प्रश्न : कांग्रेस पराजयको समीक्षा 

लोकेश ढकाल

काठमाडौँ — प्रदेश एवम् संघीय तहको निर्वाचन सम्पन्न भएको झण्डै चार महिना पछि निर्वाचनमा लज्जास्पद पराजय भोगेको नेपाली कांग्रेसले पराजयका विषयमा समीक्षा गर्न आज केन्द्रीय कार्यसमितिको बैठक बाेलाएको छ ।

त्यसो त कांग्रेसले झण्डै एक वर्ष अगाडी सम्पन्न स्थानीय तहको निर्वाचन पराजयका सम्वन्धमा पनि कुनै समीक्षा गरेको छैन।

नेपाली कांग्रेसले ०७ सालको जनक्रान्ति देखि निरन्तर रूपमा देशको प्रजातान्त्रिक आन्दोलनको सफल नेतृत्व गर्दै आएको, त्यसरी नै पछिल्लो समयमा शान्ति प्रक्रियाको सफल नेतृत्व, गणतन्त्रको स्थापना, संविधानसभाबाट संविधान निर्माणको नेतृत्व, जारी संविधानलाई अस्वीकार गरी विद्रोह गरेर बसेको मधेश केन्द्रित दलहरूलाई सहमतिमा ल्याएर संविधानलाई स्वीकार गर्न लगाई स्थानीय, प्रदेश र संघीय निर्वाचनमा सहभागी गराउन खेलेको विशेष भूमिका र प्रजातन्त्रमा विश्वास नराख्ने कम्युनिष्ट शक्तिलाई पनि शान्ति र प्रजातन्त्रको मार्ग ल्याउन विशेष भूमिका खेलेको यथार्थ आम जनताको बीच छर्लङ्ग छ।

तर इतिहासमा यतिका गौरवशाली उपलब्धि हासिल गरेको पुरानो र लोकप्रिय पार्टीले संविधान जारी भए पछि सत्तामा नै बसेर चुनाव गराउँदा समेत तीनै तहको निर्वाचनमा लज्जास्पद पराजय भोग्नु पर्याे किन? आज बस्दै गरेको कांग्रेस केन्द्रीय कार्यसमितिले बामगठवन्धनका कारणले मात्र चुनाव हारियो भनेर हल्का ढङ्गले समीक्षा गरी व्यक्तिगत पूर्वाग्रहबाट माथि उठेर स्वतन्त्र र यथार्थपरक ढङ्गले मुद्धाको गहिराईमा पुगेर समीक्षा गर्ने आँट देखायो भने मात्र पार्टीमा केही सुधार हुने अपेक्षा राख्न सकिन्छ।

कार्यसमितिका पदाधिकारी एवम् सदस्यहरूले कार्यसमिति बैठकमा निर्वाचन पराजयको समीक्षा गर्न बस्दा नेतृत्व र आफ्ना कमजोरीलाई ढाकछोप गर्दै केवल एकअर्कामा दोषारोपण मात्र गर्न लाग्यौं र भए–गरेका गल्ती र कमजारोरी स्वीकार गरेर सच्चिन तयार भएनौं पार्टी सुधारको कल्पना नगरे हुन्छ, त्यस्तो आवस्थामा कांग्रेस विघटनको मार्ग तर्फ उन्मुख हुने छ। अहिलको कांग्रेसको अवस्था लगभग यस्तै छ।
अप्रत्यासित र नाटकीय ढङ्गले भएको वामगठवन्धनको कारणबाट निर्वाचनमा कांग्रेसले धक्का व्यहोर्नु पर्यो भन्नेमा सन्देह नै छैन, तर निर्वाचन पराजयको कारण बामगठवन्धन मात्र हो भनेर पार्टी र यसको नेतृत्वको कमजोरीलाई छोपेर समीक्षा गर्न बस्यौं भने मान्नुहोस् कांग्रेस अब सुध्रिदैन। कांग्रेसलाई पुननिर्माणको मार्गमा अग्रसर बनाउने कि पतनको बाटोमा धकेल्ने, मौजुदा केन्द्रिय कार्यसमितिको विवेक, सोच र आँट माथि निर्भर छ।

