कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

बलात्कारीलाई बहिष्कार

बलात्कृत हुँदैमा जीवन सकिँंदैन । अब किन ‘इज्जत’ र ‘अस्मिता’को ट्याग महिलालाई मात्रै भनेर प्रश्न गरौं ।
रामेश्वरी पन्त

काठमाडौँ — समाजले मानवीय संवेदनाका सम्पूर्ण सीमा गुमाउँदै गइरहेको छ भन्ने कुराको पछिल्ला प्रमाण बनेका छन्, ललितपुर, इटहरी र दरबारमार्गमा भएका सामुहिक बलात्कारका घटना र यी घटनालाई निस्तेज पार्न न्यायिक निकाय र यससँग सम्बन्धित न्यायकर्मी, सुरक्षाकर्मी तथा समाजका ‘ठेकेदार’हरूले खेलेका भूमिका ।

बलात्कार जस्तो जघन्य अपराधमा यथेष्ट प्रमाण हुँदाहुँदै मोलमोलाइ हुनु र मिलेमतोमा प्रमाणको बेवास्ता गर्दै पीडकलाई उन्मुक्ति दिनु पनि बलात्कारभन्दा कम अपराधपूर्ण कार्य होइनन् । कुनै नागरिकमाथि अन्याय वा अपराध हुन्छ भने ऊ पहिला जाने सुरक्षा निकायमा हो । राज्यद्वारा प्रदत्त शान्ति सुरक्षाको जिम्मा लिएका प्रहरीसामु कसैले सुरक्षाको याचना गर्छ भने उसलाई हर तरहले सुरक्षा दिने कर्तव्य प्रहरीको हुन्छ । प्रसंग गत मंसिर २ गते ललितपुरमा भएको सामुहिक बलात्कार घटनाको हो । काममा गएकी श्रीमती समयमा घर नफर्केपछि खोजतलास गर्दै हिंँडेको श्रीमानले बाटोमा हिँंडिरहेको घुमुवा प्रहरीको डफ्फालाई श्रीमती हराएको कुरा बताउँदै खोजिदिन आग्रह गर्दा ‘तिम्री श्रीमती राम्री थिइन्, कसैले लग्यो होला, भोलि खोजौंला’ (कान्तिपुर, १४ माघ) भन्दै बेवास्ता गर्नु सुरक्षाकर्मीको संवेदनहीनताको पराकाष्ठा हो । के कुनै महिला राम्री हँुदैमा कसैले लगी नै हाल्नुपर्ने हो ? घुमुवा प्रहरीको काम सडकमा लठ्ठी बजार्दै शान देखाउनु पक्कै होइन । उनीहरूलाई टोलटोल र गल्ली–गल्लीमा हुने र भैरहेका अवाञ्छित क्रियाकलापलाई नियन्त्रण गर्न खटाइएको हुन्छ । सबै प्रहरी कर्मचारीको बोल्ने तरिका यसरी नै प्रशिक्षित गरिएको हुन्छ भन्ने मनसाय होइन । तर पनि सुरक्षाकर्मीका मुखबाट निस्कने यस्ता भाषाले आम नागरिकमा प्रहरी संगठनप्रति नै घृणा र नैराश्यता उत्पन्न हुनपुग्छ ।

राजधानी जस्तो ठाउँमा सम्साँझै बाटोमा हिंँडिरहेकी एउटी युवतीमाथि पाशविक तरिकाले आक्रमण गरी टाउको फुटाएर र हातखुट्टा भाँचेर बेहोश पारी सामुहिक रूपमा बलात्कार गरेर खोला–खोल्सामा फालिन्छ भने अन्य दूरदराजका गाउँठाउँमा यस्ता घटना कति हुन्छन् होला ? अचेत घाइते अवस्थामा भोलिपल्ट मात्र भेटिएकी युवतीको हालत, घटनास्थलमा भेटिएका बलात्कारजन्य प्रमाण र होश खुलेपछि पीडितले दिएको बयानलाई बेवास्ता गर्दै ललितपुर जिल्ला अदालतका न्यायमूर्ति (?) ले आरोपी उन्मुक्ति दिएको र जघन्य अपराधीको पक्षमा राज्यको उच्च निकायमा आसीन भैसकेको व्यक्तिले कानुन व्यवसायीको रूपमा वकालत गरेको सुन्दा लज्जा र घृणा दुबै उत्पन्न भएको छ । करिब साढे दुई महिनापछि सार्वजनिक भएको यो विभत्स बलात्कार घटनाले यतिखेर मोड परिवर्तन गरेको छ र जिल्ला अदालतले गरेको फैसलामाथि भएको पुनरावेदनमाथि सुनवाइ गर्दै ललितपुर उच्च अदालतले आरोपीलाई थुनामा राख्ने आदेश दिएको छ ।

