कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मिथिला, होली र सङ्गीत

होली प्रेम र आनन्दको उत्सव हो । मनोरञ्जन भलै यसको आवरण होस् । तर यसको अन्तर्यमा लोककल्याण तथा भ्रातृत्व–भाव नै बसेको हुन्छ ।
धीरेन्द्र प्रेमर्षि

काठमाडौँ — मिथिला एउटा यस्तो भूखण्ड हो, जहाँको जनजीवनसँग संगीतको निकै गहिरो साइनो छ । मैथिली साहित्यमा गीतको स्थानबारे मैथिलीका प्रसिद्ध गीतकार सियाराम झा ‘सरस’ले भनेका छन्, ‘गीत मैथिली साहित्यको मुटु हो ।

मिथिला, होली र सङ्गीत

मैथिलीमा अनेक विधा र अनेक प्रकारका साहित्य रचना भइरहेका छन्, सबैथरी रचनाका आ–आफ्नै विशेषता र स्थान छन् । तर मैथिली साहित्यबाट गीतलाई झिकिदिने हो भने यसको ‘हार्ट फेल’ हुन्छ ।’ झन्डै–झन्डै यस्तै अवस्था पनि छ । र यस अवस्थाकै परणति हो— मैथिल जनमानसमा साङ्गीतिक उपक्रमको व्यापकता तथा अपरिहार्यता । एउटा कुनै पारम्परिक मिथिलावासीको घरमा जन्मदेखि मृत्युसम्म वा उल्लासदेखि शोकसम्मका हरेक अवस्थामा कुनै यस्तो क्षण छैन, जसका लागि गीत निर्दिष्ट नहोस् वा नगाइँदो होस् । बेग्लाबेग्लै मनोभावक बेग्लाबेग्लै गीत’ बेग्लाबेग्लै समय, महिना, ऋतु, संस्कार र चाडका बेग्लाबेग्लै गीत । यस्तो लाग्छ, गीतकै गोरेटोमा मात्र मिथिलावासीको जीवन चल्दो होस् । सायद यसै सङ्गीतमयताका कारण ध्वनिशास्त्रीहरूका दृष्टिमा मैथिलीले विश्वकै एक मधुरतम भाषाको स्थान पाएको छ । हाम्रा राष्ट्रकवि माधवप्रसाद घिमिरेले त कतिसम्म भनेका छन् भने मैथिली भाषा नै गीतको भाषा हो ।


यस्तो सङ्गीतमय भाषा मैथिलीमा रंग–उमंग–उल्लासको पर्व होली त झन् गीत–सङ्गीतमै चुर्लुम्म डुबेको हुनै नै भयो † मिथिलामा होलीको सङ्गीतमय माहौल वसन्त पञ्चमीकै दिन सुरु हुन्छ । सरसर्ती हेर्दा होलीको साङ्गीतिक चित्र मिथिलामा तीनथरी क्यानभासमा बनेको देखिन्छ—

१. महिलाद्वारा गाइने होली गीत : घरायसी संस्कार तथा धार्मिक/सामाजिक/सांस्कृतिक अनुष्ठानमा गृहिणी महिलाद्वारा गाइने गीतको अविच्छिन्न परम्परामा होली गीतको पनि विशेष स्थान छ । यथार्थत: मिथिलामा सङ्गीतसहित हरेक प्रकारका कलालाई आफ्नो दिनचर्याका रूपमा आत्मसात गरी त्यसलाई निरन्तरता दिने अभिभारा गृहिणीले नै उठाउँदै आएका छन् । प्राती, सन्ध्यागीत, बरहमासा या ऋतुगीत आदि सबैमा गृहिणीको सामूहिक गायन हुन्छ नै, सत्यनारायण भगवान्को पूजादेखि विवाह, व्रतबन्ध आदि सांस्कारिक कर्ममा पनि गायन एक प्रमुख अङ्गका रूपमा रहने गर्छ । तर वसन्त पञ्चमीदेखि होलीसम्मका दिनमा मिथिलावासीका घरमा, चाहे सत्यनारायण भगवान्को पूजा होस् वा विवाह आदि सांस्कारिक कर्म, गाइने गीतहरूमा होली सम्बन्धी गीत समावेश गरिएकै हुन्छन् । फागुन महिनामा हुने विवाह उपरान्तका विधिहरूमा खासगरी ‘बटगवनी/बटगमनी’का रूपमा महिलाले होली गीत नै गाउने गर्छन् । यी गीतहरूलाई मसिनो पाराले हेर्ने हो भने यस्तो लाग्छ, मानौँ नवविवाहित जोडीको प्रेमलाई प्रोत्साहित गरिराखिएको होस्—

