१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

एक लज्जित पुरुषको बकपत्र

युग पाठक

काठमाडौँ — पुरूषवादी व्यवस्था रहेसम्म प्रत्येक नारीले पाएको एकएक यातनाको हिसाब पुरूषले दिनैपर्छ । पुरुष भएकै कारण लज्जित छु म । लज्जित हुनका लागि मसँग जति कारणहरू छन्, त्यति त लज्जित नहुनका लागि स्पष्टीकरणका बुँदा पनि छैनन् । पुरुष भएर जन्मेकैले लज्जित हुनु नपर्ने हो । तर नारी भएर जन्मेकैले पाइला–पाइलामा बलात्कार र हत्याको सिकार हुनुपर्ने कारण के छ ?

एक लज्जित पुरुषको बकपत्र

बलात्कृत भई मारिएकी किशोरीको अनुहारले चिच्याइ–चिच्याइ भनिरहेछ– आजको मितिमा लज्जित महसुस गर्न पुरुष हुनु नै काफी छ । त्यसैले एक लज्जित पुरुष एक्काइसौं शताब्दीमा टेकेर यो बकपत्र लेखिरहेको छ ।

पुरुष हुँदैमा अपराधी हुन पर्दैन, बलात्कारी दरिन पर्दैन । कुनै बलात्कारी पुरुष हुनुको दोष सबै पुरुषले बोक्नुपर्छ भन्ने पनि होइन । तर पुरुषवादी व्यवस्था रहेसम्म प्रत्येक नारीले पाएको एकएक यातनाको हिसाब पुरुषले दिनैपर्छ । घरदेखि चोकबजार, चिसापसलदेखि पार्टी कार्यालय, संसद्देखि न्यायालयसम्म जताततै नारीले भोग्ने दलन बेहिसाब छ । नारी हुनुकै कारण दिनहुँ नारीको भागमा परेको भेदभाव, छुवाछूत, निषेध, बलात्कार र हत्याका निम्ति पुरुष लज्जित हुनैपर्छ । पुरुष भएकै कारण तमाम पुरुषले पाएको लिखित/अलिखित विशेषाधिकार साक्षी छ, यो लज्जा एकदमै वैध छ ।

पुरुष भएकै कारण मैले जन्मँदै भाउ खाएँ । छोरीलाई संघारको सिमानामा बाँधिदा, मैले फुक्काफाल दुनियाँ देख्दै–भोग्दै हिँड्न पाएँ । अज्ञात पराइघरको ठेगाना छोरीको दिमागमा, पुख्र्यौली जगमा आफ्नो मियो गाडिएको आत्मविश्वास मेरो भागमा । घरको आँगन र पिँढी मेरो खेल मैदान, चोक–चौतारोमा पुरुष जातकै कब्जा, सरकारी अड्डामा पुरुषकै हुंकार, सेना/प्रहरीको भेषमा मेरै हातमा बन्दुक । राजनीतिको मैदान होस् कि प्रशासनको अखडा, मेरै जातका तिघ्रा ठटाइन्छ, जताततै । शास्त्रले मेरै पुरुषत्वको बखान गर्छ, पण्डितहरू मेरै हितका खातिर भागवत् पुराण वाचन गर्छन् । शिवलिंगको नाममा फगत लिंगको ‘महानता’का अघिल्तिर नारीहरूलाई नतमस्तक पारिएको छ । धर्मकर्म, यज्ञपर्व सबका सब मेरै हैकम स्थापित गर्न आयोजित हुन्छन् । मेरै शक्ति र भक्तिको मोहमा डुबाएर लाखौं नारीलाई तीजको व्रत बस्न लगाइन्छ ।

आफ्नै पुरुषत्वको तेज देखेर, भोगेर, चाखेर, मात्तिएर हुर्किएको म पुरुष । यो राष्ट्रले मानेका एकसेएक आदिकवि, महाकवि, राष्ट्रकवि मेरै । मेरो भानुभक्तले लेखेको हुनाले नै आजको युगमा समेत ‘वधुशिक्षा’लाई वैध तुल्याउन नारी विद्वानधरी बाध्य छन् । प्रत्येक नारीको चिरहरण भएको मूल्यमा मभित्रको पुरुषलाई पुलपुल्याएर रथारोहण गराइएको छ, सधंैभरि । अधिकार नमाग्न नारीलाई आदेश दिने प्रधानमन्त्री आजको मितिमा पनि मेरै छन् । म मख्ख भैरहेँ, मेरो पुरुष जागृत भैरह्यो ।

