कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

उच्च महत्त्व, औसत उपलब्धि

नेपालको कूटनीतिक कमजोरी र चिनियाँ पक्षको ‘पर्ख र हेर’ नीतिका कारण भ्रमण अपेक्षाकृत सफल हुन सकेन ।
गेजा शर्मा वाग्ले

काठमाडौँ — दक्षिणी छिमेकी भारतसँग सम्बन्ध सामान्यीकरण गरेपछि उत्तरी छिमेकी चीनसंँग घनिष्ट कूटनीतिक, आर्थिक तथा व्यापारिक सम्बन्ध स्थापित गरी नेपालको विकास र समृद्धिमा विशेष सहयोग जुटाउने उच्च अपेक्षासाथ बेइजिङ गएका प्रधानमन्त्री केपी शर्मा ओली आंशिक उपलब्धि हासिल गरी आइतबार स्वदेश फर्केका छन् ।

उच्च महत्त्व, औसत उपलब्धि

यद्यपि ६ दिवसीय औपचारिक भ्रमण सम्पन्न गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि आयोजित पत्रकार सम्मेलनमा प्रसन्न मुद्रामा देखिएका ओलीले भ्रमण उपलब्धिमूलक भएको टिप्पणी गर्दै ओली शैलीमै नेपाल–चीन सम्बन्ध नयाँ उचाइमा पुगेको दाबी गरेका छन् । निकट भविष्यमा चीनका राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमण आउने विश्वास व्यक्त गर्दै ओलीले केरुङ–काठमाडौं रेल निर्माण सम्झौताले नेपाल–चीन सम्बन्धमा नयाँ युग आरम्भ भएको टिप्पणी गरेका छन् ।

उदीयमान शक्तिराष्ट्र चीनका शक्तिशाली राष्ट्रपति सीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसंँग बहुचर्तित सिङ्गापुर शिखर वार्ता गरी आकस्मिक रूपमा बेइजिङ आएका उत्तर कोरियाली कम्युनिष्ट शासक किम जोङ–उनपछि ओलीलाई उच्च महत्त्व दिँंदै गत बुधबार ‘द ग्रेट हल अफ द पिपुल’मा एकल वार्ता गरेपछि ओलीले उक्त दाबी गर्नु अस्वाभाविक होइन । प्रधानमन्त्री ओली र राष्ट्रपति सीबीच भएको उच्चस्तरीय वार्तामा नेपाल–चीनबीच द्विपक्षीय कूटनीतिक सम्बन्ध, व्यापार तथा पारवहन, पूर्वाधार निर्माण र विकास साझेदारीका विषयमा गम्भीर संवाद भएको समाचारले सकारात्मक सन्देश पनि सम्प्रेषण गरेको थियो । तर ‘द ग्रेट हल अफ द पिपुल’मा सम्पन्न द्विपक्षीय औपचारिक बैठक, १० वटा सम्झौता तथा समझदारी, ४ वटा लेटर अफ एक्सचेन्ज र भ्रमणको अन्त्यमा प्रकाशित १४ बुँदे संयुक्त प्रेस वक्तव्यको आधारमा वस्तुनिष्ठ विश्लेषण गर्दा विगतका जस्तै औसत भ्रमणबाट आंशिक उपलब्धि हासिल भएको देखिन्छ ।

भ्रमणका आंशिक उपलब्धि
चिनियाँ कूटनीतिक, व्यापारिक तथा सामरिक प्रभाव विस्तार गर्ने राष्ट्रपति सीको महत्त्वाकांक्षी परियोजना ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ (बीआरआई) अन्तर्गतका परियोजनाहरूमा ओलीको भ्रमणको अवसरमा हस्ताक्षर गर्नु चिनियाँ उच्च प्राथमिकता थियो । तत्कालीन एमाले र माओवादी केन्द्रको संयुक्त घोषणापत्रमा पनि विशेष महत्त्वसाथ उल्लेख गरिएको तथा ओलीको प्रतिष्ठासंँग गाँसिएको केरुङ–काठमाडौं रेलमार्ग नेपालको सर्वोच्च प्राथमिकता थियो ।

