१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

८ मार्च नमनाउनेलाई

सोचौं त, बिहान को चाँडो उठ्छ ? राति को अबेला सुत्छ ? घरमा पाहुना आउँदा को सबैभन्दा ब्यस्त हुन्छ ? चाडबाडमा कसले मस्ती गर्छ ?
मिनु श्रेष्ठ

काठमाडौँ — मेरी आमाले आठ मार्च मनाउनु भएन । आमालाई न क्लारा जेट्किनबारे थाहा थियो, नत महिलाको आफ्नो शरीर माथिको अधिकारबारे । समान कामका लागि समान ज्याला, उस्तै राजनीतिक र आर्थिक अधिकार, महिलाका लागि आराम र मनोरञ्जन मेरी आमाले नसुनेका कुरा थिए ।

अधिकारको ‘अ’ नजान्ने मेरी आमाले जीवनमा कस्ता सपना देख्नुहुन्थ्यो, थाहा छैन । आमा उहिल्यै बित्नुभयो । त्यसपछि हामी आयौं । हामीलाई आठ मार्चबारे थाहा छ । महिला अधिकारबारे सुनेका छौं, पढेका छांै र नाराहरू पनि लगाएका छौं । मेरी आमाभन्दा हामी थोरै भाग्यमानी छौं । किनभने हामीले केही यस्ता कुरा थाहा पाएका छौं, जसले भन्छ, ‘महिला र पुरुष बराबर छन् ।’


त्यसो त आज पनि धेरै महिला आठ मार्च मनाउँदैनन् । मुख्य कुरा आज पनि धेरै महिलालाई आठ मार्च, महिला अधिकार र समानताबारे थाहा छैन । आठ मार्च नमनाउनु कुनै विस्मातको कुरा होइन । विस्मातको कुरा त आज पनि महिला बलात्कृत हुनु हो । विस्मातको कुरा त आज पनि महिलाहरू दाइजोको नाममा जल्नु हो । विस्मातको कुरा त आज पनि महिलाहरू रातोदिन पसिना बगाउनु र अभावमा जीवन गुजार्नु हो । विस्मातको कुरा त महिला राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री हुनु र उनीहरूको आँखै अगाडि आज पनि महिलामाथि तेजाव खन्याइनु हो ।


आज पनि महिला बालविवाहको सिकार बन्नु हो, बेचिनु हो र हरेक दिन पति परमेश्वरका हातबाट हिंसा र निरन्तर हिंसाको सिकार हुनु हो । आर्थिक र सामाजिक हिंसा कति निर्मम हुन्छ, सायद बोक्सीको नाममा घरबाट लखेटिएकी महिलालाई सबैभन्दा धेरै थाहा छ । विस्मातको कुरा त सहरमा आठ मार्च मनाउनु र गाउँमा त्यसको छनकसम्म नआउनु हो ।


हामी आठ मार्च मनाउने महिला आफ्नो अधिकारबारे सुन्दर कविता लेख्न सक्छौं । चर्को गीत गाउन सक्छौं । हामी बोल्न सक्छौं, अदालत जान सक्छौं र डिभोर्स दिन सक्छौं । तर जो महिला कविता लेख्न सक्दैनन्, गाउन सक्दैनन्, अदालत जान सक्दैनन् र डिभोर्स दिन सक्दैनन्, उनीहरूका लागि हरेक वर्ष अठ मार्च पनि उस्तै दु:ख लिएर आउँछ । निश्चय नै आठ मार्च मनाउनेहरूलाई यो दिन एउटा विश्वासको दिन हो कि महिला र पुरुष बराबर छन् । महिलाका दु:खका दिन सकिनेछन् ।


हामी आर्थिक, राजनीतिक र सांस्कृतिक बन्धनहरूबाट मुक्त हुनेछौं । तर जो महिला आठ मार्च मनाउँदैनन् र महिला अधिकारको कुरा बुझ्दैनन्, उनीहरूलाई विश्वास दिने कसले ? उनीहरूका लागि जीवनको आशा कहाँ छ ? आठ मार्च मनाएर सत्ताको भर्‍याङ चढ्ने महिलाहरू र आठ मार्च कहिल्यै मनाउन नपाएका महिलाको दु:खको सीमारेखा बुझ्ने र मेट्ने कसले ? यी आजका लागि हाम्रा सबैभन्दा दु:खद प्रश्न हुन् ।


यहींनेर थप प्रश्न गरौं । पहिलो, महिला र पुरुषमा काम र आरामको वितरण किन असमान छ ? दोस्रो, महिला र पुरुषमा यौनको परिभाषा किन अलग छ ? तेस्रो, महिला र पुरुषमा सम्पत्तिको स्वामित्वमा किन विभेद छ ? यस्ता प्रश्नको कुनै मूल्य छैन भने ठिकै छ, यस्ता प्रश्नलाई बेवास्ता गरौं । अन्यथा यस्ता प्रश्नको थोरै पनि अर्थ छ भने बहस गरौं । यस्तो बहस गरौं, जसले महिला र पुरुषलाई समान अर्थ र अस्तित्वको मान्छेका रूपमा स्वीकार गरोस् । अन्यथा समानताका दुई–चार शब्द मिलाएर भाषण गर्नु र आठ मार्च मनाउनुको कुनै अर्थ छैन । औपचारिक आठ मार्च हामीले धेरै मनाएका छांै । तर हामीले मनाएका आठ मार्चहरूले ग्रामीण र निर्धा महिलालाई थोरै पनि मान्छे हुनुको विश्वास दिलाउनसकेका छैनन् ।


