कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

सीको ‘विश्व सञ्चालन’ सोच

अहिले अन्तर्राष्ट्रिय व्यवस्थाको स्थिति तरल छ । चीनले आफ्नो भविष्यको खाका तयार पारिसक्यो । अब बाँकी अन्तर्राष्ट्रिय समुदायले पनि आफ्नो खाका तयार पार्ने समय भएको छ ।
केविन ‌रुड

काठमाडौँ — केही समययता पश्चिमा देशहरूबीचको विभाजन खुलेआम देखिन थालेको छ । केही साताअघि उत्तर एटलान्टिक सन्धि संगठन (नाटो) को शिखर सम्मेलन तथा गत महिना क्यानडामा सम्पन्न जी–७ राष्ट्रहरूको सम्मेलनमा सदस्य देशहरूबीचको विभाजन सतहमै आएको थियो । एकातर्फ अमेरिकी अलायन्समा विभाजन देखिन थालेको छ भने आर्कोतर्फ दिनानुदिन चीनको अन्तर्राष्ट्रिय तहमा प्रभाव बढ्दै गएको छ ।

सीको ‘विश्व सञ्चालन’ सोच

गत महिना सम्पन्न चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को केन्द्रीय सम्मेलनले चीनको परराष्ट्र मामिलाबारे धेरै नीति पारित गर्‍यो । सन् २०१२ मा सी चिनफिङ सर्वसम्मत रूपमा राष्ट्रपति भएपछिको यो दोस्रो केन्द्रीय सम्मेलन थियो । यसप्रकारका सम्मेलन दैनिक कार्यक्रम जस्ता सामान्य होइनन् । त्यहाँ नेतृत्वले विश्वमा चीनको स्थानलाई कसरी हेरेको छ भनी छलफल गरिन्छ र विश्वलाई पनि चीनबारे थाहा दिइन्छ ।


२०१४ मा चीनले देङ सीआओपिङको भनाइ ‘शक्ति प्रदर्शन नगर, समय लिऊ, पहिला आक्रमण नगर’ लाई आधार मानेरै एक सम्मेलनको आयोजना गरेको थियो । त्यसपछि चीनको अन्तर्राष्ट्रिय सक्रियताको नयाँयुग प्रारम्भ भयो । उक्त परिवर्तनले अहिलेका राष्ट्रपति सीमा शक्ति केन्द्रित भएको र अमेरिकी शक्तिमा तुलनात्मक रूपले गिरावट आएको तथा चीन विश्वकै आर्थिक शक्तिको रूपमा उदाएको चिनियाँ नेताहरूको बुझाइ प्रदर्शित गर्‍यो ।


२०१४ पछि चीनले आफ्नो सैन्य उपस्थिति साउथ चाइन सीमा बढाउँदै लगेको छ । यस्तै नयाँ सिल्क रोडको नीतिलाई अर्बौं–अर्ब डलरको व्यापार, लगानी र निर्माण योजनामा परिणत गरेको छ । यो ठूलो भू–राजनीतिक र आर्थिक पहल हो । यस योजनाले युरेसिया, अफ्रिका र अन्य गरी ७३ राष्ट्रलाई सामेल गरेको छ । साथै चीनले विश्वका अधिकांश विकसित राष्ट्रलाई अन्तर्राष्ट्रिय मौद्रिक कोष सरहको नयाँ अन्तर्राष्ट्रिय स्तरको बैंक तथा एसियाली पूर्वाधार लगानी बैंक स्थापनाका लागि राजी गराइसकेको छ ।


चीनले आफ्नो तात्कालिक महत्त्वको क्षेत्रभन्दा पनि बाहिर गएर पूर्वी एसियामा कूटनीतिक सम्बन्ध बढाएको छ । यस्तै २०१५ को इरानको आणविक सम्झौतामा पनि चीनको सक्रिय सहभागिता थियो । चीनले श्रीलंका, पाकिस्तान र डिजबाउटीमा आफ्नो नौसेना अखडा बनाएको छ भने रसियासँग पनि नौसैनिक अभ्यास गरिरहेको छ । गत मार्चमा चीनले आफ्नै अन्तर्राष्ट्रिय विकास संस्था पनि स्थापना गरेको छ ।


पश्चिमी देशहरूले मान्यता नदिए पनि चीनले २०१४ यता बृहत् योजना बनाएरै अगाडि बढिरहेको छ । सिकारुहरूका लागि सीपीसीको भूमिका पहिलाभन्दा निकै सशक्त हुँदै छ । राष्ट्रपति सीले देशको ठूलो नीतिगत छलफलमा पार्टीको भूमिका निकै कमजोर रहेको महसुस गरी यसको भूमिका बढाउँदै राज्य संयन्त्रमाथि पार्टीको नियन्त्रणलाई पुन:स्थापित गर्ने नीति लिएका छन् ।