त्यसैले बीआरआई अन्तर्गतका परियोजनाहरू कार्यान्वयन गर्न नेपालले प्रस्ताव गरे अनुरूप ‘ट्रान्स–हिमालयन मल्टी–डाइमेन्सनल कनेक्टिभिटी नेटवर्क’को फ्रेमवर्क भित्र रहेर रेलमार्ग, हवाइमार्ग, सडक, बन्दरगाह, ऊर्जा उत्पादन तथा प्रसारण, टेलिकम जस्ता बृहत्तर क्षेत्रमा सहकार्य गर्ने प्रारम्भिक सहमति र समझदारी गरिएको छ । नेपालको राष्ट्रिय स्वाधीन अर्थतन्त्र, आर्थिक विकास, व्यापार, पारवहन जस्ता विषयमा दूरगामी प्रभाव पार्ने उक्त सहमति र समझदारीहरू सकारात्मक मात्रै होइन, अर्थपूर्ण पनि छन् ।

विशेषगरी भूपरिवेष्टित देश नेपालको केरुङ–काठमाडौं रेलमार्गले परम्परागत भूराजनीतिक, आर्थिक, व्यापारिक तथा पारवहनको मार्गचित्रमा नै मौलिक परिवर्तन आउन सक्ने भएकाले सबैभन्दा दूरगामी र महत्त्वपूर्ण छ । त्यसैले १४ बुँदे संयुक्त वक्तव्यमा पनि उक्त रेलमार्गले नेपाल–चीन बहुआयामिक सम्बन्धमा नयाँ युगको प्रारम्भ हुनेछ भनी उल्लेख गरिएको छ ।

केरुङ–काठमाडौं रेलमार्ग पनि सोही ‘ट्रान्स–हिमालयन मल्टी–डाइमेन्सनल कनेक्टिभिटी नेटवर्क’ बृहत्तर फ्रेमवर्क अन्तर्गत नै निर्माण गरिने प्रारम्भिक सहमति भएको छ । यद्यपि उक्त बहुचर्चित केरुङ–काठमाडौं रेलमार्ग निर्माण सहमति पत्र अहिलेसम्म सार्वजनिक नभएको कारणले आर्थिक तथा प्राविधिक पक्षबारे स्पष्ट भइसकेको छैन । तर रेलमार्ग निर्माण गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको समाचार मात्रैले पनि नेपालमा अभूतपूर्व तरङ्ग सिर्जना भएको छ । प्रधानमन्त्री ओलीसँंग द्विपक्षीय वार्ताको क्रममा राष्ट्रपति सीले नै केरुङ–रसुवागढी–काठमाडौं रेलमार्ग निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेपछि उक्त तरंग आउनु स्वाभाविक हो ।

चिनियाँ प्रधानमन्त्री ली खछ्याङको उपस्थितिमा भएका उक्त १० वटा सहमति तथा समझदारी र ४ वटा लेटर अफ एक्सचेन्जले नेपालमा चिनियाँ लगानी आकर्षित गर्ने, पूर्वाधार निर्माण, जलस्रोत तथा ऊर्जा उत्पादन, द्विपक्षीय व्यापार र पर्यटन प्रबद्र्धन र मानव संसाधन विकासका दृष्टिले महत्त्वपूर्ण आधारशिला सिर्जना भएको छ ।

केरुङ–काठमाडौं रेलमार्गका साथै नेपालले कार्गो यातायातका लागि तिब्बती राजमार्ग उपयोग गर्ने सम्बन्धी प्रोटोकलमा हस्ताक्षर तथा नेपालले लामो समयदेखि उठाउँदै आएको खासा–तातोपानी, केरुङ–रसुवागढी लगायत व्यापारिक नाका सञ्चालन, सुधार तथा विस्तार गर्ने, अरनिको तथा स्याफ्रुबेँसी–रसुवागढी मार्ग सुधार गर्ने प्रक्रिया अविलम्ब प्रारम्भ गर्ने सहमति भएपछि चिनियाँ पक्ष विगतमा भन्दा यसपटक बढी सकारात्मक भएको सङ्केत देखिएको छ । यसैगरी कोशी, गण्डकी, कर्णाली आर्थिक करिडोर निर्माणमा पनि सहयोग गर्ने चिनियाँ प्रत्याभूति आंशिक भए पनि भ्रमणका सकारात्मक उपलब्धि हुन् ।