नारीले सास भरेर बच्चा जन्माइदिन्छिन्, वंशको हक मेरो एकलौटी । एकाउन्न प्रतिशत नारीको रगत, पसिना र आँसुले यो देशको अर्थतन्त्र धानिएको छ, तर अंशको हक मेरो एकलौटी । पुरुषले एकलौटी बनाएको बन्दुक खोसेर नारीहरूले जितेर ल्याए अधिकारका केही हरफ । फेरि पनि संविधानमा नारीलाई बराबर हक नदिन अनेक बखेडा झिक्ने मजस्तै पुरुष बलवान । बल्लबल्ल आमाको नाममा नागरिकता हुने भनेर मान्यो राज्यले । कतै सीडीओको कुर्सीमा त कतै न्यायाधीशको कुर्सीमा बस्ने पुरुषले त्यही हक पनि लागु हुनदिएको छैन । समावेशी अधिकारको हक रगतको मसीले लेखियो, तर त्यसलाई मेटाउन दिनहुँ पशुपतिनाथको जल हाल्नेहरू पनि पुरुष ।

पुरुष हैकम कति बलियो जताततै † मेरा हातपाउ सब छाडा हुनपाउने, नारीका हातपाउमा कहिले चुरापोतेको बन्धन, कहिले साडी–गहनाको अल्झन । कठोर मिहेनत र गृहस्थीको हतकडीमा त उनीहरू हरघडी बाँधिएकै छन्, संस्कार र संस्कृतिको पाउजेबमा उनै कैद । घर र पुरुषको हैकमबाट उम्कन नदिन उनैका निम्ति बनेका छन्, हजार नियम । जन्मेको घर हुर्किंदा–हुर्किंदै पराई भैसक्छ, अज्ञात हातको जिम्मामा छाड्न पुरै समाज उत्ताउलिएको दृश्य जताततै । यो असुरक्षामा मैले जिउन परेन । यो मनोवैज्ञानिक आतस मैले भोग्न परेन । यो अदृश्य जेलमा मैले कहर काट्न परेन । यो सबै मैले फगत, अनि फगत पुरुष भएकै कारण पाएको विशेषाधिकार हो ।

पुरुष शक्तिशाली, पुरुष नै मूली, पुरुष शासक, पुरुष नै देव–महादेव । यस्ता नारा र विचार महिलाको दिलदिमाग र ओँठमा समेत फिट गरियो । पुरुषसत्ताकै विचारले दिमाग पनि कैद उनैको । मेरै पुरुषत्व जगाउने र जोगाउने विचार महिलाले समेत बोकिहिँड्ने यति अनुकूल दुनियाँ पाएको छु मैले । मेरो हक नै हक, हैकम नै हैकम † नारीका निम्ति रूप–रूपका छाउपडी गोठ । पुरुषवादी टिपरको लाइसेन्स पाउने पुरुष, पलपल साना–ठूला दुर्घटना भोग्ने नारी । नारीले रातदिन गरेको मिहेनतलाई एक पैसाको मूल्य नदिइँदा, मैले एकएक सिक्का बराबर हैकम पाएको छु ।

यो देश मेरो जिम्मा, घर र समाज मेरो मातहत, बन्दुक र किताब मेरो अधीन, साहित्य र संगीत मेरो कब्जा, धर्मकर्म सबमा मेरो हैकम । अनि कलिला लालाबाला जघन्य बलात्कारको सिकार भैरहँदा प्रहरी प्रशासन पुरुषकै मातहत । छोरीहरूमाथि आक्रमण र हत्या भैरहँदा सत्ताधारी र प्रतिपक्षी पार्टी पनि मेरै जातको नेतृत्वमा । बलात्कार र हत्यालाई फगत एक कानुनी मुद्दाको रूपमा फरफारक गर्न खोज्ने न्यायाधीशको दिमागमा पुरुष । ठ्याक्कै अपराधी कोही होला, अपराधको जिम्मा त्यसैले लेला । तर त्यस्ता अपराधी पुरुष उत्पादन गर्ने व्यवस्थाको एक हिस्सा म पनि हुँ । त्यसो भए मैले लज्जित हुने कि नहुने ? पुरुष भएकै नाताले सारा विशेषाधिकार उपभोग गरेको छु भने यो दुर्दिनमा लज्जाको भार मैले बोक्ने कि नबोक्ने ?