सी पश्चिमा इतिहासलाई बेवास्ता गरेर अगाडि बढ्ने पक्षमा छन् । उनी उदारवादी प्रजातान्त्रिक पुँजीवादमा मौलाउने फ्रान्सिस फुकुयामाको ‘इतिहासको अन्त्य’ को बिदाइ गर्दै लेनिनवादी राज्य लामो समयसम्म संरक्षित भएको हेर्न चाहन्छन् । यो दृष्टिकोणलाई ‘सी चिनफिङको सिद्धान्त’ का रूपमा लिइएको छ । चीनको परराष्ट्र नीति अहिले यही विचारमा अगाडि बढेको छ ।


सीको विचारमा ऐतिहासिक विकासक्रममा केही यस्ता अपरिवर्तनशील सिद्धान्त छन् जसलाई कुनै पनि हालतमा नकार्न सकिँदैन । अघिल्लो महिनाको परराष्ट्र नीति सम्मेलनमा त्यही विषय प्रमुख रहेको थियो । सुन्दा, यो पुरातन द्वन्द्वात्मक भौतिकवादी छलफल जस्तो लाग्छ । त्यो हो नै । सी माक्र्सवादी–लेनिनवादी मान्यतालाई आफ्नो प्रमुख वैचारिक आधारका रूपमा मान्छन् ।


राजनीतिक र आर्थिक विकासका अकाट्य सिद्धान्तलाई जोड दिँदा द्वन्द्वात्मक–भौतिकवादी विश्व दृष्टिकोणका आधारमा विश्वका कुनै पनि घटना जथाभावी भएका हुँदैनन् । तसर्थ सीको तर्कमा यदि माक्र्सको विश्लेषणात्मक सिद्धान्तलाई अहिले प्रयोग गर्ने हो भने विश्व परिदृश्य नै परिवर्तनको संघारमा उभिएको छ ।


पश्चिमी राष्ट्रहरूको गिर्दो साखसँगै राष्ट्रिय र अन्तर्राष्ट्रिय कारणले चीनको उदय भइरहेको छ । सीकै शब्दमा भन्दा ‘चीन अहिले आधुनिक युगकै सबैभन्दा उत्कृष्ट विकासक्रममा रहेको छ भने विश्वमा शताब्दीकै अकल्पनीय र गम्भीर परिवर्तन भइरहेका छन् ।’ चीनका अगाडि पनि बाधाहरू नभएका होइनन् । तर, सीका विचारमा ती बाधा अहिले अमेरिका र अन्य पश्चिमी देशहरूले भोगिरहेको भन्दा ठूला छैनन् ।


यो विचारले चीनको परराष्ट्र नीति कस्तो प्रकारले अगाडि बढ्छ भन्ने सबैको चासो छ । यस्तोमा एक दलीय माक्र्सवादी राज्यले ‘विचार’ लाई कसरी वास्तविकतासँग जोड्छ भन्ने प्रमुख चासो हो । प्रणालीले आफूले आफैंलाई विश्लेषण गर्ने यसरी नै हो । यो विषयमा सीले चीनका कूटनीतिज्ञहरूलाई के सन्देश दिएका छन् त्यो भने अहिलेसम्म गोप्य छ ।


विशेष गरेर सीसीपीको केन्द्रीय सम्मेलन चीनको अन्तर्राष्ट्रिय नीति बनाउने संस्था र कूटनीतिज्ञहरूलाई सीको एजेण्डालाई आत्मसात गर्न बोलाइएको थियो । परराष्ट्र मन्त्रालयको पछिल्लो योजना र दृष्टिकोणप्रति सी निराश रहेकैले उनको उपस्थितिमा सम्मेलन गरिएको थियो । त्यस सम्मेलनमा उपस्थित सबै कूटनीतिज्ञ पहिला पार्टीका कार्यकर्ता हुन् भन्ने पहिलो सन्देश सी दिन चाहन्थे । त्यसैले आफ्नो विश्व दृष्टिकोणलाई परराष्ट्र नीतिका रूपमा सबै कार्यकर्ताले सक्रियतासाथ अगाडि बढाउनुपर्ने उनको सुझाव थियो ।


गत महिनाको उक्त सम्मेलनपछिको परिवर्तनले विश्व संचालनलाई नै धक्का दिएको छ । सीले २०१४ मा नै भविष्यमा विद्यमान अन्तर्राष्ट्रिय संरचनाको स्थितिमा परिवर्तनका लागि संघर्ष हुने बताएका थिए । तर उनले त्यसको विस्तारपूर्वक व्याख्या भनेका गरेका थिएनन् । यद्यपि त्यससँग सम्बन्धित ३ वटा अवधारणा– अन्तर्राष्ट्रिय व्यवस्था, अन्तर्राष्ट्रिय प्रणाली र विश्व संचालनमा काम केन्द्रित गराएका थिए ।