नेपाली कांग्रेस पराजयमा कुनै एउटा मात्र कारण वा पक्ष मात्र दोषी छैन। पार्टीको सैद्धान्तिक विचलन, कमजोर एवम् अदक्ष नेतृत्व, पार्टीका आदर्श छोडेर केवल सत्ता केन्द्रित हुने प्रवृत्ति, अराजकता, अनुशासनहीन कार्यकर्ता लगायत थुप्रै कारण छन्। यो सानो लेखमा कांग्रेस पराजयको समग्र समीक्षा सम्भव छैन। कार्यसमितिको वैठक वसिरहँदा कार्यसमितिलाई पार्टीलाई बचाउन व्यक्तिगत एवम् गुटगत स्वार्थ भन्दा माथि उठेर हिम्मतका साथ विवेकशील निर्णय गर्न अग्रसर होउन् भन्नु नै हो।

कांग्रेस इतिहास मै सबैभन्दा कमजोर बन्नु वा हालैको निर्वाचनमा सर्मनाक पराजय भोग्नुको प्रमुख कारण पार्टी स्थापनाकालीन सिद्धान्त र विचारबाट विचलित हुनु र वीपी कोइरालाको निधन पछि राष्ट्रियता र प्रजातन्त्रको मूल्य–मान्यता र आर्थिक कार्यक्रम माथि उहााको राजनीतिक अडान, विचार र चिन्तनलाई क्रमश परित्याग गर्दै जानु, पार्टी सरकारमा भएको बेला भ्रष्टाचार मौलाउनु र पार्टी नेता एवम् कार्यकर्ता पङ्तिलाई आर्थिक अनुशासन, आदर्श र सदाचारको मार्गमा हिडाउन नसक्नुको परिणाम पनि हो भन्नेमा सन्देह छैन।

यति हुँदाहुँदै पनि पछिल्लो संविधानसभा निर्वाचनसम्म कांग्रेसले सम्मानजनक सिट ल्याएर संसदको पहिलो दल भएको थियो र यो बीचमा कांग्रेसबाट के गल्ती भयो र पछिल्लो चुनावमा कांग्रेस आजको अवस्थामा आइपुग्यो? एमालेसंगको सहकार्यमा संविधान जारी भैसके पछि सुशील कोइरालाले प्रधानमन्त्री पदबाट राजिनामा दिए पछि एकप्रकारको राजनीतिक समझदारी र सिष्टाचारलाई भुलेर हार्ने चुनाव हो भन्ने जान्दाजान्दै सुशील कोइरालालाई प्रधानमन्त्री चुनावमा उतार्नु कांग्रेसको पतन र ओली उदयको प्रस्थान विन्दु थियो।

त्यसैगरी कांग्रेसले प्रचण्डसंग मिलेर ५ महिनासम्म भारतीय आर्थिक नाकाबन्दिलाई खेपेर चरम लोकप्रियमा पुगेका ओलीलाई असामयिक रूपमा प्रधानमन्त्रीबाट हटाउनु अर्को महान भुल थियो। केही महिना मात्र धैर्य गरेको भए ओली सरकार आफ्नै कारणले पतन निश्चित थियो।

पछिल्ला निर्वाचनहरूमा कांग्रेसको दुस्खदायी पराजयको मूल कारण नै इतिहास कै सबैभन्दा निकम्मा वर्तमान केन्द्रीय कार्यसमिति र यसको नेतृत्व हो भनेर भन्यौं भने अन्यथा हुँदैन। शेरबहादुर देउवा मात्र खराव बाँकि योग्य भन्यौ भने त्यो पनि सर्वथा गलत हुन्छ। प्रधानमन्त्री र पार्टी सभापतिका रूपमा देउवाको अयाेग्यता र कमजोरी त निर्वाचन पराजयमा प्रमुख कारण थियो नै, वर्तमान कार्यसमितिका अन्य जिम्मेवार पदाधिकारी र कार्यसमिति सदस्यहरू पनि लाचार देखिए। कार्यसमितिमा महाधिवेशनबाट निर्वाचित र मनोनित समेत झण्डै आधाको संख्यामा रहेका कथित युवाको उपस्थितिको प्रभावहीन थियो। अहिले सबै दोष जति देउवालाई मात्र दिएर आाफु चोखिने र पार्टीमा आफ्नो स्थान कसरी सुरक्षित गर्ने भन्ने सोचबाट ग्रस्त भएर विचार शुन्य ढङ्गबाट देउवाको आलोचना त चर्कोसंग गरिरहेका छन् तर यो दुई वर्षमा कार्यसमितिमा आफ्नो चााही के भूमिका रह्यो भन्न सक्ने हैसियतमा कोही छैनन्।

त्यत्रो उच्चराष्ट्रवादी अडान भएको वीपी कोइराला जस्तो महान नेताले नेतृत्व गरेको पार्टीले भारत सरकारले अन्तराष्ट्रिय कानूनको भावना विपरित ५ महिनासम्म कठोर नाकाबन्दी गरेर नेपाली जनतालाई चरम दुख दिंदा सत्तास्वार्थमा अल्झेको कमजोर नेतृत्वको कारण नेपाली कांग्रेसले त्यो नाकाबन्दीलाई नाकाबन्दीसम्म भन्न सकेन भने निर्वाचनमा अनि जनताले नेपाली कांग्रेसलाई दण्डित नगरेर कसलाई गर्छ?

