षणदेखि जनता झन् जाग्यो जसको सामना गर्न प्रहरीले गोलीको सहारा लिनुपर्ने भयो । प्रहरीको सहारा समाज रहन सकेन भने तनाव अपरिहार्य हुन्छ । आफ्नो कारबाहीबाट समाज सन्तुष्ट हुन नसकेपछि प्रहरीले विश्वास दिलाउने प्रमाण देखाउन सक्नुपथ्र्यो र स्थानीयसँग पत्यारको सम्बन्ध कायम गर्न । पीडित परिवारले गरेको शंकाअनुसार छानबिन गर्नै चाहेन, मानौं उसलाई अपराध छानबिन गर्नुपर्ने होइन, लुकाउनुपर्ने बाध्यता थियो ।

यस प्रकरणमा सरकार प्रतिक्रियात्मक छ, सम्बोधनात्मक होइन । प्रहरीको अनुसन्धान खुबी गायब भएको छ । प्रहरी प्रशासन पूरै असफल भएको त होइन तर संगठनमा द्विविधा र अन्योल बढेको अनुमान गर्न सकिन्छ जुन चिन्ताजनक हो । रक्षाबन्धनका बेला पश्चिम तराईको सीमा सहर कफ्र्युमा छ । बजारमा प्रहरीमात्र देखिन्छन् । प्रहरीकै कारण । स्थानीय प्रहरीमात्र होइन, क्षेत्रीय र केन्द्रीय अनुसन्धान टोली पनि पुगेकाले यसमा सबैको अयोग्यता उदांग भएको छ ।

प्रहरीको भूमिका पीडित परिवारको शंका निवारण गर्ने हो, बल्झाउने होइन । सरोकारवालासँग सहकार्य गर्नुपर्ने प्रहरीले यहाँ आगो सल्काइदिने गरी सलाई कोर्दै हिँडेको छ । प्रशासनले समाजसँग विश्वास टुटाएका बेला कुन तथ्य, कुन अफवाह केहीको परवाह नहुने खतरा बढेको छ ।

प्रकाशित : भाद्र १०, २०७५ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?