दरबारमार्ग बलात्कार काण्डलाई सामसुम पार्न तीस लाख रुपैयाँ खर्चिए पनि असफल भएर घटना बाहिर आएसँगै केही सुरक्षाकर्मीको संवेदनाहीन र लोभीपापी चरित्र छताछुल्ल भएको छ । जब सुरक्षाको जिम्मा लिएकाहरू नै अपराधीको पक्षमा उभिएर अपराध लुकाउन सहयोग गर्छन् भने पीडितले न्याय कसरी पाउने ? यस्तो अपराधलाई ढाकछोप गर्न बलात्कारीका अभिभावक तथा आफन्त त सकेसम्म लाग्ने नै भए, प्रहरी र समाजका ‘ठेकेदार’ले बिचौलियाको भूमिका खेल्नुजस्तो दुर्भाग्य अर्को के हुन सक्ला ? बलात्कारमा जबर्जस्ती मिलापत्र र पैसाको चलखेलले प्रवृत्तिकै रूपमा समाजमा निरन्तरता पाइरहेको देखिन्छ । यस्तो हुनुमा एकातिर बलात्कारीको आर्थिक, सामाजिक र राजनीतिक पहँुचले भूमिका खेलेको हुन्छ भने अर्कोतिर पीडितको कमजोर सामाजिक हैसियत र योभन्दा बढी कथित ‘इज्जत’ का कारण घटनालाई बाहिर आउन नदिई सकेसम्म गुपचुप राख्न खोज्नुले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ ।

सदियौंदेखि पुरुषवादी मानसिकताले दीक्षित र प्रशिक्षित हाम्रो समाजले चरित्र र इज्जतलाई योनिमा स्थापित गरेको छ र लिङ्गलाई उन्मुक्ति दिएको छ । बलात्कार गर्ने पुरुषको केही पनि लुटिंँदैन, तर बलात्कृत हुने महिलाको ‘अस्मिता’ लुटिन्छ, सतित्व गुम्छ र ऊ परिवार र समाजमा मुखै देखाउन नहुने बन्छे । किन ? बलात्कारीलाई जोगाउन र चोख्याउन परिवार, समाज, सुरक्षाकर्मी र न्यायकर्मी नै लागिपर्छन् । तर बलात्कृत महिलाले न्याय पाउनु भनेको अनौठो घटना त बन्छ नै, न्यायको लडाइँ लडुन्जेलसम्म पनि आफ्नो परिचय लुकाउनुपर्ने हुन्छ । नत्र उसको मात्र होइन, उसका परिवार र आफन्तकै ‘इज्जत’ जान्छ । ऊ मात्र होइन, उसका परिवार नै समाजबाट तिरस्कृत, अस्वीकृत वा विस्थापित हुनुपर्ने अवस्था आउँछ ।