प्रचण्डसंग गला जोडेर लामो समयसम्म सत्तामा बस्ने सपना देख्ने देउवाजीले राजनीतिक टुङ्गो नभएको प्रचण्डले कुन बेला जोरलात्तीले हान्छ भन्ने हेक्कै राखेनन्। ५ महिनाको भारतीय नाकाबन्दीलाई थेगेर लोकप्रियताको चरम उचाईमा पुगेका वेला प्रचण्डसंग मिलेर उनलाई सत्ता च्युत गर्दा त्यँही ओली भोली भारी पर्छन भनेर विश्लेषण नै गर्न सकेनन्। प्रचण्डलाई काठमाडौंका जनताले अस्वीकार गरे पछि चितवन जिल्लालाई आफ्नो राजनीति आधार थलो बनाउन कै लागि चतुर प्रचण्डले आफ्नी प्रिय पुत्रीलाई मेयर बनाउन हाम्रा नेता देउवाजीलाई निर्वाचन पछि पनि आलोपालो प्रधानमन्त्री पद शेयर गरौंला भन्ने लोभ देखाए, प्रचण्ड पुत्रीलाई चुनाव जिताइदिए। आदर्श र सिद्धान्त विपरित देश भरीका कांग्रेस कार्यकर्ता र आम प्रजातन्त्रवादीको शीर झुकाउने गरी यसो गरेको कांग्रेसलाई कति क्षति भयो? यसको भर्पाइ गर्ने सामथ्र्य न देउवाजीमा छ न कार्यसमितिमा।

आफ्नै प्रधानमन्त्रित्वमा सरकारमा सहभागी प्रचण्डको दलले विपक्षी बामगठवन्धन बनाउन विपक्षीसंग लगनगाँठो कसिसकेको सुइको नपाउने नेताले एउटा डीआईजीको बढुवामा सिङ्गो पार्टीलाई दाउमा थाप्छन्, ६४ जनाको मन्त्रिमण्डल बनाउने अलोकप्रिय काम गर्दछन्, व्यक्तिगत लहडमा प्रधानन्यायाधीशलाई व्यर्थसंग महाअभियोग लगाउने प्रयास गर्छन्, बाढी पीडितलाई राहत बाँड्न जाँदा सिंचाईमा भएको भ्रष्टाचार छानविन गर्न माग गर्दै दिएको ज्ञापनपत्र वाचन गर्छन्, बीबीसी साझा सवाल कार्यक्रम र न्युयोर्क स्थित कोलम्बिया विश्वविद्यालयको वल्र्ड लिडर फोरममा प्रधानमन्त्रीको गरिमालाई पर्वाह नगरी लज्जास्पद प्रस्तुति दिएर दुनियाा हासाउाछन् भने कांग्रेसको लागि आजको दिन अवश्यंभावी थियो।

६०–४० को लज्जास्पद भागवण्डा संस्कृतिको अन्त्य गर्छु भनेर पार्टी सभापतिको नेताले गुटगत राजनीतिलाई अन्त्य गर्नुको सट्टा मन्त्रिपरिषद् गठन, टिकट वितरण लगायतमा गुटगत आधारमा काम गरेर पार्टीलाई गुटहरूको महासंघको रूपमा परिणत गरेको कारणले पार्टी थप कमजोर बनेको विषयलाई भुल्न सकिंदैन।