किन भएन प्रोटोकलमा हस्ताक्षर ?
परम्परागत रूपमा भारत निर्भर भूपरिवेष्टित देश नेपालको अर्थतन्त्र, व्यापार, वाणिज्य, पारवहनलाई विविधीकरण गरी स्वाधीन अर्थतन्त्रको विकासका लागि राष्ट्रिय हितको दृष्टिले नेपाल–चीन स्वतन्त्र व्यापार र पारवहन प्रोटोकल महत्त्वपूर्ण थियो । चिनियाँ भूमिमार्फत तेस्रो देशसंँग व्यापार तथा वाणिज्यका लागि व्यापार र पारवहन प्रोटोकल र अन्तर्राष्ट्रिय बन्दरगाह लगायतका कार्यसूचीहरू नेपालको दृष्टिले उच्च प्राथमिकता थिए । व्यापार र पारवहन प्रोटोकलमा हस्ताक्षर नभएसम्म नेपालले चिनियाँ भूमि हुँदै तेस्रो मुलुकसंँग व्यापार तथा पारवहनको सम्भावना छैन । तर दुर्भाग्यवश, भ्रमण अवधिमा व्यापार र पारवहन प्रोटोकलमा हस्ताक्षर भएन । त्यसैले व्यापार र पारवहन प्रोटोकलमा हस्ताक्षर नहुनु नेपाली पक्षको ठूलो कूटनीतिक असफलता हो ।

यद्यपि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले समयाभाव र गृहकार्यको अभावको कारणले व्यापार र पारवहन प्रोटोकलमा हस्ताक्षर नभएको स्पष्टीकरण दिएका छन् र साउन महिनाभित्रै प्रोटोकलमा हस्ताक्षर हुने दाबी गरेका छन् । तर २०७२ चैतमा व्यापार र पारवहन सम्झौता भएपछि २७ महिना भइसकेको छ भने ओली दोस्रोपटक प्रधानमन्त्री भएको पनि ४ महिनाभन्दा बढी भइसक्यो । त्यसैले व्यापार र पारवहन सम्झौता भएको २७ महिना भइसक्दा पनि समयाभावको कारणले हस्ताक्षर हुन नसकेको भन्नु हास्यास्पद तर्कमात्रै हो । यथार्थमा व्यापार र पारवहन सम्झौतामा हस्ताक्षर नहुनुमा नेपालको कूटनीतिक कमजोरी जति जिम्मेवार छ, चिनियाँ पक्षको अनिच्छा पनि त्यत्तिकै निर्णायक छ ।

२०७२ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणको अवसरमा नेपाल–चीन सीमानाका लिपुलेकलाई भारत र चीनबीच व्यापारिक नाकाका रूपमा सञ्चालन गर्ने सहमति भएपछि नेपालको राष्ट्रिय सुरक्षा र सार्वभौमिकताको दृष्टिले गम्भीर प्रश्नचिह्न खडा भएको थियो । त्यसैले ‘राष्ट्रवादी’ ओलीले अहिले उक्त विषय चीनसँंग उठाउनु अपरिहार्य थियो । तर उक्त विषयमा संवाद भएको प्रतिविम्ब कुनै पनि दस्तावेजमा देखिएन । यति गम्भीर विषयमा छलफल नै भएन कि भएर पनि दस्तावेजमा उल्लेख गरिएन ?

नेपालको ऊर्जा उत्पादन र व्यापारका दृष्टिले चीनसँंग ऊर्जा सीमापार प्रसारण लाइन, नेपाल–चीन इन्धन आपूर्ति, नेपालको इन्धन भण्डारण र विपद् व्यवस्थापन नेपालका प्रमुख कार्यसूचीहरू थिए । तर उक्त प्रमुख कार्यसूचीहरूमा उल्लेखनीय प्रगति भएन, केवल सम्भाव्यता अध्ययनमा सीमित भए । त्यसैले भ्रमणमा संख्याका दृष्टिकोणले धेरै सहमति र सम्झौतामा हस्ताक्षर भएका छन् । तर कतिपय पुनरुल्लेख मात्रै गरिएका छन् भने कतिपय न्यून महत्त्वका छन् । अहिलेको बहुचर्चित रेल सम्बन्धी सम्झौता पनि अपूर्ण छ । एकातिर लगानीको बारेमा ठोस सहमति भएको छैन भने अर्कोतिर सहमति पत्र सार्वजनिक पनि भएको छैन ।

चिनियाँ स्थायी चासो
साउथ चाइना सागर, ताइवान र तिब्बत चीनको राष्ट्रिय एकता, भौगोलिक अखण्डता, सार्वभौमिकता र राष्ट्रिय सुरक्षाको दृष्टिले अत्यन्त संवेदनशील भएको चिनियाँ प्रतिरक्षा मन्त्रालयको आधिकारिक दस्तावेजहरूमा उल्लेख गरिएको छ । जति–जति नेपालसँंग सीमानाकाहरू खुल्दै जान्छन्, त्यति–त्यति सुरक्षा चुनौती बढ्दै जाने विश्लेषण गर्दै चिनियाँ पक्षले नेपालसँंग सीमा सुरक्षा तथा व्यवस्थापन प्रणालीको प्रश्न हरेक भ्रमण तथा द्विपक्षीय संवादको क्रममा उठाउँंदै आएका छन् । यस पटकको भ्रमणमा पनि चिनियाँ पक्षले उक्त चासोलाई उच्च महत्त्वसाथ उठाएको थियो । त्यसैले सुपुर्दगी तथा आपसी कानुनी सहायता सन्धिका साथै विश्वसनीय सीमा व्यवस्थापन प्रणालीलाई संयुक्त विज्ञप्तिको १० नम्बर बुँदामा उच्च प्राथमिकतासाथ उल्लेख गरिएको छ ।