यमुना तट श्याम खेलए होरी

कसि–कसि श्याम मारत पिचकारी,

राधा–कृष्ण खेलत होरी


जसरी समग्र नेपालको सन्दर्भमा लाहुर जानु एउटा बाध्यात्मक गौरवको विषय थियो, त्यसैगरी परदेश वास मिथिलाको सन्दर्भमा एक पीडादायी सत्य हो । मिथिलाका पुरुष वर्ग सुदूर कालदेखि नै कामका लागि मोरङ जाने गर्थे । समय–क्रममा मोरङको ठाउँ कोलकाता, पञ्जाब, दिल्लीजस्ता भारतीय सहरले लिँदै गए । र अचेल खासगरी उत्तरी मिथिला अर्थात् नेपालीय मिथिला क्षेत्रका पुरुष वर्ग रोजीरोटीका लागि कतार, मलेसिया, साउदी अरब लगायतका देशतर्फ जाने क्रम उत्कर्षमा छ । परदेशिएका खसमको बाटो हेर्नु भनेको मिथिलाका नारीहरूको सार्वकालिक नियति भएको छ । सबै परदेशी होली खेल्न घरै आउने प्रयासमा हुन्छन् । परदेशी पति आउँछन्–आउँदैनन्, तर विरहमा बाँचिरहेकी पत्नीलाई भने पूर्ण विश्वास हुन्छ— उनका खसम पक्कै आइपुग्छन् । परदेशी प्रियतमको सत्कारका लागि घरमा तयारी सुरु हुन्छ । यस मनोभाव तथा तयारीको चित्रण मिथिलाको होली गीतमा सुन्दरतासँग गरिएको पाइन्छ—

परदेशिया लए धोतिया रङ्गाबे गोरिया

जब परदेशिया नगर बीच आएल

सिकिया से अङ्गना बहारै गोरिया

जब परदेशिया दुआरे बीच आएल

झटझट पुअबा छनाबै गोरिया

जब परदेशिया अङ्गने बीच आएल

पलङ्गा सेजरिया सजाबै गोरिया


यस गीतमा दुईतर्फको स्थिति, मनोभाव र क्रियाकलापबारे चित्रण गर्दै भनिएको छ— परदेशी प्रितमका लागि नयाँ धोती रङ्गाउन लागेकी छन्, गोरी । परदेशी आफ्नो नगरमा आइपुग्दा हतार–हतार घर–आँगन बढार्न थाल्छिन्, घर बाहिर आएर साथी–सङ्गी र परिवारका सदस्यहरूसँग कुरा गर्दै गर्दा झटपट मालपुआ पकाउन थाल्छिन्, अनि परदेशी प्रितमले आँगन टेकेपछि चाहिँ पलङमा ओछ्यान मिलाउन थाल्छिन् ।


होली गीतहरूको प्रयोग हरेक अवसर तथा सन्दर्भमा गर्दा होउन्, तर ठिक होलीको दिन भने महिलाले पारम्परिक प्रकृतिको होली गीत गाउने गरेको देखिन्न । त्यस दिन रङ–अविरले घरका इष्टदेवको पूजा गरेपछि आफन्तसँग रङ–अविर खेल्ने काममै यिनीहरूको सक्रियता देखिन्छ । त्यसभन्दा अगाडिको सक्रियता हुन्छ— होलीमा रमाएका आफ्ना बालबच्चा तथा परिवारजनका लागि होलीको सुस्वादु व्यञ्जन पकाउने र ख्वाउने । तर गृहस्थहरूको होलीगान भने बहुआयामिक हुने गर्छ ।


२. गृहस्थले गाउने होली गीत : वसन्त पञ्चमीपछि नै हरेक साँझ रात्रिविश्राम अघि गृहस्थहरू कसैको सार्वजनिक दलानमा भेला भएर डम्फा, मजिरा, ढोलक, झाली आदि वाद्ययन्त्रका साथ होली गाउने गर्छन् । गाउँघरमा हुने नियमित भजन–कीर्तनमा पनि यस समयावधिमा होली गीतहरूकै प्रधानता रहने गर्छ । उसो त होली भन्नासाथै अचेल मस्तिष्कमा जुन किसिमका गीतहरू ‘भिजुअलाइज’ हुन थाल्छन्, ती परस्पर विपरीत लिङ्गीप्रति गरिएका छेडखानीपूर्ण साङ्गीतिक संवाद हुन्छन् । देवर–भाउजूको सम्बन्धलाई समेत अलि बेग्लै अर्थ दिने खालका शब्दावलीयुक्त जोगिडाहरू पनि ती गीतमा पाइने गर्छन्, तर गृहस्थहरूको होलीगान होलीको मुख्य दिन बाहेक प्राय: धार्मिक तथा जीवन–जगत्कै विषयलाई लिएर अगाडि बढेका हुन्छन् । यसमा पनि जगज्जननी जानकीलाई आफ्नी चेलीबेटीझैँ मान्ने अथवा किशोरी भनेर सम्बोधन गर्ने मिथिलावासीको धार्मिक तथा सांस्कृतिक आयोजनामा पनि सिया–राम तत्त्वकै आधिक्य पाइन्छ । त्यसैले गृहस्थहरूको सन्ध्याकालीन जमघटका साथ हुने होली गायनमा पनि सीताकै जीवनका विविध पाटालाई समेटेर होलीको गायन सुरु हुन्छ । कतिपय ठाउँमा भगवतीको वन्दनाबाट पनि होली गीत सुरु हुन्छ, तर अधिकांश ठाउँमा भने धनुष–यज्ञ प्रसङ्गबाट यो सुरु गरिन्छ ।