विश्वव्यापी एवम् नेपाली कै कम्युनिष्ट आन्दोलनको चरित्र र व्यवहार विपरित पहिलो संविधानसभामा पार्टीले दुस्खद पराजय व्यहोरेको नैतिक जिम्मेवारी लिंदै एमालेका तत्कालिन महासचिव माधवकुमार नेपालले महासचिव पदबाट नै राजिनामा दिएको थिए। उनले आफ्नै पार्टीको संस्थापन पक्षबाट असहयोग भए पछि प्रधानमन्त्री पदबाट नै राजिनामा समेत दिएको थिए। पद नै त्याग गर्ने नैतिक साहस त कांग्रेस नेताको छैन, फेरी कसैले देउवाको राजिनामा मागेको पनि छैन, तर निर्वाचन भएको यतिका समय भैसक्दा पार्टी पराजयको नैतिक जिम्मेवारी लिने सामान्य न्युनतम नैतिक चरित्र र व्यवहार प्रदर्शन मात्र पनि हुन सक्दैन भने यो नेतृत्व र कार्यसमितिबाट आम कांग्रेसीजनले के अपेक्षा राख्ने?
निर्वाचनको समीक्षा गर्न बसेको कार्यसमितिको आजको वैठकले निर्वाचन पराजयको विषयमा निष्पक्ष भएर समीक्षा गर्दै पार्टी अगाडि बउाउने भन्दा एक आपसमा आरोप–प्रत्यारोप गदै ठोस निर्णय नगरी समाप्त हुने संभावना प्रवल छ।

विचार, सिद्धान्त र आदर्शको वाटोमा अुशासित मर्यादित ढङ्गले पार्टी चलाउन देश भरका निष्ठावान कार्यकर्ताले गुटको सदस्य भएर होइन, कांग्रेस भएर पार्टी पुनस्निर्माणको लागि आवाज दिन, दवाव सिर्जना गर्न थाले मात्र कांग्रेसको भविष्य प्रति आशावादी हुन सकिन्छ। अहिलेलाई पार्टी विधानलाई समयाकुल संशोधन एवम परिमार्जन गरेर जति सक्दो छिटो पार्टीको महासमितिको वैठक डाक्ने र लगतै शिघ्र महाधिवेशन बोलाउनुको अर्को विकल्प छैन। जागौं कांग्रेस, जागौं!

प्रकाशित : चैत्र ९, २०७४ १४:०७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

संवेदनशीलका सवाल

कान्तिपुर संवाददाता

काठमाडौँ — बलात्कारका घटनामा कमी आउनुको साटो झन् बढ्दै गइरहेको छ । अपराधीलाई कानुनी कारबाही गर्दा यस्ता घटनामा कमी आउने हाम्रो सोच गलत ठहरिएको छ । जति कारबाही गरे पनि अपराध घट्नसकेको छैन, झन् तीव्र रूपमा बढ्दै गइरहेको छ ।

मुलुकी ऐनको महलमा करणी गर्नेलाई अधिकतम १५ वर्षको जेल सजाय तोकिएको छ । तर अहिलेको बढ्दो यौन हिंसाका घटनामा १५ वर्षको जेल सजाय निकै कम भए जस्तो छ । त्यसैले घटनामा वृद्धि हुँदै गइरहेको छ । कतिपय घटना सार्वजनिक भएका छैनन्, गाउँ–समाजमा मिलापत्र गराउने पुरानो चलनले गर्दा अपराधी झनै उत्साहित हुँदै गइरहेका छन् । यस्ता घटनामा मिलापत्र होइन, हदैसम्मको कारबाही गर्नुपर्छ । अपराधीलाई आजीवन काराबासको सजाय दिन ऐनलाई नै संशोधन गर्न जरुरी छ ।


अर्को पक्ष भनेको अपराधीलाई छुटाउन प्रहरी प्रशासनमा नेता तथा कार्यकर्ताको धम्कीपूर्ण फोन वा दबाबको कारणले गर्दा प्रहरी प्रशासन निरीह हुने गरेको छ भने अपराधी समाजकै अगाडि छाती फुलाएर हिँड्ने गरेका कारण अपराधीको मनोबल बढ्दै गइरहेको छ । त्यसकारण सरकारले बलात्कारको घटनामा कडा कानुन ल्याउनुपर्छ । प्रहरी प्रशासन कुनै पनि नेता वा कार्यकर्ताको दबाबमा पीडकलाई छोड्ने वा मिलापत्र गराउने क्रियाकलापबाट टाढै बस्न सक्नुपर्छ । बलात्कारको घटना संवेदनशील भएको हुनाले पीडकलाई बचाउनु भनेको भोलिका दिनमा देश अराजकतातर्फ धकेलिनु हो । त्यसकारण दलका नेता वा कार्यकर्ताले बेलैमा सजग हुनु आवश्यक छ ।

– प्रमोद पौडेल
श्रीपुर–११, वीरगन्ज

प्रकाशित : चैत्र ९, २०७४ १३:५५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×