कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

गणित सजिलो कि असजिलो ?

जब विद्यार्थी गणित बुझ्न थाल्छन्, तब तिनका लागि यो एउटा सजिलो विषय बन्छ ।
रोश्ना सुब्बा

काठमाडौँ — मञ्जिल विष्टलाई कक्षा ८ मा पुगेपछि गणित विषय गाह्रो लाग्दै गयो । यसप्रति उनको रुचि घट्दै गयो । उनी कक्षा ७ सम्म ६० भन्दा बढी अंक ल्याउँथे । तर त्यसपछि भने यो अंक कम हुँदै गयो ।

कक्षा १० मा पुग्दा त उनी निकै कमजोर भइसकेका थिए । त्रैमासिक परीक्षामा ४० भन्दा कम अंक आउन थाल्यो । अरू सबै विषयमा भने उनी राम्रा थिए । तर गणित विषयको कक्षा सुरु हुने बेलामा केही भइदिओस् र त्यो कक्षा रोकियोस् जस्तो उनलाई लाग्थ्यो । उनलाई यो विषयप्रति घृणा लाग्न थालेको थियो । किन तिमीलाई समस्या भएको हो ? उनका बुबा महेन्द्र विष्टले यसरी सोध्दा कम बोल्ने बानीका छोरोको जवाफ हुन्थ्यो, ‘म गणित बुझ्नै सक्दिन ।’


ललितपुर जिल्लाका (जिल्ला शिक्षा कार्यालय, ललितपुर) स्रोतव्यक्ति महेन्द्र विष्ट त्यसपछि भने स्कुलमा प्रिन्सिपल र सम्बन्धित विषयका शिक्षकसँग गएर पटक–पटक भेटेर किन आफ्नो छोरो गणितमा कमजोर भएको हो भनी सोधीखोजी गर्न थाले । ‘तपाईको छोरो कमजोर छ । पढ्न सक्दैन । घरमा धेरै अभ्यास गराउनुस् ।’ उनीहरूबाट यस्तो जवाफ सुनेपछि उनलाई चिन्ता लाग्न थाल्यो । सबै विषयमा पढ्न मन गर्ने र राम्रो अंक ल्याउने तर गणितमै किन समस्या बढ्दैछ ? उनलाई ठम्याउन गाह्रो भइरहेको थियो ।

चिन्ता त्यतिखेर झन् बढ्यो, जब मञ्जिल प्री टेस्टमा ऐच्छिक गणितमा त फेल नै भए । अबचाहिंँ अरू विकल्प खोज्नैपर्‍यो भनेर स्रोतव्यक्ति विष्टले आफ्ना साथी शिक्षक हरेराम ठाकुरलाई सबै कुरा सुनाए । ठाकुर साउथ वेस्टर्न स्कुल, काठमाडाैंमा गणित विषय शिक्षण गर्छन् । उनीसँग समय लिएर महेन्द्र विष्ट शिक्षक ठाकुरलाई भेट्न गए ।

शिक्षक ठाकुरले मञ्जिल विष्टलाई छुट्टै कोठमा आफूसँग एक्लै राखे । डेढ घन्टापछि उनी बाहिर निस्के र आफ्ना साथी महेन्द्र विष्टलाई भने, ‘केही गाँठो छ । म फुकाइदिन्छु । ७० अंक कटाउने बनाइदिन्छु, बाबुलाई ।’ फेल भइसकेको छोरोमाथिको यति विश्वास सुनेपछि महेन्द्र विष्टको खुसीको सीमा नै रहेन । उनलाई त्यसबेला औधी खुसी लाग्यो ।

मोटरसाइकलमा घर फर्कंदै गर्दा मञ्जिलले आफ्ना बुबा अर्थात स्रोतव्यक्ति महेन्द्र विष्टलाई भने, ‘मैले हरेराम सरसँग सुरुमै पढ्न पाएको भए म दुबै गणितमा ९० कटाउँथेँ ।’ पहिलो भेट, पहिलो दिनको डेढ घन्टामै छोरोमा आएको यत्रो परिवर्तन र विश्वासबाट उहाँलाई अचम्म लागिरहेको थियो । त्यसपछि शिक्षक हरेराम ठाकुरले मञ्जिल विष्टलाई केही समय अनिवार्य र ऐच्छिक गणित सिकाइरहे । गणित विषय भन्ने बित्तिकै खिसिक्क पर्ने मञ्जिललाई गणितमा रुचि जाग्न थाल्यो । सजिलो लाग्न थाल्यो । शिक्षक हरेराम ठाकुरले घरमा अभ्यास गर्न दिएको गृहकार्य उनलाई कम लाग्न थाल्यो । अझ धेरै गर्न पाए हुन्थ्यो भन्ने लाग्न थाल्यो । गृहकार्य सक्ने बित्तिकै शिक्षक ठाकुरलाई फोन गरेर उनी भन्नथाले, ‘सर, म अरू के गरेर ल्याऊँ ?’