बलात्कार पीडित युवती मृत्युसँग संघर्ष गरिरहँदा ललितपुर जिल्ला अदालतले आरोपीलाई फरार हुने मौका दिनुले न्यायालयको संवेदनशीलतामाथि नै प्रश्नचिन्ह खडा गरिदिएको छ भने पीडितका परिवार विस्थापित हुनुपर्ने अवस्थामा पुग्नुले समाज कतिसम्म असहिष्णु छ र कसको पक्षमा छ त भन्ने छर्लङ्ग भएको छ । जबसम्म समाजले बलात्कारीको संरक्षण गर्छ र बलात्कृत हुनुलाई इज्जतसँग जोडेर हेर्छ, तबसम्म बलात्कारको मानसिकताले प्रोत्साहन पाइरहने र बलात्कृतहरू तिरस्कृत र विस्थापित हुने अवस्था आइरहन्छ । त्यसैले बलात्कारलाई केवल एउटा जघन्य अपराधको रूपमा हेरिनुपर्छ । कठोर सजाय नपाएसम्म अपराधीको मनोबल त उच्च हुन्छ नै, बलात्कारी प्रवृत्तिलाई प्रोत्साहन मिलिरहन्छ र समाजमा बरोबर बलात्कारका विभत्स घटना भई नै रहन्छन् । बलात्कार पुरुष ग्रन्थिमा रहेको मनोविकार भएकाले कानुनले मात्र यस्ता घटना कम गर्न सक्दैन । अत: यस्तो मनोविकार हटाउन हरेक व्यक्ति, परिवार र समाजको मानसिकता स्वस्थ हुनु जरुरी छ । अझ महत्त्वपूर्ण कुरा त बलात्कारका घटना भइसकेपछि बलात्कारीलाई नै बहिष्कार र तिरस्कार गर्ने अभियान चलाउनु जरुरी छ ।

अधिकांश बलात्कार पीडित महिला समाजबाट मात्र होइन, परिवारबाटै तिरस्कृत र विस्थापित हुनपुग्छन् । यस्तो अवस्थामा ललितपुरमा सामुहिक बलात्कारमा परेकी युवतीका पतिले देखाएको माया र उनको अभिव्यक्तिको जति प्रशंसा गरे पनि कम हुन्छ । उनले आफ्नी पत्नीमाथि भएको ज्यादती विरुद्ध लड्ने र जीवनभर उनको साथ नछोड्ने अठोट गरेका छन् । उनी यो संकीर्ण समाजको अन्धमानसिकता हटाउन एउटा उत्कृष्ट उदाहरण बन्न सकुन् ।

बलात्कारमा परेका महिलाको सबै कुरा सकियो, उसको जीवन नै समाप्त भयो भन्ने सामाजिक मानसिकता हटाउनु आवश्यक छ । बलात्कारका घटनालाई पनि कुनै नराम्रो दुर्घटनाको रूपमा लिएर जसरी कुनै दुर्घटनापछि मानिस पुन: आफ्नो सामान्य जीवनमा फर्कन्छ, त्यसरी नै एउटी बलात्कृत महिला वा बालिकाले आफ्नो जीवनलाई पुन: सामान्य रूपमा समाजमा स्थापित गर्न सक्छे भन्ने चेतना जागृत गर्नु आवश्यक छ । र पीडित महिला र उसका परिवारलाई मनोपरामर्श दिन जरुरी छ । यसका लागि सचेत नागरिक, सामाजिक अभियन्ता एवं राज्यका सरोकारवाला निकायको भूमिका महत्त्वपूर्ण हुन्छ र देशव्यापी रूपमै अब यस्तो सचेतना अभियान सञ्चालन गर्न ढिला भैसकेको छ । साथै प्राथमिक शिक्षादेखि नै पाठ्यक्रममा यस्ता सचेतनामूलक सामग्री राखेर शिक्षा दिनु जरुरी छ ।

जबसम्म बलात्कृत छोरीहरूले परिवार र समाजमा शिर ठाडो पारेर हिँंड्न र आफूमाथिको अत्याचारको विरोध गर्न सक्दैनन्, तबसम्म समाजमा बलात्कारी प्रवृत्ति मौलाइरहन्छ । यसर्थ पीडितलाई परिवार र समाजबाटै दरिलो आडभरोसाको खाँचो छ । बलात्कृत हुँदैमा जीवन सकिँंदैन । र अब किन ‘इज्जत’ र ‘अस्मिता’को ट्याग महिलालाई मात्रै भनेर प्रश्न गरौं ।

प्रकाशित : फाल्गुन ४, २०७४ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?