बुज्रुकहरूले भने– छोरीलाई शिक्षा । खासमा भन्न खोजिएको थियो– छोरालाई अंश, वंश, शिक्षा र प्राधिकार, तर छोरीलाई केवल शिक्षा । अनि स्नाकोत्तर शिक्षित एक मित्रले दुई छोरीपछि पनि छोरा पाउन बाध्य भएपछि भनिन्– परिवार र समाजका लागि छोरा पाउन बाध्य भएँ । म लज्जित भएँ । विज्ञान पढेकी, इन्जिनियर हुने तरखरमा रहेकी एक भतिजी महिनावारी भएको बेला मेरो छेउमा बसेर खाना खान मान्दै मानिन । उसले सुनाई– मनले मान्दै मान्दैन । ओ हो, यो पनि त मेरै पुरुषत्वले दिएको लज्जा हो । शिक्षा, ओ शिक्षा † म दिनहुँ लज्जित छु ।

बल्ल–बल्ल आरक्षणमा केही महिलालाई मौका दिइयो । पुरुषवादी व्यवस्थाको सारा आरक्षण खाएर हुर्केको एउटा पुरुष साँखुल्ले भएर भन्छ– कम प्रतिशत ल्याउनेहरू आरक्षणबाट घुसे । मलाई कम्ता लाज हुँदैन । हुँदा–हुँदा ‘आमा, दिदी, बैनी हो, कति बस्छौ दासी भै’ बोलको गीत गाएर हुर्केका क्रान्तिकारीहरू कोटको बाँकटे ढल्काउँदै भन्छन्– आरक्षणले देश बिगार्‍यो । उफ † लाजले निहुरिन्छ, यो शिर । अझ कसो–कसो बोल्न सक्षम भैरहेका नारीहरूलाई नै दुत्कारेर ‘धिक्कारकर्मी’ भनेको सुन्नुपर्दा लाजले आच्छु–आच्छु हुन्छ, यो पुरुष ।

नारीहरूले हरपल पिएको आँसु, पलपल खपेको पीडा, क्षणक्षण भोगेको उत्पीडनको कसम ! म लज्जित छु । पुरुषवादी हैकम कायम भएकोमा, नारीहरूलाई हेप्ने प्रधानमन्त्री उत्पादन गर्ने कारखानाको एक पुरुष भएकोमा, नारीहरूको मुख बन्द गर्ने दल र पलपल पुरुषलाई अजिंगर उत्पादन गर्ने व्यवस्थाको एक पुरुष भएको कारणले । हो, म लज्जित छु ।

लज्जाको पनि चिन्तन हुन्छ, वैचारिक धरातल हुन्छ । खास प्रकारको लाज विशिष्ट विचारले मात्र जन्माउन सक्छ । नारीद्वेषी यो व्यवस्था बदल्ने लडाइँको सुरुवात नारीका निम्ति असन्तोष हो भने हरेक सचेत पुरुषका निम्ति लज्जा हो । मानव संसारमा विकसित भएका सबै प्रकारका उन्नत विचारहरू– लोकतन्त्र, माक्र्सवाद, लेनिनवाद, माओवाद, मानव अधिकार, समानता र न्यायका अवधारणा, विज्ञान क्रान्ति आदि– सबै विचारहरूको आलोकमा म लज्जित छु । नारीहरू बोल्नुहोस्, लेख्नुहोस्, जाग्नुहोस् र भत्काउनुहोस्, यो लिंगको हैकम । यो लज्जाले झुकेको शिर उठाउन म पनि तपाईंको साथमा हुनेछु ।

[email protected]

प्रकाशित : श्रावण १७, २०७५ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?