कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

असमानताविरूद्ध संघर्ष

सामाजिक, राजनीतिक, आर्थिक हरेक क्षेत्रमा महिला र पुरुषबीच ठूलो खाडल छ ।
दुर्गा घिमिरे

काठमाडौँ — अन्तर्राष्ट्रिय नारी दिवस मनाउन थालेको एक शताब्दी नाघिसकेको छ । यो दिवस संसारैभरि उत्साह, उमंग र बिभिन्न नाराका साथ मार्च ८ मा मनाउने गरिएको छ ।

यस वर्ष नेपालको नारा छ– आर्थिक सशक्तीकरण सहितको सामाजिक जागरण : ग्रामीण तथा सहरी महिलाको जीवनस्तर रूपान्तरण । यो नारा समय सान्दर्भिक छ । अन्तर्राष्ट्रिय नारी दिवस मनाएको यति लामो समय बितिसक्दा पनि अझै विश्वब्यापी रूपमा महिलाको जीवनमा रूपान्तरण आएको छैन । सामाजिक, आर्थिक, राजनीतिक क्षेत्रमा महिला र पुरुषका बीचमा प्रशस्त असमानता छ । अहिले स्थानीय तहमा ४० प्रतिशत र संसदमा ३३ प्रतिशत प्रतिनिधित्व निश्चित गरिएपछि महिलाको राजनीतिक सहभागिता उल्लेख्य वृद्धि भएको छ ।

अमेरिकाको न्युयोर्कमा कपडा कारखानामा काम गर्ने महिलाले सन् १९०९ मा पहिलोपटक आफूहरूमाथि भएको शोषण, असमानता र बढी समय काम गर्नुपर्ने प्रावधान विरुद्ध सडकमा आन्दोलन गरेका थिए । सन् १९११ मा अन्तर्राष्ट्रिय समाजवादी समूहहरूले डेनमार्कको कोपेनहेगनमा महिला अधिकार र महिला आन्दोलनको समर्थनमा सम्मेलन आयोजना गरेका थिए, जसमा १७ देशका १ सय महिलाको सहभागिता थियो । १९११ मा पहिलोपटक, अस्ट्रिया, डेनमार्क, जर्मनी, स्विजरल्यान्ड आदि देशमा नारी दिवस मनाइयो । विगत केही वर्षदेखि सयुक्त राष्ट्र संघले पनि यो दिवसलाई निकै महत्त्व दिएको छ ।


दस वर्ष यताका नारा १९९५ को चीनको राजधानी बेइजिङमा भएको महिलाको चौथो विश्व सम्मेलनका महिला सरोकारका बाह्रवटा विषयसँग सम्बन्धित देखिन्छन् । ती सरोकारका विषय थिए– महिला र गरिबी, महिला र आर्थिक सशक्तीकरण, महिला विरुद्ध हिंसा, महिलाको मानवअधिकार, शक्ति संरचनाका बिभिन्न तहमा महिला सहभागिता, संस्थागत संरचनामा महिला सहभागिता, बालिका, महिला र वातावरण, महिला र स्वास्थ्य, महिला । आज पनि विश्वका महिलाको प्रमुख सरोकारका विषय यिनै देखिन्छन् ।


सरसर्ती हेर्दा महिलाले समानताको लडाइँ लडेको १०९ वर्ष भइसकेको छ । तर पनि महिला विरुद्ध असमानता, विभेद, शोषण धेरै देशमा अन्त्य भइसकेको छैन । कतै धर्म र संस्कृति, कतै परम्परा र प्रचलन, कतै मानव निर्मित कानुनले महिलालाई विभेद र शोषण गरेका छन् । सामाजिक, राजनीतिक, आर्थिक हरेक क्षेत्रमा महिला र पुरुषबीच ठूलो खाडल छ । अझ महिलामाथि हुने हिंसा चरम उत्कर्षमा देखिन्छ । संयुक्त राष्ट्र संघले विश्वका महिलाको अवस्थाबारे सन् २०१० मा गरेको अध्ययन प्रतिवेदनले महिलाको जनसंख्या, स्वास्थ्य, शिक्षा, आर्थिक अवस्था आदिमा केही सकारात्मक परिवर्तन देखिए पनि महिलामाथि हुने हिंसामा कमी नआएको देखाएको छ ।

नेपालमा मात्र हैन, अन्य धेरै देशमा भएका हिंसाका घटनाले पनि यस कुरालाई पुष्टि गर्छन् ।


बालिका, महिलामाथि यौन दुव्र्यवहारका घटनाका खबर दिनानुदिन आइरहेका छन् । बलात्कारका कैयौं घटनापछि बालिकाको हत्यासमेत गरिएको पाइन्छ । मानव बेचबिखन सम्बन्धी अपराध, बालविवाह, बहुविवाह, घरेलु हिंसा, बोक्सीको आरोपमा महिलामाथि हुने गरेको हिंसा र हत्याका घटना नियन्त्रण प्रभावकारी बन्नसकेको देखिँदैन । कतिपय अवस्थामा कानुन पनि प्रभावकारी पाइँदैन । महिलाको अधिकार स्थापित गर्न र लैंगिक समानता कायम गर्न प्रशस्तै चुनौती छन् । कानुनले व्यवस्था गरेका अधिकार बहुसंख्यक महिलाका लागि आकाशको फलजस्तो भएका छन् । त्यसैले सबैले चनाखो भएर कानुन कार्यान्वयनमा जोड दिन आवश्यक छ ।


महिलाले आफूमाथि भएको असमान व्यवहार, अन्याय र अत्याचार विरुद्ध संगठित रूपमा दरिलो आवाज उठाउनुपर्छ । किनभने संगठित रूपमा उठाएको आवाजमा ठूलो शक्ति हुन्छ । महिलामाथि विभेद र कुनै पनि किसिमको शोषण गरिनु हुँदैन । महिलाको अधिकार पनि मानवअधिकार हो भन्ने कुरालाई आत्मसात गर्न जरुरी छ । विशेष गरेर यो कुरा नीति निर्माणमा बस्नेहरूले राम्ररी बुझ्नुपर्छ । यस्तै आफूमाथि हुने अन्याय विरुद्ध बोल्नुपर्छ ।


महिलाले आफूमाथि भएका असमानता र अन्याय विरुद्ध मौन भएर बस्नु हँुदैन । सबैले बुझ्नुपर्ने कुरा के हो भने महिलाको आवाजलाई दबाउन सकिँदैन । नीति निर्माता, प्रशासक, राजनीतिक पार्टीका नेताहरूले पनि महिलाको आवाजलाई सुन्नुपर्छ । विकासका हरेक आयाममा महिलालाई समावेश नगरे दिगोपन हुनसक्दैन ।


आज संसारैभरि नारी दिवस महिलाले मात्र मनाउँदैनन्, पुरुषले पनि बिभिन्न कार्यक्रमका साथ मनाउँछन् । पुरुष र महिला दुबै मिलेरै नारी दिवस मनाए यसको महत्त्व अझ बढ्दै जान्छ ।

प्रकाशित : फाल्गुन २४, २०७४ ०७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?