पैदलयात्रु पहिला
काठमाडौँ — ‘बीसौँ शताब्दीले कारलाई केन्द्रमा राख्यो । अब पैदलयात्रु पहिला भन्ने हो भने तपाईं बस्न योग्य ठाउँहरूलाई बल्ल आकर्षक, रुचिकर र शीलस्वभावयुक्त बनाउन सक्नुहुन्छ ।’ बेलायती अधिराजकुमार चार्ल्सको एउटा चल्तीको उद्धरण हो यो ।
त्यो देशको राजधानीको अबको सहरी विकाससूत्र पैदलयात्रा प्रवर्धन गर्ने, साइकल र सार्वजनिक सवारी सह्राउने हुँदै छ । त्यसका लागि मेयर सदिक खानले लन्डनलाई विश्वकै पैदले सहर बनाउने घोषणा गरेका छन् र दुई अर्बभन्दा बढी पाउन्डको बजेट ।
युरोपका कुनभन्दा कुन सहर धमाधम पैदल, साइकल र सार्वजनिक यातायाततर्फ फर्किने घोषणा गरिरहेका बेला सबभन्दा संवेदनशील भूबनोट, प्राकृतिक र सांस्कृतिक समृद्धि भएका हामी भने यता उल्टो दिशामा छौँ । उल्टो दिशामा हिँडे पनि रोकिन सकिन्थ्यो, गुड्दै पो छौँ ।
विकसित मुलुकहरूले अघिल्लो शताब्दीमा गरेका गल्ती हामी दोहोर्याउँदै छौँ भन्ने प्रमाण हुन् काठमाडौंका सडक जहाँ पेटी मासिएका छन्, नभए साँघुरिएका । बचेखुचेका पेटी पनि सडक विस्तारमा मेटिए । पुराना चोक, सत्तल, पाटी, सार्वजनिक चौरसमेत गायब पारिए । जसले सक्छ, उसले सार्वजनिक स्थलहरूमा रजाइँ गरे ।
सडक पेटी त नभएका ठाउँ पैदलेको सुरक्षाको कुरा गराइ सुगा रटाइ मात्र । काठमाडौंमा ट्राफिक दुर्घटनामा मारिनेमध्ये सबैभन्दा बढी ४०–४५ प्रतिशत पैदलयात्री छन् । सडक पार गर्न जेब्रा क्रसिङ छैनन् । भए पनि चालकहरूको व्यवहार नसुध्रेसम्म दुर्घटना कम हुँदैन । पैदलयात्री राज्य र चालक दुवैबाट हेपिएका निमुखा हुन् । सडक पिच गर्ने, छेउछाउ त्यत्तिकै छाडिदिनाले वर्षभरि धुलो बढ्यो, वर्षामा हिलो ।
विकास भनेको मोटर । उन्नति मापन गर्नका लागि सडक । गाडी केन्द्रित विकासको अवधारणाले भक्तपुरको ६ लेनको सडक पनि पेटीविहीन बनायो । निर्माणाधीन ८ लेनको चक्रपथ पनि प्राय: पेटीविहीन । भएको पनि सानो । एक लेन पनि पेटी प्राथमिकता परेन । फराकिला सडक पैदलयात्रीले कसरी पार गर्ने ? न आकासेपुल न भूमिगत बाटो । केही आकासेपुल बनाइए पनि शारीरिक रूपले भिन्न, वृद्ध तथा बालबालिकामैत्री छैनन् । त्यसकारण यो मानव केन्द्रित विकास होइन, गाडी केन्द्रित ।
मान्छे हिँड्ने ठाउँ मोटर गुड्ने सडक बनायौं । सबै जनता मोटर चढ्छन् भन्ने सोच्यौँ । खुट्टाले हिँड्ने पनि हुन्छन् भन्ने सोचेनौं । सडक बढाउने/विस्तार गर्ने भनेको पेटी घटाउने वा हटाउने बुझ्यौँ । मोटरलाई मान्यता दिने सामाजिक मान्यता स्थापित गर्यौं । पैदलेको कदर नहुने, कारवाला जता पनि सदर हुने । विकास भएपछि सबै जनता सररर कार चढ्ने हुनेछन् भन्ने कथा हाल्यौँ ।
विकसित देशहरू प्रकृतितिर फर्किन खोज्दै छन्, प्राकृतिक सन्तुलनको खोजीमा । हिँडडुलको अधिकार दिलाउने, शारीरिक तन्दुरुस्तीका साथै सहरी शोभा बढाउने । खर्चिलो, भड्किलो, प्रदूषणिलो जीवनशैली बदल्ने उपाय गर्दै छन् । हामी भने हिँडेर पुग्ने ठाउँ बाटो विच्छेद गरेर मोटर पर्खिने लतमा फसिसकेका छौँ । सामाजिक सोच विलासीपूर्ण पारिसकेका छौँ । मोटर घुस्ने जग्गाको भाउ आकासिँदो बनाइसकेका छौँ । न सम्पदा संरक्षण न प्रकृति । न स्वस्थ जीवनशैली ।
काठमाडौंमा केही समययता साइकलले केही भाउ पाउन थालेको छ । जागरुक युवाहरूले यसलाई सहरी जीवनशैलीका रूपमा जगाउन खोजेका छन् । छुट्टै लेन माग गर्दै आएका यी सचेत युवाका साइकलयात्रा अभियान र साइकले समूहहरू समाचार बन्न थालेका छन् । पैदलेहरू भने संगठित भइसकेका छैनन् ।
सहरहरूका अध्येता अमेरिकी इतिहासकार लेविस मुम्फर्डले लेखेका छन्, ‘सवारीसाधनका रूपमा मानव खुट्टालाई पुन:स्थापित गरौँ । पैदलेहरू आफ्नो खानालाई इन्धनका रूपमा खपत गर्छन् र उनीहरूलाई कुनै विशेष पार्किङको सुविधा उपलब्ध गराउनु पनि पर्दैन ।’
प्रकाशित : श्रावण १५, २०७५ ०७:५७