१० कक्षाको प्री टेस्टमा ऐच्छिक गणितमा फेल भएको र अनिवार्य गणितमा ४० भन्दा कम अंक आए पनि शिक्षक हरेराम ठाकुरले भनेको वाक्य महेन्द्र विष्टलाई सम्झना थियो । ठाकुरले उनीसँग मञ्जिलले ७० कटाउँछन् भनेका थिए । नभन्दै मञ्जिलले प्रवेशिका परीक्षामा अनिवार्य गणितमा ७२ र ऐच्छिकमा ६० अंक ल्याए । आखिर मञ्जिलमा के समस्या रहेछ त ? शिक्षक हरेराम ठाकुर भन्छन्, ‘उसले म गणितमा राम्रो गर्न सक्दिन भन्ने ठानेर आत्मबल गुमाएको थियो ।’

मञ्जिलमा गुमेको आत्मबल जगाउन शिक्षक ठाकुरले गणित विषय गाह्रो होइन भनेर मञ्जिललाई परामर्श गरे । उनले समस्याको चुरो पत्ता लगाइसकेका थिए । कन्सेप्ट नबुझाई एकैचोटी किताबमा भएका हिसाब सिकाउँदा सिक्न र बुझ्न मञ्जिललाई गाह्रो भइरहेको थियो । अधिकांश शिक्षकले कन्सेप्ट नबुझाउने दाबी गर्दै धेरै विद्यार्थीमा मञ्जिलको जस्तो अवस्था रहेको उनी बताउँछन् । सैद्धान्तिक अवधारणा पहिले बुझाउन थाले । सजिलोबाट सुरु गरेर जटिलतर्फ लगे । कुनै सूत्र प्रयोग गरेर सिधै किताबको हिसाब नसिकाई त्यो कसरी आएको हो, त्यो स्पष्ट गर्न थाले । यसरी सिकाउँदै गएपछि मञ्जिलमा आत्मविश्वास बढ्न थाल्यो र उनले जटिल प्रश्न सोध्न थालेको शिक्षक ठाकुरको अनुभव छ । उनी भन्छन्, ‘जब विद्यार्थी गणित बुझ्न थाल्छ, उसका लागि यो एउटा सजिलो विषय बन्छ ।’

मञ्जिल विष्ट अहिले आर्किटेक्चरल इन्जिनियरिङका विद्यार्थी हुन् । गणित सिकाउने–बुझाउने गजबको तरिका र छोराछोरीलाई झैँ गर्ने गरेको व्यवहारका कारण आफ्नो विद्यालयका शिक्षक नभए पनि उनी शिक्षक ठाकुरलाई सम्मान र आदर गर्छन् । ‘उहाँकै कारण गणित विषय गाह्रो होइन रहेछ भन्ने छोटो समयमै महसुस गर्न पाएँ,’ उनी भन्छन् । शिक्षक ठाकुरलाई श्रेय दिँदै उनी थप्छन्, ‘अहिले मैले गणितसँग सम्बन्धित सैद्धान्तिक विषयमा राम्रो गरिरहेको छु । घृणा लाग्ने विषयमा यस्तो गर्नसकेको देखेर अचम्म

पनि लाग्छ ।’

कक्षा ८ देखि गणित गाह्रो र घृणा लाग्ने विषय कसरी बन्यो भन्दा उनी भन्छन्, शिक्षक फेरिनुभयो । नयाँ शिक्षकले पढाएको बुझेको हुँदैनथ्यो । उहाँको कडा व्यवहार देखेर केही सोध्न डर लाग्थ्यो । अनि कसरी गृहकार्य गर्नु ? त्यसैमाथि गृहकार्य गरेन भनेर गाली खानुपथ्र्यो । सधैं मानसिक त्रास हुन्थ्यो ।’

यो मञ्जिल विष्टको मात्र कथा होइन । उनको जस्तै समस्या हजारौँ विद्यार्थीले भोगिरहेका छन्, विद्यालयमा । सैद्धान्तिक अवधारणा नबुझाइकन किताबका प्रश्न हल गर्नमात्र जोड दिँदा विद्यार्थीलाई गणित बुझ्न गाह्रो भइरहेको हुन्छ । र उनीहरूलाई यो विषय जटिल लाग्न थाल्छ । यसो भएपछि उनीहरू शिक्षकहरूसँग सोध्न सक्दैनन् । नबुझे पनि बुझेँ भन्छन् । साथीहरूको सारेर शिक्षकलाई गृहकार्य देखाउन थाल्छन् । अनि झन्–झन् कमजोर हुनथाल्छन् । गणित गाह्रो विषय हो, प्रतिभाशाली विद्यार्थीको विषय हो भन्ने उनीहरूमा पर्न थाल्छ ।

वास्तवमा सियोको टुप्पोजत्रो समस्यामा विद्यार्थी अड्किएको हुन्छ । जसरी सानो काँडा बिझेको बेला त्यो हटाइदिँदा सिंगो खुट्टा दुरुस्त हुन्छ, त्यसरी नै एउटा होशियार र असल शिक्षकले विद्यार्थीको वास्तविक समस्या खुट्याउन सक्छ । उसले के गरेर सिकाउँदा बुझ्छ भन्नेमा ध्यान दिएर वा कुनै उपाय निकालेर उसको सिकाइस्तर बढाउँदै उसमा आत्मबल, आत्मविश्वास जगाउन सक्छ । र यस्ता शिक्षक नै विद्यार्थीको मनमस्तिष्कमा सम्मानका साथ सदैव विराजमान हुन्छन् ।

[email protected]

प्रकाशित : फाल्गुन १५, २०७४ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?