१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

यमानको हात्ती कि विमान

सम्पादकीय

काठमाडौँ — हामीलाई विकास चाहिएको छ । तर केको विकास र कस्तो विकास ? बहसले निकास पाउनुपहिल्यै विकास खोज्दा विनाश गरिसकेका हुन्छौं । जस्तो प्रकृतिका लागि हात्ती ठूलो हो भने विकासका लागि विमान । प्रकृति र विकास सहोदर दिदी र भाइ हुन सक्छन् कि सक्दैनन्, सोच्नुपरेको छ । प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल एउटा उदाहरण हो ।

यमानको हात्ती कि विमान

निजगढ विमानस्थल बनाउने हो भने त्यसले ८ हजार हेक्टर जंगल विनाश गर्छ । झन्डै २४ लाख रूख सखाप । साल, सिसौ, कर्मा, खयर, सिमल, बोटधयेँरो ।

विमानस्थल बनाउने भनिएको कोहल्बी नगरपालिका, जितपुर–सिमरा उपमहानगर, भल्वाईखोर, टाँगियाबस्ती, रौतहटको जंगलसैया साझेदारी वन, गैंडाटार र सर्लाहीको वाग्मती प्राकृतिक सम्पदा हुन् । हात्तीहरू वाग्मतीबाट सप्तरी हुँदै कोसीटप्पु वन्यजन्तु आरक्ष छिचोलेर पूर्वमा झापासम्म ओहोरदोहोर गर्छन् । पर्सा–चितवन क्षेत्रमा रहेका करिब ६५ जंगली हात्तीको समूह बर्सेनिजस्तो चहार्छन् ।

पूर्व–पश्चिम राजमार्गको पथलैया–निजगढतर्फको पसाहा खोलादेखि लालबकैया खोलासम्मको करिब १० किलोमिटर क्षेत्र । त्यहाँ दक्षिणतिरको सबै जंगल फाँडेर विमानस्थल बनाउने तयारीप्रति पर्सा निकुञ्जले सुरुदेखि आपत्ति जनाउँदै आएको छ । सुनुवाइ मात्र भएको छैन ।

वर्षौंदेखि हात्ती, गैंडा र बाघलगायत ठूला वन्यजन्तुले करिडोरका रूपमा प्रयोग गरेको जंगल मास्नु हुँदैन भन्ने निकुञ्जको दलिल छ । करिडोर मासेर ठूला संरचना खडा गर्दा मानव–वन्यजन्तु द्वन्द्व निम्तिन सक्छ । जंगल मास्नु भनेको जनावर नास्नु, प्रकृतिको सन्तुलन खलबल्याउनु हो ।

अहिल्यै त छाडा हात्तीले उधुम मच्चाउने गरेका छन् । उसमाथि कोसीटप्पु वन्यजन्तु आरक्ष, उदयपुर, सिन्धुली, सर्लाही, रौतहट र बारा हुँदै चितवन निकुञ्जसम्म जोड्ने जैविक मार्ग अवरुद्ध भएपछि मत्ता हात्तीले अझै वितण्डा गर्न सक्नेछन् ।

राजमार्गको दक्षिणतर्फ भएका रूख काटेर विमानस्थलको संरचना विस्तार गर्दा झापा र कोसीटप्पु वन्यजन्तु आरक्षदेखि पर्सा निकुञ्ज र चितवन निकुञ्जसम्मको वन्यजन्तुको ओहोरदोहोर तोडिनेछ । देशको एउटा मुख्य जनावर आधार क्षेत्र गुम्नेछ ।

काठमाडौं–निजगढ फास्ट ट्रयाक बनाउँदा पनि राजमार्गबाट उत्तर–पूर्वतिर वन्यजन्तुको ओहोरदोहोर गर्ने करिडोर भएकाले वन्यजन्तुको सहज आउजाउका लागि अनिवार्य रूपमा ओभरपास निर्माण गर्न वन तथा वातावरण मन्त्रालय, वन विभाग र निकुञ्ज विभागले नेपाली सेनाको ध्यानाकर्षण गराएको थियो ।

विमानस्थलको धावनमार्ग पर्सा राष्ट्रिय निकुञ्ज नजिकै पर्छ । विमानको ठूलो आवाजले निकुञ्जमा नकारात्मक असर पर्नेछ । अन्तर्राष्ट्रिय हवाई उड्डयन संगठन (आईकाओ) को निर्देशनअनुसार वन्यजन्तु आरक्ष नजिक विमानस्थलको धावनमार्ग हुनु हुँदैन ।

विमानस्थल बनाउनै हुँदैन भन्ने होइन तर हात्तीको परम्परागत मार्गमा सम्झौता गर्नु हुँदैन । विमानस्थल निर्माण गर्दा दुई–तीन किलोमिटर यताउता सारेर हात्तीको जैविक मार्ग जोगाउन सकिन्छ ।

तर अहिलेको तयारी प्रकृतिका दृष्टिले आपत्तिजनक छ । पेलेरै लैजानेखाले छ । राजमार्गसँग साटेको जंगल पूरै मास्न खोजिएको छ । दक्षिणतिर कोहल्बी नगरपालिकाका गाउँबस्तीलाई भने छुन खोजिएको छैन । गाउँ बचाउने तर हात्ती मराउने ।

हात्ती हिंड्ने बाटो भएको करिब तीन किलोमिटर जंगल पूरै सुरक्षित राखिरहेर त्यसको दक्षिणतिरका केही गाउँबस्ती उठाउन सकिन्छ । विस्थापितलाई उचित क्षतिपूर्ति दिन सकिन्छ, मुआब्जामा मनाउन सकिन्छ । सरकार भने बरु जनावरलाई जथाभावी पेल्नु नै सजिलो ठान्छ ।

रूखपात र जनावर, जलचर र स्थलचर, प्राकृतिक सम्पदा र मानव संस्कृतिको सम्बन्ध टुटाउने विकासको वाहन विमान हुनु हुँदैन । विकासका उपाय हुन्छन्, प्रकृतिका विकल्प हुँदैनन् ।

प्रकाशित : श्रावण ११, २०७५ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?