३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

विकासे राम्रो

जैविक खेती प्रणालीमा बालीनाली तथा बस्तुभाउ प्राकृतिक रुपमै प्रतिरोधक क्षमतासहित हुर्केका हुन्छन् । तिनले सुक्खा तथा खडेरी सहन सक्छन् ।
कृष्णप्रसाद पौडेल

काठमाडौँ — भारतमा तीन वर्षअघि गरिएको अध्ययनमा आमाको दूधमा हानिकारक रसायन भेटियो । त्यस्तै तथ्य अन्य मुलुकमा गरिएका अनुसन्धानमा पनि पाइएको छ । बच्चाका लागि पोषिलो भनिने आमाको दूधमै हानिकारक रसायन भेटिन्छ भने हामीले सिधै खाने वस्तुको अवस्था के होला !

विकासे राम्रो

रसायन र विषादी अत्यधिक प्रयोग गरी उत्पादित खाद्यवस्तु उपभोगका कारण आमाको दूधमा समेत रसायन देखिएको हो । यस्ता खानाका कारणबाट मानिसमा नसर्ने दीर्घरोग बढिरहेको छ । रसायन, विषादी, हर्मोन र नसड्ने प्लाष्टिकको प्रयोगले माटो र यसको जैविक प्रक्रिया ध्वस्त हुँदै गएको छ ।


खानेकुरामा रसायन र विषादीको जोखिम कम गर्ने भरपर्दो उपाय जैविक खेती हो । तर यो यथार्थलाई बेवास्ता गर्दै कतिपयले जैविक खेती असम्भव भएको तर्क गर्ने गरेका छन् । उनीहरूले वैज्ञानिक प्रमाण नभएको भन्दै जैविक कृषिबारे भ्रमसमेत फैलाउने गरेका छन् । उनीहरू भन्ने गर्छन्, जैविक खेती गर्दा उत्पादन घट्छ र भोकमरी बढ्छ, धेरै दु:ख हुन्छ, तर फाइदा छैन । यो खेती निर्वाहमुखी मात्र हुन्छ र विरुवालाई अजैविक जैविक पोषणको मतलब हुँदैन भन्ने रहेका छन् ।


यथार्थ फरक छ । जैविक खेती माटो र मानव स्वास्थ्य जोगाउने उपयुक्त उपाय हो । जैविक खेतीमा एकीकृत कृषि प्रणाली र मिश्रित खेती पद्धति अपनाइने हँुदा उत्पादन बढ्छ । स्थानीय तहमै उत्पादन बढ्दा भुखमरीको जोखिम कम हुन्छ । जैविक खेती धेरै सरल हुन्छ । बिरुवालाई दिगो पर्यावरणीय प्रक्रियाबाट बन्ने जैविक पोषण नै चाहिन्छ ।


संसारभर हामीलाई चाहिनेभन्दा झन्डै दोब्बर खाद्य उत्पादन भैरहेको छ । तर विश्वका ७ अर्ब मानिसमध्ये १ अर्बजति राति भोकै सुत्न बाध्य छन् । किन ? यस्तो खाद्य अर्थराजनीतिको अहं वर्गीय प्रश्नमा बुझ पचाउने जमात उल्टै जैविक खेतीमा उत्पादन कम हुन्छ भन्ने जिद्दी गर्छन् । खासमा कृषि उत्पादन बढाउन गरिने बाह्य स्रोतको लगानीका सामग्रीको व्यापार बढाएर व्यापारीले नाफा कमाउँछन् भने अन्यले भाडा असुल्ने दाउ हेरेका हुन्छन् ।


अहिले कृषिकर्म दु:ख र हेलाको पेसा हो भन्ने सामाजिक मनोविज्ञान सबैतिर व्याप्त छ । यो पेसा विस्तारै ‘पौरखी पुरुष’ले ‘केही नगर्ने महिला’को काँधमा सारिँदैछ । आम किसानलाई हराभरा खेतबारी छाडेर मरुभूमिमा रगत–पसिना चुहाउन बाध्य पारिँदैछ । सामाजिक मनोविज्ञान यस्तो बनाइएको छ कि अपवाद र अवसर नपाउने बाहेक कोही ‘पुरुषोत्व भएको पुरुष’ खेतीपाती गर्नै चाहँदैनन् । यो सामाजिक मनोविज्ञान पुरुष उत्पादन गर्ने (महिलाभित्र पनि सफल रहेको) विश्व/विद्यालयरूपी कारखाना र यसबाट पढेर या पढाएर हैन, घोकेर या घोकाएर विद्यार्थी उत्पादन गर्ने प्रक्रिया नफेरेसम्म बदलिँदैन । यो नफेरी न यस्तो आधुनिक जमानामा अब गोठमल, कम्पोष्ट, विषादी बनाएर को बस्छ भन्ने कुराको उत्तर दिन सकिन्छ न कृषि पेसालाई मर्यादित बनाएर भविष्यको खेतीपाती सम्हाल्ने स्वाभिमानी किसान तयार पार्न ।