उक्त बुँदाको कूटनीतिक तथा सुरक्षा अन्तर्य अर्थपूर्ण छन् । चिनियाँ सामरिक चासो र सुरक्षा स्वार्थलाई विश्वसनीय रूपमा नेपालले सम्बोधन नगर्दासम्म नेपालका विकास परियोजनामा उदारतापूर्वक सहयोग गर्न चिनियाँ पक्ष सकारात्मक भएको देखिएन । त्यसैले नेपालको राष्ट्रहित र राष्ट्रिय सुरक्षामा प्रतिकूल प्रभाव नपर्नेगरी नेपालले चिनियाँ सामरिक चासो र सुरक्षा संवेदनशीलतालाई सम्बोधन गर्नु अपरिहार्य छ । ओली फर्केकै दिन नेपाली सेनाका प्रधान सेनापति राजेन्द्र क्षत्री बेइजिङ भ्रमणमा जाने कार्यक्रम तय भएको थियो । तर संयुक्त राष्ट्र संघको उपमहासचिव सोमबार नेपाल भ्रमणमा आएको कारणले आइतबार गएनन् । सम्भवत: आगामी हप्ता बेइजिङ गई चिनियाँ जनमुक्ति सेना र नेपाली सेना प्रमुखबीच दुई देशका सुरक्षा चासो र सामरिक स्वार्थबारे सघन संवाद हुनेछ र सेनापति क्षत्रीले चिनियाँ सुरक्षा चासोका प्राविधिक पक्षमा आश्वस्त पार्नेछन् ।

विगतका भ्रमणहरूमा चीनसँग प्राय: द्विपक्षीय मामिलाका विषयमा मात्रै छलफल हुन्थ्यो । तर यस पटक अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मामिलाका साथै संयुक्त राष्ट्र संघ, सांघाई को–अपरेसन अर्गनाइजेसन, नेपाल–भारत–चीन त्रिदेशीय अवधारणा लगायत बहुपक्षीय विषयमा सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल संयुक्त विज्ञप्तिमा उल्लेख गरिएको छ । त्यति मात्रै होइन, द्विपक्षीय प्रतिनिधिमण्डलको बैठकमा राष्ट्रपति सीले नेपाल, भारत र चीनको बारेमा व्यक्त गरेको विचार अर्थपूर्ण र मननीय छ । ‘ड्रयागन (चीन) र एलिफेन्ट (भारत) मिलेर जाँदा नै यो क्षेत्रमा प्रगति हुन्छ ।

त्यसैले हामी मिलेरै जानुपर्छ । मैले भारतीय प्रधानमन्त्री (नरेन्द्र मोदी) लाई पनि पछिल्लो भेटमा हामी दुई देश मिलेर क्षेत्रीय विकासका लागि सकारात्मक ढंगले अगाडि बढ्नुपर्छ भनेको छु ।’ राष्ट्रपति सीलाई उद्धृत गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिएको तथा बेइजिङबाट प्रधान सम्पादक सुधीर शर्माले सम्प्रेषण गरेको समाचारको सन्देश निकै अर्थपूर्ण छ । त्यसैले उदीयमान शक्तिराष्ट्र चीनको कूटनीतिक महत्त्वाकांक्षा कति बढिरहेको छ भन्ने पनि राष्ट्रपति सीको विचारबाट पुष्टि भएको छ ।

ओली–सी केमेष्ट्रीको सन्देश
पश्चिमा राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूको जस्तो कूटनीतिक परम्परा विपरीत कम बोल्ने र केवल औपचारिक सम्बन्ध राख्ने राष्ट्रपति सीको मौलिक कूटनीतिक पहिचान हो । तर यस पटक द्विपक्षीय बैठक र संवादको क्रममा सी र ओलीको ‘ल्याङ्ग्वेज’ र ‘बडी ल्याङ्ग्वेज’को बारेमा विश्लेषण गर्दा उनीहरूबीच केवल कूटनीतिक र औपचारिकता भन्दा अनौपचारिक र आत्मीय सम्बन्ध स्थापित भएको देखिन्थ्यो । उत्तर कोरियाली कमरेडसंँग जनवादी आत्मीय र अन्तरंग संवाद गरेपछि सिर्जना भएको ‘कम्युनिष्ट भाइब्स’ (कम्युनिस्ट तरंग) कायमै रहेकाले पनि हुनसक्छ, ओली–सी भेटमा कम्युनिस्ट केमेष्ट्री प्राकृतिक देखिन्थ्यो भने वार्तामा ‘कमरेडसिप’ झल्किन्थ्यो ।