चिनियाँ भाषामा ‘अन्तर्राष्ट्रिय व्यवस्था’ भन्नाले संयुक्त राष्ट्रसंघ, द ब्रेटन उड्स इस्न्टिच्युसन्स, द जी–२० र अन्य बहुपक्षीय संस्थाहरू (जसमा चीनको सहभागिता) छ, साथै अमेरिकी नेतृत्वको गठबन्धन (जसमा चीन सहभागी छैन) लाई जनाउँछ । ‘अन्तर्राष्ट्रिय प्रणाली’ भन्नाले बहुपक्षीय संस्थाहरूको जालो जसले विभिन्न सन्धि सम्झौताको दायराभित्र रहेर आफ्नो र अर्काको सार्वभौमिकताको रक्षाका लागि गर्ने कार्य भन्ने जनाउँछ । र ‘विश्व संचालन’ भन्नाले अन्तर्राष्ट्रिय प्रणालीका आधारमा गरिने काम कारबाही भन्ने बुझाउँछ ।


सीसीपीको केन्द्रीय सम्मेलनमा सीले अभिव्यक्त गरेको सबैभन्दा नयाँ कुरा भनेको उनले अब चीनले ‘निस्पक्ष र न्यायिक तवरबाट विश्व संचालन प्रणाली परिवर्तन गर्न नेतृत्व प्रदान गर्ने’ बताए । यो अहिलेसम्मकै चीनले आफ्नो अभिप्रायलाई लिएर हुने गरेका प्रश्नहरूमा दिएको सबैभन्दा सिधा उत्तर हो । अब विश्व चीनको अन्तर्राष्ट्रिय नीतिको सक्रियता र त्यसले उत्पन्न गर्ने नयाँ तरंगका लागि तयार भएर बस्नुपर्ने छ ।


अन्य अन्तर्राष्ट्रिय समुदाय जसरी नै चीन पनि अहिलेको बहुपक्षीय प्रणालीले काम नगर्नेमा होसियार छ । त्यसैले सी ‘विश्व संचालन प्रणालीको परिवर्तन’ लाई नेतृत्व प्रदान गर्न चाहन्छन् । ‘भित्री राष्ट्रिय स्वार्थ’ परिपूर्ति गर्न चीनले बहुपक्षीय संस्थाहरूमा आफ्नो कूटनीतिक सक्रियता बढाउँदै लग्नुले पनि त्यही इंगित गर्छ ।


सीले चिनियाँ कूटनीतिज्ञहरूलाई भविष्यमा चीनको परराष्ट्र नीतिको दिशा र विश्व संचालन प्रणाली परिवर्तन राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर गर्नुपर्ने बताएका छन् । यस सन्दर्भमा चीन एकभन्दा बढी ‘बहु–ध्रुवीय’ अन्तर्राष्ट्रिय प्रणाली चाहन्छ । यसो भए विश्वमा अमेरिका र पश्चिमी देशहरूको प्रभाव तुलनात्मक रूपमा घट्छ ।


अब बाँकी अन्तर्राष्ट्रिय समुदायलाई कस्तो प्रकारको विश्व व्यवस्था चाहिएको हो त्यो निक्र्योल गर्ने बेला आएको छ । युरोपियन युनियन, दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन वा अफ्रिकन युनियनले अन्तर्राष्ट्रिय नियमका आधारमा भविष्यमा कस्तो प्रणाली चाहेका हुन् ? अमेरिकाले ट्रम्प हुँदा वा नहुँदा कस्तो व्यवस्था चाहेको हो ? र, हामी सबैले सामूहिक रूपमा कसरी युएन चार्टर, ब्रेटन उड्स र मानवअधिकारको अन्तर्राष्ट्रिय घोषणापत्रमा आधारित विश्व मान्यतालाई जगेर्ना गर्छौं ?


अहिले अन्तर्राष्ट्रिय व्यवस्थाको स्थिति तरल छ । चीनले आफ्नो भविष्यको खाका तयार पारिसक्यो । अब बाँकी अन्तर्राष्ट्रिय समुदायले पनि आफ्नो खाका तयार पार्ने समय भएको छ ।
(प्रोजेक्ट सिन्डिकेटबाट अनूदित यो लेख केविन रुडले नेसनल युनिभर्सिटी अफ सिंगापुरस्थित ली क्वान यू स्कुल अफ पब्लिक पोलिसीमा दिएको भाषणको सम्पादित अंश हो ।)
रुड अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री हुन् ।

प्रकाशित : श्रावण ९, २०७५ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?