वसन्त पञ्चमीदेखि होलीको दिनसम्म हुने सन्ध्याकालीन जमघटमा निरन्तर होली सम्बन्धी गीत गाइन्छ । यस्ता गीतहरूको प्रसङ्ग जेसुकै भए पनि भाका भने विशिष्ट प्रकारको हुन्छ, जुन सुनेरै यो होली सम्बन्धी गीत हो भन्ने चिनिन्छ । यस्ता होली गायनको एक विशिष्ट पद्धति हुन्छ । हरेक दिनको गायनको समाप्ति हुन्छ महादेवी, अर्थात् भगवान शिवको आराधना गीतबाट ।


३. सङ्गीतकर्मीकाे होली गीत : सङ्गीत कर्ममै आबद्ध गायक–गायिकाद्वारा मञ्चमा प्रस्तुत गरिने कार्यक्रममा वसन्त पञ्चमीदेखि होलीसम्म होली सम्बन्धी गीतहरूकै वर्चस्व रहने गर्छ । यी गीतहरूमा मिथिलाको पारम्परिक होली गीत त समाविष्ट हुन्छन् नै, साथमा आधुनिक होली गीत पनि गाइन्छन् । भोजपुरी होली गीतहरूको नक्कल गर्ने प्रयास पनि गरिएको हुन्छ, जसका माध्यमबाट अश्लीलता पस्किने उद्योग चल्छ । तर मैथिली भाषाले यस्ता शब्दहरूलाई यथोचित सौन्दर्य प्रदान गर्न सक्दैन । वा भनौँ— मैथिलीमा अश्लीलता समाविष्ट गरिएका गीतहरूले बजार पाउँदैनन् । मिथिला क्षेत्रमा पनि भोजपुरीका त्यस्ता गीतहरू त बज्ने र गाइने गरेको पाइन्छ, तर तिनलाई मैथिली भाषामै ढाल्ने प्रयत्न गरिँदाचाहिँ जुन नतिजा आउँछ, त्यसलाई हेर्दा लाग्छ— मैथिलीका शब्दहरूमा अश्लीलता ‘डाइल्युट’ नहुँदो रहेछ । त्यसैले होलीका आधुनिक गीत पनि प्राय: स्वस्थ मनोरञ्जनमा नै सीमित रहने गर्छन् । जनताका दैनन्दिन समस्या, भोगाइ, उमङ्ग, उल्लासलाई पनि मिथिलाको होली गीतले आवाज र आधार दिने गरेको छ । नेपालमा लोकतन्त्र आएपछिको प्रसङ्ग एउटा होली गीतमा यसरी अभिव्यक्त भएको पाइन्छ—

अपन अङ्गना इजोर लेने एलै गोधियाँ

लोकतन्त्रक पटोर लेने एलै गोधियाँ

जब सारा जनता जगलै जतनसँ

खुसी पोरेपोर लेने एलै गोधियाँ


समग्रमा, होली प्रेम र आनन्दको उत्सव हो । मनोरञ्जन भलै यसको आवरण होस्, तर मिथिलामा यसको अन्तर्यमा पनि लोककल्याण तथा भ्रातृत्व–भाव नै बसेको हुन्छ । खासगरी गृहस्थ समुदायले वसन्त पञ्चमीदेखि होली गाउने गर्छन् । तिनले होलीकै दिनचाहिँ घर–घरमा गएर पहाडतिरको द्यौँसी–भैलोझैँ होली–जोगिडा गाउने गर्छन् । यस क्रममा अनेक भाव–भङ्गिमाका होली गीतहरू गाइन्छन् । तर मोक्ष र प्रेमका कुरा समावेश हुनु मिथिलाको होलीको विशेषता हो—

जिनगीके कोन ठेकान

गलासे गला मिला लए

एतह जमराज पकडिकऽ लऽ जएतह

बुझतह ने बूढ–जुआन

गलासे गला मिला लए

अर्थात्

जिन्दगीको के ठेगान छ र

आउ गला मिलाउँ

यमराजले आएर एकदिन समाएर लैजानेछन्

को बूढो को तन्नेरी भन्ने पनि छुट्याउने छैनन्

त्यसैले आउ गला मिलाउँ


नितान्त व्यक्तिगत उल्लास एवं आनन्दको उत्सव पनि सर्वमङ्गलको भावनाका साथ मनाउँदा नै त्यसको वास्तविक आनन्द आउने सन्देश दिँदै मिथिलामा होली पर्व प्रेमको रङमा हामीलाई चुर्लुम्म डुबाएर बिदा हुन्छ ।

प्रकाशित : फाल्गुन १८, २०७४ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?