आम मानिसमा ‘विकासे राम्रो’ भन्ने भ्रम निकै बलियो छ । हेर्दा राम्रोमा लोभिने तर प्रकृतिको गुण बिर्सेको कृत्रिम मानिस उत्पादन गर्ने नवउदारवादी भनिने उत्ताउलो विकासवादी चिन्तन सर्वत्र र छताछुल्ल छ । सागपात र तरकारी किन्दासम्म यस्तो उत्ताउलो चिन्तन हावी छ । बजारमा तरकारी वा फलफूल किन्न जाने धेरैले चिल्ला, सर्लक्क परेका र कुनै दाग या धब्बा नभएका मात्र रोज्ने गर्छन् । तर जैविक तरिकाले उत्पादन गरिँदै आएका तरकारी तथा फलफूल जुन तुलनात्मक हिसाबले ‘नराम्रा’ देखिन्छन्, ती विषरहित छन् भन्दा बरु फरक पर्दैन ।


ऊर्जा, माटो, पानी र पर्यावरणबारे पनि भ्रम छन् । रासायनिक खेती ब्रोइलर भनिने विकासे कुखुराजस्तै हो । अलि तलमाथि परे सबै सखाप हुन्छ । उदाहरणका लागि, दुई वर्षअघि कर्णालीको खडेरीमा स्थानीय रैथाने बालीमा धेरै नोक्सान भएन, तर विकासे या बाहिरिया बाली सबै सुके । जैविक खेती प्रणालीमा बालीनाली तथा बस्तुभाउ प्राकृतिक रूपमै प्रतिरोधक क्षमतासहित हुर्केका हुन्छन् र तिनले सुक्खा तथा खडेरीजस्ता प्रतिकूल अवस्था सहन सक्छन् । यसले हाम्रोजस्तो धेरै जमिन सुक्खा र खेतीपाती आकाशे पानीमा भरपर्ने भूगोलका लागि निकै महत्त्व राख्छ ।


बिरुवालाई अजैविक वा जैविक पोषणको कुनै मतलब हुँदैन भन्ने अर्को भ्रम छ । केही मानिसले भन्ने गर्छन्, ‘रासायनिक मल होस् वा जैविक बिरुवालाई त पोषण चाहिने हो, जुनसुकै तरिकामा पनि बिरुवाले रसायनकै तहमा लिने हो, तसर्थ बाहिरबाट रसायन हालेर माटो र उत्पादित कृषि उपजको गुणस्तरमा केही परक पर्दैन ।’ यो प्रकृति वा माटोभित्र हुने जीवन्त जैविक प्रक्रियाको भेद थाहा नभएकाहरूको कुतर्कमात्र हो ।


बेला–बेला फैलाइने यस्ता भ्रम मुख्यत: व्यापारिक कृषि गरी नाफा कमाउने दलालले चलाएको हल्लामा आधारित छन् । सँगै केही चिन्ता र चासो मिसिएका, केही प्रकृतिको भेद थाहा नभएर, केही लहैलहैमा र केही अन्य निहित स्वार्थबाट पनि प्रेरित छन् । यी भ्रम खेतीपातीको अर्थराजनीति, सामाजिक र पर्यावरणीय पक्षसँंग जोडिएका विषय हुन् । जैविक खेतीबारे हाम्रो समाजमा फैलिएका यस्ता भ्रम चिर्न र यथार्थ थाहा पाउन अध्ययन, अभ्यास र निरन्तर सम्वादबाट मात्र सम्भव छ ।


रसायनबाट जैविक प्रक्रियामा संक्रमण गर्दाको अवधि (सामान्यतया ३ वर्ष) सम्म कुनै कुनै बालीको उत्पादन केही घट्न सक्छ । यो अपवाद बाहेक समग्रमा जैविक खेती प्रणाली रासायनिकभन्दा बढी उत्पादनशील छ । संक्रमण अवधिमा उत्पादनमा कमी आउनुको कारक पनि रसायन र विषादी नै हुन् । यिनको प्रभाव रहेसम्म माटोको जैविक प्रक्रिया कमजोर हुन्छ । रसायनमा परनिर्भर माटोको पोषण चक्र र विषादीको असरले जैविक चक्रमा ल्याएको फेरबदलले यस्तो हुने हो ।