एउटा छोटो हिन्दी फिल्म छ, ‘जुस’ । कुनै घरमा पाहुना आएका छन् । पाहुना मोजमस्ती, खानपानमा छन् । उनीहरूको रसरंग र सुविधाका लागि महिलाहरू पसिना पुस्न पनि नपाई काम गर्छन् । तर थोरै पनि अप्ठ्यारो पुरुषहरूमा देखिँदैन । फिल्मले प्रश्न उठाउँछ कि यस्तो किन हुन्छ ? पुरुष र महिलाको काम र आराममा कि असमानता ? जस्तो– सोचौं त, बिहान को चाँडो उठ्छ ? राति को अबेला सुत्छ ? घरमा पाहुना आउँदा को सबैभन्दा ब्यस्त हुन्छ ? चाडबाडमा कसले मस्ती गर्छ ? साना–साना कुरा छन् । निश्चय नै महिलाको आरामरहित जीवन र निरन्तर सास्तीको मूल्य के हो ?


अहिले म कुनै बलात्कारको घटनाबारे सम्झिरहेकी छु । केही वर्ष अगाडि तराईमा उखुबारीमा घाँस काट्दै गरेकी कुनै किशोरी बलात्कारमा पर्छे । बलात्कारी काम फत्ते गर्छ, चोकमा आउँछ, पान किन्छ, चपाउँछ र मोटरसाइकल लिएर निस्कन्छ । केटी आफू बलात्कारमा परेको घटना आमालाई बताउँछे । कचहरी बस्छ । कचहरीले भन्छ, किन एक्लै घाँस काट्न गएकी ? किन उखुबारीमै घाँस काट्न जानुपर्‍यो ? सायद यस्तै प्रश्नको जवाफ खोज्छ, फिल्म ‘पिन्क’ । केटीहरूले बोलेको, हाँसेको, मैत्रीपुर्ण व्यवहार गरेको कुरालाई पुरुषहरू ‘हिन्ट’ किन ठान्छन् ? के महिलाहरू यौनिक वस्तु हुन् ? के महिला हर्दम यौन अपिलमा हुन्छन् ? सायद खोट कतै छ । त्यसैले हामीले सोच्ने ढाँचामै परिवर्तन गर्नुपर्छ । अबका आठ मार्चहरूमा प्रश्न गरौं, किन महिलाहरू बलात्कारमा पर्छन् र उनीहरूले नै अन्याय पनि सहनुपर्छ ? तपाई यो विषयमा के बोल्नुहुन्छ ? सरकारले के बोल्छ ? पुरुषहरू के बोल्छन् ?


अर्को प्रश्न छ, महिला र पुरुषमा सम्पत्तिमाथि विभेद किन ? खासगरी एसियाली महिला सम्पत्तिको अधिकारबाट बञ्चित छन् । ग्रामीण महिलामा यो समस्या अझ धेरै छ । घर, खेत, बैंक ब्यालेन्स सबैमा पुरुषको अधिकार र स्वामित्व छ । किन ? यसले महिलालाई घरको मालिक बनाउँदैन, बरु अवैतनिक कामदार र यौनदासी मात्र बनाउँछ । यस्तो मेसिन जसलाई प्रश्न गर्ने अधिकार छैन । प्रश्न गरी भने ऊ सडकमा फालिन्छे । सडकले महिलालाई के गर्छ, भनिरहनु पर्दैन । यो आजको आठ मार्चको कथा हो । सबैलाई थाहा छ, सहरमा आठ मार्च गोष्ठीहरूमा आउँछ, तर गाउँमा कसरी आउँछ ? त्यो निकै थोरैलाई मात्र थाहा छ ।


एकातिर हामीसंँग महिला नेतृहरू छन् । महिला अभियन्ता छन् । हामी छौं । बोल्न सक्नेहरू छौं । तर जो बोल्न सक्दैनन् । जो महिला सम्मेलनमा छैनन् । जो जुलुसमा छैनन् । जो सामाजिक संस्था र गैससमा छैनन् । जो पार्टीमा छैनन् । जो जंगल, घाँस–दाउरा, चुलाचौकामा छन् र जसले आठ मार्च सुनेका छैनन् । उनीहरूको मुक्तिको सपना र आवाज कसले बोल्छ ? यो प्रश्न मैले आफैलाई गरेँ । लौन महिला साथीहरू, भनौं जसले आठ मार्च मनाउँदैनन्, उनीहरूका लागि के बोल्ने होला ? के गर्ने होला ? यस्तो होस् कि आउने वर्षको आठ मार्च गाउँ र सहर दुबैतिर आओस् । गाउँका महिलाले पनि चर्को स्वरमा बोल्न सकुन् । उनीहरूले भनुन्, ‘हाम्रो धर्ती, हाम्रो आकाश र हाम्रो सम्पूर्ण जीवनका स्वामी हामी आफै हौं ।’ त्यो सामुहिक स्वर कति मधुर र मिठो सुनिन्थ्यो होला ।


[email protected]

प्रकाशित : फाल्गुन २४, २०७४ ०७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?