दुईटा कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्रबीच एकीकरण गरी शक्तिशाली कम्युनिष्ट पार्टीको अध्यक्ष एवं प्रधानमन्त्रीलाई बेइजिङमा राष्ट्रपति सीले ‘रेड कार्पेट’मा न्यानो स्वागत गर्दै उच्च महत्त्व दिनु स्वाभाविक थियो । वास्तवमा दुई देशका राष्ट्रप्रमुख र सरकार प्रमुखमात्रै भन्दा पनि दुई शक्तिशाली कम्युनिस्ट पार्टीका शक्तिशाली ‘कमरेड’हरू बीचको भावनात्मक साम्यवादी सम्बन्ध ओली र सीका बीचमा प्रतिविम्बित भएको देखिन्थ्यो । सम्भवत: सी नेपाल भ्रमण गर्ने राजनीतिक तथा कूटनीतिक आधार ओलीको भ्रमणले सिर्जना गरेको छ । ओली–सी सम्बन्ध र सिद्धान्तबारे आआफ्नै सूचना र सूत्र हुनसक्छ, तर यो भ्रमणले ओली–सी सम्बन्ध थप घनिष्ट भएको छ । तर उक्त घनिष्ट र आत्मीय सम्बन्धलाई ओलीले नेपालको राष्ट्रिय हित अनुकूल उपयोग गर्नुपर्छ । होइन भने उक्त सम्बन्ध व्यक्तिगत रूपमा मात्रै सीमित रहनेछ ।

चिनियाँ राष्ट्रपति सीको ‘चिनियाँ सपना’ र भारतीय प्रधानमन्त्री मोदीको ‘सबका साथ, सबका विकास’ जस्तै ओलीको मूलमन्त्र ‘सुखी नेपाली, समृद्ध नेपाल’लाई भारत र चीन दुवै भ्रमणको अवसरमा प्रकाशित संयुक्त वक्तव्यमा उल्लेख गर्न सफल भएका छन् । त्यसैले चिनियाँ राष्ट्रपति सी र भारतीय प्रधानमन्त्री मोदीले जस्तै ओलीले पनि आफ्नो मूल मन्त्रलाई अन्तर्राष्ट्रिय ब्रान्डिङ गर्ने कूटनीतिक सफलता हासिल गरेका छन् । तर ‘सुखी नेपाली, समृद्ध नेपाल’लाई केवल ब्रान्डिङमात्रै होइन, भारत र चीनबाट नेपालको विकासमा कति सहयोग जुटाउन सक्छन् ? त्यसैमा ओली कूटनीति निर्भर रहनेछ ।

निष्कर्ष
विगत लामो कालखण्डपछि नेपालमा दुई तिहाइको शक्तिशाली सरकार, नेपालको दुवै छिमेकी भारत र चीनसँंग सुमधुर सम्बन्ध, भारत र चीनबीच पनि सम्बन्ध सुधार भएको घडीमा भएको ओलीको भ्रमण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति अनुकूल थियो । तर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति अनुकूल हुँदा पनि नेपालको कूटनीतिक कमजोरी र चिनियाँ पक्षको ‘पर्ख र हेर’ नीतिका कारण भ्रमण अपेक्षाकृत सफल हुन सकेन । तथापि राष्ट्रपति सीसंँग ओलीले विश्वसनीय सम्बन्ध स्थापित गरेपछि नेपाललाई अवसर सिर्जना भएको छ र ओलीको भ्रमणले आर्थिक विकास र साझेदारीको आधारशिला स्थापना गरेको छ । त्यसैले निकट भविष्यमा राष्ट्रपति सीको नेपाल भ्रमण भयो र हस्ताक्षर भएका सहमति र समझदारी कार्यान्वयन भए भने ओलीको भ्रमण सफल भएको मानिनेछ । त्यसैले चीनसँंग भएका सम्झौता कार्यान्वयनको कसीमा ओली भ्रमणको मूल्यांकन हुनेछ ।

ट्विटर : @GejaWagle

प्रकाशित : असार १४, २०७५ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?