एकीकृत ऊर्जा, खनिज र पोषण चक्र पुनर्निर्माण विधिमा यथोचित ध्यान दिँदा संक्रमणको अवधि घटाउन सकिएका थुप्रै उदाहरण छन् । सन् २०११ मा धान उत्पादनको विश्व रेकर्ड विहारका एक किसानले बनाएका थिए । सघन धान प्रणाली नामक जैविक विधि अपनाएर त्यो सम्भव भएको थियो । उत्पादनको भिन्नतालाई उत्पादन लागत कम हुँदाको फाइदाबाट समेत तुलना गर्ने हो भने समग्र कृषि अर्थतन्त्रको चित्र अझै अर्थपूर्ण देखिन्छ । जैविक खेतीमा किसानको बाहिरी लागत कम र फाइदा जहिल्यै बढी हुन्छ ।


खनिज स्रोत बाहेकका ऊर्जा र स्थानीय स्रोतको दिगो परिचालनबाट स्थानीयतामा उपयुक्त कृषि प्रविधि प्रयोग गरिने हँुदा रसायनमा आधारित खेतीको तुलनामा जैविक खेती प्रणालीमा ऊर्जाको खपत झन्डै आधा हुन्छ । जैविक खेती स्थानीय श्रम, साधन र स्रोतको उपयोगले आत्मनिर्भर हुन्छ । यसले खेतीपातीको अर्थ प्रणालीलाई सस्तो एवं सरल बनाउँछ । खेतीपातीलाई सामाजिक उद्यमका रूपमा स्थापित गर्छ । यसलाई किसानको पहुँच र नियन्त्रणमा राखिरहन सम्भव बनाउँछ । यो किसानको खेतीपातीमा लागिरहने उत्प्रेरणाको मूल स्रोत हो ।


रसायन र विषादीले माटोभित्र बिरुवालाई चाहिने पोषण तत्त्व बनाउने प्रक्रियालाई तहस–नहस पार्छन् । यिनको प्रयोगले माटोको प्राकृतिक गुणमा फेरबदल हुनेहुँदा माटोमा रहेका सूक्ष्म जीवाणु नष्ट हुन्छन् । रासायनिक खेती उत्पादन बढाउने भन्दै एकल र सफा किसिमको गरिन्छ, जसले गर्दा माटोमा खनिज चक्रसमेत कमजोर बन्छ । त्यसका लागि रसायनसँगै पोटास, फस्फोरस र अन्य खनिज पदार्थ पनि बाहिरबाट दिने गरिन्छ । माटोमा पोषण चक्र अवरुद्ध हँुदा बोटबिरुवा पोषण तत्त्वका लागि बाह्य स्रोतमा भर पर्दै जानुपर्ने हुन्छ । यो क्रम निरन्तर दोहोरिरहन्छ । यिनै रसायन र विषादीको असरले मानव स्वास्थ्यमा प्रतिकूल अवस्था सिर्जना भई नसर्ने दीर्घरोगहरू निरन्तर बढिरहेका छन् ।


किसानका अनुभवले ८०—९० प्रतिशत रोगकिरा बिभिन्न खाले जैविक तरिका र एकीकृत खेती प्रणाली अपनाएर नियन्त्रण गर्न सकिने देखाएको छ । यसका लागि सयौं विधि र प्रविधि छन् । बाँकी १०–२० प्रतिशत रोगकिरा कडा रसायनले पनि मार्नसकेको देखिँदैन । यस्ता विषादीको अत्यधिक प्रयोगले उल्टै माटोमा रहेका शाकाहारी शत्रुजीवको सिकार गर्ने मांसाहारी मित्रजीवको संख्या घटिरहेको छ । सँगै शत्रुजीवको आफ्नो प्रतिरोधक क्षमता बढ्न गई झन् ठूलो क्षति हुने त्रास बढेको छ । खेतीपाती, वस्तुभाउ र मानवमा देखिने नयाँ–नयाँ रोग यसैको परिणाम पनि हो ।


अन्त्यमा, यी भ्रम र यथार्थको कसीमा जैविक खेती निरन्तर खारिँदै आएको छ । नेपालमा परम्परादेखि गरिँदै आएको एकीकृत जैविक खेती प्रणालीलाई उन्नत बनाउने सुझबुझका साथ यस क्षेत्रमा सक्रिय प्रगतिशील किसान बलिया उदाहरण हुन् । रसायनमा आधारित र जैविक खेती प्रणालीबारे तुलनात्मक अध्ययनसमेत भैरहेका छन् । अध्ययनका नतिजाले जैविक खेती नै माटो, मानव र भविष्यका लागि कृषि जोगाउने एकमात्र उपाय हो भन्ने तथ्य स्थापित हुँदैछ ।


पौडेल कृषि नीति विश्लेषक हुन् ।

प्रकाशित : श्रावण ३०, २०७५ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?